भर्खरै :

प्रधानमन्त्री ओलीको पञ्चायती शैली

–अभिनव
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोे चुनाव क्षेत्रमा बजेट पार्न भन्दै राष्ट्रिय योजना आयोगलाई ६८ वटा योजनाहरूको सूची थमाएकोमा सर्वत्रबाट आलोचना र विरोध भइरहेको छ । विकास आयोजना देशैभरलाई आवश्यक छ । कहाँ के–के गर्न आवश्यक छ भनी सोच्न राष्ट्रिय योजना आयोग र आर्थिक तथा विकास सल्लाहकारहरू समेत राखिएका छन् । तर, प्रम ओलीलाई ती कोही पनि आवश्यक देखिएन । त्यसैले त प्रधानमन्त्री कार्यालयकै लेटरप्याडमा झापाको आफ्ना निर्वाचन क्षेत्रमा यी यी आयोजनाहरू राख्नु भनेर पत्र नै पठायो ।
संसारकै अग्लो बुद्धको मूर्ति बनाउने कुरा आयो । त्यो उहाँलाई आफ्नै निर्वाचन क्षेत्रमा चाहियो । झापाकै नेपाल प्रवेशद्वार मानिएको काँकडभिट्टामा राखेको भए के बिग्रन्थ्यो ? दमक नगरपालिकामा मात्रै ५ हजार सुकुमबासी रहेको चर्चा छ । उनीहरूको अधिकांश भोट पनि उहाँले नै पाउनुभएको थियो रे । तर, सुकुमबासीहरूलाई थोरै जमिन र छानो दिने योजना प्रधानमन्त्रीको प्राथमिकतामा परेन । सुकुमबासीहरूले परैबाट देखिने गरी दमकमा भ्यू टावर बनाउन लाग्नु भएको छ । के त्यो टावरबाट दमक हेरेर सुकुमबासीहरूको पेट भरिन्छ ?
गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काभ्रेलगायतका धेरै भूकम्प पीडितहरू अझै टहरामै छन् । ०७२ वैशाखको भूकम्पले सबैभन्दा बढी क्षती यहीँ भएको हो । तर, भूकम्प सङ्ग्राहालय झापामा बन्दैछ, त्यो पनि उहाँकै क्षेत्रमा । किन चाहियो झापामा भूकम्प सङ्ग्राहालय ? किन गोरखा र सिन्धुपाल्चोकमा नबनाउने ?
दुई तिहाइको बहुमत भएको प्रधानमन्त्रीले तोकेको योजना काट्ने आँट राष्ट्रिय योजना आयोगका कुन सदस्यले गर्ला ? तर, यसरी प्रधानमन्त्रीले र मन्त्रीहरूले आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्ला मात्र हेर्ने शैली र प्रवृति पञ्चायत व्यवस्थाका पञ्चहरूको शैली हो । सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंह शैली र प्रवृत्ति हो । अहिले प्रम ओली र सरकार मन्त्रीहरूमा पञ्चायती शैली पुनरावृत्त भएको छ । ओलीलाई सांसद जित्न झापाको क्षेत्र नं ५ का जनताले मात्र मत हालेका थिए तर उहाँलाई प्रधानमन्त्री बनाउन देशका सबै जिल्लाका जनताले भोट हालेको तथ्य बिर्सन मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *