भर्खरै :

यहाँ चुनावको छ चिन्ता, तिमी बालुवाटार ….

मोतिलाल
नेपाली सशस्त्र प्रहरीलाई अगाडि राखिएको एउटा गीत छ, “यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ ।” कुनै बेला निकै चर्चित यो गीतको अहिले प्यारोडी गाइरहेका छन् – एमाले माओवादी नेकपाका कार्यकर्ताहरू, “यहाँ चुनावको छ चिन्ता, तिमी बालुवाटार बालुवाटार भन्छौ” । बालुवाटारस्थित शीतल निवासको अठार सय आना जग्गा कसकसले खाए चर्चा भएन, महासचिव विष्णु पौडेलले हात पारेको जाबो आठ आनाको हल्ला बढी भयो भन्ने दुखेसो छ – एमाले माओवादी नेकपाको । बाँकी अठार सय आनाको पछि लाग्न छोडेर जाबो आठ आनाकै लागि जताततै सञ्चारमाध्यममा विष्णु पुराण लगाएकोले पनि एमाले माओवादी नेकपाका कार्यकर्ताहरू एउटै गीत गाइरहेका छन्, “यहाँ चुनावको छ चिन्ता, तिमी बालुवाटार बालुवाटार भन्छौ ।” प्राणहीन प्रमुख प्रतिपक्ष काङ्ग्रेसका विद्यार्थीहरूले पनि रोजगारी पाए, सडकमा ६५५ रुपैयाँ जम्मा गरे र बालुवाटारमा ‘ठगिएका’ विचरा पौडेललाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई बुझाए । अनि झन् कर्कश आवाजमा एमाले माओवादी नेकपा चिच्याए, “यहाँ चुनावको छ चिन्ता, तिमी बालुवाटार बालुवाटार भन्छौ ।”
त्यसो त त्यो आठ जग्गा पनि ‘ठगिएका’ विष्णु पौडेलको नाममा थिएन र होइन । यद्यपि महासचिव विष्णु पौडेलले छोरा नवीनको नाममा कानुनतः जग्गा किनेको भनी साबिती बयान दिए । एकपटकको बयानले उसैलाई चित्त बुझेन, अर्कोपटक पनि बयानमा दाबी गरे, कानुनतः किनेकै हो । एमाले माओवादी एक भई शक्तिशाली बनेको दुर्लभ र शक्तिशाली महासचिव एकै पद हडप्न सफल चतुर विष्णु पौडेललाई जाबो आठ आना जग्गा छोराकै नाममा सही, नामसारी गरी ल्याउन कुनै जोडबल लगाउनु पर्ने विषय थिएन । मालका हाकिमहरूलाई चाकडी गराई जग्गामा खेलेरै हुर्केको, जग्गाकै आडभरोसामा राजनीतिक उचाइ बढाएको कारोबारी विष्णु पौडेललाई जाबो आठ आना धेरै मूल्यको जग्गा पनि होइन । बरु शक्तिशाली विष्णु पौडेलको अनुकम्पामा आफ्नो पेशा, व्यवसाय र राजनीतिलाई अझ सिञ्चित बनाउन चाहनेहरूको लागि त्यो आठ नै सर्वस्व बन्यो । त्यसैले प्राणेश्वर विष्णुको भक्तिगान हुनथाल्यो । प्रवक्ताको त काम नै बोल्ने हो । त्यसमाथि सरकारका प्रवक्ता गोकुल बास्कोटा के कम ? बोलिहाले, “विचरा महासचिव पौडेल ठगिनुभयो ।” महासचिव ‘ठगिएको’ रुवावासी चल्दा पनि सञ्चारमाध्यमहरूले टीठ मानेनन् । सत्यको खोजी गर्नेहरूले कठालो छोडेनन् । विपक्षीहरूले लहरो छोडेनन् । त्यसैले विनोदी प्रधानमन्त्री ओलीले जगलाई हँसाए, “महासचिव नहुँदै पौडेलको नाममा आएको जग्गा हडपेको होइन, राजाको पालामा हडप्नलाई पद पनि थिएन ।” दुईतिहाइवाला प्रधानमन्त्रीले यति भनेपछि सबै शान्त हुनुपर्ने हो । तर यहाँ विश्वासमा आगो लागिरहेको छ । ओलीको बोलीले झन् घ्यू थपेको छ । त्यसकारण अर्को चुनावसम्म पौडेलको साख खरानी हुने हो कि भन्ने चिन्ता छाएको छ ।
भ्रष्टाचार यो पुँजीवादी युगको आत्मा हो । राजनीतिक पदाधिकारीको आडभरोसामा भ्रष्टाचार गर्नु पुँजीवादी प्रजातन्त्रको अन्तर्राष्ट्रिय संस्कृति नै हो । अझ नेपालका शासक दलहरू त भ्रष्टाचार गर्न ‘राष्ट्रिय सहमति’ नै गर्छन् । सत्तापक्षीय पदले मात्र भ्रष्टाचारीहरू सुरक्षित नहुने भएपछि प्रतिपक्षसमेतको भागबण्डामा ‘राष्ट्रिय सहमति’ गर्ने परम्परा नेपाली पुँजीवादी पार्टीहरूले थालनी गरेका छन् । त्यसैले बालुवाटार काण्ड पनि वाइडबडी काण्डजस्तै सूर्यपुरबाट सुरु भएको भ्रष्टाचारी भकुण्डो रुखपुरमा ठोकिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच तैं चुप मै चुपको अवस्थामा अवतरण हुन बेर लाग्दैन । अनि ‘ठगिएका’ विष्णु पौडेललाई क्षतिपूर्ति दिन बुटवलको टन्टलापुर घाममा ६५५ रुपैयाँ उठाउने नेविसङ्घका बबुराहरूको उफ्राइ र प्राणेश्वर विष्णु पौडेललाई सुनियोजित रूपमा फसाउन बालुवाटार उछालियो भनी पौडेललाई जोगाउन ज्यान दिन तयार भएको उद्घोष गर्ने बुटवलका ‘विकासप्रेमी’ लठैतहरूको रुवावासी कर्कलाको पानीजस्तै तर्किने छ । पौडेलको विरोधमा ६५५ रुपैयाँ उठाउनेहरूको मात्र होइन, दिनदिनै सामाजिक सञ्जालमा, अनलाइन पत्रिकाहरूमा पौडेलको भक्तिरस छर्नेहरूको ध्यान चुनावको नाफाघाटामा बाहेक अन्त देखिंदैन । साँच्चिकै इमानको राजनीतिप्रतिको विश्वास वा भ्रष्टाचारीहरूलाई गोर्खेलौरी लगाउने कुनै दृढता होइन । त्यसैले यी शासक दलका कार्यकर्ताहरूको कोकोहोलो पानीको फोकामात्र हो ।
माफिया, गुण्डा, डन, भ्रष्टाचारी र शोषकहरूको शासन हुने यो व्यवस्थामा समन्वयकारी भूमिकामा माहिर विष्णु पौडेलले शीतलनिवासको आठ आना झ्वाम्म पार्दा किन अनौठो मान्नु प¥यो र ? त्यसो त हिजो चप्पल लगाएर सिंहदरबार छिरेको मान्छे फर्किन्दा प्राडोमा आउनु किन नौलो भयो र ? उत्पादन प्रणाली फेरिएपछि वा शासकहरू फेरिएपछि हिजोका सामन्तहरूको जीवनस्तर खस्किन्छ र नयाँ पुँजीपति वर्गको आर्थिक जीवनस्तर उठ््छ । तर यहाँ विष्णु पौडेलले शिरमा सिउरेको कम्युनिष्ट जुलुङ्गोले गर्दा असनको साँढेलाई जस्तै छाडा छोड्न मिलेन । जनतालाई सचेत पार्न पनि कम्युनिष्टको जुलुङ्गो लगाउने विष्णु पौडेललाई डाम्नै प¥यो । कम्युनिष्टको रामनामी ओढेर बदमासी गर्ने निम्छरा पौडेलमात्र होइन, सिङ्गै एमाले माओवादीको नेकपा नै हो भन्ने त ओलीले प्रमाणित नै गरिदियो नि । दुई दशकदेखि नै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले एमाले कम्युनिष्ट होइन, पुँजीवादी पार्टी हो, जनताले बुझ्ने भाषामा यो भाइ काङ्ग्रेस हो भन्दै आउनुभयो । एमालेमा माओवादी खप्टिएपछि नेकपा दाइ काङ्ग्रेस नै भएको नेमकिपाका अध्यक्ष रोहितको व्याख्या वस्तुनिष्ठ देखिएको छ । काङ्ग्रेसको पालामा भन्दा धेरै भ्रष्टाचारमात्रै होइन, भारतीय एकाधिकार पुँजीको दलाली, भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादको सेवामा अझ बढी तल्लीन भएको छ । देश र जनताको हितविपरीत सरकारका निर्णयहरू दिनदिनै बाहिर आएका छन् ।
ढाँट्नु र छल्नु प्रतिक्रियावादी शासकहरूको दिनचर्या नै हो । त्यसमाथि कम्युनिष्ट नामनामी ओढेका पाखण्डहरू ढाँट्न किन पछि पर्दा हुन् ? विष्णु पौडेलले पनि भैंसीपाटीस्थित आजको बीस करोडको घर सुहाउँदो अन्तर्वार्ता दिएछन्् । भनेछन्, “पहाडमा हामी राम्रै परिवारका थियौँ । राजनीतिक कारणले माइग्रेट भयौँ” (नेपाल, १५–२० वैशाख २०७६) । अन्तर्वार्ता दिने बेलामा पौडेलले २०२० दशकको सुरुतिरै स्याङजास्थित घरगोठ सुम्रे खोलाको बाढी पहिरोले बगाएकोे र सरसहयोग तथा राहत दिने गाउँलेहरूलाई भुसुक्कै बिर्सेछन् । पौडेल तराई झर्नेबेलामा राजनीतिक पहिरोे होइन, प्राकृतिक पहिरो गएको थियो । प्राकृतिक पहिरोबाट पीडित पौडेललाई जनताले साथ दिए । रुपन्देहीमा राजनीतिक गतिविधिमा सक्रिय भए, पार्टीमा लागे । आज जनतालाई विश्वासघात गरी पौडेल बालुवाटारको पहिरोमा परेका छन्् । उम्कने कसरी ?
महासचिव विष्णु पौडेल भू–स्वामित्व विशेषज्ञ रहेको खुलासा पौडेलकै समकक्षी घनश्याम भुसालले बालुवाटार काण्ड खुलासा हुनु केही दिनअघि गरेका थिए । यो शिलशिला मिल्नु संयोेग नै मात्र होेला । बुटवलको एक कार्यक्रममा भुसालले एमाले माओवादी नेकपाले देश पुँजीवादी अवस्थामा पुगेकोे तथ्य स्वीकारेकोे बैठकबारे दृश्यचित्र सुनाए । देश अर्धसामन्ती अवस्थामा होइन, पुँजीवादमा पुुगेको, त्यो पनि दलाल पुँजीवादी अवस्था रहेको दाबी गर्दै आएका भुसालले भने, “महासचिव कमरेड आउनुभयोे । ट््याक ल्यापटप खोल्नुभयो र भन्नुभयो – मैले कपिलवस्तु, रुपन्देही र नवलपरासीका मालका हाकिमहरूलाई सोधेँ, सबैैले अब कसैसँग पनि धेरै जग्गा छैन भने, त्यसैले देशमा सामन्तवाद छैन, देश पुँजीवादमा गयोे । महासचिव कमरेडले यति भनेपछि कुरो टुङ्गियो, बैठक सकियो ।” भुसालले कम्युनिष्ट पार्टीमा छलफल हुँदैन, हुकुमी हुन्छ भन्ने सन्दर्भमा बताएको घटनाले महासचिव कमरेड मालका हाकिमहरूसँग कति उठबस रहेछ भन्ने पनि प्रमाणित गर्छ नि, गर्दैन र ? अनि उही जग्गा किनबेच नै पेशा अपनाएका पौडेल फेरि पनि जग्गामा ठगिए रे ? रामदेवले भन्दा कम हँसाउँछ र ? एमाले माओवादी नेकपा सरकारले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *