फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
काठमाडाँै, ८ वैशाख । विदेशमोहले वैवाहिक र सामाजिक सम्बन्ध विकृतिपूर्ण बन्न थालेको छ । पश्चिमा देशहरूमा जाने होडमा नेपाली युवाहरूले विवाहसँग जोडिएका सामाजिक दायित्वको उपहास गरिरहेका छन् । विदेश जानकै लागि नक्कली विवाह गर्नेहरूको सङ्ख्या देशभरि बढेको छ । आपसमा चिनजानसम्म नभएका केटाकेटीले नक्कली विवाह गरी विदेशमा जाने र केही समयपछि सम्बन्धविच्छेद गर्ने गरेका छन् । अस्टे«लिया, संरा अमेरिका र क्यानाडाजस्ता देशमा आश्रित प्रवेशाज्ञा (डिपेन्डेन्ट भिसा) दिने प्रावधानले नक्कली विवाह गरी त्यत्ता जानेको सङ्ख्या बढेको हो । सन्तानलाई विदेश पठाउने नाममा अभिभावकहरूसमेत यस्ता नक्कली विवाह गराउन लाग्ने गरेका छन् ।
विदेशमा पठाउन यसरी नक्कली विवाह गराउने काममा आजभोलि विदेश पठाउने कन्सल्टेन्टहरू स्वयम् सक्रिय छन् । विदेश जान सम्पर्कमा आएका केटाकेटीलाई कन्सल्टेन्ट आफैंले जोडी मिलाएर विवाह गर्न सिफारिस गर्ने गरेको छ । यसरी हुने विवाहको प्रमाण देखाउन भनी विवाहका सबै औपचारिकता पूरा गर्ने गरिन्छ । दुलहाले दुलहीलाई सिन्दुर लगाउने, म्यारिज फोटोग्राफी बनाउने, औंठी लगाएको तस्वीरसहित विवाहको औपचारिक दर्तासमेत गराउने गरिन्छ । विदेशी भूमि टेकेलगत्तै दुवै जना एकआपसबाट कुनै पनि जिम्मेवारीबाट मुक्त हुने पूर्वसर्तमै यस्तो विवाह हुने गरेका छन् ।
विवाहलाई सामाजिक दायित्व र नैतिकतासँग जोड्ने नेपाली समाजमा विदेश जान विवाह संस्थाको यसरी अवमूल्यन गर्नुले नेपाली समाजको मूल्य मान्यता क्रमशः कमजोर बन्दै जानेछ । विवाद आफैं उपभोक्तावादी चिन्तनको शिकार बन्दै गएको देखिन्छ । विवाहसँगै आउने सांस्कृतिक मूल्य देखावा र उपहासको विषय बनाइएको छ । छोराछोरीलाई विदेश पठाउन आमाबुबासमेतले विवाहको यस्तो विकृत स्वरुपलाई स्वीकार्नु अझ चिन्ताजनक विषय बनेको छ ।
अधिकांश युवायुवतीहरू उच्च शिक्षाको लागि भनेर विदेशिए पनि वास्तवमा उनीहरू विदेशमा सस्तो ज्यामीकै रुपमा काम गरिरहेका हुन्छन् । नेपालमा पढ्न नपाइने विषय विदेशमा पढ्न जानुलाई एक कोणबाट स्वाभाविक मान्न सकिएला । तर, विभिन्न देशमा उच्च शिक्षाको नाममा जाने विद्यार्थीहरू नेपालमै पढ्न सकिने विषयमा पढ्न जाने गरेका छन् । दैनिक कम्तीमा आठ घण्टा काम गरेर उनीहरूले पढाइलाई निरन्तरता दिने गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार उच्च शिक्षा अध्ययनको लागि विदेशमा जाने विद्यार्थीहरूमध्ये ७० प्रतिशत रोजगार गरेरै पढ्ने गरेको छ । विदेश पुगेपछि अधिकांश विद्यार्थीको ध्यान पढाइमा भन्दा काम गरेर त्यहाँ टिक्नु नै हुने गर्दछ ।
समाजशास्त्रीहरूका अनुसार कमजोर बन्दै गरेको वैवाहिक सम्बन्धले समाजमा दीर्घकालीन प्रतिकूल असर पार्नेछ । परिवार निर्माणको वैध आधार विवाहसँगै आउने सामाजिक र सांस्कृतिक दायित्व कमजोर बन्दै जाँदा समाजमा व्यक्तिवादी र उपभोक्तावादी सोच व्यापक बन्नेछ । विवाह संस्थाको विग्रहले समाजमा नयाँ नयाँ समस्या आउने देखिन्छ ।
आश्रित प्रवेशाज्ञाकै लागि गरिएको विवाह टिकाउने खालको छ्रैन । विवाह गरेर केही समयपछि नै सम्बन्धविच्छेदको लागि कानुनी प्रक्रियाको लागि स्थानीय तहमा निवेदन आउने गरेको स्थानीय तहका कर्मचारीहरू बताउँछन् ।
शिक्षामन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार अस्टे«लिया पढ्न जाने भनी नो अब्जेक्सन लेटर लिनेको सङ्ख्या ३२ हजार ७४३ छ । जापानमा जान नो अब्जेक्सन लेटर लिनेको सङ्ख्या ११ हजार १८१, संरा अमेरिकाको लागि २ हजार ४८५ र चीनको लागि १ हजार ९सय ९७ छन् ।
Leave a Reply