भर्खरै :

साततले नुवाकोट दरबार (दूर्ग रत्न) भित्रका तल्लाहरूमा के के छन् ?

सुनिता गाइसी
नुवाकोट एक ऐतिहासिक महत्व बोकेको जिल्लाको रूपमा परिचित छ । प्राकृतिक सौन्दर्यका साथै सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिने यो क्षेत्र उब्जाउ भूमि हो । नुवाकोटमा अवस्थित साततले दरबार नेपालको वास्तुकलाको उच्चतम नमुना मानिन्छ । यो दरबारको प्रवेशद्वारमाथि टाँसिएको अभिलेखमा यस दरबारलाई “दूर्ग रत्न” भनी उल्लेख गरिएको छ । तर इतिहासमा यसलाई साततले दरबार भनिन्छ । यो दरबारले २४० वर्गमिटर (७ आना २ पैसा) क्षेत्रफल ओगेटेको छ । यस दरबारको उचाइ २४ मिटरको हाराहारीमा रहेको छ । उचाइको दृष्टिले यो नै सबैभन्दा अग्लो दरबार हो । यसपछि पृथ्वीनारायण शाहले आफ्नै कार्यकालमा हनुमानढोकास्थित नौतले दरबार निर्माण गर्न लगाएका थिए । यस साततले दरबार आफैमा एउटा सङ्ग्रहालयको रूपमा परिचित छ । धेरै चोक निर्माण गरी विशाल क्षेत्र ओगट्ने परम्परालाई त्यागी एउटा फरक धारमा यो दरबार निर्माण गरिएको छ । यो दरबार निर्माणको क्रममा जमिनको सतहभन्दा आकाशको खाली क्षेत्रलाई प्रयोगमा ल्याइएको छ । धार्मिक, न्यायिक, सामाजिक र निजी प्रयोजनलाई समेत मध्यनजर गरी एउटै भवनमा समायोजन गरिएको छ । यो परम्परालाई वास्तु इतिहासको सुरुवात मान्न सकिन्छ ।
पृथ्वीनारायण शाहले १८००—१८३१ सम्म शासन चलाएका थिए । जीवनकालको प्रायः समय युद्घमा व्यतित गरे पनि पृथ्वीनारायण शाहले युद्घ रणनीति र आफ्ना व्यवहारिक जीवनलाई सुहाउँदो वास्तु संरचनाको निर्माण गरेका थिए । यसले उनी कुशल राजामात्र नभई कुशल वास्तुविद् भएको कुरा प्रमाणित गर्दछ । यस्तो भव्य दरबारको निर्माणले वास्तवमै नेपालीहरू कलाकृति र कौशलमा विज्ञ रहेको कुरा दर्शाउँछ । यस साततले दरबारको प्रत्येक तला विशेष महत्वका साथ निर्माण गरिएको छ । ती साततले दरबारबारे केही चर्चा यहाँगरिन्छ ।
भुइँ तला
साततले दरबारको भुइँ तलालाई धार्मिक हिसाबले तयार पारिएको छ । यस तलामा विभिन्न भैरव र मातृकाका मूर्तिहरू राखिएका छन् । दरबार प्रवेश गर्ने पाहुना तथा आगन्तुकहरू आध्यात्मिक भावना जागृत होस् भन्ने उद्देश्यले यी देवीदेवताका मूर्तिहरू राखिएको मानिन्छ । भूकम्प अगाडि नुवाकोट भैरवीको जात्रामा प्रयोग गरिने खट यही राखिन्थ्यो । यसभित्रको भाग सुरक्षाकर्मीले पहरा दिन र सो भित्रको कोठा सुरक्षाकर्मीको सुत्नको लागि प्रयोग गरिन्थ्यो । यसरी भुइँ तलाको प्रयोग आध्यात्मिक र वैज्ञानिक तरिकाले गरिएको थियो ।
१. पहिलो तला
भुइँ तलाजस्तै पहिलो तला पनि आध्यात्मिकरूपमा निर्माण गरिएको छ । यस तलाको दक्षिणतर्फको एउटा कोठा पूजा कोठाको रूपमा रहेको छ । यस कोठालाई हालसम्म गोप्य नै राखिएको छ । यसको उत्तरतिरको कोठा भने राजपरिवारका महिला सदस्यहरूका निम्ति सिङ्गार गर्ने र अन्य प्रयोजनका लागि प्रयोग गरिन्थ्यो । यसको पूर्वतिरको भागलाई बैठकको रूपमा प्रयोग गरिन्थ्यो । बैठक कोठा भएकोले यस तलामा आँखी भ्mयालहरू राखिएका छन् ।
२. दोस्रो तला
यो ऐतिहासिक भवनको दोस्रो तला पनि उत्तिकै महत्वपूर्ण तरिकाले निर्माण गरिएको छ । यस तलामा भ¥याङको दायाँबायाँका कोठाहरूमध्ये दक्षिणको कोठा पूजाकोठाको रूपमा प्रयोग गरिन्थ्यो । यस कोठालाई दशैं कोठाको रूपमा पनि प्रयोग गरिन्थ्यो । यो तलाको अगाडिको भाग राजाको बैठकको रूपमा रहेको थियो । उत्तरतर्फको कोठामा पूजा सामग्री तयार गर्नको लागि राखिएको थियो । तीनमुखे कलात्मक सँ झ्याः (आँखी भ्mयाल) यस तलाको मुख्य आकर्षणको केन्द्र रहेको छ ।
३. तेस्रो तला
यस तलालाई विशेष तला मानिन्थ्यो । यो तलामा चारैतिर हेर्न मिल्ने गरी बार्दली निकालिएको थियो । यसै तलामा मनोरञ्जनको लागि ठूलो कोठा बनाइएको थियो । यसबाहेक यस तलामा भ¥याङका दुवैतर्फ १÷१ वटा कोठा बनाइएको थियो । पूर्वको ठूलो कोठाबाट बार्दली हँुदै ती दुवै स—साना कोठामा जान हुने गरी ढोका राखिएका छन् । पृथ्वीनारायण शाह पनि यसै तलामा सुत्थे । ती दुई कोठामा उनका दुई रानीहरू सुत्थिन् ।
४. चौथो तला
यस तलामा दरबारमा हुने सबै किसिमका धार्मिक कार्य, होम तथा अन्य सांस्कृतिक कार्यका बेला भातइदार जम्मा भई सरसल्लाह गर्न तथा भोजभतेरका लागि यो चौथो तलाको प्रयोग गरिन्थ्यो । राजपरिवारका तर्फबाट सम्पन्न गर्नुपर्ने भैरवीको जात्रामा धामी तथा द्वारेका साथ सम्पन्न गरिने विधि विधान पनि यसै तलामा गर्ने गरिन्छ । यसरी भातरदारको भेला र भोजभतेरका लागि प्रयोग हुने भएकोले यस तलामा चारैतिर राम्रो हावा आउने गरी भ्mयालहरू राखिएका छन् । यसरी प्रत्येक तलालाई वैज्ञानिक हिसाबले प्रयोग गरिएको थियो ।
५. पाँचौँ तला
यस दरबारको पाँचौँँ तलामा राजा र राजपरिवारका सुरक्षाका लागि सिपाहीँहरू बस्थे । त्यसैले यस ठाउँ झट्ट हेर्दा नदेख्ने गरी या कम प्रकाश आउने गरी बनाइएको थियो । यो पाँचौँ तलामा रहेकोले यहाँबाट दरबारको बाहिरी भागमा के कस्तो भइरहेको छ राम्रोसँग देख्न सकिन्थ्यो तर बाहिरका मानिसले ती भित्र रहेका सुरक्षाकर्मीहरूलाई देख्दैनथे । यो तला अलि साँघुरो रहेको र यसको बीच भागमा सिधा उभिन सकिने भए पनि छेउतिर साँघुरो भएका कारण सुतेरमात्र बाहिर हेर्न सकिने व्यवस्था गरिएको छ ।
६. छैठौँ तला
यस तलालाई कैदखानाको रूपमा निर्माण गरिएको थियो । दरबारको छैठौँ तलामा राजद्रोही र युद्घका विशेष बन्दीहरूलाई कडा निगरानीका साथ कैदमा राखिन्थ्यो । त्यसैले यस तलालाई कालकोठरी भनिन्थ्यो । यो तलामा उज्यालो कममात्र आउँथ्यो । यसको उचाइ ४ फीट जतिमात्र रहेको छ ।
७. सातौँ तला
यो सबैभन्दा अन्तिम वा माथिल्लो तला हो । यो भाग बुर्जाकार रूपमा बनाइएको छ । यो नै दरबारको सबैभन्दा सानो क्षेत्र भएको रमणीय भाग हो । यहाँबाट पूर्वमा कविलासको डाँडा र तादीको फाँट, दक्षिणमा देवीघाट, पश्चिममा त्रिशुली सामरी उपत्यका, उत्तरमा गोसाईकुण्डको डाँडा र केही हिमशिखरहरू पनि देखिन्छन् । यो उच्च भागमा रहेकोले त्यतिबेला नुवाकोटका जनतालाई केही सूचना दिन र मानिस जम्मा गर्न यहीबाट विगुल बजाइन्थ्यो ।
यसरी पृथ्वीनारायण शाहले आप्mनो शासनकालमा साततले दरबारलाई वैज्ञानिक ढङ्गले निर्माण गराएका थिए । यहाँ आइपुग्ने जोसुकैलाई यो भव्य दरबारले मोहनी लगाउँछ । यो साततले दरबार नेपाली वास्तुकलाको उच्चतम नमुनाको रूपमा प्रसिद्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *