भर्खरै :

आफ्नो युगको सबभन्दा विरोध गरिएका व्यक्ति कार्ल माक्र्स

आर. लामा
१४ मार्च १८८३ को दिन थियो । दिउँसो पौने नौ बजेको समय थियो । संसारका सबभन्दा महान् विचारकको सोच्ने काम बन्द भयो । विचारक कार्ल माक्र्स हुनुहुन्थ्यो ।
आज संसारका सबैजसो देशमा मजदुर वर्ग र प्रगतिशील जनताले माक्र्सको मृत्युको सय वर्षको स्मृति दिवस मनाए । पुँजीवादी र साम्राज्यवादी बुद्धिजीवीहरूसमेत त्यसबाट अलग रहन सकेनन् । तिनीहरूले आजसम्म माक्र्सलाई असफल ‘भविष्य वक्ता’ र ‘पुरानो’ भइसकेका विचारकको रुपमा लिएर आफ्नो इष्र्या र दाहलाई पोख्दै आइरहेका छन् । आज संसारका कामदार जनताको अत्यन्त ठूलो भागले माक्र्सवादको झण्डा बोकेर पुँजीवादलाई झन्झन् साँगुरो घेरा पार्दै लगेको कुरा अनुभव गर्दागर्दै कार्लमाक्र्सको देनलाई अस्वीकार गर्न खोज्नु त ‘दन दन बलेको सूर्यलाई’ आँखा चिम्ली सूर्य निभेको कल्पना गर्नु जतिकै हो ।
तर कार्ल माक्र्स आफ्ना सबभन्दा महान कार्यले गर्दा प्रतिक्रियावादीहरूबाट सबभन्दा घृणा र विरोध गरिएका व्यक्ति बन्नुभयो । स्वेच्छाचारीतन्त्र र प्रजातन्त्रवादी दुवै किसिमका सरकारहरूले उहाँलाई आ–आफ्नो राज्यहरूबाट निकाला गरेका थिए । परम्परावादी र सा¥है प्रजातन्त्रवादी भनिने दुवै थरीका पुँजीवादीहरू माक्र्सलाई बदनाम गर्न एक आपसमा बल लगाउँथे । माक्र्स तिनीहरूको त्यस विरोधलाई माकुराको जालोजस्तै पन्छाउनुहुन्थ्यो र त्यसलाई वास्ता गर्नुहुन्न्थ्यो, कर परेपछिमात्रै उहाँ जवाफ दिनुहुन्थ्यो ।
कार्ल माक्र्सको कार्यबारे अन्तिम सलामी दिँदै एङ्गेल्सले भन्नुभएको थियो– “डार्बिनले जीव जगतमा विकासको नियम पत्ता लगाएझैँ माक्र्सले पनि मानव इतिहासमा विकासको नियम पत्ता लगाउनुभएको थियो । राजनीति, विज्ञान, कला, धर्म आदि काममा लाग्नुभन्दा पहिले मानिसलाई खान, पिउन, लाउन, ओढ्न र टाउको लुकाउन छाना चाहिन्छ भन्ने साधारण सोचाइलाई उहाँले नै पत्ता लगाउनुभयो, त्यसलाई अहिलेसम्म विचारधाराको ठूलो विकासले छोपेको थियो ।
त्यस्तै माक्र्सले उत्पादनको तत्कालीन पुँजीवादी प्रणाली र त्यसबाट बढेको पुँजीवादी समाज दुवैलाई नियन्त्रित गर्ने खालको त्यस विशेष नियमलाई पनि देखाइदिनुभएको थियो ।
त्यस्तै उहाँले पुँजीवादी अर्थशास्त्री र समाजवादी आलोचकहरूको सारा खोजबिन नै अँध्यारोमा छामछाम र छुमछुम भइरहेको अतिरिक्त मूल्यलाई देखाइदिनुभयो ।
एङ्गेल्सले भन्नुभएजस्तो एकजना व्यक्तिको निम्ति त्यस्तो एउटामात्रै आविष्कार गर्न सक्नु पनि भाग्यमानी सम्झिनुपर्छ । एकै व्यक्तिले त्यस्तो दुइटा आविष्कार गर्नु सफल जीवनको निम्ति पर्याप्त छ । माक्र्सले गणितमा पनि त्यस्तै खोज गर्नुभएको थियो ।
माक्र्स विज्ञानलाई ऐतिहासिकरूपले एक परिवर्तनकारी शक्ति मान्नुहुन्थ्यो । उहाँ विज्ञानको नयाँ नयाँ आविष्कारबाट ऐतिहासिक विकासमा पार्ने त्यसको प्रभावबारे सोच्नुहुन्थ्यो ।
एङ्गेल्सले भन्नुभयो, “माक्र्स सबभन्दा ठूला क्रान्तिकारी हुनुहुन्थ्यो ।” पुँजीवादी समाज र त्यसबाट उठेको राजनैतिक संस्थाहरूलाई ध्वस्त पार्नमा योगदान गर्नु नै उहाँको जीवनको उद्देश्य थियो । सबभन्दा पहिले उहाँले नै सर्वहारा वर्गलाई मजदुरहरूको स्थिति र आवश्यकताप्रति सचेत पार्नुभएको थियो । कुन कुन परिस्थितिमा आफ्नो मुक्ति हुनेछ भन्ने कुरा पनि उहाँले बताउनुभएको थियो । सङ्घर्ष गर्नु उहाँको स्वाभाविक गुण थियो । तुलना नै नसकिने शक्ति र निरन्तरता छ उहाँमा ।
माक्र्सले सन् १८४२ मा पहिलोपल्ट ‘राइन समाचार’ पेरिसबाट सन् १८४४ मा ‘अगाडि बढ’, सन् १८४७ मा ‘ड्युत्य ब्रुसेलर समाचार’ र सन् १८४८–४९ तिर ‘नयाँ राइन समाचार’ मा काम गर्नुभयो । त्यसबाहेक उहाँले पेरिस, ब्रुसेल्स र लण्डनमा सङ्गठनको काम गर्नुभयो । उहाँले धेरै जिउँदा पुस्तकहरू लेख्नुभयो र आखिरमा महान अन्तर्राष्ट्रिय मजदुर सङ्घको स्थापना गर्नुभयो । त्यो उहाँको सबभन्दा ठूलो उपलब्धि थियो । त्यसमा उहाँले उचित गर्व गर्नसक्नुहुन्थ्यो ।
साइवेरियाको खानीहरूदेखि क्यालिफोनिर्यासम्म, युरोप र अमेरिकाका सर्बै भागका लाखाँै लाख क्रान्तिकारी मजदुरहरूले उहाँलाई श्रद्धा गर्थे र उहाँको मृत्युमा सबैले आँसु बगाए । तर एङ्गेल्सले भन्नुभयो, “उहाँको जतिसुकै विरोधी रहे पनि उहाँको व्यक्तिगत शत्रु भने कोही पनि थिएन ।”
एङ्गेल्सले अन्तमा भन्नुभयो, “उहाँको काम युग युगसम्म बाँचिरहनेछ, त्यस्तै उहाँको नाम पनि युग युगसम्म बाँचिरहनेछ ।”
हो, उहाँको मृत्युको सय वर्षपछि उहाँलाई माया गर्नेहरूको सङ्ख्या लाखौँबाट करोडौँ नाघ्यो  । उहाँलाई श्रद्धा गर्नेहरूको सङ्ख्या अरबौँमा पुग्दैछ । उहाँको मुत्युको शोकलाई बलमा बदलेर लाखौँ नेपाली जनता पनि जुर्मुरिन खोज्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *