अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकोमा अहिले तीनजना कर्मचारीले सेवा दिइरहेका छन् ।
सङ्घीय संरचनाअनुसार अहिले नगरपालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीनजनामात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका हुन् । एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र प्रदेशमा रोजेर गएपछि अहिले सेवा प्रवाहमा समस्या भएको केन्द्रका प्रमुख डा. प्रीति यादवले बताउनुभयो ।
दरबन्दी ११ जनाको हो, तर अहिले हामी तीनजनाले मात्रै सेवा दिँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो । कर्मचारीको अभावका कारण कुनै बेला कसैले बिदामा बसिदियो भने आवश्यक पर्ने औषधि ल्याउनसमेत कठिन हुने गरेको छ ।
सो केन्द्रमा दैनिक ४० जनाको हाराहारीमा बहिरङ्ग विभाग (ओपीडी) मा र १० जना जति आकस्मिक सेवामा आउने गरेको अस्पतालका प्रमुख डा. यादवले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले अनमी र अहेबको व्यवस्था गरिदिएको छ । त्यसरी सेवा प्रवाह भइरहेको केन्द्रमा ५÷६ दिनदेखि तीन जनाले मात्रै सेवा प्रदान गर्दै आइरहेका छन् ।
जिल्लाभरिकै एउटामात्रै केन्द्रको रूपमा रहेको यहाँ कुकुरको टोकाइबाट हुने ‘एन्टी रेबिज भ्याक्सिन’ दिने सुविधा छ तर, जनशक्ति अभाव र कहिलेकाहीँ औषधि आपूर्ति गर्न टेकु अस्पतालसम्म पुग्नुपर्ने भएकोले भ्याक्सिन उपलब्ध गराउन समस्या हुने गरेको केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख यादवका अनुसार महिनाको ५० जनाको हाराहारीमा कुकुरको टोकाइबाट हुने समस्याका बिरामी एन्टी रेबिज भ्याक्सिन लिन आउने गरेको बताउनुभयो । “पहिलो महिनामा जति जना त्यस्तो बिरामी आउने गरेका छन्, त्यसको आधारमा टेकुमा गएर भ्याक्सिन ल्याउने गरेका छौँ,” उहाँले भन्नुभयो ।
पछिल्लो अवस्थामा कुकुरको टोकाइबाट बिरामी भएर आउनेको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ । अहिले सो केन्द्रमा एक एचए, एक अनमी र एक मेडिकल अधिकृत गरी तीन जनाले सेवा दिइरहेका छन् ।
एकातिर जनशक्तिको अभाव, अर्कोतिर कागजी प्रक्रियामा निकै झण्झट हुने गरेको केन्द्रले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र नै भए पनि सो केन्द्रमा एन्टी रेबिज भ्यासिक्न दिने सेवा सुचारू गरेका कारण भ्याक्सिन लिने प्रक्रिया झण्झटिलो छ । उक्त भ्याक्सिन काठमाडौँस्थित टेकु अस्पतालबाट मात्रै प्रदान गरिने भएकोले केन्द्रबाट नगरपालिका र धुलिखेलस्थित जनस्वास्थ्य कार्यालयबाट पत्राचार गरिसकेपछि मात्रै भ्याक्सिन उपलब्ध हुने भएकोले समस्या हुने गरेको केन्द्रका प्रमुख यादवले बताउनुभयो ।
Leave a Reply