नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
राष्ट्रपति विद्यादेवी भण्डारी एकपछि अर्को विवादमा फस्दै जानुभएको छ । उहाँका गतिविधिलाई नेपाली जनताले ‘सामन्ती राजश्री छाँट’ भनी लगातार आलोचना गरिरहेका छन् । राष्ट्रपतिको विदेश भ्रमणको समयमा अन्य विमान सेवाका उडानपछि धकेलिनुदेखि उहाँको ‘सवारी’ मा सडक आवागमन बन्द हुँदा सर्वसाधारण नेपालीले भोग्नुपरेको समस्या र फोटो खिच्न निषेध गरिएको क्षेत्रमा फोटो खिच्नेलगायतका घटनामा राष्ट्रपति विवादमा मुछिनुभएको छ । शुक्रबार सङ्घीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीप्रति यतिखेर तीव्र आलोचना भइरहेको छ । ‘मेरो सरकार’ शब्दावलीले नेपाली जनतालाई पञ्चायती र राजतन्त्रको समय सम्झना दिलाएको छ ।
राजनीति र कूटनीतिमा शब्द प्रयोगले धेरै ठूलो अर्थ राख्ने गर्छ । गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो शब्दावली विस्थापित भइसकेको थियो । ‘नेपाल सरकार’ शब्दावलीमार्फत पनि नेपाली जनताले देशमा गणतन्त्र स्थापना भएको अनुभूति गरेका थिए । तर, राष्ट्रपति भण्डारीले नेपाली जनताले निर्वाचित गरेको सरकारलाई ‘मेरो’ भनिदिँदा सामन्ती चिन्तनको पुनरावृत्ति भएको देखापर्छ ।
राजतन्त्रमा सरकार राजाको मानिन्थ्यो । सरकार बनाउने वा विघटन गर्ने, सरकारमा कसलाई प्रधानमन्त्री वा मन्त्री बनाउने, सरकारले के काम गर्नेजस्ता विषयको निक्र्योल राजाबाट हुन्थ्यो । राजाको त्यही स्वेच्छाचारीविरूद्ध नेपाली जनताले सङ्घर्ष गरी गणतन्त्र स्थापना गरेका हुन् । राजा र राष्ट्रपतिबीचको भिन्नता भन्नु नै राजा आफ्नो तजबीजमा शासन गर्थे भने राष्ट्रपतिले जनताप्रति उत्तरदायी बनेर शासन गर्ने हो । सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति बनाउने जनताले हो । राजा जन्मको आधारमा पाउने पद हो । त्यसैकारण राजाले सामन्ती मानसिकता बोकेको हुन्छ, राष्ट्रपतिले जनताको भावना बोक्नुपर्ने हो ।
शुक्रबार राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्नु उहाँमा क्रमशः हुर्किंदै गएको सामन्ती चिन्तनको प्रतिबिम्ब हो । राष्ट्रपति कुनै व्यक्ति होइन, संस्था हो । त्यसकारण यसमा विद्यादेवी भण्डारीमात्र होइन, उहाँका सल्लाहकार, सहयोगी र सरकार स्वयम् पनि जिम्मेवार छन् । गणतन्त्र स्थापनाको सङ्घर्षको क्रममा नेपाली जनताले एउटा राजाको ठाउँमा अर्को राजा स्थापना गर्न चाहेका होइनन् । चुनावमार्फत बहुमतको शासन बन्नुको अर्थ नयाँ राजतन्त्रको अभ्युदय होइन । शक्तिको उन्मादमा शासन गर्न खोज्नु सामन्ती चरित्र नै हो । राष्ट्रपति र वर्तमान सरकारले पनि शक्तिकै कारण उन्मत्त भएर शासन गर्न खोज्नु बुद्धिमानी होइन ।
जनताले बनाएको राष्ट्रपतिले जनताबाट चुनिएको सरकारलाई ‘मेरो’ भनेर सम्बोधन गर्नु नेपाली जनताको भावनाविपरीत हो । गणतन्त्र स्थापनाको लागि जीवन आहुति दिने सहिद र घाइते योद्धाहरूको अपमान हो । राजा मरेपछि राजाको छोरोले मात्र शासन गर्न पाउने व्यवस्थाको अन्त्य गरी जनताका छोराछोरीले पनि देशको नेतृत्व गर्न पाउने व्यवस्था स्थापनाको लागि जीवन बलिदानमा होम्ने जनताको भावनाको अपमान हो ।
कानुनी वा प्राविधिक तर्क गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु गलत होइन भन्ने तर्क सरकारले स्पष्टीकरणमा भन्नेछ । तर, कानुन र प्राविधिकरूपमा सही र गलतभन्दा जनताको मनोभावना पनि राष्ट्रपतिले बुझ्न जरूरी छ । आज नेपाली जनताको भावना फेरि कोही पनि ‘म’ मार्काका सरकार र शासक नउदाओस् भन्ने हो । कसैले फेरि पनि म र मेरो भनेर शासन चलाउने स्वप्न देख्छ भने इतिहासले त्यस्तो चिन्तनलाई सधैं मिल्काएको वास्तविकता सर्वविदित सत्य हो ।
Leave a Reply