ग्रिन आर्मी : ओलीको पालामा दर्ता देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति
- भाद्र २१, २०८३
– अश्वत्थामा
‘हामीलाई रिल लाइफ र रियल लाइफ दुवैमा क्लाइमेक्स चाहिन्छ ।’
कञ्चनपुर काण्ड नाम दिइएको भारतीय एसएसबीले नेपाली साधारण नागरिकलाई गोली हानेको घटनाबारे सामाजिक सञ्जालमा गरिएका टिप्पणीमध्ये यस्तो देखेपछि आँखा त्यसैमा गड्यो । स्टाटस लेख्ने व्यक्तिलाई नजिक–टाढाबाट चिनिएको पनि थियो । त्यसैले वाक्य पछाडि लुकेको मर्म बुझ्न गाह्रो परेन । एक वाक्यमा उनले आफ्ना असफल प्रयत्नसँगै नेपाली सामाजिक मनोविज्ञान पनि पोखेका थिए । किनभने ती तिनै व्यक्ति थिए, जसले किशोरकालमै विभिन्न विद्यालयमा नक्सा बोकेरै भारतद्वारा मिचिएका नेपाली सीमाबारे कैयौंपटक कक्षा चलाएका थिए । कैयौंपटक सडकमा कुर्लिएका थिए । तर पनि मानिसको मनमा थोरै पनि चेतनाको आगो सल्किएको थिएन । कञ्चनपुरमा गोली चलेपछि जब मानिसहरु एकाएक ताते, उनले क्लाइमेक्स अनुभव गरे । जबकि यो क्लाइमेक्सले सल्काएको आगोमा जोर्ने प्रतिबद्धताको दाउरा त के सिठाझिंग्रा पनि छैन । सायद यो तथ्यसँग पनि उनी जानकार नै छन् । यद्यपि जो प्रयत्न फेरी पनि गरिरहेछन् त्यो प्रयत्नलाई सलाम ।
‘अश्वत्थामा त नकारात्मक पात्र होइनन् र ? फेरी पनि यही नाम किन ?’ भन्ने आशयको प्रश्न एक पाठिकाले म्यासेजबक्समा पठाएपछि केही बेर सोचिएको हो । तर, यही आशयमा लेख्ने मन थिएन नै । यद्यपि नाम रोज्ने बेलामा लगभग दुई दर्जनभन्दा बढी ऐतिहासिक पात्रबारे जानकारी खोजिएको थियो । नेपाली समाजको प्रवृत्तिमा युधिष्ठिर वा अर्जुन वा कृष्ण वा राम वा क्राईस्ट वा गेरिवाल्डी वा आर्थर वा शार्लम्यान आदि–आदि भन्दा बढी अश्वत्थामाहरु नै भेटेपछि यो नाम राखिएको हो । हाम्रो अश्वत्थामा प्रवृत्तिबारे लेखिनु उपयुक्त हुन्छ त्यतिबेला लाग्यो, जब अघि उल्लेखित स्टाटसमा घोत्लिइयो ।
जहाँसम्म नकारात्मकता र सकारात्मकताको प्रश्न हो, आईन्स्टाइनको सापेक्षतावादको सिद्धान्तको चर्चा गर्ने मनसाय पटक्कै होइन । पूर्वेली दर्शनले अंगीकार गरेको प्रवृत्ति कै चर्चा हो । अंग्रेजीका प्रोफेसर अरुण गुप्तोले जसरी आफ्नो पुस्तक ‘गडेस अफ् काठमाडौं’मा उल्लेख गरेका छन् त्यसरी नै हिन्दु शास्त्र र मिथहरुले सामाजिक मनोविज्ञान बनाइदिएको समाजमा पनि द्वैधताको अस्तित्व जीवित छ । जसरी महाकालीको मूर्तिमा क्रोध र ममता एकैपटक झल्किन्छ हाम्रो सन्दर्भमा नकारात्मकता र सकारात्मकता त्यसैगरी एकैपटक आइदिन्छ । फरक त यत्ति हो, हामी मतमतान्तर गर्छौँ । राम पुज्छौं र उनका कमजोरी बिर्सिदिन्छौं । रावणलाई घृणा गर्छौँ र उनका विशेषता भुलिदिन्छौँ । गोपीनिको कपडा लुकाइ मज्जा मान्ने बदमास कृष्णको पूजा र सिताको पवित्रताको खोजी एकैपटक हुने समाजमा नकारात्मकता र सकारात्मकताको घेरो के ले छुट्टाउँछ भनेर खोज्नेहरुले अवश्य सत्य फेला पार्नेछन् । त्यही सत्य जहाँ युधिष्ठिर झुट बोलेर पनि, पासामा अर्धागिंनी थापेर पनि, राजामा हुनुपर्ने सामान्य दायित्वबोध नभई राज्य नै हारेर पनि धर्मराज भईरहन्छन् । अनि जहाँ पराजित भएकैले हो सायद दुर्योधनको मोह, दुशासनको कुबुद्धीको अगाडि भिष्महरुको लाचारीको कारण खोजिन्न । र, सायद त्यही कारण हो – ती पाठिकाको जस्तै आम मनोविज्ञानमा नकारात्मकता र सकारात्मकताको श्यामश्वेत घेरा छुट्टाईएको छ । यति लेखिसक्दा पनि त्यो घेरो शक्ति र विजयले छुट्टाउँछ भन्ने व्याख्या गरिरहनु शक्तिपीठहरुको पूजा गर्ने संस्कृतिले जन्माइदिएको मन्दता हो भन्नु अन्यथा हुँदैन ।
अश्वत्थामा त्यो पात्र हो जो पराजित हुने योग्यता भएको कुलमा जन्मियो । जो आफ्नो कुल र राष्ट्रको निम्ति लड्न प्रतिबद्ध भइरह्यो जबकि उसको राष्ट्रको जगमै पराजित हुनुपर्ने दुर्भाग्य कोरिएको थियो । व्यासको बुद्धिमा यदि कौरवले जित्ने कोण फुरेको भए महाभारतको कथा र अश्वत्थामाको छवि कस्तो हुन्थ्यो स्वैरकल्पनाका धनीहरुलाई खुला मैदान छ ।
फेरीपनि भन्नैपर्ने एउटै तथ्य हो – पंक्तिकारले लिएको नाम अश्वत्थामा कुरुक्षेत्र युद्धपछिको हो । जो युद्धमा पराजित छ र पनि पराजयबोध निधारमा टाँसेर बाँचिरहन विवश छ । जो पुनः विजयको कुण्ठा पालेर मनभरी आक्रोश बोकिहिँड्छ तर हर प्रयासहरु असफल हुन्छन् । क्रोधाग्नीमा जलेर पटकपटक मरिरहन्छ र पनि जिवित हुन श्रापित छ ।
अश्वत्थामाको जन्म त्यो कुरुक्षेत्रबाट भएको थियो जहाँ धर्मराज भनिएका युधिष्ठिरको होइन चतुर कृष्णको बुद्धि चलेको थियो । र त्यो कुरुक्षेत्रको जन्म त्यहाँ भएको थियो जहाँ धर्मराजहरु शकुनीको पासामा बन्दी भएका थिए । पासा पासो नै थियो । अर्थात् महाभारतको राजनीतिले सिकाएको एउटै हो, राजनीतिमा शक्ति सबैभन्दा प्रधान हो । निर्बलियो शक्तिको स्वच्छतालाई केवल विदुर बन्ने मार्ग खुल्ला छ ।
र, जहाँ बुद्धि, विवेक र सही मार्गनिर्देशन गर्नसक्ने राजनीतिज्ञहरु केवल विदुर बन्न बाध्य छन् वा बनिरहेछन् त्यहाँ धृतराष्ट्रहरु त दृष्टिहिन नै हुने हुन् ।
फेरीपनि धृतराष्ट्रको दृष्टिहिनता केवल एक उपमा हो । एक संकेत । जसलाई प्रमाणित गर्छ आजको राजनीति र शक्ति केन्द्रले । शक्ति केवल सामर्थ्य होइन, सीमा पनि हो जसले बन्दी बनाउँछ शक्तिकेन्द्रहरुलाई र बन्नपुग्छन् ती दृष्टिविहिन । अनि ती केवल भर पर्छन् सञ्जयहरुको । दृष्टिविहिन शक्तिकेन्द्रहरुलाई सत्य त्यही हो, जति सञ्जयहरुले बताएका हुन्छन् । र, फेरिपनि बिर्सन नहुने तथ्य हो – धृतराष्ट्रले आँखा देखेको मात्र भएपनि त्यो युद्ध हुनेथिएन । र, अश्वत्थामाको जन्म हुने थिएन ।
कतै हाम्रा शक्तिकेन्द्रहरु धृतराष्ट्र त बनिरहेका छैनन् ? र ती कतै सञ्जयहरुको गलत व्याख्यालाई नै सत्य नै मानिरहेका त छैनन् ? प्रश्न किन नगर्ने ? प्रश्न किनपनि भने साँचो लोकतान्त्रिक अभ्यासमा प्रश्नहरु सदा जीवित हुन्छन् । र, साँचो लोकतान्त्रिक अभ्यासले नै शक्तिकेन्द्रलाई दृष्टिविहिन र विदुरलाई असहाय हुनबाट रोक्छ । त्यति भएपछि नहुने युद्धबाट अश्वत्थामा जन्मिने त प्रसंगै रहेन । यति भनेपछि पनि, प्रश्न र जिज्ञासालाई निन्दा गर्ने समाज दृष्टिविहिनहरुको समाज हो भन्न केको दकस ?
र, फेरी पनि चर्चा अश्वत्थामाकै । अश्वत्थामा एउटा हात्ती थियो जो मर्यो । अश्वत्थामा अर्को योद्धा थियो जो बाँचिरहन अभिशप्त छ । जसरी नेपाली जनता सुगौली सन्धिको डाम बोकेर बाँचिरहेछ । जसरी नेपाली जनता सन् १९५० को खुला सीमाको डाम बोकेर बाँचिरहेछ । जसरी नेपाली जनता बाह्र बुँदेको डाम बोकेर बाँचिरहेछ । उसँग आवेग र आक्रोश छ, जुन क्लाइमेक्समा देखिन्छ र तुरुन्त सेलाउँछ । उसँग स्वाधीन ईच्छाहरु छन् र त्यो केवल तातो वा चिसो चियापसलमा कुर्लिन्छ । किनभने यहाँ धृतराष्ट्र केवल शक्तिकेन्द्र मात्र होइनन् जनता पनि हुन् ।
जनता पनि । कसरीभने ती नेपाली समाजको विशेषता आफैले देख्दैनन् डलर वा आईसीवाला सञ्जय चाहिन्छ । ती अधिकार भेट्छन् जहाँ तिनीहरुले भेटाइदिन्छन् । ती विभेद देख्छन् जहाँ तिनीहरुले देखाइदिन्छन् । अरुले देखाइदिएको सत्यलाई आफ्नो ठानेर हिंडिरहेका जनता स्वंय धृतराष्ट्र नभए के हुन्छन् ?
जनता नै धृतराष्ट्र भएपछि उनीहरुले जन्माउने शक्तिकेन्द्रहरुको के कुरा ? अनि अश्वत्थामाहरु कसरी अभिशप्त बाँच्न विवश नहुन् ?
यति भनिसकेपछि सायद अर्थ खुलिसकेको छ, अश्वत्थामा एक प्रतिक हो – घाइते र पराजित विवशताको । जुन नेपाली आफैले आफ्नो दृष्टिविहिनताले सिर्जेको हो । अब उसले आफ्नो विवशताबाट मुक्ति खोज्ने बेला आइसकेको छ ।
‘जिउँदै छन् भन्ने थाहा थियो, तर सामाजिक सञ्जालमा पनि छन् थाहा थिएन ।’ कुनै पाठकले गरेको व्यंग्य थियो । तर, उनलाई भनिहाल्नुपर्ने छ – अश्वत्थामा अर्थात् पराजित विवशता मृत्यु खोजिरहेछ । जबसम्म यो विवशता रहिरहन्छ, यसैगरी कहराइरहनुपर्ने उसको अर्को बाध्यता हो । किनभने बहसको अघिल्लो भागमा नफुकेको पहिचानको गुजुल्टो बाँकी नै छ ।
Leave a Reply