भर्खरै :

भूकम्पप्रतिरोधी घर

– चन्द्र किरण कवां
नेपालमा वि.स. २०७२ वैशाख १२ गते करिब १२ बजेतिर हामी नेपालीहरूले कल्पना पनि गर्न नसकिने विषम परिस्थिति भोग्नप¥यो । यो विषम परिस्थिति अरु केही नभई, विभिन्न भू–गर्भविदहरूले नेपालमा विभिन्न समयमा आउनसक्छ भनी सचेत गराउँदै आएको प्रकोप हो — भूकम्प । यो प्रकोपले देशभर ५ लाखभन्दा बढी घर पूर्ण र ३ लाख बढि आंशिक क्षति भयो भने ९ हजारले ज्यान गुमाएको तथ्याड्ढ हाम्रो अगाडि छ । भक्तपुर जिल्लामा मात्रै २७,५८६ घर पूर्ण क्षति र ७,८१० घर आंशिक क्षति भएको तथा ३६३ जनाको ज्यान गएको थियो । भूकम्पको केन्द्रबिन्दु गोरखाको बार्पाक भन्ने ठाउँमा थियो । यो विषम परिस्थितिको सामना अझै पनि हामीले बिर्सन सकेका छैनौं र पटक – पटक गरी आइरहेको भूकम्पले हामीलाई बिर्सन दिनेछैन ।

– चन्द्र किरण कवां


भूकम्पले जनधनको क्षति गर्दैन तर हामीले बनाएका कमजोर संरचनाले जनधनको क्षति गर्दछ । यस कुरालाई सहज र सरलरूपमा हामीले बुझ्नु जरुरी छ र यसलाई आत्मसात गरी हामीले बनाउने कुनै पनि संचरनालाई गम्भीरताका साथ अगाडि बढाउनुपर्छ । आज हामी भूकम्पपछि ध्वस्त भएको हाम्रा घरहरू बनाउन अझै पनि सफल हुन सकेका छैनौं । नेपालमा भूकम्प आउनुको मुख्यकारण इन्डियन भूखण्ड (Indian tectonic plate ) र उत्तरमा रहेको युरेसियन भुखण्ड ( Eurasian tectonic plate) मुनि एक आपसमा ढसिन्दै जानु हो । यो क्रममा इन्डियन भूखण्ड युरेसियन भूखण्डमुनि प्रतिवर्ष २ सेन्टिमिटरको दरले ढसिन्दै गइरहेको छ । यसरी ढसिदा घर्षण भई यी दुवै भूखण्डबीच शक्ति संचित हुन जान्छ । कुनै यस्तो क्षण आउँछ जुनक्षण यी दुईटा भूखण्डले सृजित शक्तिलाई थाम्न सक्दैन र अन्तत भूखण्ड टुक्रा हुनपुगी तर· निस्किन्छ । जसलाई भूकम्पको रूपमा लिन्छ । यो प्रकृयालाई सरल रूपमा बुझ्ने हो भने जसरी एउटा शान्ततलाउमा एउटा सानो ढुङ्गा फाल्दा त्यसबाट चौरतिर छालको उत्पत्ति हुन्छ, त्यस्तै गरी यी दुईटा भूखण्ड टुक्रा हँुदा त्यस्तै प्रकारको छाल निस्किन्छ जसलाई तर· भनिबुझ्छौँ । यो तर· जुन स्थानसम्म पुग्छ, त्यो स्थानसम्म विनाश निम्त्याउन सक्छ ।
सबैभन्दा महत्वपूर्ण र ध्यान दिनु पर्ने विषय भनेको बनाएको घर कस्तो खाले धरातलमा बनेको छ भन्ने नै हो । उदाहरणको लागि तपार्इँ हामीले सुनेका छौँ कि १९९० र २०४५ सालको भूकम्प आउँदा काठमाडौँ उपत्यकामा रहेका सहरहरू — काठमाडौँ, भक्तपुर र किर्तिपुरमध्ये भतपुरमा सबैभन्दा बढी क्षति भएको थियो भने कीर्तिपुरमा सबैभन्दा कम क्षति भएको थियो । यसै गरी उत्तर अमेरिकाको मेक्सिकोमा १९८५ मा ८.१ म्यग्निच्युडको भूकम्प आउँदा २०० माइलमात्रको दुरीमा रहेको दुईटा स्थान ९ चित्र नंं. १० — युनाम (Univsidad Nacional Autonoma De Mexico, UNAM) and ( Secretary of Communication and Transportation, SCT )  मा त्यसको असर मापन गर्दा एससीटीमा भन्दायुनाममा ५ गुणा बढी देखियो । यो हुनुको कारण UNAM नरम खाले माटो हुनु र SCT मा ढुङ्गाको धरातल हुनु हो । त्यसकारण धरातलको बनावट कस्तोखाले छ, त्योअनुसार भूकम्पको असर पनि फरक ठाउँमा फरक हुनसक्छ । यही कारणले गर्दा हामीले घर बनाउँदा, ठाउँ अनुसारको घर बनाउनुपर्छ ।
चित्र नं. १ उत्तर अमेरिकाको मेक्सिको शहरको युनाम र एससीटीको स्थान
अब केही प्रश्न मनमा आउन सक्छ जस्तै यो जमिनको हल्लाइलाई थाम्न सकिने घर कसरी बनाउन सकिन्छ त ? यसको सोझो उत्तर त नहोला । तर, एउटा कुरा चाँहि के सत्य हो भने जसरी गुडिराखेको गाडीमा अचानक बे्रक लाग्दा हामी अगाडि जान्छांै, त्यस्तैखाले प्रतिकृया घरले पनि देखाएको हुन्छ । यसरी बाहिरी शक्ति जुन घरमा लाग्छ, त्यसलाई थाम्न सक्ने शक्ति नै इन्जिनियरहरूले विभिन्न हिसाब किताबबाट डिजाइन गरिएको हुन्छ । यसमा घरको आकार प्रकारदेखि त्यो घरको लागि प्रयोग गरिने सामानहरू समेत निर्धारण गरेको हुन्छ । इन्जिनियरहरूले घरको डिजाइन गर्दा पनि आफू खुसी गर्न पाउँदैैन । उनीहरूलाई पनि एउटा निर्देशिका हुन्छ, जसको आधारमा रहेर घरको डिजाइन गरेको हुन्छ । यो निर्देशिका अथवा नियम भनेकै भवन आचारसंहिता हो । यो आचारसंहिताले पूर्णरूपमा घर डिजाइन गर्ने इन्जिनियरहरूलाई बाँधेको हुन्छ ।
यस्तो पृष्ठभूमिमा इन्जिनियरहरूले कुनै पनि घर भूकम्प प्रतिरोधी कसरी बनाउँदा रहेछन् भन्ने जिज्ञासा प्रायः सबैमा रही आएकोले यससम्बन्धी केही कुरा प्रस्ट्याउन खोजेको छु । यसलाई बुँदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ ।
१. घर बनाउने ठाउँको अवस्था
घर बनाउँदा सर्वप्रथम स्ट्रक्चर इन्जिनियरले घर बनाउने स्थानको स्थलगत अध्ययन गरेको हुनुपर्छ । यस अध्ययनमा विशेषगरी जग्गाको आकार र माटोको गुणबारे विस्तृतरूपमा अध्ययन गरेको हुनुपर्छ । जग्गाको आकारबाट घरको बनावती आकार निर्धारण गरेको हुन्छ । भूकम्पीय दृष्टिकोणमा घरको आकारले धेरै महत्व राख्दछ । उदाहरणको लागि घरको आकार सरल किसिमको जस्तै वर्गाकार, आयातकार आदि भएको खण्डमा भूकम्पको असर धेरै कम हुन्छ । तर, घर जटिल आकारको जस्तैः अङ्ग्रेजी अक्षर L, T, U  आदि जस्ता भएमा भूकम्पले बढी क्षति गर्छ । यसरी घरको निर्माण गर्दा इन्जिनियरहरूले सक्दो जग्गाको आकारमा सरल आकारको घरको ढाँचा निर्माण गरेको हुन्छ । त्यसैगरी घर बनाउने ठाउँको माटोको गुणबारे राम्रो ज्ञान हुनुपर्छ । यहीं माटोको बनावतको आधारमा घरको डिजाइन हुन्छ । माटोको बनावटले घरको डिजाइनमा धेरै असर पार्दछ । माटोले नै निर्धारण गर्छ कि यदि यस ठाउँमा भूकम्प आएमा जमिन कतिको हल्छ । उदाहरणको लागि यदि कमसलखाले माटो भएको खण्डमा जमिन नराम्रोसँग हल्न सक्छ र कुनै राम्रो खालको माटो परेमा त्यस्तो जमिनमा भूकम्पको हल्लाइ कम हुन्छ । यहीं वैशाखमा गएको भूकम्पले पनि यो कुरालाई पुष्टि गर्दछ । जस्तै यो भूकम्पले कीर्तिपुरमा त्यति क्षति गरेन उपत्यकाका अरु स्थानहरूमा भन्दा । यसले के बुझिन्छ भन्दा कीर्तिपुरको माटो अत्यन्त बलियो छ । यसरी माटोको गुणले घरको कम्पनमा भूकम्प आएको बेला धेरै फरक पारेको हुन्छ ।
२. घरको जमिनमुनिको संरचना
घरको जमिनमुनि रहने भागलाई इन्जिनियरिङ भाषामा सब–स्ट्रक्चर भनिन्छ । यसमा विशेषतः जग पर्दछ र योबाहेक अन्य जमिनमा रहने संरचनाहरू पनि पर्दछन् । कुनै पनि जमिनमा रहने संरचनाको आवश्यकता माटोको गुणमा नै भर पर्दछ । माटोको किसिमको आधारमा नै जगको आकार प्रकार निर्धारण भएको हुन्छ । त्यतिमात्र होइन, घरको बोझले पनि जगको आकार प्रकारमा असर गर्दछ । कुनै कारणले माटो कमजोर भएको पाएमा, त्यस्ता माटोलाई विभिन्न प्राविधिक उपाय प्रयोग गरी बलियो बनाएको हुन्छ । उदाहरणको लागि आज संसारका धेरै ठाउँहरूमा ठूला संरचनाहरू बनाइएका छन् जहाँ जमिनको माटो एकदमै कमजोर छ । यो सबै सम्भव हुनुको कारण इन्जिनियरिङ प्रविधिको उपलब्धता हो । त्यसकारण माटो बलियो नभएको अवस्थामा, माटोलाई विभिन्न प्रविधि प्रयोग गरी बलियो बनाइन्छ । त्यस पछिमात्र सुहाउँदो जगको निर्माण गरिन्छ । भूकम्पीय क्षेत्रमा माटोलाई जति कसिलो बनाउन सकियो त्यति राम्रो हुन्छ । यस्तो माटोमा निर्माण भएका घरहरूलाई भूकम्पले पनि कम मात्र असर गरेको हुन्छ ।
३. घरको जमिनभन्दा माथिको संरचना
घरको जमिनभन्दा माथिको संरचनालाई इन्जिनियरिङ भाषामा सुपर–स्ट्रक्चर भनिन्छ । हामीले बस्न र दैनिक जीवन बिताउन ओगटेको ठाउँलाई सुपर–स्ट्रक्चरको रूपमा बुझ्न सकिन्छ । जमिनभन्दा माथि रहेको घरको विभिन्न संरचनाहरू भूकम्पीय दृष्टिकोणबाट अझ बढी संवेदनशील हुन्छ । भूकम्प आउँदाखेरि यो भागमा कम्पन हुन्छ । यो कम्पनको आधारमा घर बच्न पनि सक्छ अथवा ढल्न पनि सक्छ । सबै घरहरू एकै किसिमले कम्पन हुँदैन । घरको आकार, घरको उच्चाइ, घर निर्माण गर्दा प्रयोग भएका निर्माण सामाग्री, घरमा लाग्ने भार आदि जस्ता थुप्रै कारणले घरको कम्पनलाई निर्धारण गरेको हुन्छ । यस्तै कारणलाई ध्यानमा राखी इन्जिनियरहरूले घरको डिजाइन गरेको हुन्छ । एउटा सामान्य नियम छ जसको आधारमा इन्जिनियरहरूले घर डिजाइन गर्दछ । घरको भारअनुसार, भूकम्पको असर फरक हुन्छ । यही घरको भारबहनमा भूकम्पले गर्ने कम्पनलाई समेत ध्यानमा राखी इन्जिनियरिङले हिसाब गरी घरलाई चाहिने शक्ति प्रदान गरेको हुन्छ । जसअनुसार बीम, पिलर, स्ल्याब, गारो आदिको आकार प्रकार र त्यसमा प्रयोग गरिने निर्माण सामग्रीसमेत निश्चित गरिन्छ । यसरी स्ट्रक्चर इन्जिनियरले डिजाइन गरेको घरलाई नै भूकम्पप्रतिरोधी घरको रूपमा लिइन्छ ।
माथि उल्लेखित ३ वटा बुँदाहरूको आधारमा भूकम्पप्रतिरोधी घरको निर्माण गरिएको हुन्छ । भूकम्पप्रतिरोधी घर निर्माण भन्ने बित्तिकै हामीमा एउटा भ्रम छ, हामी ठान्छौँ कि भूकम्पले हाम्रो घर केही पनि हुँदैन, यदि घर भूकम्पप्रतिरोधी हो भने । तर, वास्तवमा त्यसो होइन । इन्जिनियरले डिजाइन गरेको घर पनि ठूलो भूकम्प आएमा नराम्रोसँग क्षति हुन सक्छ तर मानवीय क्षति नहोस् भन्ने उद्देश्य लिएको हुन्छ । भूकम्पप्रतिरोधी घरका मुख्य उद्देश्यहरू ः
१. सानोखाले भूकम्प आएमा घर कम्पन हुन्छ तर घरमा कुनै क्षति हुँदैन ।
२. मध्यम खाले भूकम्प आएमा घरको भार थाम्ने मुख्य संरचनाहरू बीम, पिलर आदिमा केही पनि क्षति नहुने तर अन्य संरचना (गारो) मा सामान्य क्षति हुन सक्छ जुन सामान्य किसिमले मर्मत गर्न सकिन्छ ।
३. ठूलो खाले भूकम्प आएमा घर काम नलाग्ने गरी असर पर्न सक्छ तर मानवीय क्षति हँुदैन । घर पुनःनिर्माण गर्नुपर्ने हुन्छ ।
यसरी भूकम्पप्रतिरोधी घर निर्माण गर्दाखेरि इन्जिनियरहरूले यी कुराहरूलाई ध्यान दिएका हुन्छन् । अबको हाम्रो समाज भूकम्पप्रतिरोधी समाज हुनुपर्छ । यस समाजमा अब आइन्दा कुनै पनि संरचना भूकम्प प्रतिरोधीविहिन नहोस् । जति पनि घर निर्माण हुनेछ त्यसको राम्रो स्ट्रक्चर इन्जिनियरद्वारा डिजाइन गरियोस् । हामीले पहिला जति पनि निर्माणहरू गरेका थियौं त्यसमा धेरै कमी कमजोरीहरू थिए । यी कमी कमजोरीहरू हामीले पूर्णरूपमा हटाउनुपर्छ । यो वैशाखको भूकम्पजस्तै अरु धेरै भूकम्पहरू भविष्यमा पनि आउन सक्छन् । यी भविष्यको गर्भभित्र रहेको भूकम्पबाट बच्नको निम्ति पनि हामीले अब बनाउने घरहरू भूकम्पप्रतिरोधी हुनैपर्छ । यो सचेतना सबैमा आएको खण्डमा भविष्यका हाम्रा सन्ततिहरूले हामीले भोगेको जस्तो जनधनको क्षति भोग्नुपर्ने छैन ।
(लेखक ख्वप कलेज अफ इन्जिनियरिङका सहप्राध्यापक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *