ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
रजनी जोशी
‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ र भक्तपुरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ भन्ने नारालाई आत्मसात गर्दै अघि बढिरहेको यस भक्तपुर नगरपालिकामा १५ वर्षको जनप्रतिनिधिविहीन अवस्था÷वर्षाैँ वर्षको आरोह अवरोधपछि गत २०७४ को स्थानीय सरकारको चुनावपश्चात् जेठ ७ गतेबाट काम गरे र हामी जनप्रतिनिधिहरू दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेका छौँ ।
यो ऐतिहासिक÷सम्पदाहरूको नगर ‘जीवन्त नगर’ को रूपमा सुपरिचत नगर हो । यस नगरलाई ‘स्वर्गको टुक्रा’ को उपनामले चिनिने गरेको हामीले पाएका छौँ । यस्तो विशिष्टताको परिचय बोकेको नगरका नगरवासी हुनुमा हामी सबै गौरवान्वित छाँै । यो हाम्रो गौरवलाई जोगाई राख्ने मुख्य लक्ष्यका साथ नेपाल मजदुर किसान पार्टीको मार्ग निर्देशनलाई आत्मसात गरी हामी लागिरहेका छौँ, लागिरहने छौँ । यहाँहरूसामु राखेका वाचाहरूलाई पूरा गर्न हामी सम्पूर्ण जनप्रतिनिधिहरू यहाँहरूसँगै हातेमालो गर्दै अगाडि बढिरहेको विदित्तै छ । यस अवधिमा भए गरेका उपलब्धिहरूलाई हामीले आत्मसात गरिरहेका छौँ । हामीले नगरवासी, जनप्रतिनिधि र कर्मचारी प्रशासनलाई एउटा बलियो र उत्कृष्ट नगरका तीन खम्बाका रूपमा लिएका छौँ । नयाँ पुस्ताहरूसँग पनि हामीले यसरी नै विधि र विधानमा टेकेर यस नगरलाई देशकै उत्कृष्ट र अनुकरणीय नगर बनाउने प्रण गरौँ ।
भक्तपुर नगर नेपालकै सानो नगर हो । यो ६.८८ वर्ग कि.मि. क्षेत्रभित्र रहेको देशकै बढी जनघनत्व भएको नगर हो । पुर्खाद्वारा रचिएका संरचनाहरू, हाम्रो कला, संस्कृतिलाई संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु हामीले कर्तव्य ठानेका छौँ । यो नगर हाम्रा पूर्वजहरूले त्यसैबेला एउटा उत्कृष्ट÷समृद्ध सभ्य नगरको रूपमा विकास गरिसकेका थिए भन्ने कुरा हाम्रो कला संस्कृतिबाट प्रमाणित हुन्छ । यस्ता नगरलाई आजभोलि आधुनिक समाजले Smart City भन्न रुचाउँछ भने यसलाई हामी सुसंस्कृत नगर भन्छौँ ।
हो, उपत्यकाका हाम्रा सबै नगरहरू १२ औँ शताब्दीदेखि Smart City थिए । हामीले गौरवमय नगरमा जीवन व्यतित गर्ने सुअवसर पाइरहेका छौँ । यस्ता अवसर हामीपछिका पुस्ताहरूले पनि व्यतित गर्न पाउन, उनीहरूको हकलाई वञ्चित हुन नदिन समाजले हाम्रो धर्म, नीतिनियम, कानुन, कला, संस्कृतिलाई अङ्गीकार गर्दै हाम्रो कला÷संस्कृति रीतिरिवाजको माध्यमबाट नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्छ । अझ विज्ञान र प्रविधिसँग जोडेर समाज र समाजका हरेक अवयवहरूलाई आजको यथास्थितिमा बचाइराख्नु हाम्रो कर्तव्य हो । यस कार्यमा लाग्न हाम्रो जोड रहनेछ । भक्तपुर सम्पदा क्षेत्रमा परेको र विश्वमा पूर्वीय सभ्यताको महत्व बोकेको कारणले हामीले यसलाई जोगाइराख्नु जरुरी छ । कला र सम्पदाको माध्यमबाट विश्वका पर्यटकहरूलाई आकर्षण गर्न हाम्रो नगर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ ।
पर्यटक गन्तव्यस्थलको रूपमा विकास भए नगरवासीको आयस्रोत उकास्न सकिने छ । यहाँँ अन्य प्राकृतिक स्रोतको अभावका कारण यसलाई विकल्पको रूपमा हामीले पहिल्याउनुपर्दछ । यसको निमित्त हामीले शिक्षालगायत प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ । यसको आवश्यकतालाई मध्यनजर गर्दै नेमकिपाका जनप्रतिनिधिहरूले वि.सं. २०५६ बाट शिक्षाको माध्यमबाट स्थानीय बुद्धिजीवी एवम् विज्ञहरू उत्पादन गर्ने कामको थालनी गरे । ‘एक घर एक स्नातक’ बाट सुरु भएको यो शिक्षा अभियान आजको दिनसम्म आउँदा हामीले धेरै विज्ञहरू पाइसकेका छौँ । यसबाट हामीले नगर विकासमा टेवा पुगिरहेको महसुस गरेका छौँ । हाम्रा यी गौरवशाली धरोहरलाई अध्ययन, अनुसन्धान र अन्वेषणको माध्यमबाट परम्परागत शैली कायम राखी मौलिक प्रविधि, स्थानीय निर्माण सामग्री र कालीगढबाटै सकेसम्म जस्ताको तस्तै नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नवनिर्माणमा यही किसिमले हामी योजना बनाएर अघि बढिरहेका छौँ ।
२०७५ माघ २६ गते प्रकाशित अन्नपूर्ण पोष्टमा मोहन बन्जाडेले भन्नुभएको छ, “कुनै देशले युद्धमा पराजित भई भूमि गुमाए अर्को पुस्ताले युद्ध गरेर पनि फिर्ता लिनसक्छ । तर कुनै मुलुक सांस्कृतिकरूपमा समाप्त गरिए त्यो पराजय सधैँको लागि खतरा हुन्छ ।” उहाँले अगाडि लेख्नुभएको छ, “मुलुकलाई सांस्कृतिकरूपमा आक्रमण गर्दा त्यो मुलुकमा धर्म, परम्परा, संस्कार, प्रचलन, व्यापार, भाषा, गीत, सङ्गीत, कला, संस्कृति, सामाजिक सद्भावका सूत्रलाई विस्थापित गर्ने÷भत्काउने÷कमजोर पार्ने÷भ्रमित गर्ने वा कुण्ठित बनाउनेमध्ये जे र जति सक्यो त्यति गरिन्छ । यस्तो सांस्कृतिक पतन गराउन अवस्थाअनुसार भय, लोभ र लालच देखाइन्छ ।” आज हामीले भोग्दै गरेको कटु सत्य यहाँहरूसामु राखँे । आधुनिकताको नाउँमा काठमाडौँ उपत्यकाका हाम्रा बस्ती र धरोहर मास्ने अर्थात् ‘सांस्कृतिक आक्रमण’ गर्ने उद्देश्यले वास्तुशास्त्रको आधारमा ४ वटा SMART CITIES निर्माण गर्ने भनी उपत्यकामा बाँकी रहेका जग्गाहरू धमाधम अधिग्रहण गरिँदै छ । स्थानीय जनतालाई उठीबास गरिँदै छ । के नेपाल काठमाडाँै उपत्यकामात्र हो ? के देशका अन्य स्थानका बासिन्दाहरूले आ–आफ्ना स्थानहरू विकास नचाहेका हुन् ? यो उपत्यकाको संस्कृति मास्ने प्रपञ्च हो, हस्तक्षेप हो । नेपालका अन्य ठाउँहरूमा पनि गौरवशाली कला संस्कृतिहरू छन् । हामी विश्वभर प्रकृति÷कला संस्कृति÷भाषामा विविधताको देश भनेर चिन्दछौँ । सरकारले नेपालका सबै जनतालाई एउटै खाल्डोमा कोचेर केन्द्रीय तवरले रजाइँ गरी आफ्नो स्वार्थ पूरा गर्न खोजिँदै छ भन्ने आभास जनताले गरिरहेका छन् । ।
कुनै सहरलाईSMART बनाउन स्थानीय जनताले ग्रहण गर्न सकिने हुनुपर्दछ । एउटा स्वस्थ शरीरलाई आवश्यक पर्ने स्वच्छ हावा, सफा पानी, बाटो घाटोसहितको समाजको लागि आवश्यक संरचनाहरू, नगरवासीहरूका लागि सुविधायुक्त घरहरू अनि आम नागरिकले सुरक्षित महसुस गर्न सकिने नगर हुनुपर्दछ । तर, हाम्रो देशमा दम÷खोकीका रोगी, पानीको हाहाकार र बाटोघाटोको दुरवस्था छ । के काठमाडौँ उपत्यकाले यी भएका र बन्दै गरेका थप ४ SMART CITIES ठेग्न सक्छन् त ? भएका नगरहरूको व्यवस्थापन गर्नुपर्ने होइन र ? स्मार्ट सिटीको नाउँमा उपत्यकाका पुराना नगरहरू जोडेर अन्ततोगत्वा (Meghacity / Metro polytan city) बनाउने नियतले यो योजना अगाडि ल्याइएको उपत्यकावासीको बुझाइ रहेको छ । उपत्यकालाई Manila/Delhi जस्ता अस्तव्यस्त नगर बनाउन लागिएको पनि जनताको धारणा रहेको छ ।
SMART CITY आफैमा राम्रो Concept हो तर काठमाडाँै उपत्यकामा मात्रै किन बनाउने ? समाधानका उपाय र स्थान धेरै हुनसक्छ, जसरी मध्यकालीन समयमा भक्तपुरको Sattelite Town को रूपमा बनेपा, धुलिखेल, खङ्पु, पनौती भनेजस्तै ललितपुरको बुङ्गमति, खोकना, लुभु आदि हुन् । आजको अवस्थामा विकेन्द्रीकरणको सिद्धान्तअनुसार ठूला Sattelite Town उपत्यका बाहिर राख्न सकिन्छ । के हामी नेपालीहरू यस्ता नगर योजना एवम् निर्माण गर्न सक्षम छैनौँ ? के हामीले जे गर्न पनि विदेशीहरूकै मुख ताक्नुपर्ने हो ? हाम्रा विषय विज्ञहरू आफ्नो देशमा काम नभएर Braindrain हुन बाध्य छन् । नयाँ जोश जाँगर बोकेर आ–आफ्ना विषयमा विज्ञता हासिल गरिरहेका नागरिकबाट यी र यस्ता कामहरू गराउँदा अझ नेपालीपन झल्कन सक्छ, होइन भने हामीले सामाजिक सञ्जालमा देखेझँै अमेरिकामा एउटा park मा इन्द्रजात्रामा कुमारीको रथ तानेर मनाएझँै यी सहरका बासिन्दाहरूले पनि आफ्नै देशमा विदेशमा जात्रा मनाएझँै÷मौलिकताविहीन भएर Mechanised life बिताउनुपर्ने हुन्छ । यसले हाम्रो पहिचान मेटिने छ । अनि हाम्रा नयाँ पुस्तालाई हामीले उपत्यकावासीको चिनारी दिन पुस्तक video clips बाहेक केही रहनेछैन । यसमा हामी सम्पूर्ण उपत्यकावासीहरू सचेत र सजग हुनु जरुरी भइसकेको छ । यसका लागि उपत्यकावासीको आवाज बुलन्द हुन जरुरी छ । हाम्रो सम्पदा÷धरोहरलाई जोगाई उपत्यकामा हाल भएको जनसङ्ख्यालाई व्यवस्थित गर्न अत्यावश्यक सुविधा र सुरक्षा दिनु बुद्धिमानी हुनेछ ।
हामी जनप्रतिनिधिहरू ‘सय वर्षपछिको भक्तपुर’ मा श्रद्धेय नारायणमान बिजुक्छें (रोहित) ले भन्नुभएझैँ भक्तपुरलाई ‘उत्सवको सहर÷वर्षभरि चाडको नगर’ र ज्ञान विज्ञानको केन्द्र बनाउन अघि बढ्ने छन् र यसलाई निरन्तर अघि बढाउन प्रणाली बनाउँदै जानेछौँ । सय वर्षपछिको भक्तपुरको परिकल्पनालाई पूरा गर्न हामी सबै लाग्न सकेमा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गरी ज्ञानविज्ञानको केन्द्र बनाउन सकिनेछ । हामी नगरका सभ्य÷सुु–संस्कृत र सुरक्षित नगरवासीको रूपमा सुपरिचित हुनेछौँ । हाम्रो पहिचान बन्नेछ । हामी सबैजना आ–आफ्नो स्थानबाट न.पा.सँग हातेमालो गर्दै अगाडि बढौँ ।
(भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले पदबहाली गरेको दुई वर्ष पुगेको अवसरमा मङ्गलबार जेठ ७ गते भएको कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले दिनुभएको मन्तव्य)
Leave a Reply