भर्खरै :

नयाँ वर्षसँगै समाजवादी प्रचार अभियान तीव्र पार्नु आवश्यक

काठमाडौँ, १ वैशाख । नयाँ वर्ष २०७६ को सुरुसँगै नेपाली जनतालाई भ्रष्टाचार, पक्षपात र कुशासनविरुद्धको आन्दोलनमा अझ सशक्तरूपमा लाग्न प्रेरणा मिल्नेछ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोर्खा एफएमसँगको सङ्क्षिप्त टेलिफोन वार्तामा उक्त भनाइ राख्नुभएको हो ।
गएको वर्ष राष्ट्रपति स्वयम्ले संस्थागत भ्रष्टाचार भएको गुनासो गर्नुभएको, एक उपप्रम उपेन्द्र यादवले भ्रष्टाचार बढेको र सुशासन कायम नभएको व्यहोरा लेखी प्रम केपी ओलीलाई पत्र पेश गर्नुभएको घटनालाई प्रमको राजीनामा माग नै भएको चर्चा चलेको उल्लेख गर्दै सांसद सुवालले वाइडबडी जहाज खरिद, टेलिकमको फोरजी सेवा विस्तार, एनसेलसँगको पुँजीगत लाभकर असुलीमा अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको समाचारले सरकार भ्रष्टाचारको भूमरीमा डुबेको चर्चा गर्नुभयो ।
“सङ्घीय संसद र प्रदेश संसदको चुनावको बेला एनसेलले एमाले र माओवादीलाई रु. १० अर्ब चन्दा दिएको समाचार छ । यसकारण एनसेलले सरकारलाई तिर्नुपर्ने रु. ७२ अर्बभन्दा बढी पुँजीगत लाभकर भुक्तानी गरेको चर्चा छ ।” सांसद सुवालले बताउनुभयो ।
समायोजनको नाममा सङ्घका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउनु सङ्घ राज्य, विकेन्द्रीकरण र स्वायत्ताविपरीत भएको उल्लेख गर्दै सांसद सुवालले विद्यालय र कलेज शिक्षामै नयाँ पुस्तालाई भ्रष्टाचारविरोधी र देशभक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारको खर्बौँ रुपैयाँ शिक्षामा बजेट खर्च भए पनि अधिकांश सरकारी विद्यालय र कलेजको गुणस्तर कमजोर भएको उल्लेख गर्दै राज्यकोषबाट पारिश्रमिक र सुविधा लिने सबैका सन्तानलाई अनिवार्यरूपमा सरकारी विद्यालय र कलेजमा भर्ना गर्नुपर्ने व्यवस्था आवश्यक भएको औँल्याउनुभयो ।
“सरकारमा गएका कम्युनिष्ट नामका पुँजीवादी पार्टी र प्रम र मन्त्रीहरुबाट देश र जनताको हित नहुने हुँदा नेपाली जनता उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, स्वदेशमा रोजगारी मिल्ने, व्यक्तित्व विकासमा समान अवसर हुने, विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण हुने, शोषण अन्त्य हुने वैज्ञानिक समाजवादको लागि सङ्घर्ष गर्नु आवश्यक छ”, सांसद सुवालले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *