भर्खरै :

गाजाका दुई कविताको अनुवाद ए ! गाजाका चुलबुले बाबुनानीहरू !

  • आश्विन ५, २०८३
  • खालिद जुमा
  • कविता
गाजाका दुई कविताको अनुवाद ए ! गाजाका चुलबुले बाबुनानीहरू !

ए ! गाजाका चुलबुले बाबुनानीहरू !
तिमीहरू त्यही त हौ नि मेरो झ्यालमुनि आएर
सकेको हल्लाखल्ला गर्दै मलाई वाक्क बनाउँथ्यौ
तिमीहरू त्यही त हौ जो खितखिताउँदै दौडादौड गथ्र्यौ
बिहानीको निशब्दतालाई मधुर ध्वनिमा बदलिदिन्थ्यौ
मेरो बुर्जाका गमलाहरू फुटालिदिने तिमीहरू त हौ नि
अनि त्यहाँ फुलेको एउटै मात्र फूल पनि चोरेका थियौ
(भैगो ! यो मुर्दा शान्ति सहन सकिन्न ! कहाँ हरायौ ?)
सबै फर्केर आओ न –
र मनलागेको चहचहाउँदै हल्लाखल्ला गर न
सबै फूलदानी र गमलाहरू फोरे पनि हुन्छ
सबै फूलहरू चोरे पनि केही भन्दिन
फर्केर आओ न
बस ! तिमीहरू फर्केर आएमात्र पुग्छ ……।

गाजा फेरि विद्यालय जान थाल्यो
– जहाँ ब्सीसो
विद्यालय अब हजारौँका लागि
घर र आश्रयस्थल भएको छ ।

विद्यार्थीहरू घोक्र्याइएका छन् अथवा मरिसकेका छन्,
घाइते पनि हुन सक्छन् वा
अनाथ भइसकेका छन् ।
शिक्षिकाहरू बाबुनानीहरूलाई लुकाउन
उनीहरू नदेखिने गरेर लम्पसार सुत्छन्
किताबहरू कुहिरीमण्डल धुवाँ र खरानीका रास भएका छन् ।

हिसाब यस्तो पो पढिन्छ
५१ दिन २,२०० मृत्यु, १०,००० घाइते
जमिनको भागबन्डा, अवैध बस्तीहरूमा कयौँ गुणा बढी ।
भूगोल यस्तो छ कि हामी आफ्नो नक्सा
आफैँ बनाउँछौँ, नदीदेखि समुद्रसम्म
तपार्इँ एउटा खुला कारागारमा
न्यायको पाठ कसरी पढाउन सक्नुहुन्छ र ?

हाजिरीः
गाजा, खान, युनुस, जबालिया, बेत हानून्,
अझै ठिङ्ग उभिन सक्छन् ।
बेत लाहिया, डेर अल–बलाह, बनी सुहैल,
हामी अझै जिउँदै छौँ ।
हाइफा, याफा, हेब्रोन, बेतलहेम, नबलूस, रमल्ला –हाजिर छन् ।
अल कुद्स – अहिले पनि यहीँ छ ।

कविता जस्तै लाग्छ : ह्या ! यस्तो पनि कविता हुन्छ र ?
अर्काको कब्जामा गीत गुन गुनाइँदैन क्या ¤
भग्नावशेषमा थिचिएका ससाना जुत्ताहरू हुन्छन् ।
बेत अल–आलमी, बेत अल–बत्श, दार अबू अली
– हाजिर नै छन् ।

मेरा सबै दिदीबहिनी मरिसकेका छन् ।
यस्ता बेमाखलाई कसरी बिर्सन सकिन्छ र ?
बेत शाबन, बेत अल्हज्ज, बेत नज्जर !
– मरिसके क्यार ? गयल भए !
मरियम – टाउकोमै गोली लागेको छ
मेहदी – अझै अस्पतालमै छन्

हामीले यासीनलाई पत्तै लगाउन सकेनौँ,
हामीले यासीनलाई पत्तै लगाउन सकेनौँ,
हामीले यासीनलाई पत्तै लगाउन सकेनौँ ।
५१ दिनसम्म पनि ।

तपार्इँ एउटा खुला कारागारमा
न्यायको पाठ कसरी पढाउन सक्नुहुन्छ र ?
हरेक शब्दहरू आगाका फिलिङ्गा झार्छन् ।
सबै कक्षाहरू टनाटन भरिएका छन् ।

मजदुर विगुल, जनवरी २०२४ बाट
अनुवादः मुकेश चालिसे, ल.पु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *