भर्खरै :

चीनको आत्मविश्वास

चीनको राजधानी पेइचिङमा बिहीबारबाट दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्मेलन सुरू भयो । सम्मेलनअन्तर्गत शुक्रबारको विशेष कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, चीनका राष्ट्रपति सी चिनफिङलगायत बीआरआईमा सम्बद्ध देशका प्रतिनिधिहरूले सम्बोधन गर्नुभयो ।
सन् १८४० दसकमा भएको अफिम युद्धदेखि चीन पश्चिमा र जापानी उपनिवेशवादी शक्तिको अचानोमा प¥यो । अनेकन राजनीतिक आरोह–अवरोह र लाखौं चिनियाँजनताको बलिदानपछि सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भयो । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको जनवादी क्रान्तिले चीनलाई नयाँ युगमा डो¥यायो । कुनै बेला संसारकै समृद्ध चिनियाँ सभ्यताको पुनर्जागरण र पुनःनिर्माणको लागि जनवादी क्रान्तिले मार्गप्रशस्त ग¥यो । त्यही जगमा चीनले आजको समृद्धि हासिल गरेको हो । सन् १९७८ मा चीनमा सुधार र खुलापनको नीति लागू भयो । त्यही नीति लागू भएपछि चीनले संसारबाट धेरै कुरा सिक्यो र आफ्नो अनुकूलतामा लागु ग¥यो । त्यही आधारमा उभिएको चीन आज संसारकै एउटा समृद्ध र विकासको पथमा तीव्र गतिमा अघि बढिरहेको देश बनेको छ । चीनले करोडौँ करोड जनतालाई गरिबीको दलदलबाट उकासेको छ । विकासका पूर्वाधार निर्माणमा चीनले संसारकै लागि अनुकरणीय उपलब्धि हासिल गरेको छ । पुँजीवादी देशले सयौं वर्ष लगाएर गरेको भौतिक तथा सांस्कृतिक विकास चीनले चालीस वर्षमा हासिल गरेको छ । योजनाबद्ध समाजवादी बजार अर्थतन्त्रमा आधारित विकासको ढाँचाकै कारण चीनले छोटो समयमा यस्तो सफलता हासिल गरेको हो । कुनै बेला संसारकै सबभन्दा विकसित मानिएका युरोपेली देशहरू आज चीनबाट सिक्न र चीनसँग सम्बन्ध गाँस्न आतुर छन् । चीनले पश्चिमा देशहरूबाट सिकेका अनुभवलाई आफ्नो अनुकूलतामा मौलिकरूपमा लागू ग¥यो र आज पश्चिमा देशलाई नै आफ्नो विकासको अनुभव सिकाउने स्थानमा पुगेको छ ।
चीनका राष्ट्रपति सीले प्रस्तुत गर्नुभएको बेल्ट एन्ड रोड परियोजनाको घोषणा वास्तवमा विश्व मञ्चमा चीनको आत्मविश्वासको प्रदर्शन हो । चीन आज संसारबाट सिक्न र आफ्ना अनुभव संसारलाई सिकाउन चाहिरहेको छ । बीआरआई यसैको अभिव्यक्ति हो । कतिपय देशले चीनको यो अग्रसरतालाई अपव्याख्या गर्ने गरेका छन् । विशेषतः संसारको सबभन्दा धनी र विकसित मानिएको देश संरा अमेरिकालाई चीनको यो अग्रसरता पाच्य भइरहेको छैन । कुनै बेला व्यापार संरक्षणवादको कडा विरोधी रहँदै आएको संरा अमेरिका आज आफैँ व्यापार संरक्षणवादको पहरेदार बनेको छ ।
चीनको बेल्ट एन्ड रोड परियोजनामा संसारका झण्डै १ सय ३० देशहरू छन् । साथै झण्डै बीस अन्तर्राष्ट्रिय सङ्गठन यो परियोजनामा सामेल छन् । दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनसँगै यो परियोजनाले थप व्यापकता पाएको छ । आफूमात्र होइन, संसारका सबै देशलाई आफ्नै गतिमा विकासको बाटोमा हिँडाउने चीनको सदाशय नै यो योजनाको मूलस्रोत हो । पश्चिमा देशहरूको विकासले संसारमा विभेद निम्त्यायो भने चीनको यो योजनाले संसारलाई न्यायपूर्ण र समानतातर्फ उन्मुख बनाउनेछ । यो कुनै देशको प्राकृतिक सम्पदामाथि कब्जा गरेर कम विकसित देशको सार्वभौमिकता खोस्ने योजना होइन । नेपाल यो परियोजनाको सदस्य बनिसकेको छ । यसले नेपालको पूर्वाधार विकासमा योगदान गर्ने अपेक्षा गर्न सकिन्छ । तर, दैनिक माछा मागेर खानुभन्दा माछा मार्न सिक्ने मानिसले धेरै प्रगति गर्नसक्छ । नेपालले यो परियोजनाबाट केही सडक र भवन निर्माणको सहयोग प्राप्त गर्नुभन्दा चीनले आजसम्मको यात्रामा हासिल गरेको अनुभव नेपालले लागू गर्नसक्नु बुद्धिमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *