संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
प्रकाश श्रेष्ठ
बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको जन्म ई. पू. छैटौँ शताब्दीमा भएको थियो । जैन दर्शनलाई बौद्ध दर्शनको समकालीन मानिन्छ । हिन्दू धर्मको विकासक्रममा त्यस समयलाई उपनिषद्कालीन समय मानिन्छ । हिन्दू धर्मग्रन्थ उपनिषद् त्यसबेलामा अत्यधिक चर्चामा रहेको थियो । त्यसकारण त्यसबेलाको समाज ब्राह्मणवादको बोलवाला थियो । त्यसको फलस्वरूप समाजमा वर्ण व्यवस्था कायम भयो, ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको वर्ण व्यवस्था सुरु भयो । त्यससँगै वैदिक हिंसा वा यज्ञमा बलि दिने प्रथा सुरु भयो ।
समाजमा अन्धविश्वास व्याप्त थियो । रुढिवादीजस्ता परम्परागत मान्यताले समाजमा ठाउँ लिएको थियो । त्यसबेला ब्राह्मणवादको विरोधमा महाविर र बुद्ध उभिनुभयो । बुद्धको तथ्यगत व्याख्या, तार्किक चिन्तनले गर्दा मानिसहरूमा एकखाले जागरण आयो । नयाँ खालको चेतना प्रसार गर्न बुद्धले हरसम्भव प्रयत्न गर्नुभयो ।
बुद्धले कहिल्यै आफूलाई ईश्वरीय अंशको रूपमा परिचय दिनुभएन । त्यसबेला व्याप्त मूर्तिपूजाको विरोध बुद्धले व्यवहारमा देखाउनुभयो । बुद्ध बाटोमा हिंडनु हुँदा हजारौं अनुयायी भिक्षुहरूसँगै हुन्थे । कहीँ विचरण गर्दा, बिहारमा हजारौँ भिक्षुहरू हुन्थे तर बुद्धले आफ्नो परिचय दिनुभएका ठाउँहरूमा सदा आफूलाई जागेको मान्छेको रूपमा चिनाउनुभयो ।
ज्ञान प्राप्तिपछि मगधको राजा बिम्बिसारसँगको प्रथम भेटमा सिद्धार्थले आफ्नो परिचय यसप्रकार दिनुभयो– मेरो नगरको नाम कपिलवस्तु हो । मेरो पिता शुध्दोदन, मायादेवी मेरी माता जसले मलाई जन्म दिनुभयो । म २९ वर्षसम्म घरमा बसेँ । मेरो तीन उत्तम प्रसादहरू (महल), जसको नाम राम, सुराम र सुभृत थियो । भद्रकृत्या नामको मेरो पत्नी र राहुल पुत्र थियो । म शाक्य जातिको कुलबाट जन्मेको हुँ । म कुनै पनि विषयप्रति कामना राख्दिनँ । म मुक्तिको बाटोमा हिँडिरहेको छु । मेरो मन यसैमा लीन छ ।
बुद्धवंशमा प्राप्त बुद्धको परिचयमा बुद्धले भन्नुभएको थियो, “जब म सुन्दर यौवनले युक्त थिएँ, यौवनको उत्कर्षमा थिएँ, मेरो शरीर बलिष्ठ र कपाल कालो थियो । मैले कपाल, दा¥ही खौरेर, चिवर वस्त्रमा गृहत्याग गरेको थिएँ । म घोडा चढेर दरबारबाट बाहिर निक्लेँ । ६ वर्षसम्म ज्ञान प्राप्त गर्न कडा तपस्या गरेँ । हामी किन जन्म, रोग र मृत्युबाट पीडित छौँ । यसभन्दा पर जहाँ दुःखरहित ठाउँ छ, त्यस्तो ठाउँको खोज गरुँ भन्ने लाग्यो । म त्यसको खोजमा निक्लेँ ।”
यसरी बुद्ध त्यसबेला व्याप्त दुःखको निवारण गर्न लागिपर्नुभयो । द्रोण ब्राह्मणले सोधेको थियो बुद्धसँग –
द्रोण ः तपार्इँ देवता हो ?
बुद्ध ः होइन ।
द्रोण ः तपाईँ गन्धर्व हो ?
बुद्ध ः होइन ।
द्रोण ः तपाईँ यक्ष हो ?
बुद्ध ः होइन ।
द्रोण ः तपार्इँ मानिस हो ?
बुद्ध ः होइन ।
द्रोण ः त्यसो भए, तपाईँ को हो त ?
बुद्ध ः म बुद्ध हुँ, जो आशा, कामना, तृष्णा, राग, अनुराग, वियोग घृणा, क्रोधबाट मुक्त छ ।
यसरी बुद्ध एक विचारकको रूपमा उदाउनुभएको थियो ।
कार्ल माक्र्सको जन्म ५ मई १८१८ ई.सं. मा तत्कालीन प्रसिया प्रान्तको ट्रीएर सहरमा यहुदी परिवारमा भएको थियो । त्यसबेलाको समाज पुँजीवादी समाज थियो ।
बेलायतमा औद्योगिक क्रान्ति भएपछि सारा युरोपभरि मजदुर वर्ग एक नयाँ वर्गको रूपमा उदय भइरहेको थियो । माक्र्सले मजदुर वर्गमाथि भइरहेको शोषण, उत्पीडन र दुःख देख्नुभएको थियो । पुँजीपति वर्ग शोषणबाट अकुत सम्पत्ति थुपार्दै थिए । १८४४ मा माक्र्सको भेट पेरिसमा एँगेल्ससँग भयो । १८४८ मा उहाँहरू दुवै मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र निकाल्नुभयो । जसमा मजदुर वर्ग के हो ? पुँजीपति वर्ग के हो ? शोषण किन हुन्छ ? कसरी हुन्छ ? मजदुरहरूको दुःखको मुक्ति कसरी हुन्छ ? वर्गसङ्घर्ष के हो ? सर्वहारा अधिनायकत्व किन चाहिन्छ ? यी कुराहरूको व्याख्या गर्नुभयो ।
पुँजीवादबाट पिल्सिएको समाज देखेपछि उहाँहरूले त्यसबाट मुक्त हुने उपायको खोजमा वैज्ञानिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभयो ।
यसरी बुद्ध र माक्र्सले मानिसको दुःख, समाजमा रहेको दुःख विषयमा आफ्नो जीवनभरि चिन्तन गर्नुभयो र कसरी मुक्त हुने वा हटाउन सकिन्छ भन्ने उपाय अगाडि सार्नुभयो ।
सामाजिक बन्दोेबस्त
बुद्धकालीन सामाजिक बन्दोबस्त सामन्ती बन्दोबस्तको थियो । त्यसकालमा भूदासहरू थिए । भूमि मजदुरहरू थिए । स–साना भूस्वामित्व भएका किसानहरू थिए । ठूल–ठूला सामन्तहरू वा भूमिपतिहरू पनि थिए । सामाजिक बन्दोबस्त नै शोषणयुक्त थियो । जसका कारण गरिबी, भोकमरी, रोग, नैराश्य, दुःख अनि मृत्यु व्याप्त थियो । बुद्धले तत्कालीन समाजमा व्याप्त दुःखलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने खोज गर्नुभयो । बुद्ध मानव जातिलाई त्यसखाले दुःखबाट मुक्ति दिलाउन चाहनुहुन्थ्यो ।
त्यसै सिलसिलामा बुद्धले समाज गतिशील छ भनी व्याख्या गर्नुभयो । ‘अता हि अतनो नाथो, को हि नाथो परो सिया’ (व्यक्तिको मालिक स्वयं आफै हो, अरु कोही उसको मालिक हुन सक्दैन) उहाँले रुढीवाद र पुरातन विचारको विरोध गर्नुभयो ।
‘न जच्चा वसलो होति न होति ब्राम्हणो
कम्मुना वसलो होति कम्मुना होति ब्राम्हणो’
अर्थात् जन्मको आधारमा कोही नीच र कोही ब्राह्मण हुँदैन । कर्मको आधारमा नीच वा ब्राह्मण हुन्छ ।
माक्र्सको समयमा सामाजिक बन्दोबस्त पुँजीवादी सामाजिक बन्दोबस्त थियो । औद्योगिक क्रान्तिसँगै मेसिनको युग सुरु भयो । साना घरेलु उत्पादनको ठाउँ ठूल–ठूला मेसिनले लिएपछि बेरोजगारी सिर्जना ग¥यो । यान्त्रिकीकरणले समाजमा शोषण, पुँजीको प्रतिस्पर्धा, नाफा, व्यक्तिगत स्वार्थको व्याप्ततालाई बढायो । भूमिमा यान्त्रिकीकरण, उत्पादनमा मेसिनको प्रयोगले एक नयाँ वर्ग सर्वहारा देखाप¥यो । जोसँग बाँच्नको लागि श्रम गर्ने दुई हातमात्र थियो । त्यस स्थिति आउनुमा पुँजीवादी सामाजिक बन्दोबस्तको दोष रहेको माक्र्सले पत्ता लगाउनुभयो र त्यसको समाधान समाजवादी क्रान्तिबाट हुन्छ भन्नुभयो । समाजवादी व्यवस्थामा आर्थिक समानता कायम रहने, धनी र गरिब नहुने, सम्पन्न र विपन्न नहुने मालिक र मजदुर नहुने विचार अगाडि ल्याउनुभयो ।
यसरी सरसरती हेर्दा बुद्धको मूल कार्य समाजलाई शोषणबाट मुक्त गरी दुःखबाट छुटकारा दिनु र माक्र्सको मूल कार्य समाजमा समानता र सम्मुनत बनाउने देखिन्छ । त्यसकारण पनि माक्र्सको कार्य व्यापकता र सर्वव्यापीरूपमा धरातलीय मानिन्छ । बुद्धले चार आर्य सत्यको घोषणा गर्नुभयो –
१. दुःख छ ।
२. दुःखको कारण छ ।
३. दुःख निवारण गर्न सकिन्छ ।
४. दुःख नहुने स्थिति पनि छ ।
निर्वाण प्राप्तिको लागि अष्टाङ्गिक मार्गको कुरा बुद्धले औँल्याउनुभयो । अष्टाङ्गिक मार्गमा ः सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।
बुद्धले हिंसा नगर्नु, चोरी नगर्नु, यौन दुराचार नगर्नु, झूठो नबोल्नु, नशालु वस्तु सेवन नर्गनुजस्ता पाँच पञ्चशीलको चर्चा गर्नुभएको छ । बुद्धले व्यक्तिलाई संयमित र नियन्त्रित बनाएर समाजलाई नै संयमित र नियन्त्रित बनाउन खोजेको देखिन्छ । बुद्धले कुनै राजनैतिक व्यवस्थालाई औँल्याउनुभएको छैन ।
माक्र्सले समाजलाई बुद्धिजीवीकरण गर्ने र नयाँ सोचको, नौलो समाजवादी निर्माण गर्ने परिकल्पना गरेको छ । मान्छे सभ्य हुँदै जाने, त्यसको फलस्वरुप लोभ, हत्या, हिंसा, शोषण नहुने यसखाले समाज विकासको अन्तिम चरणमा समाजमा न्यायालय, पुलिस, प्रशासन र राज्य नै लोप हुने कुरा औंल्याउनुभएको छ ।
सूक्ष्मरूपमा हेर्दा माक्र्सवादी समाज बन्दोबस्तभित्र व्यक्तिको विचार, व्यवहारलाई रूपान्तरण गर्ने देखिन्छ, तर शोषणयुक्त समाजलाई समानतायुक्त समाजमा परिवर्तन गरेपछि मात्र त्यो कार्यान्वयन हुने माक्र्सले औँल्याउनुभएको छ । माक्र्सका अनुसार प्रत्यक्षरूपमा राजनैतिक व्यवस्थाको परिवर्तन महत्वपूर्ण देखिन्छ ।
ईश्वरको सम्बन्धमा
आत्मा छ कि छैन ? पृथ्वी, ब्रह्माण्ड र जीव कसले बनायो ? पदार्थ र चेतनामा कुन पहिलाजस्ता प्रश्नहरू दर्शनशास्त्रको बहसमा सदा रहिरहने छ । तर, बौद्ध दर्शनले यस्तो बहसमा नै नपरिकनै स्पष्ट विचार दिएको पाइन्छ । सरसरती हेर्दा पदार्थको विषयमा बौद्ध दर्शन मौन छ । दुःख, दुःखको कारण र त्यसको निवारण बौद्ध चिन्तनको हृदय देखिन्छ ।
बुद्धले प्रायः औँल्याउनुहुने एउटा सानो कथा यहाँ प्रासङ्गिक देखिन्छ । एकजना यात्रु जङ्गलको बाटो हिँडिरहेको हुन्छ । निरन्तरको यात्रामा रहेको त्यस यात्रुलाई हिँड्दै गर्दा बीच बाटोमा छातीमा वाण लाग्छ । छातीमा वाण लागेर घाइते भई ढलेपछि उनीसँगै हिँडेका केही साथीहरू त्यस वाण निकाल्नतिर लागिपर्छ । तर, वाण निकाल्ने विषयमा विवाद उत्पन्न हुन्छ । केही साथीहरू त्यस वाण कसले, किन, के कारणले हानेको, योजनाबद्ध तरिकाले हानेको हो वा आकस्मिकरूपमा अरुलाई प्रहार गरेको वाण लागेको हो पहिले पत्ता लगाउनुपर्ने तर्क अगाडि सार्छन् । केही साथीहरू छातीमा धसेको वाण निकालेर घाइतेको उपचार पहिले गर्नुपर्ने, कसले किन हान्यो भन्ने कुरा पछि गर्नुपर्ने तर्क अगाडि सार्छन् । घाइतेको प्राण पहिले बचाउनुपर्ने केहीको मत हुन्छ ।
ईश्वर छ वा छैन भन्ने बहस त्यही (वाण निकाल्ने वा ननिकाल्ने) बहसजस्तै हो भन्नु हुन्छ बुद्ध । मान्छेको दुःख, दुःखको कारण र निवारण पहिलो उपचार हो, ईश्वरको उपस्थिति वा अनुपस्थितिको बहसमा पर्नु व्यर्थ भएको कुरा बुद्ध भन्नुहुन्छ । ईश्वरसम्बन्धी समाजमा धेरै विचारहरू बुद्धले देख्नुभयो । जस्तै ः कोही ईश्वरलाई एक भन्थे, कोही अनेक भन्थे । कोही ईश्वरलाई सगुण भन्थे, कोही निर्गुण भन्थे । कोही निराकार भन्थे, कोही विश्वरुप भन्थे ।
यस्तो तत्वमीमांसिय वादविवादले दुःखबाट छुटकारा मिल्दैन । त्यसकारण ईश्वर छ कि छैन भन्ने प्रश्न अर्थहीन भएको भन्दै ईश्वरलाई अनावश्यक भनियो । बुद्धले धेरै ठाउँमा सबै कुरा परिवर्तनशील छ भन्नुभएको छ । आत्मा, परमात्मा, ईश्वर अपरिवर्तनीय हुन्छ भनी गरिएको व्याख्याले गर्दा नै समाजमा विसङ्गति रहेको ठम्याइमा बुद्ध पुग्नुभयो । सबै कुरा परिवर्तनशील छ भन्नु नै आत्मा, परमात्मा र ईश्वरलाई नमान्नु हो ।
हिन्दू धर्मग्रन्थहरू वेद, पुराण, गीता, उपनिषद् (जो त्यसबेला प्रचलनमा व्याप्त थियो) आदि देववाणी भएको र कसैले त्यसलाई मेट्न नसक्नेजस्ता अन्धविश्वासयुक्त तर्कलाई बुद्धले खण्डन गर्दै ती सबै मानवले आफ्नो अनुकूल चलाएको, ती धर्मग्रन्थहरूमा उल्लेखित कुरालाई विभिन्न व्यवहार र तर्कबाट झूटो सावित गर्नुभयो ।
यसरी हेर्दा हामीलाई लाग्दो हो तिनै बुद्धको मूर्ति पूजा किन यति धेरै भइरहेको छ त ! निश्चय नै यो काम कट्टरपन्थी धर्मावलम्बीहरूका हुन् । जसले अरु सबै ईश्वरलाई जिउँदो बनाउन बुद्धको निधनपछि बुद्धलाई नै नियोजितरूपमा ईश्वर बनाइदिए । धर्मको नाममा व्यापार गर्नेहरूले बुद्धको पूजा सुरु गरे । जुन कुरा बौद्ध दर्शनसँग पटक्कै मेल खाँदैन ।
Leave a Reply