भर्खरै :

सिपाडोल सीएलसीको प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, ६ वैशाख । सिपाडोल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा चैत २४ देखि २८ गतेसम्म सिपाडोलको ठूलो गाउँमा भएको नापी तालिममा सहभागीहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अनुराधा थापामगरले विनालडाइँ नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र सफल पार्न पाइला पाइला गर्दै भारत अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधानको मसी सुक्न नपाउँदै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउने गरी संविधान संशोधन गर्ने र जन्मको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने व्यवस्थाले देशको अस्तित्व खतरामा परेको छ ।”
शासक दलका नेता र उच्चपदस्थ कर्मचारीहरु भ्रष्टाचारमा फसिरहेको चर्चा गर्दै उहाँले लोभलालचको राजनीतिमा लाग्ने नहुने बताउनुभयो ।
वर्तमान ओली सरकारले देशको सार्वभौमिकता जोगाउन नसकिने उहाँले स्पष्ट पर्नुभयो ।
सामुदायिक सिकाइ केन्द्र राष्ट्रिय समन्वय समितिका सदस्य पाण्डव सुवालले समाजमा व्याप्त विकृति, बेथिति, भ्रष्टाचार र खराब विचार तोड्दै सही विचार र सही बाटो देखाउने कर्तव्य सामुदायिक सिकाइ केन्द्रको हुनुपर्छ भन्नुभयो ।
सिपाडोल सामुदायिक केन्द्रका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नापी तालिममा सहभागीहरुलाई अतिथि थापामगरले प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा सृजना तामाङ र अरुण तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *