भर्खरै :

प्रिय ! तिमीलाई मेरो अन्तिम चिट्ठी

  • आश्विन ५, २०८३
  • नारायणमान बिजुक्छेँ
  • कविता
प्रिय ! तिमीलाई मेरो अन्तिम चिट्ठी

तिमीले भनेकी थियौ – ‘सरकारको नोकरी गर्नुस् ।’
मैले भनेँ – ‘देश र जनताको सेवा गर्छु ।’
तिमीले झर्केर भनेकी थियौ –
‘देश सेवाले घर सम्प्रन्न, बाल–बच्चा सुध्रिन्न
धन सम्पत्ति जोड्न सकिन्न, त्यसमा इज्जत छैन ।’
मैले जवाफ दिएको थिएँ –
‘देश रहेन भने हाम्रो घर पनि त रहने छैन
अनि हाम्रो बाल–बच्चा पनि त रहने छैनन्,
तिम्रा दुई हात, तिम्रो बुद्धि र बल
तिम्रो चोखो मन र तिम्रो सीप
आफै सबभन्दा ठुलो धन–सम्पत्ति हो
इज्जतको मुहान नै त्यो हो
सुन–चाँदी, घर–खेत र पैसा त झगडाको बीउ हो
त्यसमा तेरो–मेरो हुनु हुन्न ।’
‘छिः … मलाई मन पर्दैन त्यस्तो विचार
दुःख पाउने बाटो, हेँलाको पात्र बन्ने उपाय
पुलिसको चुटाइ र जेलको यातना सहने भविष्य
आफन्त सबै पन्छिने, देश बिग्रने काम
छोरा–छोरी सबै भोकै र नाङ्गै मार्ने मन,
आफू पनि लुकी–भागी हिँड्नुपर्ने गोरेटो
अरुको भरमा बाँच्नुपर्ने निमुखा
मैले कुकुरनी जस्तै दुःख पाउने त्यो दिशा
नाइँ–नाइँ त्यो बाटो जाति छैन’ तिमी रुन थाल्यौ ।
‘पुलिसको मार र जेलको सास्तीले तिमी–हामी
डराउनु छैन देश र जनताको निम्ति,
त्यो बाटो सुखी भविष्यको बाटो हो – सबै दशा सप्रने
गौरवपूर्वक बाँच्ने, नझुकी अरुको अगाडि
हेला हुन्छ कसरी त्यो ?
पन्छियोस् आफन्तहरू केही, खालि भोजमा सामेल हुने
लाखौँ लाख आफ्नो हुनेछ, थिचिएका–पिसिएका दुःखका साथी
तिमीले केही हार्नु छैन – ‘जित्नु छ संसार’ ।
कस्तो सानो तिम्रो चित्त त्यो माखाको पित्त जत्रो !
हो, हाम्रा छोरा–छोरी मर्ने छन्, भोकले, प्यासले र नाङ्गै
तर थाहा छ ?
हाम्रो त्यागले, हाम्रो तपस्याले, हाम्रो बलिदानले
भोकले मर्ने छैनन्, प्यासले मर्ने छैनन् र नाङ्गा रहने छैनन्
देशका सबै छोरा–छोरी क्रान्तिपछि,
पर्दैन मर्न बिनाउपचारले,
पढ्न पाई सबैका छोरा–छोरीले
डाक्टर, इञ्जिनियर, वैज्ञानिक, रसायनशास्त्री बनी
शिक्षक, लेखक, कवि, कलाकार,
अर्थशास्त्री, समाजशास्त्री र गीतकार बनी,
देश र जनताकै सेवामा लाग्ने मुख्य गाँठो बनाई
हामीले कोरेकै गोरेटोमा ताची गरी
ती सबै हामै्र छोरा–छोरी हुन् – लिनुपर्छ मनमा हामीले,
लुकी–छिपी भागी हिँड्नु त
हामीले केटाकेटीमा खेलेको ‘तेलकासा’ हो
त्यसैमा हामी हुर्कियौँ ।
तिमीले सहने हरेक हण्डर र कष्ट आखिर
इस्पात बन्ने हनाइ हो भन्ने बुझ्नेछौँ
तिमी झन् मनले बलिया हुनेछौँ,
हामीले देश र जनतासँगै युग–युग जिउन पाउनेछौँ
त्यो इज्जत र गौरवको जीवन, सुखको जीवन हुनेछ’–
मैले बारम्बार हाँसेर भनेँ ।
तिमीले मेरो कुरो सुन्नै मानिनौ
बरु सराप्न थाल्यौ उल्टै मलाई,
तिमी मेरो निको नहुने घाउ बन्यौ
तिमी मेरो नसुध्रने दिक्दारी बन्यौ ।
अँ हो, अनि मात्रै मैले भनेको थिएँ –
‘हामी दुई बाटाका बटुवा भयौँ
पूर्व र पश्चिम हाम्रा बाटाहरू
कहिले नमिल्ने तल र माथिका
ती समानान्तर धर्काहरू बन्यौँ ।’
प्रिय ¤ मैले तिमीलाई त्यसैबेला
मनमनै ‘बिदा’ को हात हल्लाइसकेको थिएँ ।
यो तिमीलाई मेरो अन्तिम चिट्ठी ! (मार्च, १९७७)
स्रोतः आकाश बाँधिएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *