भर्खरै :

बुद्धवाद र माक्र्सवाद

डा. लत्तिका लहिरी
चीनमा जनवादी गणतन्त्र स्थापना भएको पाँच वर्षपछि सन् १९५४ मा पहिलो पटक म त्यहाँ पुगेकी थिएँ । एकजना चिनियाँ विद्वानले यदि बुद्ध यतिबेला बाँचेका भए उनको लागि यो समय सबभन्दा सुखद् समय हुने थियो भनेको सुन्दा म तीनछक्क परेकी थिएँ । सामाजिक र राजनीतिक अन्याय हटाउन बुद्धले जीवनभर गरेको खोज चीनमा सफल भएको उनको तर्क थियो । यदि हामी बुद्धलाई एकजना धर्मप्रचारक मान्छौँ भने कसरी भौतिकवादमा विश्वास गर्ने समाजवादी देशमा उनी सबभन्दा खुसीका कारण हुनसक्छन् भनी म आश्चर्यमा परेकी थिएँ । उनले बुद्धको प्रायशः उद्र्वरण गरिने भनाइ ‘सबैको खुसीको लागि, सबैको हितको लागि’ (सर्वे भवतु सुखिना, सर्वे सन्त निरामय) को सन्दर्भमा त्यस्तो भएको हुनुपर्छ ।
भारतीय उपमहाद्वीपमा बुद्धको उदय र युरोपमा औद्योगिक क्रान्तिपछिको आधुनिक समयमा कार्ल माक्र्सको उदयबीच समयको फराकिलो दुरी छ । उनीहरू भिन्न परिस्थितिमा भिन्न समयका उदाएका भएर पनि हामीले बुद्धको दर्शनमा केही प्रगतिशील धार अवश्य देख्नसक्छौँ । समयान्तरमा आधुनिक विद्वानहरू बुद्धको दर्शनलाई कार्ल माक्र्सको दर्शनसँग समतुल्य बनाउन खोजिरहेका छन् । तर, माक्र्स बुद्धको दर्शनबाट प्रभावित थिए भन्ने तर्कको कुनै प्रमाण छैन ।
भारतका तपस्वीहरूले आत्माको अमरत्वलाई निकै महत्व दिने उपनिषद् युगको अन्त्यतिर बुद्धको उदय भयो । उपनिषद्कालीन भारतका तपस्वीहरू ब्रह्मज्ञान अर्थात् पूर्ण सत्यको ज्ञान ‘आत्म प्रत्यक्ष’ अर्थात् अन्तज्र्ञानबाट मात्र प्राप्त गर्न सकिन्छ भन्थे । उनीहरू अन्तज्र्ञानलाई वास्तविक ज्ञानको आधारशीला मान्ने गर्थे । प्लेटो, स्पीनोजा, हेगेल आदि पश्चिमका दार्शनिकहरूले आत्मा स्वयंले जन्माउने चेतना अथवा अन्तज्र्ञानलाई उच्च स्थान दिएका थिए ।
उनीहरूका अनुसार ‘पूर्ण सत्य’ भनेको पाँच ज्ञानेन्द्रियबाट हासिल हुने होइन, बरु रहस्यबाट प्राप्त हुने हो । यो प्रष्टतः प्रत्ययवादी (अध्यात्मवादी) दर्शन हो । इतिहासबाट हामीले यो प्रत्ययवादी दर्शन कसरी असामाजिक छ भन्ने कुरा सिकिसकेका छौँ ।
कुनै पनि सत्य पूर्ण हुँदैन । सबै सत्य सापेक्षिक हुन्छ । सत्य सापेक्षिक भए तापनि त्यसलाई असत्य भन्न सकिंदैन किनभने त्यो सामाजिक वातावरणसँग अनमेल हुँदैन । ‘पूर्ण सत्य’ को खोजीमा हामी कुनै मृगतृष्णाको पछि दौडिरहेका हुन्छौँ ।
यो संसार वा घटनामा नदेखिएका सबै कुरा अस्तित्ववान होइनन् । तर, जुन चिजबारे हामीलाई तत्काल थाहा नभएको हुनसक्छ, त्यसलाई अस्तित्वमा नभएको भन्न मिल्दैन । उदाहरणको लागि, कपर्निकसले सौर्यमण्डलको सिद्धान्त (पृथ्वीले आफ्नै अक्षांश र सूर्यलाई घुम्ने सिद्धान्त) पत्ता लगाए । तर, उनका समकालीनहरूले यो कुरा कसैले पत्याएनन् । तीन सय वर्षपछि ग्यालिलियोले त्यही सिद्धान्त पछ्याउँदै जाँदा कुनै अज्ञात ग्रह (नेप्टुन) पत्ता लगाए । त्यसपछि कपर्निकसको सिद्धान्त सर्वत्र स्वीकार्य बन्यो । धर्म, नैतिकता र ज्ञान सबै परिवेशमा भरपर्ने कुरा हुन् । के ओडारमा बस्ने मानिसको धर्म, नैतिकता र ज्ञानमा परिवर्तन भएन र ?
एउटा पछिल्लो बौद्ध चिन्तन सौतान्त्रिकसले ज्ञान भनेको विचारधाराको सिद्धान्त होइन बरु विचारधारा र व्यवहारको संश्लेषण भएको धारणा अघि सारेको छ । ज्ञानको मूल्याङ्कनको आधार भनेको त्यसको प्रयोगधर्मिता हो । त्यसको उपयोगिता हो जुन कुरा प्रयोग गर्न सकिन्न, त्यो अवास्तविक हो । कुनै एउटा औजार वा मेसिनको वास्तविक विशेषता भनेको उसको प्रयोगधर्मिता हो । तर, प्रत्ययवादीहरूले ज्ञानको प्रयोगधर्मिताको विरोध नगरी आफूलाई जोगाउनै सक्दैनन् । त्यही कारण प्रत्ययवादीहरू जगत् मिथ्या भएको भन्छन् ।
एकातिर सापेक्षिक ज्ञान अमर हुन्छ भने अर्कोतिर अमरत्व सापेक्षिक हुन्छ । समाजको विकासक्रममा कुनै बेला सत्य भएको कुरा अवास्तविकमा परिणत हुन्छ र त्यही बिन्दुबाट नयाँ वास्तविकता उजागर हुन्छ । यो बिन्दुमा आएर विज्ञान निकै फस्टाउने गर्छ । माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादले दुई थरी ज्ञानको संश्लेषण गरेको छ । माक्र्सको विचारले पूर्ण अभौतिकतामा लुकेर बसेको सापेक्षिक सत्यलाई द्वन्द्वात्मक भौतिकवादमा संश्लेषित गरेको छ । यथार्थ र ज्ञानको वास्तविक विशेषता द्वन्द्वात्मक प्रक्रियाबाट मात्र जान्न सकिन्छ । सामाजिक व्यवहार वा समाजसँगको सम्बन्धको महत्वलाई ओझेलमा राखेर कुनै पनि निष्कर्ष निकाल्न सकिंदैन । यो कुरा अन्तरविरोधात्मक छ ।
आदिम समाजको दर्शन भनेको प्राकृतिक भौतिकवाद थियो । मानिसलाई भौतिक वस्तुमा द्वन्द्वात्मक प्रक्रियाबारे त्यत्तिबेला थाहा थिएन न त मानिसको समवेदनाबारे नै जानकारी थियो । समयान्तरमा एउटा आत्मा अनि अमर आत्माको खोजी हुनथाल्यो । अनि ईश्वर एउटै भन्ने चिन्तनको विकास भयो । त्यसप्रकार प्रत्ययवादले भौतिवादलाई विस्थापित ग¥यो ।
प्रत्ययवादी राजनीतिक चिन्तक हेगेल युद्ध अवश्यम्भावी र आवश्यक भएकोमा विश्वास गर्थे । अरूको भूभाग हडप्नु न्यायपूर्ण भएको उनको विचार थियो । उनी आफ्नो देश प्रसियामा राजतन्त्रको सिद्धान्त उत्कृष्ट भएको विश्वास गर्थे । तर, राज्यले वर्गसङ्घर्षको अन्त्य गरेन । राज्य भनेको वर्गीय द्वन्द्वको जीवन्त प्रतीक हो । भौतिकवादले राज्य क्रमशः कमजोर बन्दै जाने कुरामा विश्वास गर्छ । उत्पादनका साधनको वृद्धि र धनको समान वितरण नै कल्याणकारी राज्यतर्फको एउटै बाटो भएको भौतिकवादीहरूको विश्वास हो ।
दार्शनिकहरूबीच सबभन्दा बढी बहस हुने प्रश्न भनेको चेतनाभन्दा अघि वस्तुको विकास भएको हो वा वस्तुभन्दा अघि चेतनाको विकास भएको हो । बौद्ध दर्शनले सृष्टिकर्ता अथवा प्रकृतिको गति वा कार्यको नियमनको लागि कुनै चेतना हुने कुरा कहिल्यै गरेन । वस्तुभन्दा अघि चेतना हुन्छ भन्ने विचार आउने बित्तिकै जटिलता सुरु हुन्छ । चेतना र वस्तुको विषयमा बुद्धको विचार थोरै अस्पष्ट छ । समयान्तरमा अवस्तुगत प्रत्ययवादी बौद्ध चिन्तनको विकास भयो जसलाई विज्ञानवाद भनियो । विज्ञानवादले वस्तुगत संसारलाई पूर्णतः अस्वीकार ग¥यो । त्यसले पूर्ण चेतनालाई मात्र स्वीकार ग¥यो ।
भारतीय बौद्ध चिन्तक असँग आफ्नो जीवनको प्रारम्भिक कालमा भौतिकवादी चिन्तक थिए । पछि उनले आफ्नो चिन्तन परिवर्तन गरे र विज्ञानवादको प्रचार गरे । राजदरबारमा उनलाई ठूलो सम्मानित स्थान दिइएको थियो । महायान बुद्धधर्मका संरक्षक राजा कनिष्क पनि उनको विद्वताको प्रशंसक थिए । परिवर्तित परिवेशको प्रभावमा असँगले पनि आफ्नो विचार बदलेको कुरा नकार्न सकिन्न ।
हेगेल द्वन्द्ववादका समर्थक थिए । त्यसकारण उनले एकता र विभेदलाई एकै ठाउँमा संश्लेषण गरेका थिए । हेगेलको प्रत्ययवादले शब्द (लोगस) अर्थात् चेतनालाई वस्तुभन्दा उच्च स्थानमा राखेका छन् । वस्तुलाई शब्दको उत्पादनको रूपमा व्याख्या गरेका छन् । हामीले यहाँ धर्मकृतिको भनाइ–कुनै पनि कुरा एक्लै वा एउटै कारणबाट मात्र सृष्टि हुँदैन भन्ने कुरालाई सम्झन उपयुक्त हुन्छ । पानी अक्सिजन र हाइड्रोजन मिलेर बनेको हुन्छ । जब हाइड्रोजनलाई अक्सिजनबाट अलग्ग गरिन्छ, त्यो विष बन्छ । पानीको सन्दर्भमा भने त्यसको प्रभाव ठीक उल्टो हुन्छ । शङ्काराले गाईको गोब्बरबाट जीवित बिच्छी हुर्किने कुरा गरेका छन् । सांसारिक घटनामा अन्तरविरोधबाट जन्मिने सामाजिक परिवेशका हरेक घटनामा दुई पक्ष अलग्ग अलग्ग हुँदा सफल हुँदैनन् । बरू दुईबीचको एकताले नै सफलता हासिल हुन्छ । यही नै भौतिक वस्तुको वास्तविक प्रवृत्ति हो । हेगेल भौतिक वस्तुमाथि चेतनाको प्रधानतामा विश्वास गर्थे ।
वस्तुले रूप धारण गर्दा पनि अन्तरविरोध समाप्त हुँदैन । बरु त्यहीबाट नयाँ उही प्रक्रियाको सुरुआत हुने गर्दछ । फलतः नयाँ वादलाई अर्को नयाँ प्रतिवादले प्रतिकार गर्दा अझ नयाँ वादको जन्म हुन्छ । संसारको क्रान्तिको प्रक्रियामा यस्तो अन्तर्विरोध असीमित र अन्त्यहीनरूपमा निरन्तर जारी रहन्छ । त्यस अर्थमा यो संसार परिवर्तनशील छ ।
द्वन्द्वात्मक भौतिकवादले वस्तुलाई प्रधानता दिन्छ र विकासक्रममा चेतना गौण विषय मानेको हुन्छ । बौद्ध दर्शनले वस्तुको प्रधानतालाई मान्दैन बरु दुईबीचको अन्तरक्रियालाई स्वीकारेको छ । यसले वस्तुको वस्तुगतताबारे अन्योल सिर्जना गर्छ । बुद्धको ऐतिहासिक पृष्ठभूमिका कारण पनि उनले यसरी चिन्तन गरेका हुनसक्छन्् ।
पद्म पुराण धिसाना लोकायत दर्शनका आदिचिन्तक हुन् । धिसानाको दर्शनलाई ध्वस्त बनाइनु दुःखद् कुरा हो । तर, माधवाचार्यको सर्वदाशरण सङ्ग्रह र दिघा निकायामा लोकायतका सन्दर्भहरू छन् । हामी बाँचेको समाजका लागि जुन कुरा हितकारी हुन्छ, त्यही नै वास्तविक सत्य हो । भौतिकवादी दार्शनिकहरूको अन्तिम निष्कर्ष यही हो ।
महान् दार्शनिक माक्र्स र एँेगेल्सले समाजको विकासक्रम र उत्पत्तिको इतिहासबारे विश्लेषण गरेका छन् । अनि समाज विकासक्रमलाई निर्देशित गर्ने सिद्धान्त पत्ता लगाए । यो नै द्वन्द्वात्मक भौतिकवाद र इतिहासको भौतिकवादी बुझाइको नियम हो । इतिहासमा उत्पादनका सम्बन्धका पाँच प्रमुख चरण भनेको आदिम साम्यवाद, दास व्यवस्था, सामन्तवाद, पुँजीवाद र समाजवाद हुन् । हरेक सामाजिक विकासका चरणमा मानिसको प्रगतिले उच्च गुणवत्ता हासिल गर्दै आएको छ । यस्तो उदय र विकासको लागि चालक शक्ति के हो त ?
एँेगेल्सले भनेका छन्, “हामीले बुझेको प्रकृतिको सम्पूर्णताले वस्तुको अन्तर सम्बन्धित पूर्ण प्रणाली बन्छ । वस्तु भन्नाले तारादेखि अणुसम्मका सबै भौतिक अस्तित्व पर्दछन् ।”
आदिमकालमा निहत्था मानिसहरू प्रकृतिसँग मिलेर लडे । नत्र उनीहरूको अस्तित्व समाप्त हुने थियो । विज्ञानप्रतिको अज्ञानताले उनीहरूलाई समूहमा एकीकृत बनायो । आदिम व्यवस्थाको अन्त्यसम्ममा र ज्ञानको विकाससँगै मानिसले खाना, बसाई र लुगाआदि आधारभूत आवश्यकताको लागि लड्नुप¥यो । त्यसपछि उसको अवस्थाको निर्धारण उत्पादक शक्ति र उनीहरूले विकास गरेका औजार वा मेसिनले ग¥यो ।
समाज विकासको प्रारम्भिक चरणमा सम्पत्ति समुदायको हुन्थ्यो । तर, जब उत्पादनका साधनमाथिको स्वामित्व व्यक्तिको हातमा गयो, जमिनमाथि व्यक्तिगत स्वामित्व अस्तित्वमा आयो । त्यसैले वर्गीय विभेद जन्मायो ।
प्रत्ययवादीहरूले वर्गविभेदलाई ईश्वरको अनुल्लङ्घनीय चाहनाको रूपमा व्याख्या गर्छन् । कर्मको फलको रूपमा परिभाषा गर्छन् । उनीहरू सधैं स्वर्गीय प्रेम (जहाँ कुनै प्रकारको विभेद हुँदैन) को प्रशंसागान गाइरहे । तर, वर्गीय विभेदको स्रोत के हो भन्ने बारे गहिरो गरी बुझ्न चाहेनन् । त्यसकारण उनीहरू वर्गीय विभेदको कुरूपताको समाधान खोज्न असफल भए । उनीहरूले लाखौं लाख जनताको पीडाको कारण बनेको भोक हटाउन सकेनन् । वर्गीय विभेदमा आधारित समाजमा मानव सभ्यताको बीचमै जीवन बाँच्नको लागि आवश्यक आधारभूत कुराको समेत उत्पीडित जनताले जोहो गर्न सकेनन् । धर्मको शरण परेर उनीहरू अर्को संसारमा आफ्नो लागि सञ्चय गरिएको खुसीको प्रतिक्षा गरेर बसिरहन बाध्य बनाइए ।
रुसोको प्रोत्साहनमा भएको महान फ्रान्सेली क्रान्तिले समानता, स्वतन्त्रता र भ्रातृत्वको नारा दियो । राजनीतिक, सामाजिक र आर्थिक अन्यायविरुद्ध त्यो क्रान्ति भएको थियो । समानता क्रान्तिको पहिलो प्राथमिकता थियो भने स्वतन्त्रता दोस्रो प्राथमिकता । प्रत्ययवादी प्लेटो र सुकरात दास व्यवस्थाका समर्थक थिए । हेगेलले युद्धको उपादेयताको वकालत गरे । मार्टिन लुथर त्यत्तिबेलाको इसाई गिर्जाघरका सुधारक थिए । तर, उनले पनि धनी र गरिबबीचको विभेद अन्त्यको कुरा गरेनन् । बरु उनले जर्मनीमा भएको किसान आन्दोलनको विरोध गरे । सामन्ती राजकुमार र कुलीनहरूको पक्ष लिए ।
भारतीय उपमहाद्वीपको इतिहास अध्ययन गर्दा बुद्ध र बुद्ध धर्मले समाजका असमानता र विभेदको विरोध गरेर क्रान्तिकारी भूमिका निभाएको देखिन्छ । बुद्धको शिक्षा भनेको सांसारिक दुःखबाट मानिसलाई मुक्त गरी विश्वातित आनन्द अर्थात् निर्वाण आनन्दमा पु¥याउनु हो । त्यसको वास्तवमा सामाजिक जीवनसँग कुनै सम्बन्ध छैन ।
बुद्धले सबै जातजातिका मानिसबीच समानताको शिक्षा दिएको सत्य हो । उनले वैदिक संस्कारविरुद्ध भारतका मानिसबीच जागरण फैलाए । तल्लो जातका मानिसजस्तै उपालीलाई बुद्धले सम्मान गरेको कुरा सत्य हो । हजाम भएर पनि विनयधारालाई बुद्धले अँगाले । बुद्धले अँगालेका तल्लो जातका पुरुष र महिलाबारे बौद्ध साहित्यमा धेरै उदाहरण छन् । तर, त्यस्तो गर्दा पनि उनले भारतको विभेद वा वर्गीय द्वन्द्व भने हटाउन सकेनन् । बुद्धले धनी र गरिबबीच भेद हटाउन चाहेका थिए भनी हामीले सोच्यौँ भने त्यो हाम्रो गल्ती हुनेछ । बुद्धको धार्मिक गतिविधिको लामो अवधिको अध्ययन ग¥यौं भने उनलाई राजपरिवार, व्यापारी र धनीहरूले व्यापक समर्थन गरेको धेरै उदाहरण छन् । मगढका विश्वाम्बरा र कोसलाका प्रसिनजीत बुद्धका दाता थिए । त्यत्तिबेलाका चर्चित व्यापारीहरू तापुसा र भालिकाले बुद्धको धर्म प्रचारको सुरुका समयमा निकै सहयोग गरेको थिए । राजदरबारका भारदार अम्बपाली स्वयं बुद्धका सहयोगी थिए । सामन्ती राज्यलाई कुनै एउटा धर्मको आवश्यकता पर्दछ र बुद्धले त्यत्तिबेलाका सामन्तहरूलाई राज्य धर्म बनाइदिए । आधुनिक समयमा भए आफ्नो काम फत्ते गर्न धनीको पक्षधरता लिएको भनी बुद्धको चर्को आलोचना हुने थियो ।
बुद्धको दर्शन अन्ततः समाजबाट विभेद हटाउन असफल भयो अथवा मानिसले सामना गरिरहेका दुःख निवारण गर्नसकेनन् । बुद्धपछिको समयमा भारतीय समाजले वर्गविभेदको भारी बोकिरहनु प¥यो । किनभने बुद्धको विचार वैज्ञानिक सिद्धान्तमा आधारित थिएन ।
उन्नाइसौं शताब्दीको सुरुमा युरोपमा एकजना प्रतिभाशाली राजनीतिक एवं सामाजिक वैज्ञानिक माक्र्सको जन्म भयो । जसले मानिसले भोगिरहेका दुःखमाथि कैयौं कोणबाट प्रकाश पारे । उनले गहिरो जरा गाडिएको सामाजिक, राजनीतिक र आर्थिक असमानताको कारण पहिल्याए र आफ्नो वैज्ञानिक समाजवादको सिद्धान्तले ती समस्या समाधान गर्न खोजे । माक्र्सको सिद्धान्तको अन्तिम विजयले समाजमा विभेदको अन्त्य हुनेमा हामी विश्वास गर्छौं । माक्र्सको विचार थियो, “हरेक ऐतिहासिक युगमा तत्कालीन आर्थिक उत्पादन र विनिमय अनि त्यसैमा आधारित सामाजिक सङ्गठन बन्छ । तिनैको आधारमा त्यो ऐतिहासिक युग बनेको हुन्छ र तिनैको आधारमा त्यो युगको राजनीतिक र बौद्धिक इतिहासको व्याख्या हुन्छ । साझा स्वामित्वको आदिम जङ्गली समाजको विघटन यता मानव जातिको सम्पूर्ण इतिहास वर्गसङ्घर्षको इतिहास हो । त्यसै आधारमा मानव विकासक्रमको सृङ्खला बनेको हुन्छ । आज हामी त्यही विकासक्रम अन्तर्गत यस्तो चरणमा पुगेका छौँ जहाँ सर्वहारा वर्ग बुर्जुवा वर्गमाथि शोषण गरेर आफू बलियो हुनसक्दैन । साथै सबै प्रकारको शोषण, उत्पीडन, वर्गसङ्घर्ष र वर्गीय विभेदबाट सिङ्गो समाजलाई बलियो बनाउन सकिनेछैन ।”
केही विद्वानहरू बुद्धवाद प्रजातान्त्रिक विचारधारा भएको भन्छन् । आधारभूतरूपमा बुद्धवाद समतावादी भएको र भिक्षुहरूको समुदायमा कुनै पनि कुराको निर्णय मतदानमार्फत जसको बहुमत हुन्छ, उसैलाई मान्ने प्रचलनका कारण उनीहरूले त्यस्तो तर्क दिएका हुन् । बुद्धधर्मअन्तर्गत भिक्षुहरूको सङ्गठन ‘सङ्घ’ मा साझा सम्पत्तिको अभ्यास हुने भएकोले पनि उनीहरूको तर्कलाई बल पुगेको छ । डीपी चट्टोपाध्यायका अनुसार बौद्ध सङ्घले तत्कालीन समयको राजनीतिक अभ्यासबाट ती कुराको अनुशरण गरेको थियो ।
के पी जैसवालले आफ्नो पुस्तक ‘हिन्दू पोलिटी’ मा मानव विकासक्रममा वन्य जीवन अन्त्य हुने समयमा बौद्ध सङ्घले वन्य जीवनका विशेषता र संस्थालाई जोगाएर वन्य जीवनलाई जीवन्त राख्ने प्रयास गरेको लेखेका छन् ।
प्रजातन्त्र राजनीतिक अवधारणा हो । समाजमा राजनीतिक सङ्गठनको विकास नहुँदासम्म प्रजातन्त्रको अवधारणा विकास भएको थिएन । बुद्धमार्गी विनयका अनुसार भिक्षुहरूले सम्पत्तिमाथि साझा स्वामित्व र सङ्घमा एकै ठाउँमा ध्यान गर्छन् । साझा हितको विषय बहुमतको आधारमा निर्णय हुन्छ । कुनै व्यक्तिको आदेशको भरमा काम गरिंदैन । पाली ग्रन्थमा शाक्य, मल्ल, बज्य र लिच्छविहरूबीच भएका वन्यजातिहरूको भेलाका सन्दर्भहरू छन् । भिक्षु सङ्घको पालना गरिन्छ । भिक्षु समुदायमा गणतन्त्रात्मक व्यवस्था चल्छ । डीपी चट्टोपाध्यायको पुस्तक ‘लोकायत्त दर्शन’ मा उपसम्पदा परम्परा वन्य जातिहरूकै अभ्यास भएको र सम्पत्तिमाथि सङ्घको साझा स्वामित्वसम्बन्धी पाटिमोक्ष परम्परा वन्य साम्यवादको निरन्तरता भएको लेखिएको छ ।
प्रजातन्त्रसम्बन्धी बुद्धका विचार भिक्षु समुदायमा मात्र सीमित थियो । राज्यको विस्तारित आकारमा प्रजातान्त्रिक अवधारणाको प्रयोग गरिएको थिएन ।
माक्र्सको विचार आजको विश्वका धेरै देशमा लागू भएका छन् । माक्र्सको दर्शन सिद्धान्त र व्यवहारमा विश्वास गर्छ । सारा संसार माक्र्सले परिकल्पनाको व्यवस्थाको परिणाम हेर्न आतुर छन् । यदि भौतिकवादले अझ थप प्रगति गर्दै सयौं वर्ष अघि बढे त्यसबाट कुनै खराबी छैन । यदि संसार प्रगतिको मार्गमा अघि बढ्छ भने कुनै डर छैन, प्रतिगमनतिर ढकेलिने कुनै चिन्ता हुँदैन ।
(लेखिका दिल्ली विश्वविद्यालयको बौद्ध अध्ययन विभागकी रिडर हुनुहुन्छ ।)
स्रोतः बौद्धदर्शन और माक्र्सवाद (सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी)
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *