भर्खरै :

के नेपाल अन्तरिक्ष युगमा प्रवेश भइसकेकै हो ?

–प्रकाश
बुधबार राति २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियाबाट नेपाली विद्यार्थीले तयार पारेको स्याटेलाइट नासाको सहयोगमा अन्तरिक्षमा पठाइएको हो । नेपालका साथै श्रीलङ्का र जापानको पनि दुईवटा नानो स्याटेलाइटहरू अन्तरिक्षमा पठाइएको छ । नेपालले अन्तरीक्षमा पठाएको यो स्याटेलाइट संयुक्त राष्ट्र सङ्घको फेलोसिपमा जापानको क्युटेक युनिभर्सिटीमा भू–उपग्रह प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले तयार पारेका हुन् । यसमा पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तरका विद्यार्थी हरिराम श्रेष्ठको योगदान छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको १ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले यो रकम जापान पठाइसकेको छ । यसैलाई लिएर प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरिसकेको घोषणा गरे । प्रम ओलीको यो घोषणाले नेपाली वैज्ञानिकहरूले अहिलेसम्म हासिल गरेको ज्ञानलाई अविश्वसनीय बनाउने भन्दै आलोचना सुरु भएको छ । यसअघि विराटनगरमा एउटा गोबर ग्यास प्लान्टबाट उत्पादित ग्यास ३५ घरमा पाइपबाट पुग्ने आयोजनाको उद्घाटनको क्रममा ओलीले नेपालमा अब सिलिण्डर ग्यासको युग समाप्त भएको बताएका थिए भने पानीजहाज कार्यालय उद्घाटन गर्ने क्रममा अब विश्वकै समुद्रमा नेपालको झण्डा फह¥याउने पानीजहाज डुल्ने बताएका थिए ।
यो भूउपग्रह अन्तरिक्षमा पु¥याउँदैमा नेपाल अन्तरिक्ष युगमा पुग्यो भन्नु बकम्फुसे गफ हुने देखिन्छ । नेपालले भूउपग्रह नै बनाए पनि त्यसलाई प्रक्षेपण गर्ने रकेट बनाउने कहिले ? बताइएअनुसार हिजो पठाइएको नानो स्याटेलाइट लोअर अर्बिटमा बस्छ र पृथ्वीलाई फन्को मार्छ । यसको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएको छ । यो स्याटेलाइट नेपालको आकाशमा दैनिक ५–१० मिनेटसम्म रहने र इमेज डाटा खिचेर पृथ्वीमा पठाउने दाबी गरिएको छ । आकार हेर्दा खेलौनाजस्तै लाग्ने यस्ता नानो स्याटेलाइटहरू विज्ञानका विद्यार्थीले बनाएर नमुना परीक्षणका लागि अन्तरीक्षमा पठाउने गर्दछन् । त्यसरी पठाइएका स्याटेलाइटको आयु थोरै हुने भए तापनि केही डाटाहरू पृथ्वीमा पठाउन काम लाग्ने गरेका छन् । यसमा क्यामेराका लागि डाटा सङ्कलन र जीपीएस सिस्टम पनि हुन्छ । तर, यो नानो स्याटेलाइटले अन्तरीक्षबाट नेपालमा डाटा पठाउने भनिए पनि दुर्भाग्यचाहिँ के छ भने त्यसले पठाउने तथ्याङ्क रिसिभ गर्नका लागि नेपालमा अहिलेसम्म ग्राउन्ड स्टेसन नै बनेको छैन । अब प्रश्न उठ्छ के नेपाल अन्तरीक्ष युगमा प्रवेश भइसकेकै हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *