कृषिप्रधान देश नेपालको सङ्कट
- भाद्र २०, २०८३
भक्तपुर पुराना इँटा, काठका झ्याल र मन्दिरहरूको सङ्ग्रहमात्र होइन† यो जीवित इतिहास र चलायमान संस्कृतिको जीवन्त खुला सङ्ग्रहालय हो । यहाँको प्रख्यात पाँचतले मन्दिर (ङातापोल्हँ देगः) र भैरवनाथ मन्दिरजस्ता वास्तुकलाका अद्भूत धरोहरहरूले मात्र होइन, यहाँका चोक–गल्लीमा गुञ्जिने बाजाले वास्तविक प्राण भरेका छन् । यहाँ इतिहास ढुङ्गा–माटोमा मात्र सीमित छैन, नागरिकको पाइलासँगै अघि बढिरहेको हुन्छ । यहाँ संस्कृति सङ्ग्रहालयको काँचभित्र थुनिएर बस्दैन, अपितु साँझ पर्दा गल्ली–गल्लीमा बाजाको तालसँगै नाच्दै हिँड्छ ।
सांस्कृतिक परम्पराअनुसार श्रावण कृष्ण पक्ष चतुर्दशी (गठेमङ्गल) पर्वको दिनदेखि मात्र गाईजात्रा तथा त्यससँग सम्बन्धित नाचहरूको तयारी र अभ्यास सुरु गर्ने धार्मिक नियम रहिआएको छ । गठेमङ्गलभन्दा अगाडि बाजागाजा (जस्तैः तबला, लालाखिं, धाँ, धिमे, तं आदि) बजाउन नहुने शास्त्रीय मान्यताअनुसार यसको औपचारिक तयारी थाल्ने चलन छ । भदौ कृष्ण पक्षको प्रतिपदा लाग्नासाथ भक्तपुरका सामान्य दिनमा व्यस्त रहने टोलहरूमा एकाएक सांस्कृतिक चहलपहल सुरु हुन्छ । कतै बाजाका ताल र सुर मिलाइँदै गरेका हुन्छन्, कतै नाचको अभ्यास चल्छ त कतै पुराना पोसाक र मुखौटाको तयारी गरिन्छ ।
प्रतिपदादेखि अष्टमीसम्म चल्ने यी गतिविधिहरू केवल पर्वमात्र होइन† यो वर्षभरि मनभित्र गुम्सिएर रहेका कला, भाव र सिर्जनाहरूलाई बाहिर उतार्ने एउटा महान् अवसर हो । यो समय कलाकारहरूका लागि आफ्नो क्षमता देखाउने खुला परीक्षा र भव्य मञ्च हो । बन्द कोठामा खुम्चिएका कला, विभिन्न विधा र प्रतिभाहरूलाई बाहिर ल्याएर प्रस्फुटन गर्ने यो एउटा जल्दोबल्दो र जीवन्त अवसर हो । गाइँचा, नागचा, लाखे, भालु, माकचा, भैल देवी प्याखँदेखि विभिन्न ख्याल र नाटकसम्मका प्रस्तुतिहरू एउटा टोलबाट निस्किएको बाजाको स्वरले अर्को टोलसम्म प्रत्येक चोकलाई जीवन्त बनाउँछन् ।
यसको अर्को महत्वपूर्ण र ऐतिहासिक पक्ष भनेको यसभित्र लुकेको व्यङ्ग्य, प्रतिकार र सामाजिक चेतना हो । गाइँचा, फाकंदली, लुसिप्याखँ, भालुप्याखं आदि नाचहरूमा कपडाबाट बनाइने मुखौटा (मास्क) लगाउने प्रचलनको पछाडि विशिष्ट ऐतिहासिक कारण छ । उतिबेला पञ्चायती शासनकाल र सरकारहरूको दमनकारी नीति तथा सरकारविरुद्ध बोल्नेमाथि हुने पक्राउको विरोधमा व्यङ्ग्यात्मक गीत र संवादहरू प्रस्तुत गरिन्थ्यो । त्यतिबेला कलाकारको पहिचान लुकोस् र भोलिका दिनमा सरकारले व्यक्ति–व्यक्तिमाथि प्रतिशोध साध्न नपाओस् भन्ने उद्देश्यले नै मुखौटा लगाउने चलन चलाइएको हो ।
परम्परागत नाचहरूमा ठुला–ठुला मकुन्डोहरू लगाएर गरिने प्रदर्शन कुनै सामान्य व्यक्तिका लागि मात्र सम्भव हुँदैन । ‘ख्याः’ नाचमा एक जोडी कलाकारले पूरै पाङ्ग्राजस्तै गुड्दै एकजनामाथि अर्को चढेर असाधारण शारीरिक कला र सन्तुलनका प्रस्तुतिहरू दिने गर्दछन् । भारी मुखौटा र पोसाकभित्र रहेर गरिने प्रस्तुतिहरू शारीरिक सहनशीलता, अनुशासन र सामूहिक सहकार्यका उत्कृष्ट अभ्यासशाला हुन् भने यी नाचहरू पौराणिक कालमा देवताहरूले असुरी शक्ति र अन्यायविरुद्ध गरेको ऐतिहासिक युद्धको साङ्केतिक प्रस्तुति हुन् ।
यस संस्कृतिलाई जीवन्त र व्यापक बनाउनमा भक्तपुरका सामुदायिक तथा निजी विद्यालयहरूले हरेक वर्ष विद्यार्थीहरूलाई सहभागी गराएर विभिन्न मौलिक झाँकी र सांस्कृतिक प्रस्तुतिहरू गर्दै आएका छन् । साथै, विभिन्न युवा सांस्कृतिक समूहहरूले कलात्मक ढङ्गले उत्कृष्ट झाँकी र नाचहरू प्रदर्शन गर्दै आएका छन् । नयाँ पुस्तालाई संस्कृतिसँग जोड्न, यसको स्तरवृद्धि गर्न र कलालाई जीवन्त राख्न गरिएको यो सक्रिय सहभागिता र योगदान अतुलनीय छ ।
समाज र समयको फेरबदलसँगै यी परम्पराहरूमा पनि सुन्दर परिवर्तन आएका छन् । पहिला–पहिला यी सांस्कृतिक प्रस्तुतिहरूमा महिलाहरू खुल्न लाज मान्थे र सहभागिता जनाउँदैनथे, जसकारण पुरुष पात्रहरूले नै महिला भेषमा शृङ्गार गरेर अभिनय गर्नुपथ्र्यो । तर आजभोलि महिला दिदीबहिनीहरू आफैँ अग्रसर भएर कलाकारका रूपमा उभिन थालेका छन् । देवी प्याखंहरूमा मुख्य देवीदेखि लिएर सबै क्षेत्रमा अहिले महिला दिदीबहिनीहरू नै भइसकेका छन् भने नागःचा लगायतका अन्य धेरै नाचहरूमा पनि उनीहरूको सक्रिय सहभागिताले यी परम्परालाई थप उचाइमा पु¥याएको छ ।
तर, आजभन्दा केही वर्षअगाडिको समयमा विभिन्न टेलिभिजन च्यानलहरू, आधुनिक मनोरञ्जनका डिजिटल तथा स्क्रिन–आधारित मिडियाहरू र युट्युबको अत्यधिक प्रभावले गर्दा परम्परागत संस्कृति, खुला मञ्चका नाटकहरू तथा सडक नाटकहरूप्रतिको आकर्षण घट्दै गएको थियो । धेरै पुराना परम्परागत बाजागाजा र नाचहरू लोप हुने अवस्थामा पुगेका थिए । यस्तो चुनौतीपूर्ण परिस्थितिमा भक्तपुर नगरपालिकाले अगाडि बढाएको संरक्षणमुखी नीतिले महत्वपूर्ण मोड लियो । नगरपालिकाले गाईजात्रालगायतका पर्वहरूमा सहभागी प्रत्येक समूहलाई सामान्य आर्थिक सहयोग तथा उत्कृष्ट प्रस्तुति दिने कलाकार र समूहहरूलाई आकर्षक पुरस्कार र सम्मानको व्यवस्था ग¥यो । यसै प्रोत्साहन र सहकार्यका कारण आज यो संस्कृति सङ्कटबाट बचेर अझ बढी जीवन्त, ऊर्जावान् र भव्य बन्न सकेको छ, जसमा भक्तपुर नगरपालिकाको भूमिका र योगदान प्रशंसनीय रहेको छ ।
यहाँका हरेक नागरिकले घिन्ताङघिसी नाचदेखि लिएर विभिन्न बाजागाजा, झाँकी, देवी प्याखँ, माक प्याखं भैलः प्याखँलगायत कुनै न कुनै परम्परागत कला र सीप सिकेकै हुन्छन् र त्यसलाई जीवनमा उतार्दै आएका छन् । टोलैपिच्छेका तिनै साधारण नागरिकहरू नै यहाँका वास्तविक कलाकार हुन् ।
‘ताहासाः’ डोकोचा (गाई) नगर परिक्रमा गराउने परम्पराले व्यक्तिगत पीडा र सामूहिक समवेदनालाई एकै सूत्रमा बाँध्छ । दिवङ्गतको स्मृतिमा परम्परागत परालबाट बनाइएका भैरवनाथको प्रतीक ताहासाः र लाकुलाछेँ टोलका समस्त मृतजनहरूको गाईको प्रतीक ताहासाहरूलाई एकैसाथ नगर परिक्रमा गराउँदै जब टौमढी, लाय्कु (दरबार स्क्वायर) र दत्तात्रय क्षेत्रमा तीन चक्कर घुमाइन्छ, त्यो दृश्य अति नै मनमोहक हुन्छ । त्यो बेला उत्पन्न हुने रौनक र सामूहिक उमङ्ग कुनै विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूको साङ्गीतिक कन्सर्टभन्दा कम छैन । त्यहाँ न कुनै महँगो टिकट हुन्छ, न बाहिरबाट ल्याइएका कलाकार† केवल आफ्नै माटोका नागरिक–कलाकारहरूको अथाह सहभागिताले त्यो पललाई जीवन्त बनाउँछ ।
यो निरन्तरको सांस्कृतिक प्रवाहले नयाँ पुस्तालाई आफ्नो कला र पहिचान हस्तान्तरण गर्ने सुनौलो अवसर पनि प्रदान गर्छ । अग्रज गुरुहरूको मार्गदर्शनमा युवाहरू बाजा बजाउन, नाटक गर्न र परम्परालाई जोगाउन सिक्छन् । पुरस्कार र हौसलाले यसमा ऊर्जा थपे तापनि यसको वास्तविक प्राण भनेको यहाँका नागरिक, विद्यालय, युवा समूह र यसको संरक्षक संस्था नगरपालिकासहितको अगाध अपनत्व र सहभागिता नै हो ।
सङ्क्षेपमा भन्नुपर्दा, भक्तपुरमा संस्कृति वर्षमा एकपटक मनाइने चाडपर्वमात्र होइन, यो यहाँको जनजीवनको श्वासप्रश्वास हो । देवताहरूको पौराणिक सङ्घर्ष, राज्यको दमनविरुद्धको प्रतिकार, महिलाहरूको बढ्दो सहभागिता, आधुनिक मिडियाको चुनौतीलाई चिर्दै स्थानीय सरकारको प्रेरणा र घरघरका नागरिक नै कलाकार बन्ने यो मौलिक परम्पराले भक्तपुरलाई सधैँ जीवन्त, ऊर्जावान् र स्वाभिमानी नगरको रूपमा उभ्याएको छ ।
Leave a Reply