भर्खरै :

वाशिङ्टनका कारण इरानी सङ्कट बढ्ने सम्भावना

वाशिङ्टन, २७ मे । संरा अमेरिकाले मध्यपूर्वमा हालै थपेको सेना र अन्य सैनिक बन्दोबस्तीका सामग्रीका कारण इरान र संरा अमेरिकाबीच तनाव अझ पेचिलो बन्ने सम्भावना बढेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पछिल्लो तनावपूर्ण अवस्थाप्रति चिन्तित छन् ।
संरा अमेरिकाले इरानको दक्षिणी समुद्री क्षेत्रमा युद्धपोत र बमहमलाकारी टुकडी तैनाथ गरेको छ । साथै इराकमा कूटनीतिक प्रतिनिधि र कर्मचारीको सङ्ख्या पनि घटाएको छ । इरान र उसका सहयोगीबाट संरा अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने गोप्य सूचनाको आधारमा संरा अमेरिकाले इराकमा आफ्ना प्रतिनिधिको सङ्ख्या घटाएको हो ।
गएको शुक्रबार मात्र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा थप पन्ध्र सय संरा अमेरिकी सेना तैनाथ गर्ने घोषणा गरे । संरा अमेरिका र इरानबीचको पछिल्लो तनावको सुरुआतको बिन्दु भनेको सन् २०१८ को मे महिनामा वाशिङ्टनले संयुक्त विस्तृत योजना कार्यक्रम (जसलाई इरान आणविक सम्झौता पनि भनिन्छ) बाट हात झिकेदेखि हो ।
वाशिङ्टनले इरानी सम्झौतालाई ‘गलत’ भएको दाबी गर्दै आएको छ । सम्झौताले इरानको आणविक गतिविधि, हतियार निर्माण र उसको क्षेत्रीय भूमिकालाई निरन्तरता दिने वाशिङ्टनको भनाइ छ ।
वाशिङ्टनले इरानसँगको सम्झौता तोडेर इरानी आणविक कार्यक्रममाथि थप नियन्त्रण गर्न खोजिरहेको छ । साथै इरानले गरिरहेको भनिएको ब्यालेस्टिक मिसाइल निर्माण बन्द गराउने उसको योजना छ । अनि मध्यपूर्वमा बढ्दो इरानी प्रभावलाई संरा अमेरिका रोक्न चाहन्छ ।
इरानी आणविक सम्झौताबाट हात झिकेलगत्तै संरा अमेरिकाले तेहरानमाथि थोपरेको नाकाबन्दीका कारण आर्थिक कठिनाइको सामना गरिरहेको छ । यसअघि सन् २०१५ को आणविक सम्झौताको आधारमा इरानमाथिको नाकाबन्दी फिर्ता गरिएको थियो ।
इरानले आणविक सम्झौतामा हस्ताक्षर गरेका देशहरूले आफ्ना आर्थिक हितमाथि रोक लगाए आणविक गतिविधि नगर्ने आफ्ना पूर्वप्रतिबद्धतामध्ये केही बुँदा उल्लङ्घन पनि गर्न सक्ने बताएको छ ।
मे ८ का इरानी राष्ट्रपति हस्सन रोहानीले तेहरानले इरान आणविक सम्झौतामा युरेनियम र युरेनियम शुद्धिकरण गर्दा निस्कने तरल पदार्थमा धनी आफ्नो देशमाथि थोपरिएको नाकाबन्दीको प्रतिकारमा केही त्यस्ता बुँदा अस्वीकार गर्ने चेतावनी दिएका थिए ।
उनले सम्झौतामा हस्ताक्षर गर्ने सबै देशको नाममा ६० दिनको म्याद दिएर बैकिङ र तेलको कारोबारमाथि लगाइएको रोक फुकुवा गर्न आग्रह गरेका थिए ।
रोहानीले इरानमाथिको नाकाबन्दी चालु रहे युरेनियम विकास र अन्य आणविक प्रयोजनका वस्तुको निर्माणलाई बढाउने चेतावनी समेत दिनुभयो ।
“आणविक सम्झौताका केही बुँदा उल्लङ्घन गर्ने तेहरानको निर्णयको अर्थ युरोपेली देशहरूलाई आफ्नो जिम्मेवारीप्रति सजग बनाउनु हो । त्यसो गर्न सके मात्र अन्तर्राष्ट्रिय सम्झौता पहिलेको बाटोमा फर्किनेछ”, आणविक उर्जा सङ्गठन इरानका प्रवक्ता बेरोज कमलबन्दीले भने । संरा अमेरिकी ट्रम्प सरकारले इरानविरुद्ध अधिकतम दबाब दिने नीति अङ्गीकार गरेको छ ।
“अब धेरै कुरा ट्रम्प सरकारमा भर पर्नेछ । साथै वाशिङ्टनमा भइरहेका घटनाक्रमप्रति तेहरानको बुझाईमा पनि भर पर्नेछ”, कुटनीतिज्ञ जोनाथन मार्कसले भने ।
दुई देशबीच तनाव बढे पनि र सैनिक रूपमा तयारी गरे पनि दुवै पक्षका अधिकारीहरूले आफू युद्धको पक्षमा नरहेको बताइरहेका छन् ।
इरानका अन्तर्राष्ट्रिय मामिलाविज्ञ सादल्लाह जारिईले भने, “इस्लामिक गणराज्यसँग संरा अमेरिकाले युद्ध गर्ने कुनै सङ्केत छैन ।”
“संरा अमेरिकाले इरानसँग लडाई गर्न नचाहनुका धेरै कारण छन्”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *