नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
इरानविरुद्ध ६ महिना लामो युद्धबाट आजित भएर पछाडि हट्न बाध्य भएको अमेरिका साउदी अरब र विद्रोही यमनबिचको युद्धमा फस्न चाहेन । केही हप्तामै इरान पराजित हुने उद्घोषसहित युद्धमा होमिएमा अमेरिकाले ६ महिना बितिसक्दा छेउ टुप्पो भेटाउन सकेन र हाल अमेरिकी हतियार र खजानाको भण्डारमा ठुलो कमी आएको छ । विशेषतः अरब खाडी राष्ट्रमा रहेको अमेरिकी सैनिक अखडा र सैनिक बेडामा एडभान्स मिसाइल, एअरडिफेन्स इन्टर सेप्टर (प्रतिरक्षा प्रणाली) भारी मात्रामा कमी आएको अमेरिकी रक्षा विभागको रिपोर्ट बाहिर आएको छ । यसको अर्थ अमेरिकी सैनिक अखडा, सैनिक बेडा, सैनिक जहाजमाथि इरानी क्षेप्यास्त्र, ड्रोन प्रहार अचूक निशाना साँध्न सफल भएको छ । अमेरिका–इरान युद्धमा इरानलाई हराउनभन्दा आफ्ना सैनिक अखडा, सैनिक बेडा, सैनिक हतियार, लडाकु विमान, सैनिकहरूलाई समेत जोगाउन ठुलो समस्या सृजना भयो । दसौँ हजार कूटनीतिक नियोगका कर्मचारीहरूसमेतलाई आ–आफ्नो कार्यालय खाली गरेर अमेरिका फिर्ता बोलाइयो । इरानमाथि हमला गर्न सैनिक अखडालाई सहयोग र सुरक्षा गर्न प्रयोग गरिएको अब्राहम जर्ज वासिङटनजस्ता आणविक विशाल समुद्री बेडा मध्यपूर्वबाट पछाडि हटिसकेको छ । ती सैनिक बेडामाथि इरानी आक्रमणबाट ठुलो क्षति भएपछि मर्मत सम्भारको नाउँमा मध्यपूर्वबाट टाढा लगिएको भिडिओ सार्वजनिक भएको छ ।
दोस्रो विश्व युद्धपछि संरा अमेरिका महाशक्तिको रूपमा उदय भएपछि क्रान्ति भएका समाजवादी देशहरू समाप्त गर्न अन्य निर्धन राष्ट्रहरूमाथि आर्थिक नाकाबन्दी गर्दै आएको तथ्य सार्वजनिक भइरहेको छ । ५० वर्षदेखि क्युवा, प्रजग कोरियामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको उदाहरण ताजा नै छ । आज अमेरिकाले प्रयोग गरेको हतियारबाट इरानले अमेरिकामाथि प्रहार गर्दै छ । इरानले सशक्त आर्थिक नाकाबन्दीको हतियार हर्मुज जलडमरुको समुद्री जलमार्ग कब्जा गरेको छ । यो आर्थिक हतियार आणविक बमभन्दा कम देखिएन । किनकि आणविक बमले एक दुई सहरमात्र ध्वस्त गर्न सकिन्छ । हर्मुज जलडमरु कब्जाले विश्व तरङ्गित भएको छ । विश्वमा अति आवश्यक इन्धन, केमिकल, दैनिक उपभोगका सरसामान, कच्चापदार्थको सामानहरूसमेत यसै हर्मुज जलमार्गबाट ल्याउने लैजाने गर्छन् । आज यो जलमार्ग बन्द हुँदा अमेरिकालगायत युरापेली देशहरू र एसियामा समेत आर्थिक बजार अस्थिर भइसकेको छ । औद्योगिक मुलुकका हजारौँ उद्योगहरू बन्द हुने अवस्थामा पुगिसकेको छ । अमेरिकाले हवाई हमला गरे पनि, सयौँ बम खसाले पनि जलमार्ग खोल्न सकेको छैन । स्वीजरलैन्डमा अमेरिका इरानबिच १४ बुँदे युद्धविरामका सर्तहरूमा सही गरेको केही हप्तामै एकतर्फी सम्झौता तोडेर इरानमाथि पुनः आक्रमण गरी युद्ध सुरु गर्ने अमेरिकामाथि इरानले प्रत्याक्रमण गरी हर्मुज जलडमरु कब्जा गर्नु र खाडी राष्ट्रका अमेरिकी सैनिक अखडामाथि भिषण आक्रमण गर्नुमा कुनै आश्चर्य छैन । अमेरिका खाडी राष्ट्रमा इरानी आक्रमणको प्रतिरोध गर्न अमेरिकालाई कुनै युरोपेली शक्ति राष्ट्रहरूले साथ दिएनन्, बरु टुलुटुलु मूकदर्शक बनेका छन् । युरोपेली मुलुकहरू बाध्य हुनुको कारण युद्धमा हुने खर्च व्यहोर्ने तागत कसैसँग छैन । वर्तमान विश्वमा बेलायत, जर्मन, फ्रान्सलगायतका देशहरूमा आर्थिक मन्दिले महँगी अकासिएको छ । सरकारको विरोधमा ठुलठुला जुलुस प्रदर्शन भइरहेको छ भने जर्मन, फ्रान्स, बेलायतमा धेरै सङ्ख्यामा दक्षिणपन्थी सरकारविरोधीहरूले चुनाव जितिसकेका छन् । अबको निर्वाचनमा धेरै युरोपेली राष्ट्रहरूमा अमेरिकाविरोधी अविकसित राष्ट्रहरूको पक्षमा उभिने पार्टीहरू विजय हुने सम्भावना निश्चित भइसकेको छ । यस्तो अवस्थामा अमेरिकी समर्थक साउदी अरबको सैनिक हस्तक्षेपमा बनेको यमन सरकारविरोधी सशस्त्र हुथी विद्रोहीले यो हप्तामा धेरै प्रमुख सहरहरू कब्जा गरिसकेका छन् । हुथी विद्रोहीले युरोप, अमेरिकालगायत देशमा ३० प्रतिशत सामान ढुवानी हुने सागरको जलमार्गको ‘मोचा बन्दरगाह’ र ‘अल वाल अल मन्देव’ जलडमरु यसै हप्तामा कब्जा गरिसकेका छन् ।
अब युरोप, अमेरिकामा १२ करोड ब्यारेल तेल निर्यात बन्द हुनेछ । अब विश्वमा पेट्रोल, डिजेलको भाउ अकासिने छ । यस प्रभावको एक उदाहरण जुलानि सरकारको विरोधमा जनता सडकमा आइसकेका छन् । यसरी जनताको विरोध बढ्दै जाने हो भने विश्वमा धेरै अमेरिकी साम्राज्यवाद र नरसंहारकारी इजरायल समर्थक सत्ता अपदस्त हुने सम्भावना देखिएको छ । कुनै पनि राज्यसत्ता रहेका सैनिक शक्तिले पनि आर्थिक मन्दीबाट हुने जनविद्रोह दबाउन सक्दैन । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धबाट सिर्जेको आर्थिक मन्दीले धेरै देशहरू बेलायत, जर्मन, फ्रान्स, इटाली, स्पेनजस्ता साम्राज्यवादी देशहरूबाट औपनिवेसिक राष्ट्रहरू मुक्त भएको तथ्य इतिहासले पुष्टि भइसकेको छ ।
आज पुनः अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको स्थायित्वमाथि सङ्कट देखिएको छ । साम्राज्यवादीहरूको सैनिक शक्तिको विस्तार, व्यवस्थापन खर्च, महँगा हतियारमा विशाल धनराशी खर्चले ऋणमाथि थप ऋणको भार बढ्नेछ । यही स्थिति संरा अमेरिकाको सार्वजनिक ऋण ४० ट्रिलियन डलर पुगिसकेको छ । यो सार्वजनिक ऋण नियन्त्रण बाहिर जाने अवस्थामा पुगेको छ । अमेरिका, इजरायलको इरानविरुद्धको युद्धमा ३८ अर्ब डलर खर्च भइसकेको तथ्याङ्क बाहिर आएको छ । यदि अमेरिका डुब्यो वा टाट पल्टियो भने उसले उठाएको सार्वजनिक ऋण स्वदेशी बैङ्क, कम्पनीसँग मात्र होइन, खाडी राष्ट्रहरू, युरोप, चीन, भारतसमेत सँगसँगै ट्रेजरी धितोपत्र बेचेर ऋण प्राप्त गरेका हुन् । जुन अमेरिकी ट्रेजरी धितोपत्रबाट उठाएको ऋण तिर्न अमेरिका असफल भएमा विश्व बजारमा आर्थिक सङ्कट आउनेछ । अन्तर्राष्ट्रिय मुद्राकोषले अमेरिकी बढ्दो ऋणले विश्वव्यापी अर्थतन्त्रमा ‘बढ्दो’ स्थिरता जोखिम छ भनी यस वर्ष सुरुमै चेतावनी दिएको छ । यसको ताजा उदाहरण नेडरलैन्डले अमेरिकी बैङ्कमा रहेको ‘सुन’ झिकेर बेलायतमा जम्मा गरिसकेको छ । यो एक अमेरिकी अर्थतन्त्रमा देखिएको सङ्ककटको लक्षण हो । चीनको सिन्ह्वा समाचारले संरा अमेरिकाको ऋण ४० ट्रिलियन डलर नाघेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको कमजोरीलाई मूल्याङ्कन गर्नुपर्ने सिन्ह्वाले टिप्पणी गरेको छ ।
Leave a Reply