भर्खरै :

विश्वविद्यालयले भएको बाटोमा हिँड्नेमात्र होइन, नयाँ बाटो पनि बनाउने हो

रामकण्ठ मकाजू श्रेष्ठ
विश्वविद्यालयहरू राष्ट्रिय विकासका अग्रदस्ता हुन् र त्यस रूपमा विकास हुनुपर्छ । तर, यसको निम्ति उच्च शिक्षासम्बन्धी हाम्रो बुझाइ र धारणामा विस्तृत पुनर्विचार गरिनुपर्छ । निःसन्देह विश्वविद्यालयहरूले परिवर्तित समयको पदचाप बुझ्नुपर्छ । प्रविधि र सूचना क्षेत्रमा भइरहेको तीव्रतर परिवर्तनको तुलनामा आजको संसार निकै अल्छीलाग्दो गतिमा अघि बढिरहेको छ, रुपान्तरण भइरहेको छ । ज्ञानका सङ्कायहरूबीचको सिमाना क्रमशः मेटिंदै छ र हाम्रै आँखासामु नयाँ नयाँ क्षेत्रहरूको विकास भइरहेको छ ।
एक दसकअघि हामीलाई थाहा नभएका शब्दहरू आजभोलि सबैले बुझ्ने र प्रयोग गर्ने लोकप्रिय शब्द बनिरहेका छन् । हामीले अध्ययन गर्ने तरिका, हामीले सूचना खोज्ने शैली, हामीले ज्ञान बटुल्ने उपाय, हामीले संवाद गर्ने तरिका, हामीले मानिस र सङ्गठनको व्यवस्थापन गर्ने शैली अनि हामीले भविष्यबारे सोच्ने तरिका सबै विषयमा परिवर्तन भइरहेको छ । तथापि शिक्षामा हामीले ती परिवर्तनलाई कसरी आत्मसात गर्ने भन्ने विषयमा हामी अझै पछाडि नै छौँ । विश्वविद्यालयहरूको रूपमा हामीले ती परिवर्तनका पदचापलाई पछ्याउनेमात्र होइन, बरु त्यसको नेतृत्व गर्नुपर्छ ।
परिवर्तनको नेतृत्व गर
प्रथमतः हामीले नयाँ र सामयिक समय सुहाउँदो शैक्षिक कार्यक्रमको विकास र निर्धारण गर्नुपर्छ जुन अझ बढी सान्दर्भिक हुनुपर्छ । नयाँ कार्यक्रम विकासको सन्दर्भमा हामी अनुसन्धानमूलक र थप कुशल बन्न जरुरी छ । हामी हाम्रा पुराना औपचारिक कार्यक्रममै सीमित रहनु हुन्न । उदाहरणको लागि गौरवका साथ हामी भन्न सक्छौँ, काठमाडौँ विश्वविद्यालयमा हामीले माउन्टेन आर्किटेक्चर, सस्टेनेबल डेभलेपमेन्ट, ग्लोबल हेल्थ एण्ड इथ्नो–म्युजिकोलोजीजस्ता हालै विकास गरिएका विषय समावेश गरेका छौँ ।
यसअघि कहिल्यै पनि नसुनिएका ती नयाँ विषयबारे कुरा गर्दा मानिसहरू हामीलाई ती विषयका महत्वबारे सोध्ने गर्छन् । ती विषय पढेका विद्यार्थीहरूले पछि काम पाउने हुन् कि होइनन्, उनीहरूको वृत्तिविकासमा कुनै खतरा पो हुने हो कि जस्ता प्रश्न हामीलाई सोध्ने गर्छन् ।
यस्ता प्रश्न सोध्नेहरूले सम्भवतः एउटा कुरा भुलिरहेका छन् । जागिर पाउने पक्का पक्की भएका विषयमा मात्र थप शैक्षिक कार्यक्रम बनाउनुपर्छ भन्ने अवधारणा सही हो भन्ने कुरामा मलाई विश्वास लाग्दैन । शैक्षिक संस्थाहरूको काम पहिले नै बनिसकेको बाटोमा मात्र हिँड्ने होइन । हामीले नयाँ नयाँ गोरेटोहरूको विकास गर्नुपर्छ जसमा हजारौँ अरु मानिसले पछ्याउनेछन् ।
हामीले स्थापित धारमात्र पछ्याएर बस्नुभन्दा नयाँ नयाँ धारको विकास गर्नुपर्छ । विगतको आरामदायी सुविधामा कुँजिएर बस्नुभन्दा हामीले नयाँ नयाँ क्षितिजको खोजी गर्नुपर्छ । हाम्रो विगतका सफलताले नै हाम्रो आगतको सफलता सुनिश्चित गर्नसक्दैन । कुनै स्थापित जगमाथि उभिएर बस्नुभन्दा हामीले कुनै नजोतिएको जग्गामा सानै भए पनि साहसिक पाइला चाल्नुपर्छ । हामीले चालेका पहिलो पाइला नै ठूलो विजयको लागि खोलाको बीचमा पाइला टेक्ने ढुङ्गो हुने गर्दछ । विख्यात कलाकार भिनसेन्ट भान गगले भनेका छन्, “महान कार्य भनेको भावावेगमा हुने गर्दैन, बरु स–साना कामलाई एक ठाउँमा ल्याउँदा सम्पन्न हुने गर्छ ।”
यस्ता खालका प्रयोगको लागि वातावरण र व्यवस्थापकीय संरचना हुनुपर्छ जसले उदीयमान विषयका जानकार र युवाहरूलाई प्रोत्साहन गर्ने गर्छ । विश्वविद्यालयभित्र यसको निम्ति सरलकृत र सहज प्रक्रियाको आवश्यकता पर्दछ ताकि हामीले नयाँ कार्यक्रम, अध्ययन केन्द्र र प्रतिष्ठानहरू स्थापना गर्नसक्छौँ ।
जटिल उचनीच र जेलिएको कर्मचारीतन्त्रले बनेको प्रशासन आफ्नै भारीले थिचिएर काम गर्नसक्दैन । खतरा हुनसक्ने भनेर हामीले नयाँ नयाँ प्रयोगको आवश्यकतालाई निषेध नगरौँ । बीस–तीस वर्ष उमेरका युवाहरूले अनुसन्धानको इतिहास निर्माण गर्ने जमर्को गरेको बेला हामीले ती युवा मनलाई सहयोग गर्नुपर्छ । नेपालको सन्दर्भमा यसको अर्थ विदेशमा रहेका नेपाली युवाहरू, हाम्रा पूर्वविद्यार्थीहरू र अन्य सम्बन्धित विषयका ज्ञाताहरूको सहभागिताको लागि मञ्च निर्माण गर्नु पनि हो । काठमाडौँ विश्वविद्यालयले यो वर्ष विदेशमा बसेका नेपाली विषयज्ञाताहरूको विशेष बैठक आयोजना गर्दैछौँ । नेपालको शैक्षिक क्षेत्रलाई अझ बलियो बनाउन उनीहरूको विषयविज्ञताले कसरी योगदान गर्नसक्छ भन्ने विषयमा त्यो बैठक केन्द्रित हुनेछ ।
दोस्रो, विश्वविद्यालय र अन्य गैरविश्वविद्यालयका संस्थाहरूबीच सहकार्यको संयन्त्र थप लचिलो हुनुपर्छ । यदि कुनै पनि क्षेत्र कुनै न कुनै तरिकाबाट प्राज्ञिक क्षेत्रसँग जोडिएको छ भने उनीहरूबीच र भित्र त्यस्तो सम्बन्धहीनता छ ?
यदि विश्वविद्यालयहरू देश विकासका अग्रदस्ता हुन् भने हाम्रा मन्त्रालयहरूभित्र प्राज्ञिक अनुसन्धानलाई विकाससँग जोड्ने संयन्त्र हुन जरुरी छ । त्यसै गरी विश्वविद्यालयहरूभित्र पनि समुदाय, सरकार, उद्योग, प्रतिष्ठान आदिका सम्भावित साझेदारहरूसँग जोड्ने विशिष्टिकृत संरचना हुन आवश्यक छ । हाम्रो प्राज्ञिक वातावरणमा स्वच्छ हावा प्रवाह गर्न सहयोगको लागि हामीले हाम्रो विद्यमान सहकार्यलाई पनि पुनःसक्रिय बनाउनुका साथै सहकार्यका नयाँ बाटोको खोजी गर्न जरुरी छ ।
काठमाडौँ विश्वविद्यालयको विस्तारित अन्तर्राष्ट्रिय सहकार्यले हामी यो लक्ष्य हासिल गर्नमा गति प्राप्त गर्दैछौँ, म यसमा खुसी छु । हामीले हालै स्थापना गरेको सामुदायिक संलग्नता कार्यालयले पनि यो दुरी कम गर्न मद्दत गर्नेछ ।
यो युगमा एउटै विषयमा मात्र काम गरिरहन सम्भव छैन । शैक्षिक र अनुसन्धानमुखी सङ्कायको विकास र परिपुरक साझेदारीको सशक्तीकरण नै अघि बढ्ने एउटैमात्र बाटो हो । वैज्ञानिक आमूल परिवर्तन ल्याएका अधिकांश परियोजनाहरू मूलतः सहकार्यमूलक परियोजनाहरू हुन् । स्वीडजरल्यान्डको सेर्न (ऋभ्च्ल्) होस् वा २२ देशहरू संलग्न युरोपेली आणविक अनुसन्धान सङ्गठन होस् अथवा बहुराष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन होस्, सबै सहकार्यमा आधारित परियोजनाहरू हुन् ।
हाम्रो एकतामा शक्ति
काठमाडाँै विश्वविद्यालयले विभिन्न अन्य प्रमुख सङ्गठनहरूसँग सहकार्य गरेको छ । उदाहरणको लागि हालै खोपासी जलविद्युत्सँग हाम्रो साझेदारीलाई लिऊँ । काठमाडौँ विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका विद्यार्थीको लागि त्यो परियोजना स्थलगत प्रयोगशाला बनाइएको छ । त्रिपुरासुन्दरी मन्दिरलाई हाम्रो सङ्गीत विभागले प्रयोगशाला बनाएको छ । नीतिगत अध्ययनको लागि हामीले एकीकृत विकास अध्ययन प्रतिष्ठानसँग हामीले साझेदारी गरेका छौँ । हाम्रो चिकित्सा विज्ञान विभागले ग्रामीण स्वास्थ्य र सामुदाय विकास कार्यक्रमको बृहत् र विस्तारित सञ्जाल बनाएको छ । यी त केही उदाहरणमात्र हुन् ।
हालै स्थापना भएको नेपाल प्रविधि अनुसन्धान केन्द्र (एनटीआईसी) मार्फत काठमाडौँ विश्वविद्यालयले हाम्रा विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई शैक्षिक, अनुसन्धान र विकासमा बहुमुखी र बहुविषय अवधारणालाई बलियो बनाउन थप उत्प्रेरक सहयोग गर्ने लक्ष्य राखेको छ । हाम्रो लक्ष्य हासिल गर्न र हाम्रो मूल्यमान्यताको रक्षा गर्न यस्ता अन्य संस्थाहरूको स्थापनालाई हामी निरन्तरता दिंदै जानेछौँ र साझेदारीको नयाँ नयाँ ढाँचाको विकास गर्दै जानेछौँ ।
हाम्रो विश्वविद्यालयको कार्यक्षेत्रलाई हाम्रा भवनहरूभन्दा बाहिर बृहत् समुदायसम्म फैलाउनुपर्छ । हामीले अवसरहरू हाम्रो बगलमा आउने समयको प्रतीक्षा गर्नुहुँदैन । बरु सक्रियतापूर्वक अवसरको खोजी, निर्माण र छोप्न सक्नुपर्छ । यो मेरो पेशागत र व्यक्तिगत अनुभवका साथै बलियो विश्वास पनि हो ।
तेस्रो र सबभन्दा महत्वपूर्ण कुरा भनेको हामीले प्रष्टतः अल्पज्ञान अस्वीकार गर्नुपर्छ । अल्पज्ञानलाई स्वीकार्दा उपलब्धि हामीले सोचेभन्दा निकै टाढा हुनेछ । अल्पज्ञान दिगोपनाको अवरोध हो किनभने त्यसले लगनशीलता, सम्मान वा विश्वास जन्माउँदैन । अल्पज्ञानले आफैंसँग भएका स्रोत सिध्याउँछ, सिर्जना गर्दैन । अर्कोतिर श्रेष्ठताको लागि भने धेरै स्रोतको आवश्यकता पर्नसक्छ । दीर्घकालमा श्रेष्ठता आफैंमा दिगो हुने गर्दछ । ढुङ्गाको रास खोज्नुभन्दा हिराको एक टुक्रा खोज्न धेरै समय लाग्ने गर्दछ । चक्कुजस्तो मामुली उत्पादनको लागि स्वीट्जरल्यान्डले स्वीस–नात् नामको ब्रान्डको विकास ग¥यो । चकलेटजस्तो साधारण उत्पादनको लागि स्वीट्जरल्यान्डले स्वीस चकलेट एम्पायर नै बनायो । गुणस्तरप्रतिको प्रतिबद्धताको लागि निरन्तरको कटिबद्धता र दृढता आवश्यक पर्छ ।
हामीसँग स्रोतसाधनको अभावका कारण हामीले उच्च गुणस्तरका कार्यक्रम निर्माण गर्न नसकेको भन्ने भनाइमा म असहमत छु । बरु हामीसँग के छ भन्ने विषयमा बेखबर छौँ अथवा हामीसँग भएका स्रोतलाई हामी बेवास्ता गर्छौं । हाम्रो आफ्नो विशिष्टता भएका क्षेत्रमा विश्वस्तरका शैक्षिक र अनुसन्धान कार्यक्रम बनाउन हामीलाई कसले रोकेको छ ? म त जताततै अवसर नै अवसरमात्र देख्छु ।
पर्यटन र अतिथि व्यवस्थापन, जलविद्युत् विकास, बौद्ध अध्ययन, प्राकृतिक स्रोत व्यवस्थापन, प्रशासनमा समुदायको संलग्नता आदि विषयमा नेपाल संसारले नै सिक्ने गन्तव्यस्थल बन्न नसक्ने मैले कुनै कारण देख्दिनँ । तथापि हामीले सर्वोत्कृष्ट उच्च गुणस्तरीय कार्यक्रम बनाउन आवश्यक छ जसको अतुलनीय श्रेष्ठता र मौलिकता होस् । त्यस्तो अवस्थामा मात्र संसारले हामीलाई पछ्याउनेछ । कुनै पनि विश्वविद्यालयको परिचय, विशिष्टता र विशेषता अरु कुनै कुराले गर्दैन, त्यसका शैक्षिक कार्यक्रमको गुणस्तरले गर्ने हो । विश्वविद्यालयले समाजमा ल्याउने परिवर्तन र त्यसका सदस्यले देखाउने प्रतिबद्धतामा भरपर्दछ ।
हामीले बोकेका विचारलाई चुनौती देऔँ, हाम्रो विश्वासलाई आलोचनात्मक आँखाले हेरौँ, हाम्रो सोचविरुद्ध तर्कवितर्क गरौँ । तर, जे पनि गरौँ, रचनात्मक रूपमा गरौँ । समाजका रोगहरूविरुद्ध हामी सबै एकजुट होऔँ । हाम्रो सबभन्दा ठूलो शत्रुता भनेको हाम्रो देशको विकासलाई अवरोध गर्ने अवरोधक हुनुपर्छ । अवसरलाई खाल्डोमा जाक्ने अज्ञानताविरुद्ध हुनुपर्छ र परिवर्तन नस्वीकार्ने निष्क्रियतासँग हुनुपर्छ । हामी नयाँ शैक्षिक क्रान्तिका शिल्पी होऔँ ।
(लेखक काठमाडौँ विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *