भर्खरै :

भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने काम आवश्यक

भक्तपुर, ४ जेठ । काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन ।
राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय क्षेत्रमा पुगेर आनन्द लिने इच्छा कसलाई पो नहोला । त्यसको लागि उपयुक्त गन्तव्य नगरकोट नै हो । रमणीय वातावरण, डाँडाकाँडा र त्यहाँबाट देखिने हिमशृङ्खलाका मनोरम दृश्यले जोकोही आगन्तुकलाई सहजै आकर्षण गर्छ ।
समुद्री सतहदेखि करीब दुई हजार १७५ मिटर उचाइको नगरकोट सूर्योदय तथा सूर्यास्त र सगरमाथादेखि अन्य चर्चित हिमालको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य पनि नगरकोट हो । यहाँबाट सगरमाथा, अन्नपूर्ण, मकालु, गणेश, लाङटाङ, जुगल, रोलवालिङलगायतका क्षेत्रको हिमालको रमणीय दृश्य देख्न सकिन्छ ।
अन्तर निकायबीच समन्वयको अभाव, पूर्वाधार विस्तार तथा बजार व्यवस्थापनसँगै पर्यटकको बसाइँ लम्ब्याउने वातावरण बनाउन नसकेका कारण नगरकोटको पर्यटनको विकास राम्रो हुन नसकेको सरोकारवालाको भनाइ छ ।
राष्ट्रिय सञ्चार केन्द्रले हालै नगरकोटमा आयोजना गरेको ‘भक्तपुरको पर्यटन विकासका सम्भावना र अवसर’ विषयक अन्तरक्रियामा वक्ताले नगरकोट क्षेत्रको समग्र पर्यटन विकासका लागि एकीकृत योजनाका साथ प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने धारणा राखेका थिए ।
भक्तपुरका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा नगरकोट पर्छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र तथा चाँगुनारायणमा पर्यटकको घुइँचो लाग्ने गर्छ ।
तर त्यहाँ पुगेका पर्यटकलाई त्यस क्षेत्रका अन्य ठाउँमा पु¥याएर बसाइ अवधि लम्ब्याउने कुनै योजना छैन । त्यसैले ती गन्तव्यमा पुग्ने पर्यटक एक/दुई घण्टा समय बिताएर एक बोतल पानी, चिया र कफीकै भरमा फर्कने गरेको बताइन्छ । भक्तपुरका हरेक गन्तव्यमा एक/एक दिन बस्ने वातावरण बनाउनसके पर्यटनबाट आम्दानीका साथै प्रशस्त रोजगारी सिर्जना हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *