भर्खरै :

विष्णु पौडेललाई ‘ठग्ने’ ठगहरू

राजधानीको ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी भएको खुलासाले नेपालका शासक दलहरू र कर्मचारीतन्त्रको अकर्मण्यता उजागर गरेको छ । ललिता निवासको जग्गा सत्तासीन दलका एकजना उच्च पदाधिकारी विष्णु पौडेलको छोराको नाममा समेत नामसारी भएको खुल्यो । सरकारले यसलाई पौडेल स्वयम् भूमाफियाको ठगीमा परेको भनी उनलाई सफाया दिन खोजेको देखियो । कानुनबमोजिम दोषीलाई कारबाही गर्नतिर भन्दा मन्त्री आफै न्यायालयजस्तै गरी कसैलाई काखी च्याप्नु गलत हो । सञ्चारमन्त्री अदालत होइनन् । पौडेल दोषी हुन् वा होइनन्, निष्पक्ष छानबिन गरी निर्णय गर्ने अधिकार न्यायालयको हो ।
जानकारीको पहुँच नभएको सर्वसाधारण व्यक्तिले कुनै पनि जग्गा किन्दा भूमाफियाको पासोमा फसेको कुरा गर्दा पत्याउन सकिन्छ । तर, लामो समयदेखि सत्ता राजनीतिको केन्द्रमा रहँदै आएका नेताले भूमाफियाको जालमा परेको तर्क गर्नु अपत्यारिलो छ । साधारण मानिसले जुत्ता एक जोर किन्दा पनि जुत्ता कहाँ बनेको, गुणस्तर कस्तो छ सबै कुरा जान्न खोज्छ भने मध्य काठमाडौँमा रहेको जमिन खरिद गर्दा राजनीतिमा जीवन खारेका व्यक्तिले राम्ररी बुझेको नहोला भनी कसरी पत्याउने ?
प्रसङ्ग नेकपाका नेता विष्णु पौडेलको मात्र होइन । सत्तासीन दलका नेता भएकाले पनि उनी यो सन्दर्भमा बढी चर्चामा आए । मुख्य विषय जीवनभर राजनीति गरेका, पटक–पटक मन्त्री भएका र भोलि कुनै पनि बेला मन्त्री बन्न सक्ने मानिसहरू स्वयम् भूमाफियाको चङ्गुलमा परेका छन् भने सर्वसाधारण मानिस तिनको पासोमा कति सेरिएका होलान् ? विष्णु पौडेललाई सरकारी जग्गासमेत किनेको ‘थाहा’ नभएजस्तै भूमाफियाको जालमा परेर कति मानिसले खोलामुनिको जग्गा किनेका होलान् ? अनि यस्ता ठगी धन्दा नियन्त्रणमा सरकारले कदम चाल्नुपर्ने वा नपर्ने ? विष्णु पौडेललाई बाटोमा हिँडेको मानिसले त सरकारी जग्गा नामसारी गराइदिएको पक्कै होइन । उनकै नजिकका, अझ पार्टीकै कोही कार्यकर्ता वा समर्थकबाट यस्तो भएको हुनुपर्छ अर्थात् पार्टीको नेतृत्व भूमाफियाकै चौघेरामा फसेको के घटनाक्रमबाट पुष्टि हुन्न र ? तेल के हेर्नु तेलको धारा हेर्नु, पार्टी के हेर्नु पार्टीका कार्यकर्ता हेर्नु भनेजस्तै आज सत्तासीन दल कस्तो दल हो भन्ने कुरा यो घटनाबाट पुष्टि हुँदैछ ।
जसरी गुलियो चिनी वरिपरि जताततैबाट कमिलाको ताँती लाग्छ, सत्तासीन दलमा धेरै स्वार्थी र लोभीपापीहरू पस्नु आश्चर्यको विषय होइन । सत्तामा रहेको राजनीतिक दलमा सदस्यता लिन भीड लाग्नु नयाँ कुरा होइन । आफूले गरेका सबै अपराध र कानुनबाट जोगिन मानिसहरू सत्ताको नजिक बस्न खोज्छन् । आफूले चाखेको गुलियो विष नेताहरूलाई पनि चखाएर आफू अझ नेताको नजिक बन्ने प्रयत्न गर्ने त्यस्ता मानिसलाई सिद्धान्त र विचारसँग कुनै लिनुदिनु हुन्न । आज आफू बस्दै गरेको राजनीतिक पार्टीको डुङ्गा कुनै दिन डुबे सबभन्दा पहिले सुइँकुचा ठोक्ने त्यस्तै मानिसहरू हुन्छन् । हिजो राणाको दरबारमा चाकडी जाने, पञ्चायतको समयमा दरबारको चाकडी गर्ने, बहुदलपछि काङ्ग्रेसको गुणगान गाउनेहरूले आज नेकपाका नेताहरूलाई सरकारी जग्गा बेच्नु कुनै ठूलो आश्चर्यको कुरा होइन । मुख्य कुरा नेतृत्वले आफू कसको चौघेरामा परेको हो, सजग हुन जरूरी छ । सिंहदरबार र बालुवाटारका पर्खाल जनताका लागि अग्ला बन्दा फाइदा उठाउने विष्णु पौडेललाई ‘ठग्ने’ भूमाफियाहरू नै हुन् । सत्ता नजिक बसेर सरकारी स्वामित्वको सम्पत्तिमा रजाइँ गरिरहेका धेरै अवसरवादी र नेताका पिछलग्गूलाई नचिन्ने हो भने कहिल्यै घाम नडुब्ने भनिएको बेलायती साम्राज्यको आजको अवस्थाबाट केही सिके उत्तम हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *