भर्खरै :

हल्ला गर्ने आफू, दोष अरुमाथि !

–गोपाल नगरकोटी
एमाले र माओवादी एउटै दल बने पनि विचारमा एउटै दल बनेको छैन । दुई दल मिलेर बनेको नेकपामा पहिलेको दलको विचार नेताहरूले छोडेका छैनन् । एमालेले बहुदलीय जनवादलाई अङ्गीकार गरिरहेको छ । तर अध्यक्ष दाहालले स्वीकारेका छैनन् । विचारै नमिलेपछि एउटै दलका दुई अध्यक्षको फरक–फरक विचार आउनु अस्वाभाविक होइन । किनभने एमाले र माओवादी विचार या सिद्धान्त मिलेर नेकपा बनेको होइन । सरकारको नेतृत्व गर्न र सरकारमा साझेदारी बन्न नै ती दुई दल एक भएको हो ।
एउटै दल बनाउने तर्खर गर्दा र एउटै दल बनिसकेपछि पालैपालो पार्टी अध्यक्ष बन्ने र प्रधानमन्त्री बन्ने कुरो उठेको थियो । ओली प्रधान मन्त्री भए तर अध्यक्षमा ओली र दाहाल बसे । प्रम ओली भएपछि आफूमात्र पार्टी अध्यक्ष बन्ने दाहालको इच्छा धुलोमा मिल्यो । प्रधानमन्त्री पनि बन्न पाउने हो कि होइन भन्ने चिन्ता दाहालमा थियो । कहिलेकाहीं त्यही चिन्ताले छटपटिएर या मन थाम्न नसकेर उनी प्रम बन्ने चाहना राखेर राजनीति तताउँथे ।
पार्टी एक हुँदा दुई अध्यक्षबीच गोप्य वार्ता भएको जानकारी बेलाबखत प्रकाशमा आइरहेको छ । पालैपालो प्रधानमन्त्री हुने गोप्य वार्ता भएको पहिले फुक्ने नेता दाहाल नै हुन् । भारत भ्रमणमा जाँदा उनले पालैपालो प्रधानमन्त्री हुने कुरा भारतीय शासकसमक्ष पोखे । गोप्य वार्ता भारतीय शासकसमक्ष किन खन्याउनुप¥यो दाहाललाई ? ओलीले साढे दुई वर्ष शासन गरेपछि मैले शासन गर्न पाउनुपर्छ भनेर भारतीय शासकसामु नेता दाहालले किन बिन्ती जाहेर गरे ? नेता दाहालको त्यो अनुनय विनयले पनि नेपाल सरकारको फेरबदल विदेशी शक्ति राष्ट्रको हातमा रहेको थाहा हुन्छ । नेता दाहालले त्यही हल्ला फेरि दोहो¥याएका छन् । ‘हल्ला’ गर्ने आफू । त्यही ‘हल्ला’लाई सञ्चारमाध्यमले सार्वजनिक गरे भनेर फेरि हल्ला गर्ने पनि उनै ।
गोप्य वार्ताको सहमति दाहालले बरोबर किन प्रकाशमा ल्याउनुप¥यो ? प्रश्नको जवाफ स्पष्ट छ – प्रम ओलीले दाहाललाई प्रम बनाउलान् कि नबनाउलान् भन्ने चिन्ता छ । आफूले हल्ला गरेर अरुमाथि दोष थोपर्ने अध्यक्ष दाहालको अर्काे चिन्ता छ, आफूले गरेको हल्लाको दोष पार्टीले आफूमाथि नखन्याओस् । नेकपाका नेता माधवकुमार नेपालले भनिहाले, “केपी ओलीले नै पाँच वर्ष शासन गर्छ ।” प्रम ओलीले नेता दाहाललाई त्यति सजिलै सरकारको नेतृत्व छोड्ने छाँट पनि देखिँदैन । केपी ओलीले दाहाललाई लक्षित गर्दै गरेको व्यङ्ग्यले पनि सो कुरा पुष्टि गर्छ । नेता दाहाल प्रम नै भए पनि न कम्युनिस्ट आन्दोलन अघि बढ्छ न त कम्युनिस्टको सिद्धान्त र विचारअनुसार देशमा काम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *