भर्खरै :

बिस्केट जात्रा किन नयाँ वर्षसित सम्बन्धित छ ?

दानबहादुर कपाली
हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन साँझ ल्योसिंखेलमा लिङ्गो उठाइन्छ र नयाँ वर्षको थालनी भएकै दिन साँझ ढालिन्छ । लिङ्गो उठाउने र लिङ्गो ढाल्ने दिन हजारौँ व्यक्तिहरूको सहभागिता हुन्छ । भैरवको रथ तानेर सुरू हुने बिस्केट जात्राको महत्वपूर्ण पक्ष लिङ्गो उठाउनु र ढाल्नु हो । लिङ्गो उठाउनुअघि गःहिटीमा रहेको भैरवनाथको रथ ल्योसिंखेल पु¥याउनुपर्छ । रथ ल्योसिंखेल नपु¥याइकन लिङ्गो उठाउन पाइँदैन । त्यस्तै लिङ्गो ढाल्नेबित्तिकै त्यहाँ रहेको रथ सोही दिन गःहिटीमा पु¥याइनुपर्छ । त्यसकारण ल्योसिंखेलमा दुई दिन ठूलो मेला लाग्छ ।
इतिहासकार, संस्कृतिविद् तथा अनुसन्धाताहरू बिस्केट जात्राबारे अनेक लोकोक्ति, जनस्रुति तथा ऐतिहासिक तथ्यहरू केलाउँछन्, आ–आफ्नो तर्क र विचार पोख्छन् । उनीहरू बिस्केटजात्रा प्रारम्भका तर्क अघि सार्छन् । बिस्केट जात्राको प्रारम्भबारे इतिहासकार र संस्कृतिविद्हरूको भनाइ एउटै भएको देखिंदैन । अध्ययन, अनुसन्धान र खोजीनीतिको क्रममा फरक मत देखिनु अस्वाभाविक पनि होइन । विज्ञहरूको फरक फरक मतले साँच्चै बिस्केटजात्रा किन, कहिलेदेखि प्रारम्भ भएको हो ? लिङ्गो किन उठाइएको हो ? यसको ऐतिहासिक कारण के हो ? कुन कार्य सफल भएको या विजयोत्सवमा लिङ्गो उठाइएको हो ? चासोको विषय हुनु स्वाभाविक हो ।
हालसम्मको अध्ययन, अनुसन्धान, खोजीनीति र प्राप्त ऐतिहासिक दस्तावेज या तथ्यहरूको आधारमा बिस्केट जात्राअन्तर्गत लिङ्गो उठाउँदाका तर्क–वितर्कका कुरा प्रकाशमा आए पनि नयाँ वर्ष फेर्ने अघिल्लो दिन किन लिङ्गो उठाएको र नयाँ वर्षको थालनी भएकै दिन किन ढालेको सन्दर्भमा इतिहासकार, संस्कृतिविद् तथा अनुसन्धानदाताहरूको तर्क प्रकाशमा आएको देखिँदैन । यो बिस्केट जात्रा किन नयाँ वर्षसित सम्बन्धित रहन पुग्यो ? लिङ्गो उठाउने स्थल ल्योसिं (योसिं) खेल नै किन छानियो ? खुला ठाउँको कारण छानिएको हो या अरू कुनै ऐतिहासिक कारण छ ? यो पनि अहिले जनचासोको विषय बनेको छ । नयाँ वर्ष र बिस्केट जात्राको सम्बन्ध केही छ कि ?
त्यसो त नयाँ वर्ष र बिस्केट जात्राको सम्बन्धबारे इतिहासकार, संस्कृतिविद् या अनुसन्धाताहरूले लेख, पुस्तकमार्फत सार्वजनिक गरेको हुनसक्छ । कतिपय कुरा त्यो अनुसन्धानको विषय हुनसक्छ । सार्वजनिक भए पनि कतिले जानकारी नपाएको हुनसक्छ । यसबारे जनतालाई सुसूचित पार्न सम्बन्धित विज्ञहरूले अध्ययन–अनुसन्धान गर्नु आवश्यक देखिन्छ, आफूले अध्ययन गरेका अध्ययनको आधारमा प्राप्त गरेका तथ्य–तथ्याङ्क कुनै माध्यममार्फत् जनतालाई सुसूचित गर्नुपर्ने देखिन्छ । नयाँ वर्षको अवसरमा जनताले नयाँ कुरा सिक्न पाए बिस्केट जात्राको थप महत्व बढ्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *