भर्खरै :

लेनिनका प्रारम्भिक क्रान्तिकारी गतिविधिहरू

प्रस्तुत तस्वीरमा एक साधारण रुसी नवयुवक नभइकन विश्वभरिका श्रमिक जनताका नेता तथा शिक्षक भलादिमिर इलियच लेनिन हुनुहुन्छ । लेनिन एक क्रान्तिकारी नेता हुनुहुन्थ्यो र उहाँ रुसी जनताका गर्व पनि हुनुहुन्छ । उहाँ सोभियत सङ्घको कम्युनिस्ट पार्टीका सङ्गठक, समाजवादी क्रान्तिका जन्मदाता, सोभियत सङ्घका संस्थापक र अत्यन्त सरल तथा सहृदयी व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो । लेनिन एकाएक ठूलो क्रान्तिकारी बन्नुभएको होइन । उहाँको बाल्यकालबाट उहाँ कसरी क्रान्तिकारी बाटोमा लम्कनुभयो भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छौँ ।
लेनिनको जन्म २२ अप्रिल सन् १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क भन्ने सहरमा भएको थियो । उहाँले आफ्नो बाल्यावस्था र यौवनावस्था यही भोल्गा नदीका आसपासका ठाउँहरूमा बिताउनुभएको थियो । उहाँका बाजे निकोलाई उल्यानोभ निज्नी नोव्गोरद्का एक भू–दास थिए । सन् १७७१ मा परिवारसहित उनी अस्त्रार्वान सहरमा बसाइँ सरेपछि उनको नाम मध्यम वर्गीय परिवारमा दर्ता भयो तर अन्तमा अत्यन्त गरिबी अवस्थामै उनको मृत्यु भयो । लेनिनका पिता इल्या निकोलाएभिच उल्यानोभले सानै अवस्थामा गरिबीको मार सहनुप¥यो । उहाँले आफ्नै कठिन परिश्रम र असाधारण प्रतिभा तथा जेठो दाजुको सहायताको फलस्वरूप काजान विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । उच्च शिक्षा हासिल गरेपछि पहिला विद्यालयमा शिक्षक बनेर तथा पछि सार्वजनिक स्कूलहरूमा निर्देशक बनेर जनसाधारणबीच शिक्षा प्रचारप्रसार गर्न उहाँको ठूलो देन थियो । लेनिनकी आमा मारिया अलेक्जान्द्रभा एक डाक्टरकी छोरी तथा साहित्य र सङ्गीतप्रेमी शिक्षित महिला हुनुहुन्थ्यो । उहाँ दृढ स्वभावकी शान्त, मिलनसार तथा बुद्धिमान् हुनुहुन्थ्यो । लेनिनको परिवारमा उहाँबाहेक दाजु अलेक्सान्द्र र दिदीबहिनीहरू आन्ना, ओल्गा, दिमित्री र मारिया हुनुहुन्थ्यो, उहाँहरू सबै मिलनसार हुनुहुन्थ्यो, पछि सबै नै क्रान्तिकारी बन्नुभयो ।
लेनिन कलिलै उमेरदेखि निकै साहसी, प्रफूल्ल र ठट्यौलो मिजासका हुनुहुन्थ्यो । साथीहरूसँग मिलेर पौडी खेल्न, स्केटिङ्ग गर्न र टाढाटाढासम्म घुम्न जान रुचाउनुहुन्थ्यो । पाँच वर्षकै उमेरमा उहाँले लेखपढ गर्न सिक्नुभयो र नौ वर्षको हुँदा जिम्नेसियम स्कूलमा भर्ना हुनुभयो । उहाँ निकै प्रतिभाशाली छात्र भएकोले कक्षामा सधैँ पहिलो स्थान प्राप्त गर्नुहुन्थ्यो । स्कूलमा अध्ययनरत रहँदा उहाँ साथीहरूलाई पढाइको साथै अन्य कुरामा खुब सहायता गर्नुहुन्थ्यो । उहाँले सानै उमेरमा पुश्किन, लेर्मन्तभ, तुर्गेनभ, निक्राभस, गोगल, टोल्सटाय आदि रुसी साहित्यकारहरूका पुस्तक तथा बेलिन्सकी, गेर्चेन, चेर्नोशेभ्स्की, दोब्रोल्यूं बोभ र पिसारेभ आदि क्रान्तिकारी प्रजातन्त्रवादीहरूका कृतिहरू पनि पढी भ्याइसक्नुभएको थियो । त्यसबेला उहाँलाई सबभन्दा बढी मनपर्ने पुस्तक चेर्नोशेभ्स्कीको ‘के गर्ने ?’ भन्ने उपन्यास थियो । चेर्नोशेभ्स्की एक महान् वैज्ञानिक हुनुका साथै जारशाही तथा भूदास प्रथाका कडा विरोधी एवम् क्रान्तिकारी लेखक थिए ।
नवयुवक लेनिनका विचारहरूमा वरिपरिको जनजीवन, प्रगतिशील रुसी साहित्य र दाजु अलेक्सान्द्रका गतिविधिहरूले ठूलो प्रभाव पारेको थियो । अलेक्सान्द्र दरिलो स्वभाव र उच्च नैतिक चरित्र भएका सक्षम युवा थिए । उनी उच्चकोटीको वैज्ञानिक बन्न सक्ने पिटरवर्ग विद्यार्थी थिए । उनले जारशाही राजतन्त्र र भू–दास प्रथाबाट शोषित जनतालाई मुक्त गर्नको निम्ति सङ्घर्ष गर्नु जीवनको उद्देश्य बनाएका थिए । उनमा माक्र्सवादको प्रारम्भिक ज्ञानमात्र थियो र ‘नरोदनाया भोल्या’ भन्ने उग्र क्रान्तिकारी तथा आतङ्ककारी सङ्गठनको विशेष प्रभाव थियो ।
‘नरोदनाया भोल्या’ मा लागेकाहरूलाई नरोदनिकवादी भनिन्थ्यो । रुसी शब्द नरोदको अर्थ जनता हो अर्थात् उनीहरू जनता वा जनवादीहरू थिए । ‘जार राजतन्त्र भएकोले रुसमा उद्योगधन्दा र कलकारखानाको विकास हुन नसक्ने’ उनीहरूको विचार थियो । त्यसैले युरोपमा जस्तै मजदुर क्रान्ति रुसमा नहुने भएकाले किसानहरूलाई विद्रोह गराएर अझ जार र उसका भरौटे एवम् जमिनदारहरूलाई मारेर मात्र क्रान्ति सम्भव हुन्छ भन्थे ।
सन् १८८६ मा लेनिन सो¥ह वर्षको हुँदा अकस्मात् पिताको देहावसान भयो । शोकको आँसु सुक्न नपाउँदै सन् १८८७ मार्च महिनामा जार अलेक्जेन्डर तृतीयको हत्या षड्यन्त्रमा सामेल भएको भनी दाजु अलेक्सान्द्रलाई पक्राउ गरियो । मे महिनामा उनलाई श्लिसेवुर्ग किल्लामा फाँसी दिइयो । राजा जार अत्यन्त अत्याचारी थियो । जारतन्त्रको पासोमा परेर रुसी जनतामात्र नभई छिमेकी देशहरूका जनता पनि ठूलो दुःखमा परिरहेका थिए । मजदुर र किसानलाई अझ बढी दुःख दिइन्थ्यो । उनीहरूले रातदिन जोतिएर पनि भोकभोकै प्राण त्याग्नुपथ्र्यो भने जारतन्त्रका आउरेबाउरे तथा जमिनदारहरूले ‘स्वर्ग’को सुखसयल गर्दथे । देशको यही अवस्थाले लेनिनको हृदयमा शोषकहरूप्रति घृणा र शोषितहरूप्रति सहानुभूति पैदा गरेको थियो ।
दाजुको फाँसीले लेनिनको हृदयमा गहिरो चोट प¥यो । उहाँले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी सङ्घर्षमा लगाउने सङ्कल्प गर्नुभयो । उहाँले अलेक्सान्द्र र उनका साथीहरूले जस्तै जारका भरौटेहरू र जारलाई मारेर परिवर्तन ल्याउने गलत विचार लिनुभएन । ‘क्रान्ति गर्न एकैबाजी बन्दुक उठाउनुभन्दा पहिले दिमागलाई क्रान्तिकारी विचारले सुसज्जित पार्नुपर्छ र जनतालाई व्यापकरूपमा राजनैतिकरूपले शिक्षित पार्नुपर्छ ।’ भन्ने कुरा मनमा लिनुभयो । उहाँले व्यक्ति हत्याबाट क्रान्तिको उद्देश्य पूरा नहुने सोच्नुहुँदै –“होइन, यो ठीक बाटो होइन, हामी यो बाटो जाने छैनौँ” भन्नुभयो ।
स्वर्णपदकसमेत प्राप्त गरी स्कूलको शिक्षा पूरा गर्नुभएपछि सन् १८८७ मा उहाँ काजान विश्वविद्यालयमा कानुन विषय पढ्नको निम्ति भर्ना हुनुभयो । उहाँले विश्वविद्यालयमा प्रगतिशील र क्रान्तिकारी विद्यार्थीहरूसित गोप्यरूपमा सम्बन्ध कायम गर्नुभयो र क्रान्तिकारी सङ्गठन बनाउनुभयो । यही सिलसिलामा सन् १८८७ को डिसेम्बर महिनामा उहाँ विश्वविद्यालयबाट निकालिनुभयो र पक्राउ पर्नुभयो । उहाँलाई केही महिना जेलमा राखियो र पछि त्यहाँबाट निकालेर काजानको कोकुशकिनो गाउँमा कडा निगरानीका साथ राखियो ।
जेलमा पुलिस अफिसरले सम्झाउने पाराले भनेका थिए, “नौजवान ! किन बेकारमा विद्रोह गर्छौ ? देख्दैनौ ? तिम्रो अगाडि भित्ता छ ।” युवक लेनिनले दृढताका साथ सहज जवाफ दिनुभयो – “हो ! भित्ता छ तर यो मक्किसकेको छ र एकै धक्कामा भत्किहाल्छ ।” यहाँ भित्ता भनेको अत्याचारी जारतन्त्र थियो । जनताले अन्याय, अत्याचारविरुद्ध विद्रोह गर्न थालेका थिए ।
गाउँमा निर्वासनमा रहँदा लेनिनले धेरै समय पढाइमा बिताउनुभयो र क्रान्तिकारी विचारको बौद्धिक घेरालाई झन् फराकिलो पार्नुभयो । उहाँले “मलाई लाग्छ, पछि गएर आफ्नो जीवनमा कहिल्यै पनि पिटर्सवर्ग र साइबेरियाका जेलहरूमा पनि त्यति पढिनँ जति मैले काजानको गाउँमा आफ्नो निर्वासनकालमा पढेको थिएँ । म बिहान सबेरै उठ्थेँ र राति अबेलासम्म पढ्ने गर्थेँ ।” भन्नुभएको थियो ।
एक वर्षपछि उहाँले घर फर्कने अनुमति पाउनुभयो । काजान सहरमा फर्केपछि फेरि उहाँ गोप्य क्रान्तिकारी पार्टीहरूमा लाग्नुभयो र माक्र्सवादको गहिरो अध्ययन गर्न थाल्नुभयो । उहाँ जीवनको क्रान्तिकारी गतिविधिमार्फत नै अन्ततः विश्वमा पहिलो मजुदर वर्गको समाजवादी देश सोभियत सङ्घ बनाउन सफल हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *