भर्खरै :

पौराणिक गण नाचः एक अध्ययन

रामगोपाल न्हुच्छे प्रधान र राजेन्द्र श्रेष्ठ
नेपाल सुगन्धित फूलहरूले सिँगारिएको एक पहाडी मुलुक हो । यहाँका विभिन्न उकाली–ओराली, लेक–बेँसीमा पर्ने गाउँ, सहर, पहाड र तराईहरूमा आ–आफ्नै किसिमका संस्कृतिले छाएको छ । यस्ता विविध पक्षका सांस्कृतिक सम्पदाले कुनै पनि देशको परिचय गरिरहेको हुन्छ । यस सिलसिलामा काठमाडौँदेखि २१ किमि पूर्व समुद्र सतहभन्दा १४०० मिटर उचाइमा अवस्थित साँगा (काभ्रे जिल्ला) को प्राचीन बस्तीमा प्रचलित गण नाचको अध्ययन प्रस्तुत छ ।
यो नाच (नृत्य) को सुरुआत कहिलेदेखि भयो भन्ने सन्दर्भमा अध्ययन गर्दा अहिलेसम्म उपलब्ध स्थानीय ऐतिहासिक स्रोतको आधारबाट विसं १८८४ देखि भएको देखिन्छ । त्यसबेला उक्त जात्रा चलाए तापनि केही समयपछि बन्द भएको थियो । संस्कृतिप्रेमी साँगा निवासी जीवनरसिंह बहिदारको योगदानले उक्त नाचलाई पुनः प्रदर्शन गर्न लगाएपछि धेरै वर्षसम्म चल्यो । कलियुग लागेपछि पनि अति विशिष्ट व्यक्तिहरूले देवदेवीहरूसँग भेटेर वार्तालाप गर्न पाउँथे भन्ने विभिन्न किंवदन्ती सुनिन्छ । यसको भरपर्दो प्रमाणको लागि राजा त्रैलोक्य मल्ल तलेजु भवानी (कुमारी) सँग पासा खेलेको र वार्तालाप गरेको कुरा वंशावलीमा उल्लेख छ ।
विखण्डित काठमाडौँ उपत्यकाको मल्ल राजा आनन्द मल्लले शासन गर्दा यिनले पूर्वको साँगा र बनेपामा पनि राज्य गरेको र बस्ती बसालेको तथ्य विभिन्न ऐतिहासिक प्रमाणले बताउँछ । त्यसै समयतिर साँगा निवासी नेवारहरूमा मनोरञ्जनको माध्यम (साधन) कुनै नभएकोले सबैका मनसायअनुसार स्थानीय देवी (नासिकामाई) को यात्रा बनाई मनोरञ्जन गर्ने निधो गरियो । एकातिर धार्मिक दृष्टिकोणले धर्म पनि हुने र अर्कोतिर सबै जनताको मन बहलाउने भएकोले नासिकामाईसँग दुःख पुकारा गर्ने मनसायले एउटा जात्रा गर्ने प्रस्ताव राखिएको थियो । तर, देवीले यसो गर्न जटिल हुने बताए । यसो भने तापनि भक्तजनहरूको पुकारा र प्रार्थनाले दवीले केही सर्तहरू राखेर भने, “यदि मेरो जात्रा गर्ने हो भने मेरो प्रत्येक पाइलामा एउटा हाँस (पालीजःम्हा हाँय्) भोग दिनुपर्दछ । नभए यसको परिणाम विध्वंस हुनेछ, बरु मेरो प्रतिकात्मक रुपमा हाम्रो सपरिवारको गण नाच प्रदर्शन गर्नुपर्छ” तद्नुसार सहमति जनाई यो नाच निकाल्ने चलन चलेको बताइन्छ । यसरी देवीको रायमुताविक नचाइएको भएर यो नाच देखाइने देशमा कुनै सङ्कट, रोग व्याधि नहुने जनविश्वास छ ।
यो गण नाचको सम्बन्ध सङ्कष्ट नासिका भवानी (महाकाली) सँग गाँसिएकोले उक्त देवीको बारेमा केही चर्चा गर्नु सान्दर्भिक देखिन्छ । उक्त देवीको मन्दिर निर्माण स्रोतअनुसार ने.सं. १००१ मा आएर जीर्णोद्धार गरेको देखिन्छ । यससम्बन्धी किंवदन्तीअनुसार साँगा निवासीहरूले मन्दिर निर्माण गर्ने निर्णय गरेपछि तान्त्रिक विधिअनुसार नासिकामाईसमक्ष प्रस्ताव राखे । यसरी मन्दिर निर्माण गर्ने समयमा नासिका भवानी भक्तजनहरूको प्रार्थनाले नजिकैको पाटीको बीचको झ्यालमा बस्ने गरेको र त्यसरी बस्दा देवीको बिहान एउटी चिटिक्क परेकी बालिकाजस्ती, मध्यान्हमा एउटी परमसुन्दरी जस्ती र साँझमा एउटी बुढीको झैं रुपधारण गरी बसेको किंवदन्ती पाइन्छ । यसरी विभिन्न किंवदन्ती र ऐतिहासिक स्रोतहरूको अध्ययन गर्दा यस मन्दिरको निर्माण मल्ल शासकहरूको समयमा भएको कुरा अड्कल गर्न सकिन्छ । उक्त समयमा विभिन्न स्थानमा मठ, मन्दिर, पाटीजस्ता कलात्मक वस्तुहरूको निर्माण भएको पाइन्छ । साँगामा शासन गर्ने आनन्द मल्ल पनि एक कलाप्रेमी एवं धार्मिक प्रवृत्तिका राजा भएकाले उनैको पालामा यस मन्दिरको निर्माण गरेको होला भनी अडकल गर्न सकिन्छ । यस मन्दिरको निर्माण समयको प्रमाण उपलब्ध नभए पनि यसको जीर्णोद्धार श्री ५ सुरेन्द्र विक्रम शाहदेव र राणा प्रधानमन्त्री श्री ३ महाराजा रणोद्दिप सिंह राणाको समयमा भएको बुझिन्छ ।
यो देवी स्वस्थानीको पीठ अध्यायमा सतीदेवीको नाक पतन भएकोले यी देवीको नाम नासिका रहन गएको उल्लेख छ । शक्ति स्वरुपा देवीको अङ्ग पतन भई उत्पन्न भएको हुनाले यी देवी शक्तिशाली र शक्तिपीठको रुपमा पूजनीय छ । विसं १९९० को भूकम्पमा यिनै देवीले मन्दिर दायाँ बायाँ रहेका आफ्ना बाहन सिंहको शरीरमा टेकी खड्ग घुमाइरहेको कुरालाई रक्षकको रुपमा लिन सकिन्छ । यसलाई देखी जान्नेहरूले देशको रक्षा गरेको भन्ने गरेको पाइन्छ । जसको फलस्वरुप साँगामा भूकम्पको खास असर नपरेको कुरा त्यसबेलाका मानिसहरूले भन्ने गरेका छन् । यस्ता किंवदन्तीहरू गाँसिएर रहेको यस देवीको नाच कसरी चलाए भन्ने कुराको अध्ययन गरौँ ।
देवीबाट आफ्नो नाच प्रदर्शन गर्नु भन्ने वचन दिइएपछि स्थानीय बासिन्दाहरूलाई सन्तोष त लाग्यो तर नाच कसरी सिकाउने, कसरी बाजा बजाउने र कसरी गीत गाउने (राग गाउने) ? भन्ने समस्या देखियो । यी समस्याको समाधान गर्न पुनः देवीको शक्तिद्वारा विभिन्न नीति निर्देशन र अन्य भौतिक वस्तुहरूको तर्जुमा अज्ञात व्यक्तिद्वारा भयो । उक्त व्यक्तिले आफ्नै मुखबाट राग तथा गीत गाई तद्नुसार हातको दुई बुढी औँलाले तंः बाजा र अरु औँलाले खीं बजाएर त्यही बाजाको ताल मिलाई त्यसैको आधारबाट विभिन्न देवदेवीहरूलाई उपयुक्त हुने गीत संवादको विन्यास, नृत्य कलाको हाउभाउ आदिको बन्दोबस्त गरे भनिन्छ ।
यस गण नाचमा जम्मा ३७ जना कलाकारहरू हुन्छन् । यीमध्ये अष्टमातृका गणनायक भैरव रहेको छ भने दोस्रोमा उनैकी अर्धाङ्गिनी महाकाली र बाराही रहन्छन् ।
यी विभिन्न देव देवीको भूमिका निभाउन विभिन्न जात र थरका मानिसहरू रहन्छन् । भैरव र महाकालीको भूमिका न्हुछे प्रधानहरू र बाराही, माहेश्वरी, इन्द्रायणीको भूमिका जोशीहरू (नेवार) ले निभाउँछन् । विष्णुवीको मिखातगो
(गोर्खाली), ब्रह्मायणीको कर्माचार्य, गणेश, देवी, धरतीमाता, महादेवको, लान्तले श्रेष्ठ भन्ने थरकाले अभिनय गर्छन् । कुमारीको जुगिजू र मङ्गल गणेश, बेतालको भूमिका जुनसुकै जातकाले अभिनय गरे पनि हुन्छ । महिषासुर (दैत्य) मालाकारले, शुम्भ–निशुम्भ (उग्रमुग्र) कर्माचार्यले, नन्दिभृंगि नापितले, ख्याक भूचा जुनसुकै थरका भए पनि तल्लो स्तरका नेवारहरूले अभिनय गर्छन् । यसरी गण नाचको प्रारम्भमा जात, थरअनुसारको देवदेवीको भूमिका निभाउने देखिए तापनि समयको परिवर्तनले देवदेवीको भूमिका निभाउने निर्धारित जातको अभावले हाल अन्य जात र थरका कलाकारले देवदेवीको भूमिका निभाउने गर्दै आएका छन् ।
यो नाच खास गरेर भदौ, असोज महिनातिर नचाइन्छ अर्थात् जनैपूर्णिमा र दशैँको बीचमा नचाइने गरिन्छ । यस नाचको अध्ययन गर्दा परापूर्वकालमा देवगण र दैत्यगणबीच झगडा हुँदा महामाया शक्तिस्वरुपमा भगवतीको हातमा महिषासुरको वध गरेझैँ यस नाचमा पनि त्यसैको प्रतिकात्मकरूपमा देवीको हातबाट महिषासुरको मृत्यु हुन्छ । कथाअनुसार दैत्यहरूले देवगणहरूलाई निकै दुःखकष्ट दिएका थिए । यसरी दुःखकष्ट खप्न नसकी देवताहरूका नायक श्री महादेवसमक्ष पुगी दैत्यहरूले दिएको दुःखकष्टको अवगत गराउँदा महादेवबाट वर पाई काली कुमारी देवीलाई दैत्यहरूसँग सङ्ग्राम गर्न पठाइन्छ र दैत्यमाथि देवगणको विजय हुन्छ ।
नेपालमा पाइने यस्ता विभिन्न देवदेवीका नाचहरूको अतिरिक्त यस गण नाचमा भिन्नै विशेषता रहेको छ । नाचका गणनायक भैरव र उनका अर्धाङ्गिनी महाकाली, बाराहीलगायत विष्णुदेवी, माहेश्वरी, ब्रह्मायणी, इन्द्रायणी, कुमारी, गणेशको अङ्गरक्षकको रूपमा बेताल हुँदैन । बेतालको आभूषण साधारण छ । हातमा डमरु र पात्र हुन्छ । कपाल तलसम्म लत्रिएको हुन्छ । महादेवको पनि अङ्गरक्षकको रूपमा नन्दि र भृंगि रहेका छन् । नाचको सुरुमा देवदेवीको प्रवेश गराउन बाटो नाच (लाँ प्याखं) को बाजा बजाइन्छ र अष्टमातृकाको सुरुमा भैरवदेखि सुरु भएर अन्त्यमा देवी दबुमा प्रवेश गर्छन् । यसमा अङ्गरक्षकको रुपमा सबै बेतालको पनि प्रवेश हुन्छ । बाटो नाचमा मुख्य गरी ढोलक र भुस्या बजाइन्छ । त्यसपछि खिं, तंःबजाई राग गाइन्छ, यो प्रवेश नाचको राग निसारघोसा (प्रताल) राग हो । अन्त्यमा फेरि ढोलक र भुस्या बजाएर दबुबाट नाच्दै बाहिर निस्कन्छन् । यस नाचपछि (याका प्याखं) एक्लो नाच सुरु हुन्छ । यसमा सर्वप्रथम भैरव बेताल र भुचा (छत्र समाउने) को प्रवेश हुन्छ । यसमा पनि खिं र तंः को तालमा नाचिन्छ । यस नाचको राग मालश्री (चोक) राग हो । खिंको तालमा नाचिसकेपछि अन्त्यमा देवता चढ्ने बाजा बजाइन्छ । यसमा साथ दिन कुस्लेहरूले कर्नाल झ्याली, ढोलक र कसाईहरूले पोंग भन्ने बाजा बजाउँछन् । यसले नाचलाई झन् उत्तेजित गराउँछ । देवता चढ्नेलाई स्थानीय भाषामा ‘खासी वइगु’ भनिन्छ । यसरी नाच्दानाच्दै कसैलाई देवता चढेछ वा चढ्यो भने सबैजना मिलेर नाचको दबुबाट बाहिर लगिन्छ र ऊ बेहोस भएको हुन्छ । त्यसबेला तन्त्र मन्त्र गरी पानी खुवाएपछि बिस्तारै होस खुल्दछ । एवंरितले काली र बेताल (भैरव र बेतालपछि) प्रवेशको धुन बाजा पहिलेकै अनुसार बजाइन्छ । खिंको तालमा नाच्ने चाल फरक–फरक हुन्छ । यस नाचमा गौरीको आधारमा राग गाइन्छ । यस नाच अन्त्य गर्नेमा पनि ताल फरक हुन्छ । त्यसपछि बाराही र बेताल प्रवेश हुन्छ । प्रवेश हुने बाजाको ताल उही हुन्छ । यसमा खिंको ताल फरक र राग पनि फरक हुन्छ । यसमा कौशिक (षर्जती) रागअनुसारको गीत गाइन्छ । त्यसपछि विष्णुवी प्रवेश हुन्छ यसमा पनि खिंको ताल फरक हुन्छ । यसको राग पहाडीया (चोक) हो र यही रागअनुसार गीत गाइन्छ । माहेश्वरी र बेताल प्रवेश हुँदा पनि खिंको ताल र राग फरक हुन्छ । यस नाचको राग मालव (ऐकता) हो । यही रागअनुसार गीत गाइन्छ । त्यसपछि ब्रम्हायणी र बेतालको प्रवेश हुन्छ । प्रवेश बाजाको माध्यम त्यही हुन्छ भने खिंको ताल र हाउभाउ फरक हुन्छ । यसको राग मालश्री (चोक) हो । यही रागअनुसार गीत गाइन्छ । यसपछि इन्द्रायणी र बेताल प्रवेश हुन्छ । यसमा पनि खिंको ताल र नाचको हाउभाउअनुसार हुन्छ । प्रत्येक नाचको अन्त्यमा देवता चढ्ने बाजा बजाइन्छ । यस इन्द्रायणीको राग धनाश्री (चोक) हो । यसपछि कुमारी र बेताल प्रवेश हुन्छ । यसमा खिंको ताल झन् भिन्न हुन्छ र हाउभाउ पनि अरु देवदेवीको तुलनामा भिन्न हुन्छ । यसको राग गौरी (प्रताल) हो । एक्लो नाच (याका प्याखं) को सबभन्दा अन्तमा गणेश र बेतालको प्रवेश हुन्छ । यसमा पनि खिंको ताल फरक हुन्छ । यसको राग गौरी हो । त्यही रागअनुसार गीत हुन्छ । याका प्याखंको चरण पछि भैरव, काली र बाराहीको प्रवेश हुन्छ । यसमा अरु नाचको ताल र हाउभाउभन्दा अधिक हुन्छ । यसमा खिंको ताल भिन्न र बीचबीचमा पोँग बजाइन्छ । यसको राग कौशिक (ऐकता) हो । यही रागअनुसार गीत गाइन्छ । त्यसपछि काली कुमारी, देवीको प्रवेश हुन्छ । यसलाई पूरिया नाच भनिन्छ । यसमा राग पूरिया (षर्जती) अनुसारको गीत गाइन्छ । यस नाचमा ताल हलुका हुन्छ ।
यसपछि धरतीमाता मङ्गल गणेशको प्रवेश हुन्छ । त्यस प्रवेशमा धरतीमाताले महादेवलाई दैत्यहरूले दिएको दुःख कष्ट र अत्याचारबारे अवगत गराउँछ । महादेव नन्दि भृंगीगण धरतीमाताभन्दा पहिले धरतीको विचरण गर्न आइरहन्छ । महादेवले धरतीमातालाई युद्ध गर्न काली कुमारी देवी पठाएको भनिन्छ । महादेव प्रवेशको राग भूपाली कल्याण हो र मङ्गल गणेश प्रवेश गर्ने बेलामा राग काफी र राग वस
(चोक) को गीत गाइन्छ ।
त्यसपछि दैत्य गण (महिषासुर, शुम्भ निशुम्भ) को प्रवेश हुन्छ । यिनीहरूलाई स्याल कुकुरहरूले अशुभ सूचना दिन्छन् र आकाशवाणीमा उनीहरूसँग युद्ध गर्न पठाएको जानकारी दिन्छन् । दैत्यहरू नाचिरहेको बेलामा रागव्येहाङ्गराको रागअनुसार गीत गाउँछ । अचानक काली कुमारी देवीको प्रवेश हुन्छ । यहाँ युद्धको लागि आउँदा मुकुण्डोको कुना – कुनामा सिन्कामा झुम्रो बेरेर बाली आउँछ । जसलाई झाक प्याखं भनिन्छ । देवी गणको प्रवेश भएपछि काली कुमारी र शुम्भ निशुम्भको बीचमा युद्ध हुन्छ । त्यसपछि देवी गण ३ जना र दैत्य गण ३ जनाबीच युद्ध हुन्छ, दैत्यहरूलाई पराजित गरिन्छ । युद्ध सकिएपछि धरतीमाता र मङ्गल गणेशको प्रवेश भई देवी गणको आराधना र पूजा हुन्छ । यसमा राग केदार हुन्छ र यहीअनुसार गीतको लय हुन्छ ।
यस नाचको सबभन्दा पछि सबै बेतालहरूको प्रवेश हुन्छ । यसमा खिंको ताल र चाल अधिक हुन्छ । यसको राग प्रथम जाति हो र यहीअनुसार गीतको लय हुन्छ । यसमा पनि देवता चढ्ने बाजा बजाइन्छ र बाटो नाचको बाजा बजाई दबुबाट प्रस्थान गरिन्छ । नाचको अन्त्यमा सबै गण नाचका पात्रहरूको बीचमा आरती गर्छन् । आरती गर्दा भैरवी (षर्जती) रागको गीत गाइन्छ ।
यो नाच सुरु गर्न विधिपूर्वक नासःद्यो (नन्दिनाथ) को पूजा गर्नुपर्छ । विधिपूर्वक पूजा गरिएन भने नाचमा बाधा आइपर्ने कुरामा जनविश्वास रहेको छ । पूजा गरेर आई बेलुका भोजको आयोजना गरिन्छ । नाच देखाउनु अगाडि नै आचार्य (आचाजु) ले फुकेर कपासको सानो टुक्रा मुकुण्डोको एक कुनामा राखी दिन्छ र निधारमा मोहनि (कालो टीका) लगाई दिन्छ । जसलाई खासी भनिन्छ । नाच्दानाच्दै कसैलाई देवता चढ्छ भने कसैलाई चढ्दैन । यसरी नाच्दानाच्दै देवता चढिसकेपछि अरु बेलामा भन्दा त्यसको नचाइ फरक हुन्छ । मुखले भुइँमा हेर्छ, जिउ लत्रिन्छ र यसो भई यदि मुकुण्डोको नाकले भुइँमा छोयो भने ६ महिनाभित्र मर्ने जनविश्वास रहेको छ । तर आजसम्म कुनै पनि व्यक्ति मरेको प्रमाण सुनिँदैन, देखिँदैन ।
साँगाको यस गण नाच सांस्कृतिक र अन्य कारणले पनि महत्वपूर्ण देखिन्छ । यस नाचले नेपालको सांस्कृतिक जगेर्नामा केही हदसम्म टेवा दिएको आभास हुन्छ । त्यसैले यस्तो गण नाचलाई लोप हुन नदिई संरक्षण गर्नुपर्छ । यसले पर्यटकहरूलाई पनि आकर्षित गराउँछ ।
यो गण नाच परम्परागत भए पनि यसको कुनै आयस्रोत छैन । कलाकारहरूकै अगुवाइ र स्रोतबाट सञ्चालन हुने भएकोले यसको प्रदर्शन नियमित हुन सकेको छैन । यस नाच प्रदर्शन हुँदा पूरै गण देखा नपरेको धेरै वर्ष बितिसकेको छ । सम्बन्धित निकायबाट यसको संरक्षण र संवद्र्धनको निम्ति अपेक्षा गर्नु समयोचित हुनेछ ।
स्रोत ः पञ्चायत मासिक –४९
(२०४४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *