भर्खरै :

कार्ल माक्र्सः एक क्रान्तिकारी

सृजना सैंजू
आफ्नो ज्ञान र क्रान्तिकारी विचारको आभाले संसारलाई उज्यालो दिने एक महान् व्यक्ति हुनुहुन्थ्यो – कार्ल माक्र्स । विश्व सर्वहारा वर्गका महान् गुरु तथा दार्शनिक कार्ल माक्र्स २० औँ शताब्दीमा मात्र होइन २१ औँ शताब्दीमा पनि युरोपदेखि अमेरिका र एसियादेखि अफ्रिकी देशहरूका विश्वविद्यालय, खेत–खलिहान, कलकारखानाहरूमा अति प्रिय व्यक्ति हुनुहुन्थ्यो । संसारका सचेत कामदार जनता, संवेदनशील समुदाय र मानव जातिको विकासबारे सूक्ष्म ढङ्गले चिन्तन गर्ने जोकोहीका लागि कार्ल माक्र्स विचारको विश्वविद्यालय नै हो भन्दा अतियुक्ति नहोला ।
सम्पूर्ण मानव जातिको मुक्तिका लागि मानिसले मानिसलाई गर्ने अत्याचारबाट मुक्त शोषणविहीन समाज निर्माणको निम्ति माक्र्सले बाटो देखाउनुभयो । उहाँले क्रान्ति या आमूल परिवर्तनका लागि सैद्धान्तिक र वैचारिक आधारशीला तयार पार्नुभयो । उहाँले वर्गसङ्घर्षलाई सर्वहारा वर्गको अधिनायकत्व स्थापनासँग जोड्नुभयो । कार्ल माक्र्स भन्नुहुन्थ्यो – “दार्शनिकहरूले अनेक तरिकाबाट संसारको व्याख्यामात्रै गरे तर मुख्य कुरा त संसार बदल्नु हो ।” संसार बदल्न हिँडेका कार्ल माक्र्सबारे एँगेल्स भन्नुहुन्थ्यो, “माक्र्स सबैभन्दा ठूला क्रान्तिकारी हुनुहुन्थ्यो ।”
सर्वहारा वर्गको हातमा बाँधिएको सिक्री चँुडाल्ने उपाय दिँदै उहाँले संसारका सारा काम गरी खाने जनतालाई एक हुन आह्वान गर्नुभयो । वर्गविहीन समाज अर्थात् सर्वहारा वर्गको राज्य व्यवस्था समाजवाद हुँदै साम्यवादसम्मको यात्राका निम्ति सैद्धान्तिक पृष्ठभूमि, भौतिकवादी दृष्टिकोण, वस्तुगत र यथार्थ, माक्र्सको साधना र एँगेल्सको समर्पणको प्रतिफल नै माक्र्सवाद हो । माक्र्सको सिद्धान्तमा हिँड्नु र माक्र्सको शिक्षा आत्मसात गर्नु नै सच्चा माक्र्सवादी हुनुको परिचय हो । पुँजीवादको उत्थान, विकास र पतनको नियम–माक्र्सवादलाई वैज्ञानिक र क्रान्तिकारी सत्यको रूपमा न्यायप्रेमी समुदाय आत्मसात गर्दै छन् । माक्र्सले मानव समाजको विकासको नियम पत्ता लगाउनुभयो । वर्गसङ्घर्षको सिद्धान्त र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादको सैद्धान्तिक आधार हो भने माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त आर्थिक सिद्धान्त हो । मालिकले श्रमिकको श्रममूल्यबाटै अतिरिक्त मूल्य अर्थात् नाफा प्राप्त गर्छ र त्यही अतिरिक्त मूल्य मजदुरहरूमाथिको शोषणको कारक हो भन्ने यथार्थ उहाँले संसारसामु राख्नुभयो । समाज वैज्ञानिक, राजनीतिशास्त्री, समाजशास्त्री, दार्शनिक, अर्थशास्त्री, लेखक, पत्रकार, कानुनका ज्ञाता,सङ्गगठनकर्ता आदि उहाँको व्यक्तित्वका विविध आयाम हुन् । माक्र्सबारे लेनिन भन्नुहुन्थ्यो, “पुँजीवादको अवश्यमेव पतन र मानिसले मानिसलाई शोषण नहुने साम्यवादी बन्दोबस्ततर्फको वैज्ञानिक विश्लेषण गर्ने विश्व ऐतिहासिक यश माक्र्सलाई नै जान्छ ।”
जीवन नै सङ्घर्ष र सङ्घर्ष नै जीवन बताउने माक्र्सको जीवनीको चर्चाले सङ्घर्षमाथिको विश्वास र दृढतालाई बलियो बनाउँछ । उहाँको विराट व्यक्तित्व, बेजोड योगदान, गम्भीर र गहिरो अध्ययन, अनुकरणीय जीवनपद्धतिको अध्ययनले सर्वहारा वर्गको हृदयमा उत्साहको सञ्चार जरुरी गराउँछ । माक्र्स र जेनीमाक्र्सको सङ्क्षिप्त जीवन चर्चा यस अर्थमा सामयिक हुनेछ ।
सन् १८१८ अर्थात् आजभन्दा २०१ वर्ष अगाडि जर्मनीको राइन प्रान्त, ट्रियर नगरमा माक्र्सको जन्म भयो । सानैदेखि परिश्रमी र तीक्ष्ण बुद्धि भएका माक्र्स पढाइ र अध्ययनमा अब्बल हुनुहुन्थ्यो । विद्यालयको अन्तिम परीक्षामा सबैजसो विषयमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनुहुने माक्र्सको शिक्षा यात्रा उत्कृष्ट नतिजाका साथ विद्यावारिधीसम्म अगाडि बढ्यो । अनौपचारिक अध्ययनको निरन्तरताले माक्र्सलाई इतिहास, दर्शन, भूगोल, राजनीति र अन्य धेरै विषयको ज्ञाता बनायो ।
प्रोफेसर बनेर जनताको सेवा गर्ने इच्छा राख्ने माक्र्स विश्वविद्यालयमा स्वतन्त्र तथा प्रगतिशील विचारले स्थान पाउनुपर्ने विचार राख्नुहुन्थ्यो । भौतिकवादी प्रोफेसर हेगेल र फायरबाखबाट प्रभावित माक्र्स प्रगतिशील विचारका संवाहक भएकै कारण प्रतिक्रियावादीहरूद्वारा बोन विश्वविद्यालयबाट निष्कासित हुनुभयो ।
सामन्तवादी र पुँजीवादी व्यवस्थाको थिलथिलोमा परेका जनताको मुक्तिको सपना देखिरहने माक्र्सले पत्रकारिता पेशा चुन्नुभयो । मानव जाति सेवा गर्ने सन्देश बोकेको उहाँको चर्चित निबन्ध ‘पेशा चुुन्ने सम्बन्धमा एक तरुणको विचार’ बाट उहाँले लेखेर जनताको सेवा गर्न सक्नुहुन्छ भन्ने सङ्केत मिलिसकेको थियो । उहाँ २४–२५ वर्षको उमेरमै कोलोनबाट ‘राइनिश्चे जाइटुङ’ (राइन समाचारपत्र) प्रकाशित भयो । त्यसको प्रधानसम्पादकको रूपमा माक्र्सले कलम चलाउनुभयो । त्यही समयबाट गरीब जनताको पक्षमा उहाँको कलम निरन्तर चलिरह्यो । उहाँले नयाँ राइन समाचारपत्रको सम्पादन, फ्रान्समा हुँदा ‘फ्रान्सेली जर्मेनियाली वर्षपत्र र अग्रसर’ को सम्पादन गर्नुभयो । कलमकै माध्यमबाट उहाँले जर्मनी, फ्रान्सलगायतका देशहरूमा राजनैतिक एवम् क्रान्तिकारी आँधी ल्याउनुभयो ।
एक सम्भ्रान्त परिवारकी छोरी जेनीसँग माक्र्सको प्रेम बस्यो । अत्यन्त सुशील र सौन्दर्यकी खानी जेनीबारे माक्र्सले लेख्नुभएको थियो, “जेनी ट्रीयरकी सबभन्दा सुन्दर केटी, सहरकै सबभन्दा चित्ताकर्षक राजकुमारी हुन् ।” जेनी देवकन्या र नृत्यकी रानीको रूपमा चर्चामा थिइन् ।
जेनीको परिवार अर्थात् वेस्टफालेन परिवार एक सम्भ्रान्त परिवार थियो । दाजु प्रशिया सरकारको मन्त्रीसमेत भए । सम्भ्रान्त परिवारमा जन्मेर पनि जेनी अत्यन्त सौम्य, शालीन र दयालु स्वभावकी थिइन् ।
एक शिक्षित र सुसंस्कृत महिला जेनीसँग २५ वर्षको उमेरमा माक्र्सले विवाह गर्नुभयो । माक्र्स र जेनीको साझा सङ्घर्षमय जिन्दगीको सुरुआत थियो त्यो ।
सन् १८४३ मा माक्र्स फ्रान्सको राजधानी पेरिस जानुभयो । उहाँले राजनीतिशास्त्र र समाजवादको अध्ययन गर्नुभयो, त्यहीं नै एँगेल्ससँग माक्र्सको भेट भयो । प्रशिया सरकारको दबाबमा पेरिसबाट निष्कासन गरिएका माक्र्स ब्रुसेल्स पुग्नुभयो । अर्थशास्त्रको गम्भीर अध्ययन सुरु गर्नुभयो । १८४८ मा माक्र्स र एँगेल्सले ‘कम्युनिष्ट घोषणापत्र’ लेख्नुभयो । घोषणापत्रले सर्वहारा वर्गको मुक्तिको बाटो देखायो । फ्रान्समा दोस्रो राज्यक्रान्ति सुरु भयो । क्रान्तिको प्रमुख स्रोत माक्र्सलाई औँल्याउँदै बेल्जियमबाट उहाँलाई निष्कासन गरियो । उहाँ पेरिस फर्कनुभयो । अप्ठ्यारा र कठिनाइसँग जुझ्दै ५ वर्षको निष्कासन अवधि समाप्त गरी उहाँ आफ्नो देश जर्मनी फर्कनुभयो । उहाँको विचार र सक्रियताबाट तर्सिएर जर्मन सरकारले फेरि निष्कासन ग¥यो । माक्र्स पेरिस पुग्नुभयो । पेरिसबाट पनि निष्काशनमा पर्नु भयो र लण्डन पुग्नुभयो । यसरी देश निकाला, डेराबाट निकाला र आर्थिक सङ्कटबीच पनि उहाँ कठिनाइको उँचो पहाडमा आँधी हुरीसँग जुझेर फुलिरहनुभयो ।
विचार र क्रान्तिको लागि आफ्नो जीवनको कष्टपूर्ण अवधि भोगिरहेका माक्र्ससँग जेनी सधैँ सँगै थिइन् । जस्तै प्रतिकूल परिस्थितिमा पनि माक्र्सको विचारको पक्षमा जेनी उभिइन् । आफूसँग भएका फर्निचर, लुगाफाटा, भाँडाकँुडा बेच्दै पेट पाल्न सधैँ सम्भव थिएन । अभाव र गरिबीकै कारण सन्तान गुमाउनुपर्दाको पीडामा पनि जेनी माक्र्ससँगै थिइन् । गरिबीकै कारण पाँचाँै छोरीको मृत्यु हुँदा कात्रो किन्नसमेत पैसा नहुँदाको कारुणिक क्षणले जेनीको घरको चित्र उजागर गर्छ । घरभाडा तिर्न नसक्नु, औषधि उपचार, खानाको समस्या त सामान्य कुरा थियो, सन्तान वियोगको असह्य पीडा अगाडि ।
१८५७ मा संसारमा आर्थिक सङ्कट सुरु भयो । त्यही समयमा उहाँले पुँजीवादी अर्थशास्त्रीहरूको सिद्धान्त र दृष्टिकोणको आलोचना गर्दै ‘पुँजी’ को प्रथम खण्ड लेख्न सुरु गर्नुभयो । पुँजीवादको विकास, पुँजीवादी उत्पादन स्वरुपको ऐतिहासिक विघटन र पतन, पुँजीपतिबीचको द्वन्द्व, पुँजीपति र कामदार जनताबीचको द्वन्द्वबारे स्पष्ट व्याख्या गरिएको ‘पुँजी’ को ओज आज झन् बढ्दैै छ । ‘पुँजी’ आज झन बढी पढिँदै छ ।
सन् १८७१ मा मजदुर वर्गको पहिलो सरकारको रूपमा स्थापित पेरिस कम्युनले गरेका परिवर्तनबाट शासक वर्ग अतालिएका थिए । पेरिस कम्युनको सुरक्षाको निम्ति माक्र्स अन्तर्राष्ट्रिय सङ्घर्षमा उत्रनुभयो । पेरिसका कम्युनार्डहरूले कम्युनको रातो झण्डा झुक्न नदिएको गौरवपूर्ण इतिहास छ । माक्र्सले भन्नुभयो, “पेरिस कम्युन, आफ्नो गौरवपूर्ण अगुवाको रूपमा सधैँ नै याद गरिनेछ ।” एँगेल्स माक्र्सका घनिष्ठ मित्रमात्र नभई माक्र्सको दुःख बिसाउने चौतारी पनि हुनुहुन्थ्यो । परिवारको आर्थिक सङ्कटमा एँगेल्सले मलमपट्टी लगाउनुभयो । माक्र्सको अति प्रिय छोरा एड्गरको मृत्युपछि भावविह्वल हुँदै पत्र लेख्नुभएको थियो, “केटो मरेपछि घर सुनसान देखिन्छ । ऊ घरको जीवन र आत्मा थियो । मैले अनेक प्रकारको दुर्भाग्य सहेको छु, तर यसपालि मैले जानेँ कि वास्तविक दुर्भाग्य के हो ।” एँगेल्सप्रति माक्र्सको आस्था र विश्वास थियो । एँगेल्स माक्र्सलाई दिलोज्यानले सघाउनुहुन्थ्यो ।
१८८१ मा जेनीको मृत्यु क्यान्सरको कारण भयो । जेनीको मृत्युले र जेठी छोरी जेनी लांगेको मृत्युले माक्र्सको हृदयलाई छियाछियामात्र पारेन, शरीर अत्यन्त कमजोर बनायो । लामो अवधिसम्म प्रवासको कष्टपूर्ण दिनहरूमा माक्र्सले पुँजीलाई पूरा गर्नुभयो ।
माक्र्सले फ्रान्स, ब्रुसेल्स र बेलायतका मजदुरहरूको सङ्गठनसँगै अन्तर्राष्ट्रिय मजदुर सङ्घको स्थापना गर्नुभयो । अन्तर्राष्ट्रिय मजदुर सङ्घको उद्देश्य पूरा गर्नको निम्ति उहाँ अहोरात्र खट्नुभयो । जीवनको अन्तिम क्षणसम्म मानव जातिको सेवामा आफूलाई व्यस्त राख्नुभयो ।
उहाँ लेख्न कहिल्यै थाक्नुभएन । उहाँले ३० वर्षको उमेरमा कम्युनिष्ट घोषणापत्र, ३२ वर्षको उमेरमा फ्रान्समा वर्गसङ्घर्ष, ३४ वर्षको उमेरमा लुई नेपोलियनको अठारौं ब्रुमेर, ४४ वर्षको उमेरमा अतिरिक्त मूल्यको सिद्धान्त नामक पुस्तक लेखिसक्नुभएको थियो । ४७ वर्षमा भाउ, मूल्य र नाफा लेखी ४९ वर्षसम्ममा पुँजी भाग १ तयार पार्नुभयो । फ्रान्समा गृहयुद्ध र गोथा कार्यक्रमको आलोचना क्रमशः ५३ र ५७ वर्षको उमेरमा लेख्नुभयो । पुँजी भाग २ र ३ उहाँको मृत्युपछि एँगेल्सको सम्पादनमा प्रकाशित गरियो । माक्र्सका अन्य थुप्रै कृतिहरूले मानव सभ्यताकै सेवा गरेको यथार्थ हो । त्यसमा एँगेल्सको पूर्ण सहयोग थियो । साङ्गठनिक काममा पनि जेनीको सहयोग र सक्रियता कम थिएन । सन् १८४६ मा माक्र्स र एँगेल्सले स्थापना गर्नुभएको कम्युनिष्ट सम्पर्क समितिको सचिव र कम्युुनिष्ट लिगको संस्थापकको रूपमा जेनी सक्रिय थिइन् । माक्र्सको बुझ्न कठिन हस्तलेखनलाई सफा अक्षरमा साफी गर्ने काम जेनी रात–रातभरि पनि गर्थिन् । माक्र्ससँगै सर्वहारा वर्गको निम्ति बाँच्ने जेनी माक्र्स साँच्चै नै सङ्घर्षका प्रतिमूर्ति थिइन् । जर्मनीको सम्भ्रान्त परिवारमा जन्मिएकी जेनीले तरबारको धारमा हिँड्न र काँडैकाँडा बिछ्याइएको बाटोमा हिँड्न तयार हुनु र साथ दिनु माक्र्सका लागि ठूलो ऊर्जा साबित भयो ।
संसारलाई बदल्न हिँडेका सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको असल सहयात्री बनी संसारलाई बाटो देखाउने काममा जेनीले पनि अतुलनीय योगदान गरिन् । समाजमा महिलाहरूको अवस्थाबारे माक्र्ससँग छलफल गर्ने जेनी समाजवादी सङ्गठनभित्रै पनि महिलाको अवस्था र अधिकारलाई गौणरूपमा लिएको र दोस्रो प्राथमिकताको विषय बनाइएकोमा असन्तुष्टि व्यक्त गर्थिन् । माक्र्सको भनाइ छ, “महिलाहरूको सामाजिक स्थान वा अवस्थाबाट मात्र सामाजिक विकास या परिवर्तनको मापन गर्न सकिन्छ ।”
आत्मसमर्पण गर्नुलाई जीवनको सबैभन्दा ठूलो दुःख बताउने माक्र्सको जीवन आत्मस्वाभिमानले भरिएको थियो । दासता अस्वीकार गर्ने माक्र्सले सङ्घर्षमै सुख प्राप्त गर्नुभयो । उहाँ असल पति हुनुका साथै असल पिता पनि हुनुहुन्थ्यो । राम्रो संस्कार छोरीहरूमा होस् भनी परामर्श दिँदै उहाँ सही साहित्य अध्ययनमा उत्साहित गर्नुहुन्थ्यो । सर्वहारा वर्गको नयाँ युगको जग हाल्नुभएका महान् नेता माक्र्स ६५ वर्षको उमेरमा भौतिकरूपमा सदाको लागि अस्ताउनुभयो । माक्र्सको समाधिमा एँगेल्सले बोल्नुभएको थियो, “जेनीको निधनको पन्ध्र महिनापछि कार्ल माक्र्स बित्नुभयो ।” जेनीकै निधनको बेला एँगेल्सले भन्नुभएको थियो– “अब मूर (माक्र्स) पनि चाँडै बिदा हुनेछन् ।”
“उहाँको नाम युगौंयुगसम्म अमर रहनेछ तथा उहाँको कृति पनि अमर रहनेछ ।” एँगेल्सको यो भविष्यवाणी सही साबित हुँदै छ । हिजो पेरिस कम्युन, अक्टोबर क्रान्तिमा फहरिएको माक्र्सवादको झण्डा आज जनगणतन्त्र चीन, प्रजग कोरिया, क्युवा आदि समाजवादी देशमा झैं सारा संसारमा माक्र्सवादको प्रभाव बढ्दै छ ।
माक्र्स र एँगेल्सका साथी लेसनरले माक्र्सका छोरी इलेनरलाई पठाउनुभएको चिठीमा लेखिएको छ, “माक्र्सको नाम र शिक्षा यस धर्तीमा मानव जातिको अस्तित्व रहेसम्म रहनेछ । सूर्यले जस्तै उहाँको विचारले मानव जातिलाई उज्यालो दिइरहनेछ । यसलाई कसैले पनि रोक्न सक्नेछैन ।
कार्ल माक्र्स र जेनी माक्र्सको जीवन सङ्घर्ष तथा जीवन लक्ष्य सदा सर्वदा कामदार जनताले गाइरहनेछन्,
कठिनाइहरूदेखि रुने जीवन
मेरो लागि होइन
होइन मेरो आँधीजस्तो मनलाई
यो स्वीकार्य छैन
मलाई त एउटा महान् र
उँचो लक्ष्य चाहिन्छ
र त्यसको लागि आजीवन सङ्घर्षको
अटुट सिलसिला चाहिन्छ ।
(नेमकिपाको आयोजनामा वैशाख २२ गते भएको कार्ल माक्र्सको २०१ आँै जन्म दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *