भर्खरै :

धान, मकै र गहुँको उत्पादन वृद्धि

–सुभानु आचार्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका बीउलाई किसानले उल्लेखनीय रुपमा प्रयोग गर्नु बताइएको छ ।
धानको उत्पादन वृद्धि गर्न नार्कले बढी सुख्खा र डुबान दुवै क्षेत्रमा सहन सक्ने खालको बीउ उन्मोचन गरी विकास गरेको बाह्य अनुसन्धान महाशाखा खुमलटारका प्रमुख ध्रुवराज भट्टराईले जानकारी दिनुभयो । “गहुँको उत्पादकत्व वृद्धिमा सुख्खा सहन सक्ने क्षमता भएको रोग प्रतिरोधी जातको बीउ विकास गर्नाले मद्दत पुगेको छ”, भट्टराईले भन्नुभयो । नार्कले धान, मकै र गहुँका साथै जौका विभिन्न जात, सिर्जना गोलभेंडा, ट्राउट माछा र बोयर बाख्रालाई व्यवसायीकरण गरिसकेको बताइएको छ ।
नार्कले ललितपुरमा आज ‘पत्रकार कृषि वैज्ञानिक अन्तर संवाद कार्यक्रम –२०७६’ आयोजना गरी चालू आवमा भएको प्राविधिक उपलब्धि उजागर गर्दै नार्कले बाली, बागबानी, पशु, मत्स्य र सामाजिक आर्थिक क्षेत्रमा अनुसन्धान गर्न मुलुकभरिका ६२ कृषि र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, महाशाखा र बाली वस्तुविशेष कार्यक्रम रु. दुई अर्ब ३७ करोड ७८ लाखमा अनुसन्धान पूर्ण गरेको जनाएको छ ।
‘नार्कको सुरुआती चरणमा विभिन्न ६७ बालीका ३२३ जात विकास गरिएको थियो, आज २११ बालीहरू उन्मोचन गरिसकेको छ’, विज्ञप्तिमा उल्लेख छ । खाद्यान्न बालीतर्फ धानमा जोड दिन नार्कले कालो चामल, एरिज आइडिया, श्रीराम खुम्बु, एलपिएनबिआर १६०५ र अल्ट्रा सुपरमा यो वर्ष प्राथमिकता दिएको छ ।’ वर्णशङ्कर जातको धानमा हर्दिनाथ धान–१ र हर्दिनाथ हाइब्रीड धान –१० सिफारिसका लागि नार्कले पहिले नै प्रस्ताव गरिसकेको जनाइएको छ ।
गहुँमा किसानलाई आत्मनिर्भर बनाउन त्यसमा लाग्ने खैरो सिन्दुरे, डढुवा, कालोपोके र सेतो ढुसीरोग अवरोधी बिएल ४३४१ विकास गरी खेतीका लागि सिफारिस गरिसकिएको प्रमुख बीउ विज्ञान महाशाखा प्रमुख ताराबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी नार्कले बदाम उत्पादनमा जोड दिन समृद्धि, मुगमा प्रतिज्ञा, मासमा रामपुर र खजुरा मास १, मुसुरोमा खजुरा मुसुरो ४, तोरीमा नवलपुर तोरी ४ सिफारिस गरिसकेको छ । क्षेत्रीले भन्नुभयो, “नार्कले बागबानी अनुसन्धानतर्फ सुन्तलामा खोकु स्थानीय, कागतीमा तेह्रथुम स्थानीय, आलुबालीमा खुमल विकास, काँक्रामा भक्तपुर लोकल, लट्टेमा रामेछाप हरियो लट्टे, स्क्वास फर्सीमा सुपर स्क्वास बल, तीतेकरेलामा सिजी –१ र सिजी–२, सिमीमा लङ ग्रिन बिन र सेमी लाइट लङ सिफारिस गरिसकेको छ ।”
नार्कले अलैँचीमा तन्तु प्रसारणको प्रयोगबाट रोगमुक्त बिरुवा निकाली वितरणको काम गरिरहेको बताइएको छ । नार्कले विभिन्न १३० बाली प्रजातिका ११ हजार ५०० बीउ सङ्कलन गरी भविष्यका लागि जिन बैङ्कमा संरक्षण गरिसकेको छ । त्यसैगरी स्थानीय पशु लुलु तथा अछामी गाई, भैंसी, भेंडा, बङ्गुर, कुखुरा र बाख्राको जमेको वीर्य जिन बैङ्कमा राखी संरक्षण एवं उपयोग गरिएको छ ।
नार्कले दुग्ध र मासुको उत्पादन वृद्धिका लागि अनुसन्धानका काम गरिरहेको छ । ट्राउट माछा उत्पादनमा जोड दिन नेपालका १२५ भन्दा बढी स्थानमा ट्राउट माछा फार्म स्थापना भएको नार्कका वरिष्ठ मत्स्य अनुसन्धान वैज्ञानिक अग्नि नेपालले जानकारी दिनुभयो ।
यसैगरी नार्कले आगामी आर्थिक वर्षमा मसिनो र बास्नादार धान, मकैमा थप वर्णशङ्कर जात, समुदायमार्फत बढी मासु दिने बाख्राका जातको विकास र विस्तार, माछाको उत्पादन र उत्पादकत्व वृद्धि, आलुका उन्नत जातको विस्तार र समुदायमार्फत गुणस्तरीय बीउ उत्पादन, उखुबालीको जातीय व्यवस्थापन, प्रविधिको विकास र फलफूल (सुन्तला, कागती, किबी, ओखर, स्याउ र एभोकाडो) का बेर्नाको उत्पादन तथा वितरणमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ । नेपालले भन्नुभयो, “नार्कले कृषि अनुसन्धानलाई थप प्रभावकारी बनाउन मानित विश्वविद्यालयको स्थापना, वैज्ञानिकसँग कृषक कार्यक्रम र व्यावसायिक कृषकहरूलाई आवासीय तालिम प्रदान गर्ने लक्ष्य पनि अघि बढाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *