अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
टीकाप्रसाद पोखरेल
कल्पना थापा दैलेख जिल्लामा मात्र होइन भक्तपुरमै पनि परिचित नाम हो । बाल्यावस्थादेखि नै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा लागेकी कल्पना अत्यन्त मृदुभाषी, हँसमुखी र सहयोगी भावनाकी महिला थिइन् । कल्पना नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई आदर्श पात्र मान्थिन् । पार्टी नेताहरू भनेपछि हुरुक्कै हुन्थिन् ।
सामाजिक, सांस्कृतिक एवम् राजनीतिक गतिविधिमा भाग लिन कल्पनाले पिता प्रेमबहादुर र माता चन्द्रादेवी थापाको सत्प्रेरणा पाएकी थिइन् । प्रिय वचन र मिलनसार व्यवहारले सबैलाई रिझाउन सक्ने कला कल्पनाको विशेषता नै थियो । कल्पना सभ्य पारिवारिक पृष्ठभूमिले ‘लक्ष्मी’ एवम् ‘सरस्वती’ का रूपमा दैलेख जिल्ला सदरमुकाममा उदाएकी थिइन् । उनी नेमकिपाको जनवर्गीय सङ्गठन नेक्राविसङ्घको अतिरिक्त नेपाल क्रान्तिकारी महिला सङ्घमा आबद्ध थिइन् । एक समयमा युवा नेतृत्वमा पनि रहिन् । दैलेखमा कल्पनालाई नेमकिपाकै असल कार्यकर्तासँग जोडेर हेरिन्छ । उनको नाउँ नचिन्ने र नाम नलिने दैलेखका अलि पुराना राजनीतिकर्मी प्रायः कोही नहोलान् ।
पार्टी कार्यक्रमकै सिलसिलामा २०५३ सालको दशैँ–तिहारमा म दैलेख जिल्ला सदरमुकाम बजारमा गएको थिएँ । त्यतिखेर मलाई पितृशोक परेको केही महिना भएको थियो । सोही क्रममा दैलेख बजारमा कल्पनासँग मेरो भेट भयो । होटेलतिर यताउति खानुहुन्न होला दाइ भनी कल्पनाले मलाई आफ्नो घरमा लगिन् । माताजीसँग परिचय गराउँदै शिष्टतापूर्वक घिउ, मह र रोटी खुवाइन् । पार्टीका कार्यकर्ता, साथी तथा कोही कसैलाई कुनै दुःख नहोस् भन्ने चाहना राखी हृदयदेखि सेवा भावले अरूलाई सघाउने तथा अतिथि सत्कार गर्ने संस्कार देख्दा म ज्यादै प्रभावित भएँ । उनीसँग औपचारिक चिनजान भएको र सकारात्मक दृष्टिकोण एवम् अनुकरणीय संस्कार दिलमा गडेर रहेको त्यो मेरो लागि पहिलो पटक थियो ।
पार्टी भनेपछि हुरुक्क हुने र साङ्गठनिक गतिविधिप्रति दत्तचित्त रहने कल्पनाको वैचारिक सम्पर्क सामयिक अन्तरालमा देशका विभिन्न ठाउँमा भयो । दैलेख, सुर्खेत हुँदै भक्तपुरसम्म सम्बन्ध विस्तार भयो । नेमकिपाका कार्यकर्ता सरोजराज गोसाईसँग उनको वैवाहिक नाता जोडियो । पिता प्रेमबहादुर थापाको स्वास्थ्य क्षेत्रको जागिरीको सिलसिलामा भक्तपुरमा सरुवा भयो । कल्पनाको पनि भक्तपुरमै घरबास बन्यो । कल्पनाको अध्ययन र योग्यताबमोजिम स्वास्थ्य सेवागत साइनो पनि जनस्वास्थ कार्यालय भक्तपुरमै गाँसियो ।
पार्टी तथा पार्टीका जनवर्गीय सङ्गठनहरूका सभा, सम्मेलन तथा गोष्ठीहरूमा भाग लिने अवसर जुट्दा कल्पनासँग छिटोछरितो देखाभेट भइरहन्थ्यो । उनी स्वास्थ्य सेवामा निरन्तर तल्लीन हुन्थिन्, हामी सेवा पाउँथ्यौँ । उनको सामाजिक एवम् सामूहिक सद्भाव मलाई राम्रो लाग्थ्यो ।
कल्पनाका दुई सन्तान छोराछोरी पनि जन्मिए । २०७० चैत अन्तिम साता नेमकिपाको महाधिवेशनका बेला पार्टीका एक मित्रसँग मलाई भक्तपुर लिबालीस्थित आफ्नो माइतीघर लिएको, पारिवारिक भेट गराएको र सौहार्दपूर्ण वातावरणमा देखाइएको हार्दिकता मलाई अहिले पनि झल्झली आउँछ ।
ख्वप कलेजमा सिभिल इन्जिनियरिङ पढ्न भक्तपुर बस्ने छोराको कोठामा जाँदाआउँदा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य केन्द्र, भक्तपुरमा कार्यरत बहिनी कल्पनालाई नभेटी फर्कन निको लाग्दैनथ्यो र भेट्थेँ पनि । स्वास्थ्य सेवा सुझाव पाउँथे ।
आफ्ना मातापिताकी प्यारी छोरी कल्पना भाइहरूलाई माया ममता खन्याउने, सासू–ससुराको सेवामा खट्ने, देवरहरूलाई भाइसरह प्रेम गर्दै घर व्यवस्थित गर्नेे सत्पात्री एवम् सक्षम गृहिणीको रूपमा चिनेको छु ।
समाज कल्याणलाई आफ्नै भलाइ ठानी मानवीय सेवा, सदभाव र समाजवादी सिद्धान्तको बाटोमा हिँड्ने कल्पना बहिनी २०७२ वैशाख १२ को भूकम्पसँग भौतिकरूपमा विलीन हुँदा चिरपरिचित समस्त आफन्तजनको आँसु अझै सुकेको छैन । माइती दैलेखमात्र नभई घर परिवार, पार्टी कार्यकर्ता, साथी सँगिनी, दिदीबहिनीहरूको हृदयमा परेको चोट निको भएको छैन । यद्यपि हामी विचारले धैर्यवान छौँ । कल्पनाको लक्ष्य पूर्तिमा लाग्ने प्रण गरौँ । कल्पना थापालाई शब्द श्रद्धाञ्जली !
सीमा रक्षा
कल्पना थापा
उठ दिदीबहिनी उठ दाजुभाइ जन
उठ नेपाली सीमा कायम राख्न
बेचिँदै छ नेपालको भूमि थोरै थोरै गर्दै
देशद्रोही तत्वको विरोधमा उठौँ सबै
आज थोरै बेच्छन्, भोलि अझ बढाउलान्
देशघातीहरूले पर्सि त देशै सकाउलान्
यस्तै रहे भोलि हामी के बन्ने ?
नेपाली हामी कसरी रहने ?
नेपाली सीमा कायम राख्नु छ
नेपाली हामी सचेत बन्नु छ
बस्छौ चूप भई नेपाली किन
उठौँ नेपाली सीमा कायम राख्न
०५१ जेठ १२, रातको ९ बजे
Leave a Reply