अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुशिला
मारोगोरो सम्मेलनसम्ममा ४१ वटा अफ्रिकी देशहरूले स्वतन्त्रता हासिल गरिसकेका थिए । मोजाम्बिक, अङ्गोला, दक्षिण–पश्चिम अफ्रिका, रोडेसिया र दक्षिण अफ्रिका भने अझै उपनिवेश थिए । सम्मेलनले काङ्ग्रेसलाई सैनिकीकरणतर्फ नलाने निर्णय गर्दै सशस्त्र सङ्घर्षले मात्र सफलता प्राप्त गर्न नसक्ने भएकाले राजनीतिक सङ्घर्षलाई पनि जोड दिने निर्णय ग¥यो । रङ्गभेद शत्रुले थोपरेको भेद भन्दै सम्मेलनले गोरो रङ्गका श्रमिक जनता र काला जातिका श्रमिक जनताको भाग्य अन्तर्सम्बन्धित भएको निचोड निकाल्यो । जिओ स्लोभोले तयार पारेको कार्यनीतिक तथा रणनीतिक दस्तावेजले क्रान्तिको प्रमुख लक्ष्य सबभन्दा उत्पीडित वर्गको रुपमा अफ्रिकी जनताको राष्ट्रिय मुक्ति तय गरियो । दस्तावेजमा लेखिएको थियो – ‘हामी क्रान्तिकारी हौं, सङ्कीर्ण राष्ट्रवादी होइनौं ।’ ‘प्रतिबद्ध क्रान्तिकारीहरू हाम्रा बन्धु हुन् । उनीहरू जुनसुकै समूहको किन नहोऊन् । हाम्रो आन्दोलनमा कोही पनि दोस्रो दर्जाको सहभागी छैनन् ।’
दस्तावेजमा सैनिक सङ्घर्षको पहिलो चरणमा आर्थिक तथा राजनीतिक सुदृढीकरणमा जोड दिइएको थियो । एक सातासम्म चलेको सम्मेलनका धेरै निर्णय हानीको ज्ञापनपत्रको परिणाम पनि थियो । नेतृत्वले पाउँदै आएको भत्ता हानीले ज्ञापनपत्रमा उल्लेख गरे बमोजिम रोकियो । केही शिविर कमाण्डरहरूलाई पदबाट बर्खास्त गरियो । पार्टीले आफ्नो आन्तरिक अवस्था बलियो पार्दै आफ्नो प्रमुख लक्ष्यमा ध्यान केन्द्रित ग¥यो । सम्मेलनले दुवै सैनिक एवम् राजनीतिक बाटो प्रयोग गरी दक्षिण अफ्रिकाभित्र गतिविधि बढाउने प्रस्ताव पारित ग¥यो । सम्मेलनमा ७० जना प्रतिनिधिहरूको सहभागिता थियो ।
मोरोगोरो सम्मेलनको दुई साताअघि भएको पूर्वी तथा केन्द्रीय अफ्रिकी देशहरूको पाँचौं शिखर सम्मेलनले भने शान्तिपूर्ण सङ्घर्षलाई जोड दिइएको थियो । मोरोगोरो सम्मेलनले ज्ञापनपत्र बुझाउनेलाई पुनस्र्थापना गर्ने निर्णय गरे तापनि हानीमाथिको उपेक्षापूर्ण व्यवहार अन्त्य भएको थिएन । आफ्नो जीवन समर्पण गरेको आन्दोलनबाट यसप्रकारका व्यवहार पाउँदा हानी व्यथित थिए । हानीमाथि धोखेबाज, स्वार्थीको आरोप चालू थियो । त्यसबारे कालान्तरमा उनले भने – ‘म धोखेबाज होइन, म स्वार्थी होइन भनी म प्रमाणित गर्न चाहन्थें । मेरो गुनासो पछाडि मेरो कुनै आग्रह थिएन ।’ ज्ञापनपत्रमा हस्ताक्षर गर्ने ८ जनामध्ये लिओनार्ड कोसी ९ीभयलबचम ल्पयकष्० बाहेक सबै अडिग रहे । सन् १९७७ मा कोसीको हत्या भयो । धेरैले उनको हत्या पछाडि एमकेको हात रहेको सार्वजनिक रुपमै स्वीकारे । मोरोगोरो सम्मेलनसँगै एउटा अर्को विद्रोही समूहको जन्म भयो जसलाई ‘८ जनाको समूह’ भनी चिनियो । यो कम्युनिष्टविरोधीहरूको समूह थियो । सम्मेलनपश्चात् सशस्त्र सङ्घर्ष समन्वय गर्न गठित एउटा क्रान्तिकारी परिषद्मा कम्युनिष्टहरूलाई समेत सामेल गरेकोप्रति यो समूह असहमत थियो । दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पनि ८ जनाको समूहलाई ‘एउटै रङ्गभित्र लुकेका शत्रुहरू’ भनी विरोध ग¥यो ।
ज्ञापनपत्र काण्डपछि अलग पारिएका क्रिस हानी लुसाकामा बसेर आन्तरिक सङ्गठन सुदृढीकरणमा सक्रियतापूर्वक लागे । उनी क्रान्तिकारी परिषद्का सदस्य त थिएनन् तर विशेषतः ज्याक र रे सिमोन्सहरूसँग सम्बन्ध राख्दै त्यसको नजिक रहेर काम गरे । मोरोगोरो सम्मेलनको रणनीतिक तथा कार्यनीतिक दस्तावेजलाई ऐतिहासिक उपलब्धि मान्दै त्यसको कार्यान्वयनमा सक्रियतापूर्वक लागि परे । त्यसले हानीको गरिमा अझै उँचो बनाउँदै लग्यो । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीभित्र उनको प्रतिभाको प्रशंसा हुने गथ्¥यो । सन् १९७० मा हानी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी त्यतिबेला भर्खर २८ वर्षका थिए ।
क्रिस हानी १९७२ मा कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सहसचिव बने । यसबीच गुरिल्ला तालिमका लागि उनी तीन महिना जर्मनीको बर्लिन छेउछाउ बसे । हानी दक्षिण अफ्रिकाभित्रै गएर स्वतन्त्रता आन्दोलन चर्काउन चाहन्थे । त्यसकारण सन् १९७५ मा उनी भेष बदलेर जोहान्सवर्ग पुगे । तर, उनलाई त्यहाँ आश्रय दिन कोही पनि तयार भएनन् । चार महिना यताउता दुई–तीन जनाको समूहमा भौंतारिएपछि अन्ततः उनी दक्षिण अफ्रिकाकै भाग रहेको तर पछि अलग देश बनेको लेसोथो पुगे । त्यसअघि उनीहरूले सोमालियाको राजधानी मोगाडिसुबाट आफ्ना कार्यकर्ता दक्षिण अफ्रिकाभित्र छिराउने प्रयास गरेका थिए । तर, त्यसो गर्दा धेरै कार्यकर्ता पक्राउ परेपछि लेसोथो नै गतिविधिको लागि उपयुक्त ठाउँ बन्न पुग्यो । लेसोथोमा हानीका पिता गिल्बर्ट पनि प्रवास जीवन व्यतित गर्दै थिए । गिल्बर्ट आफ्नी अर्की श्रीमती एलिजाबेथ ‘रक्की’ माफिकिङ र ८ जना छोराछोरीसँग सानो पसल गरी बसेका थिए । माफिकिङ आफै एक मजदुर नेतृ थिइन् र केपटाउनबाट उनलाई निकाला गरिएको थियो । गिल्बर्टको सक्रिय राजनीतिक चासो र पहुँचले हानीलाई त्यहाँ काम गर्न सहज थियो ।
लेसोथोमा बसेर हानीले मुक्ति सङ्घर्षमा टेवा पु¥याउने विविध गतिविधि गर्न थाले । हानीले कालान्तरमा स्मरण गरे – ‘अब हामीले लिसोथोबाट देशभित्र विभिन्न एकाइ गठन गर्न थालेका थियौं ………. देशभित्रै हामीले क्रमशः साङ्गठनिक सञ्जाल विस्तार ग¥यौं । हामी साथीहरूलाई गुरिल्ला युद्ध, राजनीतिक, गुप्तचरीजस्ता विषयमा तालिम दिन्थ्यौं । म त्यो समय निकै उत्साहित थिएँ । त्रान्सभाल, ओरेन्ज फ्रि स्टेट, केप र नातालबाट मानिसहरू त्यहाँ आइरहन्थे । मजदुर सङ्गठनसँग सम्पर्कमा थिएँ । म साँच्चै जीवन्त सम्पर्कमा थिएँ । म भित्र–बाहिर गरिरहन्थें । त्रान्सकेको तेर्कस्पुरियटमा कमरेडहरूसँग भेट्थें । लेसोथोबाट म केप टाउन, जोहान्सवर्ग, डर्वानमा केही दिनका लागि साथीहरू परिचालन गर्थें । थोरैमात्र बैठक हुन्थे । हामी रणनीतिबारे छलफल गथ्र्यौं । ………… थेनजिबे थिन्स्तो (Thenjiwe Mthinsto) जस्ता प्रतिभाशाली युवाहरू हामीसँग थिए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र हाम्रो सङ्घर्षबीचको भिन्नताबारे हामी उनीहरूलाई तयार पाथ्र्यौं । तालिम दिइएकामध्ये राम्रालाई देशभित्र परिचालन गथ्र्यौं ।’
एमकेले लेसोथोलाई तालिम क्षेत्र, भर्ती केन्द्र र दक्षिण अफ्रिकाभित्र छिर्ने मुख्य नाकाको रुपमा उपयोग ग¥यो । क्रिस हानीका गतिविधि चाँडै केन्द्रीय गतिविधिको महत्वपूर्ण हिस्सा बन्यो । सन् १९७५ मा हानी सैनिक कमिसारमा पदोन्नति भए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको राष्ट्रिय परिषद्मा उनलाई मनोनित गरियो । तर, १९७६ को सुरुतिर क्रिसलाई लेसोथो प्रशासनले गिरफ्तार ग¥यो । लेसोथो प्रहरी प्रशासन दक्षिणी अफ्रिकी प्रशासनसँग नजिक रहेर काम गथ्र्यौ । हानी र उनीसँगै गिरफ्तार परेका कमरेडहरूलाई निर्मम यातना दिइयो । लेसोथो सरकारले हानी र मोलोईमाथि प्रतिबन्धित बीसीपी पार्टीलाई आर्थिक सहायता दिएको र लेसोथो सरकारको फर्जी कागजात बनाएको अभियोग लगाएको थियो । लेसोथो सरकार उनीहरूलाई दक्षिण अफ्रिकामा सुपुर्दगी गर्ने तयारीमा थियो । तर, पार्टीको पहलमा त्यो तयारी सफल भएन ।
सन् १९७६ ताका दक्षिण अफ्रिकाभित्र रङ्गभेदविरोधी काला सचेतना आन्दोलन(Black Consciousness Movement-BCM) त्यहाँका युवाहरूबीच निकै सक्रिय थियो । १९७६ जुन १६ को दिन २० हजार दक्षिण अफ्रिकी युवा–विद्यार्थीले ऐतिहासिक प्रदर्शन गरे । अफ्रिकान भाषीको जबरजस्ती थोपराईको विरुद्धमा चर्केको त्यो सङ्घर्ष स्वेतो आन्दोलनका नाममा चर्चित बन्यो । तर, तत्कालीन सरकारले त्यसलाई नराम्ररी दबाइदियो । हजारौं युवाहरू देश छोड्न बाध्य भए । सन् १९७७ मा बीसीएमका नेता लिन्दा म्ती (Lingda Mti) को ३१ वर्षको उमेरमा कारागारभित्र हत्या गरियो । सरकारी दमनको कोपभाजनबाट बच्न देश छोडेका युवाहरूको लागि लेसोथो उपयुक्त आश्रयस्थल बन्यो । त्यहाँ उनीहरूको भेट क्रिस हानीसँग भयो । कालान्तरमा तात्कालीन समयको स्मरण गर्दै हानीले भने – ‘सन् १९७६ अफ्रिकी काङ्ग्रेस र सशस्त्र सङ्घर्षको निम्ति उपयुक्त समय थियो किनभने देशभित्रबाट ठूलो सङ्ख्यामा कार्यकर्ता हाम्रो सम्पर्कमा आएका थिए । ती कार्यकर्ताहरू फरक खालका थिए – आक्रोशित र अधैर्य । उनीहरू जतिसक्दो चाँडो रङ्गभेद अन्त्य गर्न चहान्थे । ठूलो अपेक्षा र बलिदानी भावनाका साथ उनीहरू देशबाहिर समय खेर फाल्ने पक्षमा थिएनन् । उनीहरू देशभित्र गएर दैत्यसँग भिड्न चहान्थे ।’
यसरी आएका युवाहरू ३४ वर्षका हानीको बौद्धिकता, दक्षिण अफ्रिकाभित्रको राजनीतिक अवस्था, सरल व्यवहारबाट प्रभावित हुने गर्थे । उनीहरूलाई राजनीतिक प्रशिक्षण दिने काम हानीकै थियो । प्रशिक्षार्थीहरूमध्ये सबभन्दा प्रतिभाशाली र अनुशासितहरूलाई कम्युनिष्ट पार्टीको सदस्यता लिन उत्साहित गरिन्थ्यो । ‘वर्ग सङ्घर्षमा आधारित राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति’ को पक्षमा हानीको दृष्टिकोण प्रस्ट थियो । कम्युनिष्ट पार्टीको सदस्यता पाउनु सम्मानको विषय थियो र गोप्य रुपमा हुन्थ्यो ।
प्रशिक्षण प्राप्त गरिसकेका युवाहरूलाई भूमिगत गतिविधिमा परिचालित गरिन्थ्यो । उनीहरू पार्टी साहित्य प्रकाशनमा सहायता गर्थे । तर, उनीहरू एकले अर्काको कामबारे थाहा पाउँदैनथे । सबैले भूमिगत नाम प्रयोग गर्थे । तालिमको प्रारम्भिक पाठ नै सुरक्षा प्रबन्धसम्बन्धी हुन्थ्यो । देशभित्र पस्ने टोलीमा दुईदेखि तीन जनामात्र हुन्थे । प्रत्येक टोलीको एकजना टोली नेता हुन्थ्यो र त्यो टोली हानीको प्रत्यक्ष सम्पर्कमा रहन्थ्यो । त्यस्ता टोलीको आयु बढीमा तीन वर्षको मात्र हुन्थ्यो ।
लेसोथोमा हतियार प्रायशः चिहानघारीमा लुकाउने गरिन्थ्यो ।
सन् १९७८ को अक्टोबर महिनामा क्रिस हानी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको टोलीमा सम्मिलित भई भियतनाम गए । गुरिल्ला युद्धसम्बन्धी भियतनामी अनुभवबाट सिक्नु नै भ्रमणको प्रमुख लक्ष्य थियो । उत्तर र दक्षिण भियतनामबीचको समन्वयकारी गुरिल्ला युद्धले संरा अमेरिकी साम्राज्यवादलाई समेत लघारेको थियो । दक्षिण अफ्रिकीहरू त्यो पद्धति सिक्न लालायित थिए ।
लेसोथोबाट भूमिगत गतिविधिलाई तीव्रता दिने क्रम चालू थियो । त्यहीबीच सन् १९७८ मा क्रिसकी श्रीमती लिम्फो हानी गिरफ्तारीमा परिन् । लेडीब्रान्डबाट पश्चिमी केपमा खबर पु¥याउने क्रममा उनलाई गिरफ्तार गरिएको थियो । आतङ्कवाद ऐनअन्तर्गत उनलाई सुरुमा केपटाउन र पछि ब्लोयमफोटियन लगियो । चरम यातनाले उनको पेटको बच्चा तुह्यो ।
लेसोथोमा हानीको निवासलाई मस्को भनिन्थ्यो । त्यहाँ गुप्तचरहरूको सदैव निगरानी हुन्थ्यो । धेरैपटक हानीको हत्या प्रयास पनि भएको थियो । प्रातःकालीन भ्रमणका क्रममा उनको हत्या प्रयास भएको थियो । तर, दैनिक रुपमा फरक–फरक बाटोमा जाने भएकाले तिनीहरू असफल हुन्थे । दक्षिण अफ्रिकी सरकार लेसोथोमा हानीको नेतृत्वमा भइरहेका गतिविधिबारे क्रमशः सचेत बन्दै थियो । त्यसकारण दक्षिण अफ्रिकी सरकारले हानीको हत्या गर्न उनले प्रयोग गरेको कारमा विस्फोटक पदार्थ जडान गरी विस्फोट गराए । तर, त्यसबाट कुनै मानवीय क्षति भने भएन । हानीको गाडीका चालकलाई अपहरण गरी अमानवीय यातना दिइयो ।
कार विस्फोट घटनापछि हानी परिवारले मस्को नामको घर छोडेर क्युना फ्ल्याटमा बसाइँ सरे ।
सन् १९८२ मा लेसोथोमा एमकेका केही उल्लेखनीय कारवाही भए । लाङ्गा आयुक्तको अदालतमा मार्च २० मा बम विस्फोट गराइयो । जून ४ मा केपटाउनस्थित राष्ट्रपतिको परिषद् भवनमा अर्को बम विस्फोट गराइयो । त्यस्तै पूर्वी केपमा पनि केही विस्फोटन गराइए । ती घटनापश्चात् अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वले हानीलाई लुसाका आउन निर्देशन दियो । हानीको अनेक पटकको हत्या प्रयासका कारण उनलाई त्यता बोलाइएको थियो । तर, हानीको लुसाका प्रस्थानसँगै लेथोसोमा गतिविधि नेतृत्वविहीन बन्न पुग्यो ।
दक्षिणी अफ्रिकी मुक्ति सङ्घर्षमा क्रिस हानीको सक्रिय नेतृत्व र सक्रियतासँगै सरकारले उनीविरुद्धको हमला तीव्र पारेको थियो । ‘द सिटिजन’लगायत सरकार पक्षधर सञ्चारमाध्यमहरूले उनीविरुद्धको दुष्प्रचारलाई व्यापक बनाएको थियो । ती सञ्चारमाध्यमहरूले हानीलाई ‘रक्तपिपासु कालो कम्युनिष्ट’ का रुपमा चित्रण गरेका थिए । काला अफ्रिकी जनता बस्ने सहर र गाउँबस्ती त्यतिबेला अशान्त थिए । गुप्ती प्रहरी र सेनाको सक्रियता बढ्दो थियो । सरकार स्वयम् काला जातिको हत्या, आतङ्क र हिंसामा तल्लीन थियो । युवा र बुढा मानिसहरूको निर्मम हत्याका समाचार दैनिकजसो छापिन्थे । महिलाहरू बलात्कृत हुन्थे, स्कूले केटाकेटीसमेत कुटपिटको शिकार बन्थे । त्यहाँ काला जातिका जनता अर्को दिन बाँचिने हो–होइन, ठेगान थिएन । यस्तो परिस्थितिमा हानीले भने –‘गोराहरूले यतिबेला देश गृहयुद्धमा भएको बुझ्न आवश्यक छ ।’ तर, गोराहरूका बस्ती भने शान्त थिए । ‘उनीहरूको जीवन राम्रो छ । उनीहरू सिनेमा हेर्न जान्छन्, भोजभतेरमा मोजमस्ती गर्छन् । होटलमा निर्भय रमाउँछन् । त्यसले उनीहरूको जीवन सुन्दर भएको प्रस्ट छ । हाम्रो पार्टीको एउटा कार्यक्रम त्यो सुन्दर जीवन बिथोल्नु पनि हो’, एउटा अन्तर्वार्तामा ३९ वर्षीय हानीले भने ।
दक्षिण अफ्रिकाको एक समूह गोराहरू भने अफ्रिकी राष्ट्रिय काङ्ग्रेससँग वार्ता गर्न जाम्बिया पुग्यो । काङ्ग्रेस सभापतिले आफ्नो वार्ता टोलीमा हानी र थाबो एम्बेकीलाई समावेश गरेका थिए । हानी र एम्बेकी दुवै दुई दिशाका थिए । एम्बेकी अधैर्य स्वभावका थिए । हानी कम्युनिष्ट विचारधाराप्रति प्रतिबद्ध थिए । एम्बेकी मूलतः बेलायतका उदार सामाजिक प्रजातन्त्रवादीहरूबाट प्रभावित थिए । सन् १९७०–१९८० को दशकमा बेकी पनि कम्युनिष्ट पार्टी सदस्य थिए तर पछि उनले त्यसबाट राजीनामा गरे । उनी भावुकतावश र कम्युनिष्ट पार्टीको बौद्धिक प्रस्तुतिका कारण मात्र त्यसको सदस्य एम्बनेका थिए । हानी र बेकीबीच मतभेदहरू थिए । एम्बेकी स्वतन्त्रता सङ्घर्षलाई प्रजातान्त्रिक दिशातर्फ डो¥याउन चाहन्थे । हानी मुक्ति आन्दोलनलाई आमूल परिवर्तनसँग जोड्न चाहन्थे । यही मतान्तरका कारण सन् १९८७ मा सेनेगलको डाकरमा दक्षिण अफ्रिकामा प्रजातान्त्रिक विकल्प प्रतिष्ठानसँगको वार्तामा हानी सहभागी भएनन् । हानीबारे दक्षिण अफ्रिकामा प्रजातान्त्रिक विकल्प प्रतिष्ठानका संस्थापक एलेक्स बोरानीले आफ्नो संस्मरणमा लेखेका छन् –‘उनी दृढ निश्चयी माक्र्सवादी थिए र उनी मूलतः दक्षिण अफ्रिकामा आर्थिक न्यायको कुरा गर्थे । निःसन्देह त्यतिबेला उनी समाजवादी ढाँचाको अर्थतन्त्रप्रति गहिरो ढङ्गले कटिबद्ध थिए । उनी डाकरमा सहभागी भएनन् र उनीसँग मेरो दोस्रोपटक भेट पनि भएन । तर, उनका भाषण र पहिलो भेटपछि उनीप्रति मेरो धारणा यस्तो रह्यो – उनी ज्यादै विद्वान, गम्भीर व्यक्ति हुन् ।’
सन् १९८५ जुलाईमा दक्षिण अफ्रिकाको सत्तासीन नेशनल पार्टीको सरकारले काला जातिका जनता बस्ने सहरहरूमाथि नियन्त्रण जमाउन आंशिक सङ्कटकाल थोप¥यो । तर, त्यही वर्ष युरोपेली आर्थिक समुदायको आयोगले दक्षिण अफ्रिकामा लगानी फिर्ता गर्न आह्वान गरेपछि समुदायका १० देशहरूले तत्काल लगानी रोक्यो । फ्रान्सले लगानीमाथि प्रतिबन्ध नै लगायो । यसले नेशनल पार्टीलाई संवादको बाटोमा आउन बाध्य पा¥यो । यद्यपि नाकाबन्दीको शिकार फेरि पनि दक्षिणी अफ्रिकी शोषित–पीडित जनता नै भए । जनताको जीवन थप कष्टकर बन्न पुग्यो, गोराहरूको जीवनमा कुनै तलमाथि भएन ।
मण्डेलापछिका लोकप्रिय नेता
सन् १९८५ मा दक्षिणी अफ्रिकी कम्युनिष्ट पार्टीको छैटौं महाधिवेशन मस्कोमा भयो । महाधिवेशनले भर्ती प्रक्रियालाई व्यापक बनाउने र सशस्त्र सङ्घर्षको नीति अझ प्रस्टसँग पारित ग¥यो । क्रिस हानी सर्वाधिक मतका साथ पोलिटब्युरो सदस्य निर्वाचित भए । उनी नेल्सन मण्डेलापछि सबभन्दा लोकप्रिय नेताका रुपमा स्थापित भए । त्यही वर्ष अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको काब्वे सम्मेलन भयो । पहिलोपटक काङ्ग्रेसको राष्ट्रिय कार्य समिति निर्वाचित गरियो । त्यहाँ पनि हानी लोकप्रिय नेता चुनिए । नेतृत्वलाई जनता र कार्यकर्ताप्रति उत्तरदायी बनाउन काङ्ग्रेसले पहिलोपटक चुनावबाट नेतृत्व चयन गरेको थियो । काङ्ग्रेसमा निर्वाचित २९ केन्द्रीय सदस्यमध्ये २४ जना कम्युनिष्टहरू थिए । काङ्ग्रेसको सभापति जिओ स्लोभोसहित पोलिटब्युरो सदस्यहरूमा हानीसहित पाँच जना कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू थिए । हानी त्यो सम्मेलनबाट सेनाको उपप्रमुख तथा कमिसार अनि काङ्ग्रेसको राजनैतिक सैनिक परिषद्को सदस्यमा पनि निर्वाचित भए । सन् १९७६ यता फेरि एकपटक उनी काङ्ग्रेसको क्रान्तिकारी परिषद् सदस्य चुनिए । काब्वे सम्मेलनले हानीको जिम्मेवारी बढेको थियो र मुक्ति आन्दोलनका सबै अङ्गमा उनको प्रभाव विस्तार भयो । यसअघि सन् १९८३ को सुरुतिर ल्वान्डामा भएको सम्मेलनमा काङ्ग्रेसको राजनीतिक र सैनिक अङ्गबीच उपयुक्त समन्वय नहुँदा त्यो सम्मेलन परिणामशून्य भएको थियो ।
क्रमश…
Leave a Reply