भर्खरै :

पाउलो फ्रेरेको पुस्तक ‘उत्पीडितहरूको शिक्षाशास्त्र’ – १

राकस्था
उत्पीडितहरूको शिक्षाशास्त्र
शिक्षाशास्त्री पाउलो फ्रेरेको प्रसिद्ध पुस्तक ‘उत्पीडितहरूको शिक्षाशास्त्र ÷शिक्षण विधि’ (पेडागोजी अफ दि अप्रेस्ड) ले प्रकाशनको स्वर्ण वर्ष मनाइसकेको छ । तर, पुस्तकको सान्दर्भिकता आज पनि उतिकै छ । उत्पीडित जनताको मुक्तिको शिक्षण विधि कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्ने जोकोहीले यो पुस्तक पढ्नैपर्ने मानिन्छ । सन् १९६८ मा पोर्चुगाली भाषामा प्रकाशित यो पुस्तकलाई दुई वर्षपछि अङ्गे्रजी भाषामा प्रकाशित गरियो । विश्वका विभिन्न भाषामा अनुवाद गरी यो पुस्तकको लाखौं प्रति बिक्री भइसकेको छ ।
पाउलो फ्रेरेको जन्म सन् १९२१ मा ब्राजिलको रेसिफ सहरमा मध्यम वर्गीय परिवारमा भएको थियो । सन् १९५० सम्म ब्राजिलमा निरक्षरहरूलाई मतदान गर्ने अधिकार नभएकाले प्रौढहरूलाई साक्षर बनाउन फ्रेरे आफै सक्रिय भएर लागेका थिए । साक्षर भए पनि प्रौढहरूले रुढिवाद, अन्धविश्वास र भाग्यवादमा विश्वास गर्न नछोडेपछि आलोचनात्मक चेतको आवश्यकता भएको निष्कर्षक निकाल्दै फ्रेरेले विद्यावारिधी गरे । सन् १९६३ मा फ्रेरे ब्राजिलको राष्ट्रिय साक्षरता कार्यव्रmमको संयोजक बने । सत्ता हत्याउन खोजेको आरोपमा तत्कालीन ब्राजिल सरकारले फ्रेरेलाई पव्रmाउ गरी जेल हाल्यो । पचहत्तर दिनको कारावासपछि उनी चिली निर्वासित भए । चिलीमा उनले साक्षरता कार्यव्रmमको सल्लाहकार भई काम गरे ।
‘उत्पीडितको शिक्षाशास्त्र’ पुस्तक जम्मा चार वटा पाठमा लेखिएको छ । पुस्तकमा शिक्षकले छनोट गरेका विषय, ज्ञान, सीपमात्र विद्यार्थीलाई घोकाउने र विद्यार्थीलाई निष्क्रिय बनाउने शिक्षण विधिको आलोचना गरिएको छ । विद्यार्थीलाई सिर्जनशील र आलोचनात्मक बनाउनुपर्ने उनको तर्क छ । पुस्तकमा मौनताको संस्कृति (कल्चर अफ साइलेन्स) तोड्न शिक्षा दिनु पर्ने तर्क गरिएको छ । अज्ञानताले उत्पीडित जनतामा मौनतको संस्कृति रहने र उनीहरूलाई सचेत बनाउन शिक्षा चाहिने उनको भनाइ हो । लेखक सचेत व्यक्तिको मौनता समाजको निम्ति घातक हुने विचार राख्छन् । शिक्षाले शोषण सहन होइन उत्पीडकहरूमाथि प्रश्न उठाउन सक्ने बनाउनु पर्ने फ्रेरेको जोड हो । पुस्तकले वर्ड (शब्द) बाट वल्र्ड (संसार) चियाउने तरिका सिकाउनु पर्ने बताएको छ । उत्पीडित जनतालाई आफू किन पछाडि परेको कारणसमेत स्पष्ट पार्ने शिक्षाको आवश्यकता फ्रेरको निष्कर्ष हो ।
पुस्तकमा प्रस्तुत चार वटा पाठहरूको सार पाठकसमक्ष राख्न खोजिएको छ । सार पढेपछि मुल पुस्तक पढ्न केही सजिलो हुने आशा गरिएको छ । पुस्तक खँदिलो विचारको संग्रह हो । पुस्तकको अध्ययन एक वा दुईपटक गर्दा पनि नपुग्ने हुनसक्छ । दोहो¥याएर पढ्दा झन् नयाँ तर्क र विश्लेषण मनमा तरङ्गित भने अवश्य हुन्छ ।
पहिलो पाठको सार
मानिसले मानवीकरण (ह्युमानाइजेसन) वा अमानवीकरण (डिह्युमानाइजेसन) का दुई बाटोमध्ये एक लिएका हुन्छन् । मानवीकरणको अर्थ पूर्ण मानव बन्ने प्रक्रिया हो र यो हरेक मानिसको उद्देश्य हो । अमानवीकृत मानिस व्यक्ति होइन वस्तुको रूपमा रहेका हुन्छन् । ‘अन्यायपूर्ण व्यवस्था’ (अन्जष्ट अर्डर) को कारण मानिस अमानव बन्छ ।
उत्पीडनको दिशामा पु¥याउने कारणहरूविरुद्ध लडेरै साँचो स्वतन्त्रता प्राप्त हुन्छ । उत्पीडित जनताले आफैले अन्यापूर्ण व्यवस्थाबाट आफ्नो मुक्ति खोज्नु सबभन्दा प्रमुख काम हो । स्वतन्त्रताको निम्ति लड्ने क्रममा उत्पीडित जनता आफै उत्पीडकको रूपमा परिणत नहोस् भन्नेमा होसियार हुनुपर्छ र समाजलाई पुनः सन्तुलित बनाई ‘मानवतालाई पुनःस्थापना’ (रिस्टोर ह्युमानिटि) गर्नुपर्छ ।
उत्पीडित जनतालाई सहयोग गर्न उत्पीडकहरू आउँदा उनीहरू धेरैजसो ‘नक्कली उदारता÷सदाशयता’ (फल्स जेनरसिटि) देखाउँछन्् र आफ्नो उत्पीडनलाई निरन्तरता दिन्छन् । उत्पीडकहरूको ‘नक्कली उदारता’ को कारण उत्पीडित जनता भ्रममा हुन्छन् । आफ्नो शक्ति देखाउन वा शक्तिको परीक्षण गर्न सदा उत्पीडकहरू उदारताको खोजीमा रहेका कमजोर मानिस खोजिरहेका हुन्छन् ।
उत्पीडित जनतालाई साँचो सहयोग गर्ने हो भने तिनीहरू अन्यायलाई समूल नष्ट गर्ने सङ्घर्षमा सहभागी हुनुपर्छ । उत्पीडनलाई परास्त गर्ने कुनै पनि आन्दोलनको नेतृत्व उत्पीडित जनताले नै गर्नुपर्छ । उत्पीडित जनतासँग उत्पीडनको पीडा हुन्छ, त्यसैले उनीहरू आफ्नो पहिचानकोे सङ्घर्षमा भाग लिन्छन् र तिनीहरूले स्वतन्त्रता कति महत्वपूर्ण छ भन्ने प्रमाणित गर्छन् । यद्यपि, यो सङ्घर्षको सुरुआतमा उत्पीडित जनता कहिलेकाहीँ आफै उत्पीडकको रूपमा प्रस्तुत हुन्छन् । उत्पीडनको प्रणालीले उत्पीडित जनताको धारणा निर्माण गरेको हुन्छ र तिनीहरू उत्पीडकजस्तै बन्नुपर्ने भ्रम पाल्छन् । सुरुमा उत्पीडित जनता आफू ‘उत्पीडित’ भएको देख्दैनन् र यसकारण उनीहरूमा ‘स्वतन्त्रताको डर’ कायम हुन्छ । उत्पीडकहरूले दिएको सल्लाहअनुसार नै उत्पीडितले व्यवहार गर्छन् । उत्पीडित जनता स्वतन्त्रतादेखि डराउँछन् किनभने यसमा उनीहरूले स्वीकार गरेका आस्था र व्यवहार त्याग्नुपर्ने हुन्छ । यद्यपि स्वतन्त्रता सबै जनताको निम्ति आवश्यकता छ र यो एक व्यक्तिले आफू पूर्ण भएको अनुभव गर्न अनिवार्य छ ।
अत्याचारमाथि विजय पाउन मानिसले शोषणका कारण के हो भन्ने बुझ्नु पर्छ किनभने तिनीहरूले आफ्नो स्थितिमा परिवर्तन ल्याउनु छ र नयाँ समाज बनाउनु छ । त्यही समयमा मानिसले आफ्नो स्वतन्त्रतामा बाधा दिने आफूले स्वीकारेका विश्वास र विचारहरूसँग लड्नु पर्ने हुन्छ । उत्पीडितमा आलोचनात्मक दृष्टिको विकास गराउन र उनीहरूको स्थितिमा परिवर्तन गर्न पाइला चाल्न सहयोग गर्नु नै ‘उत्पीडितको शिक्षणशास्त्र’ को भूमिका हो ।
आंशिकरूपमा भएपनि यो शिक्षणशास्त्रको नेतृत्व उत्पीडित जनताले लिनुपर्छ किनभने आफ्नो स्वतन्त्रतामा उनीहरू आफै सक्रिय भूमिका निर्वाह गर्न सक्छन् । यस तरिकाबाट स्वतन्त्रताको निम्तिको सङ्घर्ष थाल्नु कठिन छ किनभने उत्पीडित र उत्पीडक दुवै समाजमा आफ्नो भूमिकाबारे सचेत छन् । मानिसलाई स्वतन्त्र बन्न सहयोग गर्नु नै यस्ता चुनौतिहरू पार गर्ने मुख्य बाटो हो ।
स्वतन्त्रताका परिणामहरू दोहोरो वा द्वन्द्वात्मक हुन्छन् ः समाजको वस्तुगत परिवर्तन गर्नु र संसारलाई जनताले बुझ्ने ढाँचामा आत्मगत परिवर्तन गर्नु । यी दुवै आवश्यक छन् किनभने मानिस र विश्व दुवै एक–आपसमा जेलिएका हुन्छन् । मानिसका कृयाकलापले हाम्रो समाजको निर्माण भएको हुन्छ र भविष्यको निम्ति मानिसका कृयाकलापले विश्वलाई बदल्न सक्छ । यी परिवर्तनहरू ‘अभ्यास’ बाट मात्र हुनसक्छ । संसारलाई बदल्ने लक्ष्य केन्द्रित भई विचार (रिफ्लेक्सन) र काम (एक्सन) लाई जोड्नु पर्छ । तीमध्ये एउटामात्र हुँदा पनि साँचो स्वतन्त्रता हुँदैन । उत्पीडित जनताको आलोचनात्मक दृष्टिलाई कमजोर पार्नको निम्ति उत्पीडकहरूले विभिन्न खालका जालसाझी गर्छन् । यदि उत्पीडित जनताले आफू उत्पीडनकारी प्रणालीमा जकडिएको अनुभूति गर्दछन् भने यसविरुद्ध उनीहरू लड्न तयार हुन्छन् । यसकारण स्वतन्त्रता दिने शिक्षण विधिले उत्पीडितलाई आफ्नो निम्ति सबभन्दा राम्रो के भन्ने निर्णय गर्न सहयोग गर्नुपर्छ ।
उत्पीडितको शिक्षाशास्त्रको निर्माणले उत्पीडितहरूको मानवीयता पुनःस्थापना गर्न सहयोग गर्नुपर्छ । उत्पीडकहरूले नेतृत्व गरेको परम्परागत पश्चिमा शिक्षाशास्त्रले उत्पीडित जनतालाई सहयोग गर्दैन किनभने यो फाल्नुपर्ने उत्पीडनकारी प्रणालीको उपज हो । यो हुँदाहँदै पनि शिक्षाशास्त्र लागू गर्ने राजनीतिक क्षमता उत्पीडकहरूमा मात्र हुन्छ, त्यसैले ‘साना शैक्षिक परियोजनाहरू’ लागू गर्नुपर्छ । यसले जनतालाई स्वतन्त्रताका विचारहरू सिकाउँछ ।
समग्रमा शिक्षण विधिलाई दुई चरणमा हेर्न सकिन्छ । पहिलो चरणमा, उत्पीडित जनता आफू ‘उत्पीडित जनता’ को परिचयप्रति सचेत हुन्छन् र आफ्नो परिस्थिति बदल्न कटिबद्ध हुन्छन् । दोस्रो चरणमा, जव उत्पीडितहरू आफूले आफैलाई स्वतन्त्र गर्छन् र उनीहरू सबैले अरु मानिसलाई त्यो शिक्षा दिन्छन् ।
पहिलो चरणको मुख्य पक्षमा उत्पीडक र उत्पीडित जनताको चेतना बुझ्नुपर्छ, त्यसमा पनि उत्पीडित जनताभित्रका द्वन्द्व बुझ्नु आवश्यक छ । उत्पीडन अन्याय, हिंसा र ‘अरुलाई मानिसको रूपमा चिन्ने’ असफलताको रूपमा लिनुपर्छ । पूर्ण मानिसको रूपमा लिन अस्वीकार गरी उत्पीडकहरूले उत्पीडितमाथि हिंसामात्र लाद्दैनन् तिनीहरू उत्पीडनको प्रतिक्रिया दिन खोज्ने उत्पीडितलाई ‘हिंसा’ गरेको आरोप लगाउँछन् ।
स्वतन्त्रताको सङ्घर्ष प्रेमको काम हो, यो सबै मानिसमा मानवता फर्काउने प्रयाश हो । साँचो स्वतन्त्रताले उत्पीडकहरूलाई शक्तिबाटमात्र हटाउँदैन, यसले ‘उत्पीडक’ को अस्तित्व नहुने समाज निर्माण गर्छ ।
उत्पीडकहरू आफ्नो ‘शान्तिपूर्वक जिउने अधिकार’ लाई प्राथमिकता दिन्छन् । आफ्नो शक्ति कायम राख्न उत्पीडकहरू स्वयम उत्पीडित जनताको अस्तित्वमा निर्भर हुन्छन् । उत्पीडकहरू आफ्नो जीवनमा ‘भौतिकवादी’ विचार राख्छन् ः उत्पीडनको माध्यमबाट तिनीहरू विश्व, जनता र समयलाई आफ्नो स्वामित्वमा राख्न मिल्ने वस्तुमा परिवर्तन गर्ने प्रयाश गर्छन् । उत्पीडकहरूले मानवतालाई पनि आफ्नो अधीनमा राख्न सकिने अनुभव गर्ने कारणले तिनीहरू बीचको मानविकरण र स्वतन्त्रताको निम्तिको सङ्घर्ष अत्यन्तै खतरनाक ठान्छन् । उत्पीडकहरूको अस्तित्व अरुमाथिको शोषणमा निर्भर हुन्छ र यो ‘लाससँग संसर्ग गर्नु’ अथवा जीवन–हत्या हो । उत्पीडकहरू उत्पीडित जनतासँग स्वतन्त्रताको लडाईंमा सामेल हुनसक्छन् तर उत्पीडकहरूले उत्पीडनकारी विचार र दृष्टिकोण साथै ल्याउँछन् । यो हेरफेरले ‘नक्कली सदाशयता’ को अभ्यास गर्छ र यसले उत्पीडनलाई निरन्तरता दिन्छ ।
मानव स्वतन्त्रतामा प्रतिबद्ध मानिसले निरन्तर आफ्ना पुराना विश्वास र झुकावमा पुनःविचार गर्नुपर्छ । आधिकारिकरूपमा स्वतन्त्रता प्राप्त गर्न कुनै व्यक्तिले उत्पीडित जनतासँग काम गर्नुपर्छ । तिनले उत्पीडित जनतालाई अज्ञानी अथवा अविश्वासिलो भनी हेर्नु हुन्न । उनले उत्पीडित जनताले कसरी सोच्छन् भनी अनुसन्धान गर्नुपर्छ । यसबाट कस्तो खालको उत्पीडनकारी व्यवस्थाले तिनको धारणा बनाउँछ भन्ने थाहा हुन्छ । जस्तो, उत्पीडित जनता कहिलेकाहीँ आफ्नो परिस्थितिबारे ‘भाग्यवादी’ विचार राख्छन्, किनभने तिनीहरूको दुःख आफ्नो नियन्त्रण (भगवान वा भाग्यजस्तै) भन्दा बाहिरको कारण भएको मान्छन् । प्रभावकारी ‘उत्पीडितको शिक्षण विधि’ ले उत्पीडित जनताको ज्ञान र अनुभवमा भरपर्नुपर्छ, यद्यपि ती जनता सुरुमा आफ्नो क्षमता वा मूल्यप्रति आत्मविश्वास राख्दैनन् ।
उत्पीडनको कारण थाहा पाएपछि उत्पीडित जनताले आत्मविश्वास प्राप्त गर्छन् र उत्पीडकहरू समाप्त भएको देख्न थाल्छन् । स्वतन्त्रताको मुख्य पक्ष लिने भन्नु सङ्घर्षप्रति सक्रिय सहभागिता हो । यसैबीच स्वतन्त्रताको निम्ति उत्पीडितले अरुसँग वार्ता गर्नुपर्छ । जव मानिस उत्पीडितको सहभागिताविना उनीहरूलाई स्वतन्त्र बनाउन खोज्छन्, तिनीहरू ‘जलेको भवनमा सुरक्षित राख्नुपर्ने वस्तु’ को रूपमा व्यवहार गरिरहेका हुन्छन् । सङ्घर्षको नेतृत्व गर्ने नेताहरूले उत्पीडित जनता आफैले आफ्नो निष्कर्ष निकाल्न सक्छन् भनी विश्वास गर्नुपर्छ । यद्यपि, यदि उत्पीडितसँगको वार्तामा यसो गरिएन भने यो प्रचारबाजीमात्र हुन्छ । नेता र जनताले सिद्धान्त र व्यवहारलाई सँगै लाने काम गर्नुपर्छ ।
पाठ २ को सार
परम्परागत पश्चिमी कक्षाकोठामा शिक्षक सक्रिय हुन्छन् तर विद्यार्थी निस्कृय हुन्छन् । शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन् । शिक्षिक ‘बयान दिने व्यक्ति’ (न्याराटर) हुन्छन् । शिक्षकको ‘बयान’ (न्यारासन) अथवा शिक्षकले भन्दै गरेका तथ्यहरू विद्यार्थीको जीवन अनुभवभन्दा पृथक हुन्छ र विद्यार्थी शिक्षकको न्यारासनको पूर्ण अर्थ एवम् परिवेश नबुझी तथ्यहरू घोक्न थाल्छन् । यो शिक्षाको ‘बैङ्किङ’ ढाँचा हो । यसमा शिक्षक विद्यार्थीको दिमागमा ज्ञान ‘निक्षेप’ (डिपजिट) गर्छन् । यो ढाँचामा समस्या यसमानेमा छ कि यसले विद्यार्थीको सीर्जशीलतालाई निमोठ्छ । यो विधिले विद्यार्थीलाई नयाँ प्रश्न गर्न उत्साहित गर्दैन ।
संसारलाई निरन्तर प्रश्न गरेर नै ज्ञानको विकास भएको हो । यद्यपि, ‘बैङ्किङ’ ढाँचाले ज्ञानलाई विद्यार्थीसँग नभएको र शिक्षकसँग भएको चिजको रूपमा लिन्छ । यो ढाँचा उत्पीडनसँग जोडिएको हुन्छ किनभने यसले शक्ति नभएकाहरू अज्ञानी हुने सम्झन्छ । शिक्षण विधिले उत्पीडित जनताको सहयोग गर्ने लक्ष्य राख्नुपर्छ र यो निःशुल्क हुन्छ । यसले शिक्षक र विद्यार्थी बीचको अन्तरविरोधी सम्बन्धलाई परिवर्तन गर्नुपर्छ । शिक्षकमा आफ्ना विद्यार्थीमाथि पूर्ण अधिकार र नियन्त्रण हुने सम्बन्धमा परिवर्तन आवश्यक छ ।
‘बैङ्किङ’ ढाँचाले विद्यार्थीको प्रवृत्तिलाई एउटा साँचोमा ढाल्छ ः यसले विद्यार्थीलाई संसारलाई बदल्नुको सट्टा वा प्रश्न गर्नुको सट्टा संसार जस्तो छ त्यसैमा ढल्किन सिकाउँछ । यसले उत्पीडित जनतालाई उत्पीडनको वास्तविक प्रकृति बुझ्नबाट बञ्चित गर्न चाहने उत्पीडकहरूको सेवा गर्छ । उत्पीडकहरूले ‘बैङ्किङ’ शिक्षालाई कल्याणकारी संस्थासँग जोड्छन् र त्यसले उत्पीडित जनतालाई ‘स्वस्थ’ समाजभन्दा बाहिरका जस्तो व्यवहार गर्छन् ।
‘बैङ्किङ’ ढाँचाको उपयोग गर्ने शिक्षकले जानेर वा नजानेर उत्पीडनलाई नै मलजल गरेका हुन्छन् । उत्पीडित जनतालाई साँच्चीकै सहयोग गर्न चाहनेले यस्तो होस् भन्ने चाहँदैनन् । केही विद्यार्थीले आफूलाई दिइएको शिक्षा स्वतन्त्रतातर्फ उन्मुख छैन भन्ने बुझ्न थाल्छन् । जनहित चाहनेहरूले उत्पीडित जनताबीच काम गर्नैपर्छ र जनतालाई मित्र विद्यार्थीको रूपमा लिन्छन् ।
‘बैङ्किङ’ ढाँचामा शिक्षकले प्रयोग गर्ने विधिले शिक्षक र विद्यार्थीबीच दूरी बढाउँछ । यसको विपरीत कक्षा कोठामा उपयुक्त सञ्चार आवश्यक छ ः शिक्षकले आफ्नो विचार लाद्न पाउँंदैन, तर विद्यार्थीसँग मिलेर काम गर्नुपर्छ । उत्पीडनजस्तै नै शिक्षणमा ‘बैङ्किङ’ ढाँचा ‘मृत्युसँग संसर्ग गर्नु’ हो र मानवको जीवन समाप्त पार्नु हो । तर उत्पीडनको कारणबाट हुने दुःखले जनतालाई आफ्नो व्यक्तिगत स्वतन्त्रता र शक्तिलाई पुनःस्थापना गर्न उत्साहित गर्नसक्छ । ‘बैङ्किङ’ ढाँचा उत्पीडनकारी हुन्छ र स्वतन्त्रताको सङ्घर्षका क्रान्तिकारी नेताहरूले यो विधिलाई प्रयोग गर्नु हुन्न । क्रान्तिकारी नेताहरूले यो ढाँचालाई धेरैजसो प्रयोग गरेको पाइन्छ । तर ‘बैङ्किङ विचारलाई अस्वीकार गर्न’ र यसलाई ‘समस्या राख्ने’ (प्रब्लम पोजिङ) ढाँचाले प्रतिस्थापन गर्नुपर्छ ।
‘बैङ्किङ’ ढाँचा विपरीत ‘समस्या÷प्रश्न राख्ने’ शिक्षण विधि सञ्चार र वार्तामा आधारित हुन्छ र यसले मानव स्वतन्त्रतालाई मलजल गर्छ । यसले शिक्षक र विद्यार्थी बीचको सम्बन्धमा परिवर्तन ल्याउँछ र दुवैलाई एकाकार गर्छ । कक्षाकोठामा बस्ने सबैले एकअर्कालाई सिकाउँछन् र एकअर्काबाट सिक्छन् । ‘बैङ्किङ’ ढाँचामा शिक्षक सक्रिय हुन्छन् र विद्यार्थी निस्कृय हुन्छन्, जवकि ‘समस्या राख्ने’ ढाँचामा दुवै समूह ‘सह–अनुसन्धानकर्ताहरू’ मा परिवर्तन हुन्छन् र दुवैले प्रश्न–प्रतिप्रश्न गर्छन् । ‘समस्या÷प्रश्न राख्ने’ ढाँचाले विद्यार्थीमा आलोचनात्मक चेतना विकास गराउँछ, किनभने यसले पाठ र विद्यार्थीको अनुभवसँग सम्बद्ध समस्या अगाडि सार्छ । बदलामा यसले विद्यार्थीलाई क्रियाकलाप गर्न र समस्याको सामना गर्न चुनौती दिन्छ ।
‘समस्या÷प्रश्न राख्ने’ शिक्षाले मानिसलाई संसार बुझ्न सहयोग गर्छ किनभने यसले तिनीहरूलाई संसारलाई गतिशिल बनाउँछ । ‘समस्या राख्ने’ र ‘बैङ्किङ’ शिक्षण विधिमा पूर्णतः विपरीत लक्ष्य छन् । ‘बैङ्किङ’ ले जनतालाई इतिहासबाट अलग राख्छ, र ‘समस्यामूलक’ ले विद्यार्थीलाई इतिहासमा आफ्नो ठाउँ देख्न सहयोग गर्छ ।
‘समस्यामूलक’ ढाँचामा मानव जातिलाई अपूर्णको रूपमा लिइन्छ र पूर्ण बनाउन काम गरिन्छ । यसको मतलव शिक्षा एक गतिशिल प्रक्रिया हो र यो परिवर्तनलाई अस्वीकार गर्ने ‘बैङ्किङ’ ढाँचाभन्दा धेरै फरक हुन्छ । ‘समस्या राख्ने’ शिक्षक विधि ‘क्रान्तिकारी भविष्य’ हो किनकि यो मानिसमाथिको उत्पीडनमा परिवर्तन हुन्छ र यसलाई भविष्यमा परास्त गर्न सकिन्छ भन्ने विचारमा आधारित छ । जव उत्पीडित जनता यस तथ्य बुझ्छन् उनीहरू सशक्त भएको अनुभव गर्छन् । त्यसैले स्वतन्त्रताको आन्दोलनले उत्पीडित जनताको समर्थन गरेको हुनैपर्छ र मानविकरणको निम्ति उनीहरू आफ्नै निम्ति प्रश्न गर्नुपर्छ । यो प्रक्रियामा हरेक तहमा संवादमा जोड दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *