भर्खरै :

“भियतनाम–युद्धबाट अमेरिकाले पाठ सिकेको छैन”

जोराल
भियतनाम देश सानो छ । यो देश हिजो विश्वको महाशक्ति देश अमेरिकी साम्राज्यवादसँग गरेको सङ्घर्षको कारण प्रख्यात भएको थियो । आज पनि काका हो कि । भियतनामी जनतालाई आदरपूर्वक सम्मान र स्मरण गर्छन् । अहिले भियतनाम कम्बोडियामाथि हमला गर्ने ‘आक्रमणकारी’ देशको रूपमा पनि चर्चित छ ।
विश्वको ‘प्रजातन्त्र’ का ठेकेदार महाशक्ति देश अमेरिका सानो देश भियतनामबाट ‘पराजित’ भई फर्केको दसौँ वर्षगाँठ भर्खरै समाप्त भएको छ । सन् १९७५ अप्रिल ३० तारीखमा अति घृणित युद्धबाट अन्तिम अमेरिकी सेना फर्केको दिन हो ।
भियतनामको सङ्क्षिप्त इतिहास
दक्षिण चीन सागरको छेउमा अवस्थित भियतनाम देश उत्तर–दक्षिण लाम्चो परेको छ । भियतनामको उत्तरी भागमा सोङ्गकोइ (लाल नदी) छ । त्यस नदीको वरपर ठूलो भू–भाग टंकिन भूमि ( Tonkin Lowland) छ । त्यसै टंकिन क्षेत्रबाट भियतनामको इतिहास सुरु भएको पाइन्छ ।
आजभन्दा २१९२ वर्षअघि अर्थात् ईशा पूर्व २०७ मा त्यस टंकिन क्षेत्रमा नामभियत (Namviet) भन्ने राज्य थियो । त्यो राज्यमाथि चीनको हानवंशले ई.पू. १११ मा कब्जा ग¥यो । हानवंशले राज्यको नाम अन्नाम (Annam) राख्यो । अन्नामको स्थानीय अर्थ दक्षिणी प्रभुत्व हो । हानवंशले धेरै शताब्दीसम्म शासन ग¥यो । १० औं शताब्दीमा आएर अन्नाम चीनको हानवंशबाट मुक्त भयो र लिवंशको शासन चल्यो । त्यसपछि ट्रान्ह र चाम वंशको शासन चल्यो । ट्रान्ह वंशले मङ्गोलहरूलाई हराए । चामवंश सुरु भएपछि मेकङ मुहान भूमितिर बढेर खमेरहरू (आजको कम्बोडियाको भूभागका बासिन्दा) लाई धपाए र भूभाग कब्जा ग¥यो ।
त्यस क्षेत्रमा युरोपीयहरूको प्रवेश १५ औं शताब्दीदेखि भएको पाइन्छ । त्यहाँ पुग्ने पहिलो युरोपवासी पोर्तुगालका मानिस थिए । त्यसपछि त्यहाँ डच, अङ्ग्रेज, फ्रान्सिसीहरू पनि पुगे । फ्रान्सिसीहरूले सन् १७८७ पछि आफ्नो हैकम चलाउन थाल्यो ।
सन् १८०२ मा सम्राट गियालोङले शासन गरे । उनले १८ वर्ष (१८०२–१८२०) को शासन अवधिमा देशको एकीकरण गरे । उनीपछिका शासकहरूको पालामा क्रिश्चियन मिसन (धर्म प्रचारकहरू) ले देशको शासन र अन्य क्षेत्रमा हस्तक्षेप गर्न र बाधा दिन थालेपछि तिनीहरूलाई नियन्त्रण गर्न खोजे । तर, फ्रान्सले त्यसैलाई निहुँ बनाई सन् १८६२ मा भियतनामको दक्षिणी भागमाथि जबरजस्ती कब्जा ग¥यो । सन् सन् १८६२ मा भियतनामको दक्षिणी भागमाथि जबरजस्ती कब्जा गरियो । त्यसको २० वर्षपछि टंकिन र अन्नामको संरक्षकत्व फ्रान्सले लियो । सन् १८९९ मा आएर फ्रान्सले हिन्द चीन सङ्घ बनायो । त्यस सङ्घमा टंकिन, अन्नाम, भियतनामको दक्षिणी भाग, लाओस र आजको कम्बोडियाको धेरै भू–भाग पनि गाभ्यो । त्यसको संरक्षकत्व लिनाले ती क्षेत्रका जनतामाथि शोषण र दमन बढ्यो तर फ्रान्सलाई अति नाफा भयो ।
दोस्रो विश्वयुद्धको बेला पश्चिमबाट जर्मनी र पूर्वबाट जापान बढिरहेको थियो । पूर्वबाट बढेको जापानले चीनका थुप्रै भू–भाग सँगसँगै भियतनाममाथि पनि कब्जा जमायो । जापानले भियतनाम कब्जा गरेपछि फ्रान्सको धाक घट्यो ।
भियतनाममाथि विदेशीहरूको त्यस आक्रमणलाई भियतनामी जनताले सहन सक्ने कुरै थिएन । आक्रमणकारीहरूविरुद्ध भियतनामी जनता सङ्घर्ष गर्दै आए । प्यारो पितृभूमिको लागि सयौँ हजारौँले आफ्नो जीवन अर्पण गरे । भियतनाम मजदुर पार्टी (पहिलेको हिन्द चीन कम्युनिष्ट पार्टी) को नेतृत्वमा भएको अगस्त क्रान्तिबाट २ सेप्टेम्बर १९४५ का दिन हो चि मिन्हले जनगणतन्त्र भियतनामको घोषणा गर्नुभयो ।
त्यसको केही समयपछि फ्रेन्च उपनिवेशवादीहरूले भियतनामविरुद्ध आक्रमण सुरु गरे । सन् १९४६ मा फ्रान्सले गणतन्त्र भियतनामलाई मान्यता दिने जस्तो कुरा ग¥यो । तर, त्यस सम्झौतालाई भङ्ग गराई गृहयुद्ध सुरु गरियो । फ्रान्सले बाओ डाइ (Boa Dai) को प्रतिक्रियावादी सरकारलाई मान्यता दियो । सन् १९४६ मा बाओ डाइ सरकारको भियतनाम फ्रान्सको उपनिवेशको लाजलाग्दो दर्जा पायो–फ्रेन्च सङ्घअन्तर्गत ।
देशभक्त भियतनामी जनताले फ्रान्स त्यसको कठपुतली सरकारसँग युद्ध गर्दै गयो । सन् १९५४ को डियनबियन फूको ऐतिहासिक विजयबाट सानो राष्ट्रले पनि शक्तिशाली साम्राज्यवादी देशलाई हराउन सक्छ र आफूलाई मुक्त पार्नसक्छ भन्ने कुरा विश्वसामु देखायो । मे महिनामा भएको डियन बियन फूको युद्धमा फ्रान्सको हार भएको थियो ।
आफू बलियो भएसम्म शान्ति वार्ताको ‘नाटक’ सम्म खेल्न नरुचाउने साम्राज्यवादी फ्रान्स डियन वियन फूको हारपछि जेनेवा शान्ति सम्मेलनमा हाजिर हुनपुग्यो । त्यस सम्मेलनबाट २० जुलाई १९५४ मा फ्रान्सले उत्तर भियतनामलाई मान्यता दियो । साम्राज्यवादीहरूले एक देशलाई दुई देश बनाउने नीति ल्याए । त्यस नीतिअनुसार १७ औँ अक्षांश” को रेखा सीमा रेखा बनाइयो । तर, त्यो राजनैतिकरूपमा अस्थायी विभाजन रेखामात्र थियो ।
सन् १९५४ मा नै SEATO (दक्षिण पूर्व एसिया सन्धि सङ्गठनमा साम्राज्यवाद र उसका ‘सहयोगी’ हरू सदस्य थिए । त्यस सङ्गठनमा अष्टे«लिया, फ्रान्स, न्यूजिलायण्ड, पाकिस्तान, (पछि छोड्यो), फिलिपाइन्स, थाइलायन्ड, संयुक्त अधिराज्य र संरा अमेरिका सदस्य छन् । यस सङ्गठनको मूल उद्देश्य साम्यवाद रोक्न सामूहिक प्रयास गर्ने थियो । त्यसै उद्देश्य पूर्तिको लागि भियतनामी जनताको नृशंस हत्यामा संरा अमेरिकाको साथ दिन द. कोरिया, न्यूजिलायण्ड फिलिपाइन्सले लाखौँ लाख सिपाहीँहरू भियतनाम पठाएको थियो । जापानले भियतनाममा रासायनिक युद्धको लागि दलहरू खडा गर्न अमेरिकाको साथ दिएको थियो ।
भियतनाको कुल क्षेत्रफल १,२५,८८२ वर्ग माइलमध्ये उत्तरतर्फ ५९,९२४ वर्ग माइल र दक्षिणतर्फ ६५,९५८ वर्ग माइल प¥यो । भियतनामको कुल लम्बाइ उत्तर–दक्षिण १ हजार माइल छ भने चौडाइ ३५ माइलदेखि ३ सय माइलसम्म छ । अहिले पुग नपुग ६ करोड जनसङ्ख्या छ ।
भियतनाम टुक्राएपछि पनि फ्रान्स ‘प्रत्यक्ष’ रूपमा हैकम चलाउन असमर्थ भयो । भियतनामी जनताको मारबाट बच्न फ्रान्स हट्न बाध्य भयो । तर, अर्को साम्राज्यवादी देश संरा अमेरिकाले दक्षिण भियतनामका सेनालाई तालिम दिने निहुँमा सैनिकहरू द.भियतनाम (सैगन) पठाउन सुरु ग¥यो । त्यसभन्दा अगावै पनि अमेरिकाले भियतनाममाथि हमला गर्ने असफल प्रयास गरिसकेको थियो ।
विश्वका सबैजसो साम्राज्यवादी देशहरूले लुछिरहेको विशाल चीनका जनताले आफ्नो देश मुक्त गर्न लडाइँ लडेका थिए । साम्राज्यवादी प्याडा च्याङ्गकाइशेक कम्युनिष्टहरूमाथि निर्मम दमन गर्दै साम्राज्यवादीहरूप्रति बफादारिता दर्शाइरहेको थियो । अमेरिकी साम्राज्यवादले च्याङलाई भियतनाममाथि हमला गर्ने आवश्यक निर्देशन दिइसकिएको थियो । यो घटना सन् १९४७ तिरको हो । तर, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले साम्राज्यवादी पिठ्ठु च्याङका सेनालाई एकपछि अर्को मोर्चामा पराजित गर्दै गए । सन् १९४९ अक्टोबरमा पुग्दा च्याङ आफै ताइवान भाग्नुप¥यो । च्याङबाट आफ्नो ‘अपराध’ सफल नभएपछि १९ मार्च १९५० मा अमेरिकाले युद्धपोत र विमान सैगन पठायो । सोही वर्ष अमेरिकाले कोरियामाथि हमला गरेको थियो ।
अब द. भियतनाम फ्रान्सको सट्टा अमेरिकाको उपनिवेश बन्यो र त्यसैको इसारामा द.भियतनामको सरकार ‘नाच्न’ थाल्यो ।
विभाजनपछि सन् १९५५ मा दक्षिण भियतनाममा एउटा जनमतसङ्ग्रह भयो । अमेरिकालाई आफ्नो अनुकूलको सरकार स्थापना गर्नु थियो । त्यस जनमतको नाटकबाट बाओ डाई अपदस्थ गराइयो र न्गो डिन्ह डियम (Ngo Dinh Diem) लाई राष्ट्रपति बनाइयो । तर, डिन्ह डियमप्रति वाशिङटनले बनाएको धारणामा गडबडी देखियो । तब ‘भाग्य’ लेखी वाशिङटनका ज्योतिषहरूले डिन्ह डियम र उसको भाइको जन्मकुण्डलीमा ‘हत्या’ लेखियो । यो काम कुख्यात अमेरिकी गुप्तचर संस्था सी. आइ. ए. ले सन् १९६३ मा सम्पन्न ग¥यो । त्यहाँदेखि द.भियतनामको सत्तामा सैनिक जुन्टा रहन थाले । सन् १९६५ मा अमेरिकी सरकारका विश्वास पात्र न्गुयन काओ की प्रधानमन्त्री बनाइए । बाहिरबाट हेर्दा अमेरिका हिटलरका विरोधी थिए । तर, हिटलरका प्रशंसकहरू अमेरिका मन पराउँछन् । यसको पुष्टि काओे कीको नियुक्तिले गर्छ । काओ कीको दृष्टिमा संसारमा कुनै वीर छ भने एकमात्र–हिटलर !
१७ औँ अक्षांसको उत्तरतर्फको भियतनाम माक्र्सवाद–लेनिनवादका समाजवादी बाटोमा विकास गर्दै गयो । ठूला शत्रु देशसँग लड्दा साना देशलाई तुलनात्मकरूपमा बढी क्षति हुनु स्वाभाविक हो । यद्यपि समाजवादी देशहरूको सहयोगबाट उत्तर भियतनामले विकास निर्माणका बाधा अड्चनहरू पार गर्दै गयो । यसका साथै शान्तिपूर्ण एकीकरणको लागि शान्ति वार्ताको सफलताको निम्ति प्रयास हुदै गयो । शान्ति वार्तामा विभिन्न सम्झौतामा सही गरेको मसी नसुक्दै अमेरिकी साम्राज्यवादले त्यसको उल्लङ्घन गर्याे । यसरी धेरै वर्षहरू बिते ।
अमेरिकाले ‘साम्यवाद रोक्न’ साम्राज्यवादी सेना जुनसुकै देशमा पु¥याउन सक्थ्यो, आक्रमण गर्न सक्थ्यो र निहत्था जनतामाथि जथाभावी गोली छोड्न सक्थ्यो । अमेरिकी साम्राज्यवादले त्यस नारालाई आज निकारागुआ, एल्साल्वाडोरजस्ता देशमा घोक्दै छ भने ग्रेनाडाको उदाहरण ताजा नै छ । यसबाहेक थुप्रै देशमा सैनिकहरू तैनाथ गरिराखेको सर्वकिदित्तै छ । भियतनाम त्यसैको एक नमुना थियो । संरा अमेरिकी सेनाका मुख्य सचिव एच.के. जोन्सनअनुसार “भियतनाम युद्ध कम्युनिष्ट क्याम्पसँग लड्ने अमेरिकी क्षमताको परीक्षा हो ।”
सहयोग गर्ने सम्बन्धमा पनि साम्यवाद रोक्ने नीति क्रियान्वित भएको पाइन्छ । दोस्रो विश्वयुद्धको बन्दुकको आवाज थामिएपछि विश्वका थुप्रै देशका भोका नाङ्गा जनताले साम्यवादको झण्डा उचाले । पुँजीवादीहरूले एउटा योजना ल्याए जसलाई मार्सल सहयोग (Marshal Aid) भनिन्छ । यस योजनाको उद्देश्य साम्यवादी अभावलाई रोक्नु प्रमुख थियो । त्यसका लागि संरा अमेरिकाले १९ अरब डलर सहयोग दियो । यस योजनाअन्तर्गत शत्रु र मित्र दुवैलाई आर्थिक व्यवस्था पुनःनिर्माणको लागि सहयोग गर्ने भनिएको थियो । तर, त्यो सही कुरो थिएन । पुँजीवादीहरूको प्रभुत्व रहेको मार्सल सहयोग निष्पक्ष रहेन र रहन पनि सक्दैन । सोही कुरा भियतनामलाई सहयोग गर्ने कुरामा लागू भयो ।
सन् १९७३ मा अमेरिकाका तात्कालीन राष्ट्रपति निक्सनले भियतनामका प्रधानमन्त्रीलाई लेखेको एक पत्रमा पुनः निर्माणको लागि ३२ लाख ५० हजार डलर विनाशर्त सहयोग दिने ‘प्रतिज्ञा’ गरे । तर, त्यो रकम दिने त परै जाओस् अन्य विदेशी सहयोगमा समेत बाधा पु¥याएर कार्टर प्रशासनले अमेरिकी नीति पुनः प्रस्ट पा¥यो ।
भियतनामको मुक्ति र राष्ट्रिय एकताको दृढ इच्छालाई साम्राज्यवादीहरूले रोक्न सकेनन् र अन्य देशमा पनि रोक्न सक्दैनन् । अमेरिकी साम्राज्यवादले भियतनामी जनताको आवाज दबाउन दोस्रो विश्व युद्ध र कोरियामा खसालेको बमको पुग नपुग तीन दोब्बर अर्थात् ७ अरब के.जी. बम खसालेको थियो । भियतनाममा खसालेको त्यो बम प्रतिवर्ग माइलमा ५५,६०७ के.जी. भन्दा बढी पर्छ । यसबाट इतिहासको अति घृणित पात्र हिटलरभन्दा अमेरिकी साम्राज्यवाद संहारमा अझ अगाडि परेको देखिन्छ ।
महाशक्ति देश अमेरिका र फ्रान्ससँग लामो युद्धमा संलग्न रहे पनि भियतनामजस्तो सानो एवम् गरीब देशको अर्थ व्यवस्थामा गम्भीर सङ्कट नआउनुको प्रमुख कारण समाजवादी राष्ट्रहरूको दरिलो सहयोग हो भन्ने सम्बन्धित विज्ञहरूको भनाइ छ ।
भियतनामी जनताको अदम्य साहस, मुक्ति र राष्ट्रिय एकताको अपूर्व इच्छा, समाजवादी एवम् साम्राज्यवादविरोधी अन्य राष्ट्रहरूको अनुपम सहयोग विश्वका तमाम न्यायप्रेमी जनताको अमेरिकी साम्राज्यवादप्रतिको असीमित घृणा र विरोधकोे परिणामस्वरूप ३० अप्रिल १९७५ का दिन भियतनाम पूर्णरूपमा मुक्त भयो ।
अमेरिकाका दुई इमानदार ‘कुकुर’ द.भियतनामको राष्ट्रपति बनेका न्गुयन भान थ्यू ३५ सय केजी सुन लिएर ताइवान भागे । त्यस्तै प्रधानमन्त्री बनेको न्युयन काओ की पनि थुप्रै धन बोकेर अमेरिका भागे जो अपराध कार्यमा संलग्न छन् ।
भियतनाम युद्ध किन ?
एउटा शक्ति सम्पन्न देश अमेरिकाले सानो, गरीब देशमाथि लादेको युद्ध स्वस्थ दिमागको सोचाइमा अनावश्यक छ । तर, ८०० माइल टाढाको भियतनाममा अमेरिकाले आफ्नो शक्ति र सम्पति खर्च गयो । अमेरिकाले आजसम्म लडेका मध्ये सबभन्दा लामो, दुःखदायी, खराब युद्ध भियतनाम युद्ध बन्न पुग्यो । यद्यपि अमेरिकी नीति निर्माताहरू भियतनाम युद्धको औचित्य देख्छन् । हालै अमेरिकाको भू.पू. परराष्ट्रमन्त्री रहिसकेका हेनरी किसिञ्जरले एउटा लेख प्रकाशित गरेका छन् । त्यो लेख भियतनाममाथि अमेरिकी हमलाबारे नै थियो । त्यस लेखमा किसिञ्जरले आफ्नो बौद्धिकताको प्रदर्शन गरेको छ, एक आक्रमणकारी देशको भूपू विदेश मन्त्रीको हैसियतले । तर, त्यस लेखमा भियतनामी जनताको राष्ट्र प्रेम, उपनिवेशवाद र विदेशी हस्तक्षेपविरुद्धको लामो सङ्घर्षमय इतिहासबारे कुनै उल्लेख गरेको छैन भन्ने समालोचकहरूको भनाइ छ ।
अमेरिकी नीति निर्माताहरू एसियामा साम्यवाद रोक्न अमेरिकी प्रशासनले ५८,०२२ जनाको मृत्यु र ३ लाख घाइते बनायो । यो मुत्यु र घाइतेको तथ्याङ्क वाशिङटनको एक पर्खालमा लेखिएको छ । त्यसबाहेक भियतनाम युद्धबाट प्रभावित दसौँ लाख मानिसहरूबारे कतै केहीँ उल्लेख गरिएको छैन । भियतनाम युद्धमा अमेरिकाले १ अरब ५० करोड डलर खर्च गरेको छ । द.पू. एसियामा साम्यवाद रोक्न अमेरिकालाई फलामको चिउरा चपाउनुभन्दा गा¥हो भयो र भियतनामी जनताले कागजी बाघ सावित गरेर फर्काई दिए ।
भियतनाम युद्ध अमेरिकी नीति निर्माताहरूले बनाएको विदेश नीतिको परिणति थियो । ती नीति निर्माताहरू फासीवादका छोरा नाति नभएर पनि हिटलर मुसोलिनीको बिडो थाम्ने ‘प्रजातन्त्रका सर्दारहरू’ हुन् । केनेडी प्रशासनका राज्य विभागका र जोन्सन प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार रहिसकेका बाल्ट डब्ल्यु रोस्टोको अनुसार “फ्रान्कलिन रुजभेल्टदेखि रोनाल्ड रेगनसम्मका नौ जना राष्ट्रपतिहरूले विश्वका, विशेषगरी एसियाको राजनैतिक इच्छाविरुद्ध गम्भीर सुरक्षात्मक कदम चाले ।” अमेरिकी विदेश नीतिले युद्धको सृजना गर्छ भन्ने कुरा यथेष्ट प्रमाणहरू छन् । लेवनान, ग्रेनाडा, निकारागुआ, एल साल्वाडोरका घटनाक्रम रेगन प्रशासनको विदेश नीतिको ‘युद्ध’ सन्देशकै हाँगाबिँगा हुन् ।
अमेरिकी नीति निर्माताहरूले अमेरिकी जनतालाई ‘धन्दा नमान, हतियार र सेनाको हामीलाई दुःख छैन, हामी ठीक गर्छौँ’ भनेर शान्त पार्न खोज्दै ३३ लाखभन्दा बढी अमेरिकी फौज भियतनाममा प्रयोग गरेका थिए । हामी भियतनाममा बस्ने छौँ, त्यहाँबाट फर्कने छैनौँ भन्ने जोन्सनको भनाइले भियतनाम युद्ध किनको जवाफ छर्लङ्गिन्छ ।
संयुक्त राज्य अमेरिकाको समाचार र विश्व रिपोर्ट (US News and world report) मा स्पष्ट लेखिएको छ, दोस्रो विश्वयुद्धपछि संरा अमेरिकाले आफ्नो विदेश नीतिको उद्देश्य पूर्तिको लागि कमसेकम २६२ पटक सशस्त्र सेना प्रयोग गरेको छ । साँच्चै भन्ने हो भने हिटलरले खुलारूपमा युद्धको चाहना गरेको थियो र उसलाई चिन्न सजिलो थियो । तर, अमेरिका ‘युद्ध चाहँदैन’ किन्तु प्रत्येक कदम युद्धतिर उन्मुख देखिन्छ । हिटलरले ग्यास च्याम्बरलाई ‘किफायती’ देखेका थिए । जोन्सन, म्याकन मारा र डीन रस्कले भियतनाममा प्रयोग गरेको विषालु ग्याँसलाई पनि उचित भने । ‘हतियारबाट भन्दा विषालु ग्यासको प्रयोग (भियतनामी मार्न) धेरै मानवीय छ !’ अतः हिटलरको प्रतिरूप अमेरिकी साम्राज्यवाद भन्न सङ्कोच मान्नुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *