भर्खरै :

विश्व सम्पदा सूचिकृत नोटे« ड्याममा आगलागी

पेरिस, ३ वैशाख । फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको आगलागी मङ्गलबार बिहान नियन्त्रणमा लिइएको छ । सोमबार साँझ ६ः५० बजेदेखि सुरु भएको आगलागी १२ घण्टापछि नियन्त्रणमा लिन सकिएको हो ।
आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुइँमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रूपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । आगलागीले विशेषतः काठका सबै कलात्मक भाग नष्ट बनाएको छ ।
हजारौँ पेरिस निवासी र पर्यटकहरूले क्याथिड्रल (गिर्जाघर) नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागी हेरेका थिए । आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो । अग्नि नियन्त्रकले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए ।
आगोले ८५० वर्षअघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत गिर्जाघरको छाना पूर्णतःनष्ट बनाएको थियो । विशिष्ट शैलीको यो छाना र शिखरलाई सुनौलो र·को आगोको लप्काले छोपेको थियो । यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा विलिन बनायो ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले मुलुकको आत्माको रूपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गर्नुभएको छ । उनले गिर्जाघर पुनःनिर्माणको लागि अन्तर्राष्ट्रियरूपमा कोष जम्मा गरिने घोषणा गरे ।
पेरिसका अग्नि नियन्त्रण विभागका प्रमुख जाँ – क्लाउड ग्यालेटले नोट्रे–ड्याम गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिनुभयो ।
करिब ४०० जना अग्नि नियन्त्रक रातभर आगो नियन्त्रणमा जुटेका थिए । मङ्गलबार बिहानपखमात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो । आगलागी सुरु भएको करिब नौ घण्टापछि मात्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । अग्नि नियन्त्रणको लागि अग्नि नियन्त्रकहरूले आकाशबाट पानी फाल्ने उपाय भने प्रयोग गरेका थिएनन् । हेलिकप्टरबाट कम उचाइमा पानी फाल्दा गिर्जाघरभित्रका संरचनामा थप क्षति पुग्न सक्ने भएकोले त्यसो गरिएको थिएन ।
प्रमुख ग्यालेटले गिर्जाघरको छाना र शिखर पूर्णरूपमा नष्ट भएको जानकारी दिनुभयो । प्र्रmान्सेली गृहमन्त्रालयका सचिव लरेन्ट नुनेजले आगो नियन्त्रणमा आइसकेकोले भवनको संरचनाको क्षतिको अवस्था मूल्याङ्कन गर्न लागेको बताउनुभयो । नुनेजले भवनको अवस्थालाई विचार गरेरमात्र थप अनुसन्धानको कार्य गरिने जानकारी दिनुभयो ।
“नोट्रे–ड्याम सबै कालखण्डका भयानक युद्ध र बमबारीबाट जोगिएको थियो । हामीले कहिल्यै यसरी आगोमा जलेर नष्ट होला भन्ने सोचेका थिएनौँ । म आज अति दुःखित छु र आफूलाई रित्तो अनुभव गरिरहेको छु,” आगलागीको दृश्य नजिकबाट नियालिरहेका स्टेफानी साइगनुरीले बताउनुभयो ।
आगलागीको कारणबारे तत्कालै थाहा हुनसकेको छैन, तर गिर्जाघरमा पुनर्निर्माणको कार्य तीव्रगतिमा भइरहेको थियो । अग्नि नियन्त्रण विभागका अनुसार आगलागी हुनुमा पुनर्निर्माण पनि जोडिएको हुनसक्छ । स्रोतअनुसार आगो गिर्जाघरको धुरीबाट सुरु भएको थियो । पर्यटकहरूलाई भित्र पस्न दिइने समयमा अचानक छानामा धुँवा देखिएको थियो । केही समयमै कालो धुँवा देखिन थालेपछि ठूलै आगलागी भएको हुनसक्ने भनी पर्यटकलाई बाहिर लगिएको थियो ।
फ्रान्सेली अभियोजनकर्ताले यस घटनालाई अद्यापि एक दुर्घटनाका रुपमा लिइएको बताएका छन् ।
इतिहासकारले पनि भवनमा पुगेको क्षतिले भयभित तुल्याएको बताएका छन् । “पेरिस आइफेल टावर हो भने फ्रान्स नोट्रे–ड्याम हो । यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ,” लेखक एवम् धार्मिक इतिहासकार बर्नार्ड लेकोप्टेलेब बताउनुभयो ।
यो क्याथेड्रल फ्रान्सको राजधानी पेरिसको लगभग मध्तगमा अवस्थित छ र करिब २०० वर्ष लगाएर यो भवन बनाइएको हो । यो १२ औँ शताब्दीमा बनाइएको थियो ।
अठारौँ शताब्दीको फ्रान्सेली क्रान्तिका अवधिमा भड्किएको हिंसामा यो क्याथिड्रलमा तोडफोड गरिएको थियो । धर्मविरोधी हिंसात्मक भिडले गिर्जाघरको शिखर तोडफोड गरेको थियो, यहाँका बहुमूल्य वस्तु लुटिएको थियो र बाहिर
ढोकामा रहेका भव्य प्रतिमा तोडफोड गरिएको थियो ।
यो गिर्जाघर बीसौँ शताब्दीका ठूल्ठूला युद्धबाट पनि बचेको थियो । सन् १९४४ अगष्ट २४ मा दोस्रो विश्वयुद्धको समाप्त हुनै लाग्दा जर्मनीको कब्जाबाट पेरिस मुक्त हुँदा यही क्याथिड्रलका घण्ट बजाइएका थिए ।
फ्रान्सको यो गिर्जाघर भ्रमण गर्न पनि बर्सेनि लाखौँ पर्यटक फ्रान्स आउने गर्दथे । “पेरिस अब विरुप भएको छ । अब यो सहर विगतको जस्तो कहिल्यै हुनेछैन,” एक युवाले दुःखेसो पोखे ।
फ्रान्स सरकारले आगलागीको कारण पत्ता लगाउन पेरिस क्षेत्रीय न्यायिक प्रहरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
के हो नोटे« ड्याम क्याथ्रिडल ?
नोटे« ड्याम डी पेरिसको वास्तविक अर्थ ‘हाम्रो पेरिसकी महिला’ हो । छोटोमा यसलाई नोट्रे ड्याम पनि भनिन्छ या मध्यकालीन क्याथलिक गिर्जाघर हो । फ्रान्सेली गोथिक वास्तुकलाको यो अति अनुपम उदाहरण मानिन्छ ।
युनेस्कोको विश्व सम्पदामा सूचित यो गिर्जाघरको निर्माण सन् ११६० मा पादरी माउरिस डी सुल्ली गरेका थिए भने एक सय वर्षपछि सन् १२६० मा मात्र यसको निर्माण सम्पन्न भएको थियो । त्यसयता त्यसमा लगातार जीर्णोद्धारहरू हुँदै आएका छन् । सन् १७९० को दसकमा फ्रान्समा भएको क्रान्तिताका यसमा रहेका अधिकांश धार्मिक प्रतिमा ध्वस्त वा क्षति गरिएको थियो । फ्रान्सका सम्राट नेपोलियन प्रथमलाई सन् १८०४ मा यही स्थानमा राज्याभिषेक गरिएको थियो ।
फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको उपन्यास ‘द हन्चब्याक अफ नोट्रे ड्याम’ को प्रकाशनपश्चात् यो गिर्जाघरबारे मानिसको चासो निकै बढेको थियो । सन् १८४४ र १८६४ गरी दुई पटक यो गिर्जाघरमा महत्वपूर्ण जीर्णोद्धार गरिएको थियो । त्यही बेला गिर्जाघरको परिचयजस्तै बनेको चुच्चो धुरी बनाइएको थियो । नोट्रे ड्यामलाई फ्रान्सेली राज्य र राष्ट्रियताको परिचयको रूपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *