अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मञ्जु चौधरी
थारु समुदायमा बच्चा जन्मेपछि भुटेको चामल पिसेर प्रसादको रूपमा कुलदेवतालाई चढाउने चलन छ । त्यसलाई ‘ठासउरा पुज्ने’ भनिन्छ । जबसम्म बच्चाको नाइटो छुट्दैन तबसम्म सुत्केरीले छोएको र हिँडेको बाटोमा सुनपानी छर्कने चलन छ । बच्चा जन्मेको छैटौं दिनमा छैटी मनाउने चलन छ । जसलाई ‘छात्तिबह्री’ भनिन्छ ।
विवाह
पहिले पहिले थारुहरूको विवाह दुईचोटि हुन्थ्यो । फागुनमा विवाह भएपछि केटी आफ्नो माइतीमा गएर बस्थिन् । पछि मंसिरमा फेरि विवाह भयो भने त्यसलाई ‘अगाहन’ भनिन्थ्यो । मंसिरलाई थारुमा ‘अगाहन माहिन’ भनिन्छ । वैशाखमा भएको विवाहलाई भने वैशाखी भनिन्थ्यो । फागुन महिना थारुहरूको विवाहको याम हो । पहिले मागी विवाह बढी चल्थ्यो, अहिले भागी विवाह पनि चल्न थालेको छ । भागी विवाहलाई ‘उरहर’ भनिन्छ । भागी विवाह गरे भने केटीलाई ‘उरही’ भनिन्छ भने केटालाई ‘उरहर’ भनिन्छ ।
विवाहमा दुलहाको घरबाट सगुनको रूपमा चामल, दाल, बेसार, नुन, तेल, खुर्सानी, दुलहीले लगाउने चुरा पोते, लगनगाँठो कस्ने कपडा, सुङ्गुरको रूपमा एउटा कोपिन्डो (थारुमा भुरुकोहारा) विवाहको सुरुको दिन पठाउनुपर्छ । जसलाई ‘चाउर परछन’ भनिन्छ । टाढा भए जन्ती (बारात) चाउरसँगै ल्याउने गरिन्छ । विवाहमा आगो बल्दा सलाई वा अरुबाट आगो ननिकाली गानीचरी भन्ने काठको घर्षणबाट आगो निकालिन्छ । त्यही आगोबाट चुलो जलाइन्छ । वैवाहिक सम्बन्ध कस्तो हुने हो, आगो उठाइबाट थाहा पाइने जनविश्वास छ ।
विवाहमा केटाले पृथ्वीनारायण शाहको सामान्यतः देखिने तस्वीरमा लगाएको जस्तो दौरा सुरवाल लगाइन्छ । टोपी गान्धी टोपी हुन्छ । विवाहमा तीनजना विशेष हुन्छन् । दुलहा, छैवालुवा (दुलहाको भाइ÷भतिजा), गुजुवा (दुलहाको स्याहार गर्ने व्यक्ति) । गुजुवा दुलहाको फुपाजु वा भिनाजु हुने गर्छ । विवाहमा दुलहा, छैवालुवा र गुजुवा तीनैजनाले गाजल, लाली, पाउडर लगाउनुपर्छ । विवाहमा हरेक क्रियाकलाप गर्दा गीत गाइन्छ । ‘इतेप वाइ इतेप’ भन्ने गीत गाउनुपर्छ ।
दुलहा दुलहीको गाउँमा पुगिसकेपछि नजिकैको चोकबाट स्वागतको लागि कलश बोकेर बिहेमा गाइने गीत गाउँदै दुलहीको घरसम्म जन्तीको स्वागत गरिन्छ । जब जन्ती दुलहीको घरमा पुग्छ, दुलहा चन्ढोलमा बसेको हुन्छ । त्यसपछि विवाहमा खाना पकाउने विशेष महिलाको समूह हुन्छ । दुईजना कन्या हुन्छन् । तिनीहरूले दुलहा र जन्तीलाई अनेक किसिमको हस्यौंली (कमेडी) देखाउँछन् । केटी पक्षबाट के–के देखाए टिपोट गरी राखिन्छ, केटा पक्षले । अनि दुलहालाई दुलहीको कुलदेवता भएको कोठामा लगिन्छ । त्यसपछि उनीलाई अर्को घरको गोठमा वा छाउनीमा राखिएको हुन्छ । जसलाई जौनस भनिन्छ । अर्को बिहान जौनसमा भन्सरीय नधेरियाले दारु (रक्सी) देखाउन जान्छन् । त्यहाँ पनि दुलहा र छैवालुवालाई गाजल, लाली, पाउडर लगाई आदर गर्छन् । एउटा सानो बच्चालाई दुलहाको काखमा राखिन्छ जसलाई कोरावाइठाइ भनिन्छ ।
दुलहाको घरबाट चामल पठाउनुभन्दा पहिले र दुलहीको घरमा जन्ती आउनुभन्दा पहिले जातोमा मासको दाल पिसिन्छ । दाल केटा मान्छेलाई पिस्न दिइँदैन । भन्सरीय र नधेरियालाई गीत गाउन लगाउँछन् । विवाहमा गाइने गीत गाएपछि मात्र केटाहरूलाई जातो छोड्ने चलन छ । ती केटाहरूलाई सुरहुवा भनिन्छ । त्यही दाल बोकेर अर्को बिहान नजिकैको नदी वा कुलोमा बाजागाजासहित नधेरिया भन्सरीया, सुरहुवा, गाउँका मानिस र भोजीनीहिया जान्छन् । भोजीनीहियाले विवाहमा कलश बोक्ने गर्छ । दुलहीले नदीमा जाँदा सबै पहिरन लगाएको हुन्छ । दुलहीलाई दाल धुन लगाइन्छ । त्यहाँ पनि विशेष गीत गाइन्छ । मासको दाल भएन भने थारुको विवाह हुँदैन । त्यो मासको दालबाट पकाउरीजस्तै कुचरीक बरीय भन्ने परिकार बनाइन्छ । दुलहा र दुलहीलाई कुलदेवताको कोठामा बसालेर खाना खुवाइन्छ ।
केटीको बिदाइ बुधबारको दिन गरिन्छ । केटी बिदाइ गर्ने दिनमा गाउँको एउटा भझा देवता हुन्छ जसलाई घोटैली भनिन्छ । त्यसमा केटाले एउटा बाख्राको पाठी पुज्नुपर्छ । केटा आफ्नो घर फर्किन्छ । केटाको गाउँ र केटीको गाउँको बीच सिमानामा आगो बालिन्छ । त्यो आगो सबै जन्तीले नाघ्नुपर्छ । त्यसपछि केटातिरका मानिसहरूले केटीतिरका मानिसहरूलाई पोलेको आलुको चटनी खुवाउँछन् । त्यसलाई ‘रगज्जा’ भनिन्छ ।
केटाको घरमा पुगेपछि घरको मूलढोका आँगनमा माटाको पराइ (सानो भाँडो)मा आगो, तिल, जौ, लरना कपासको बीउ राखिएको हुन्छ । केटा र केटीको लगनगाँठो कसी मोहनी बनाउने मदानीले उल्टो सुल्टो तीनचोटि केटा र केटीको टाउको ठोकाइन्छ, केटा केटीले मन्दिरमा आफैं विवाह गरे पनि घरमा आएर यो विधि गर्नुपर्छ । त्यसो नगरुञ्जेल त्यसलाई विवाह मान्दैन । माटाको पराइलाई केटाले खुट्टाले फुटाएर आफू अगाडि पछाडि केटी लिएर घरभित्र पस्छ । माटाको पराइ सावधानीपूर्वक फुटाउनुपर्छ । सम्बन्ध कस्तो हुने त्यसले देखाउँछ भन्ने मान्यता छ ।
केटीलाई पु¥याउन आउने केटीहरूलाई पदालेहारी भनिन्छ । उनीहरूको खुट्टा केटातिरका केटीहरूले धुनुपर्छ । घरभित्र सीधैँ दुलहीलाई दुलहाको कुलदेवता भएको कोठामा लगेर दुलहीले दुलहाको खुट्टामा बुकुवा लगाउनुपर्छ । बुकुवा तोरी भुटेर, मेथी हालेर ढिकीमा कुटिएको परिकार हो । विवाहमा दुलहा र दुलहीको शरीर बुकुवाले मालिस गरेर नुहाउनुपर्छ । कुलदेवता भएको कोठामा केटीले एक रात बिताउनुपर्छ । ऊसँग (लाकोन्दी) दुलहीको स्याहार गर्ने, भाउजू वा फुपू हुन्छ । त्यही कोठामा अर्को बिहान आफ्नो माइतीबाट लगाएको सबै लुगा फुकाएर केटा पक्षले दिएको लुगा लगाउनुपर्छ । केटीलाई रातभरि केटातिरका मानिसले गीतबाट गाली गर्छन् । अर्ती उपदेश दिन्छन् ।
बिहान उठ्ने बित्तिकै दुलहीले नयाँ चुलोमा आगो बाल्नुपर्छ । गोठमा गएर अलिकति गोबर फाल्नुपर्छ । धाराबाट अलिकति पानी भर्नुपर्छ । अर्को दिन दुलही आफ्नो माइतीमा आई सुरहुवा, भान्सरिया नधेरिया र आफ्नो नातेदारलाई बिदा गर्नुपर्छ ।
सुरहुवालाई गाजल, लाली र रक्सी खुवाएर केटाको घरमा पनि त्यसरी नै गरिन्छ ।
मृत्यु संस्कार गर्ने तरिका
थारु समुदायमा मानिसको मृत्यु भएमा पुरुष हो भने १० दिन, महिला हो भने ९ दिन बार्ने चलन छ । तर, घरको आर्थिक अवस्था कमजोर छ, कुनै चाडपर्व आउँदै छ भने जुन दिन मृत्यु भएको हो त्यही दिन पनि चोखिन सकिन्छ । अर्को महिना लाग्न थाल्यो भने १० वा ९ दिन नपुगी पनि चोखिन सकिन्छ ।
मानिस मरेपछि गाडिन्छ (आजभोलि जलाइन्छ पनि ) । गाड्ने बेला पुरुषलाई घोप्टो पारी र महिलालाई उतानो पारी गाडिन्छ । महिला गर्भवती छ भने पेटबाट बच्चा झिकी गाडिन्छ । मानिस मरेपछि साँझ वा रातिमा गाड्ने वा जलाउने गरिँदैन । साँझ वा राति गाड्ने वा जलाउने हो भने अर्को जुनिमा अन्धो भएर जन्मिन्छ भन्ने मान्यता छ । मानिसलाई मसानघाटमा लैजाँदा ढकियामा चामल, दाल, नुन, बेसार, खुर्सानी राखी दिन्छन् । जसलाई साँध भनिन्छ ।
मरेको दिन र चोखिने दिन कुलोबाट सबैजना नुहाएर फर्किंदा सुनपानी छर्किन्छन् र तीन ठाउँमा काठको लौरोमा पानी राखी नुहाउने चलन छ । त्यो काठको लौरो पुल हो भन्ने मान्यता छ । मरेको दिन र चोखिने दिन सबैजना कूलो वा नदीमा नुहाउन गएको बेलामा घरमा खरानी राखी कलशमा बत्ती बाली पानी, रक्सी राखी ठूलो भाँडाले छोपिएको हुन्छ । जसलाई ‘जाना’ भनिन्छ । मरेको मानिसले केको जन्म लियो भन्ने कुरा जानाबाट जान्न सकिने विश्वास छ जन्मेको छैन भने केही हुँदैन । यस्ता विश्वास अचम्म लाग्दो छ ।
थारुभित्र पनि छुट चल्ने मानिस हुन्छन् । तिनीहरू चोखिने बेला कपाल काट्ने सुरुआत गर्छन् । पहिलो दिन तिनीहरूले आगो बाल्दछन् चोखिने बेला कासको थालमा दुबोले तेल टाउकोमा राखेपछि चोखो भएको मानिन्छ ।
चोखिँदा चारखुट्टे जनावर मार्ने चलन हुन्छ । कसैले कुखुरा काटेर मासु खाएर चोखिन्छन् । चारखुट्टे जनावर त्यसमा विशेषगरी सुङ्गुर काट्ने गरिन्छ । मरेको मान्छेलाई नदी तर्र्न घोडा दिएको भनिन्छ । चोखिने बेलामा जे–जे परिकार पाकेको छ त्यो सबै मरेको मान्छेलाई कुलदेवता भएको कोठामा चढाइन्छ । जसलाई पिट्तार (श्राद्ध) भनिन्छ ।
एक पुस्ताका सबै मरिसकेपछि जति गोत्र गोतियार छन्, तिनीहरूले अहिलेसम्म प्रयोग गरेका माटाका भाँडा, ढकिया, सुपो, चौकी, बेलना, काठका चटुवा, डब्ला (डाडु÷पनियो गुन्द्री परालको विडा, कुलदेवता सबै नदी वा खोलामा फाली सबै नयाँ बनाउँछन् जसलाई पिँढी उल्टाल भनिन्छ । अथवा एक पुस्ता बितेको भनिन्छ ।
थारु समुदायका चाडपर्वहरू
थारु समुदायको चाडपर्वमध्ये विशेषतः पश्चिमका थारुहरूको चाडपर्व बारे यहाँ चर्चा गरिएको छ । थारु समुदायका विभिन्न चाडपर्वहरू छन् । १२ महिना हुन्छ । १२ महिनामा गाउने गीत फरक–फरक हुन्छन् ।
१. कालुवा खाइन (कालुवा भनेको थारुहरूको बिहानको खाना हो )
यो पर्व असार महिनाको पहिलो वा दोस्रो हप्तामा पर्छ । खेतमा धान रोप्ने तयारी भइरहेको बेलामा जबसम्म कालुवा खाइँदैन, तबसम्म खेतमा खाना लगिन्न । यो एक किसिमको प्राकृतिक पूजाजस्तै हो । यो चाडमा कागको पूजा गरिन्छ । करमुवाको साग, माछा र रक्सी नभई यो पूजा हुँदैन । वर्षको बाली राम्रो होस्, जोत्दा फाली नहराओस्, मानिसलाई कुनै रोग नलागोस्, जोत्दा गोरु वा राँगालाई केही नहोस् भनी हरियो पातमा भात, दाल, साग, माछा, रक्सी खेतको एउटा कुनामा राखिन्छ । केटा मान्छे खेतमा जोत्न जान्छन् । घरपरिवारसहित आफ्ना आफन्त दुई चारजना अनिवार्य हुनुपर्छ । खेतमा सबैजना मिलेर खाना खान्छन् । सिङ्ग्री गीत गाउँछन् । यो गीत गाउँदा पानी पर्छ भन्ने विश्वास छ ।
२) गाइँया बेस्ना
धेरै समयसम्म पानी परेन भने यो जात्रा मनाइन्छ । यो जात्रा विशष्ोगरी जुन ठाउँ नदीको पानीले सिँचाइ गरिएको हुँदैन त्यो ठाउँमा यो जात्रा मनाइन्छ ।
केटीहरूले केटाहरूको पहिरन लगाएर खेत जोत्छन् । केटाहरू केटीहरूले लगाउने सबै पहिरन लगाएर खाना पकाएर, गाउँमा मानिसहरूसँगै खेतमा खाना दिन जान्छन् । यो जात्रा सुरु हुनुभन्दा पहिला जुन गाउँसँग यो जात्रा गर्ने हो त्यो गाउँको वडघर (समुदायको अध्यक्षजस्तै व्यक्ति) अगुवा वा पछुवा वडघरभन्दा पछिको व्यक्ति (जसको काम पानीको समस्या हेर्नु हो), एक आपसमा सल्लाह गर्छन्, मिति र ठाउँ तोक्छन् अनि यो जात्रा सुरु हुन्छ । यसमा प्रकृतिसम्बन्धी गीत गाइन्छ । गाउँ–गाउँबीच गीतको माध्यमबाट लडाइँ हुन्छ । जुन गाउँले जित्छ त्यो गाउँका मानिसले हारेका गाउँका मानिसहरूलाई आफ्नो गाउँमा लान्छन्, युद्धमा हारेको बन्दीजस्तै । तर ती मानिसहरूलाई पाहुनाजस्तै व्यवहार गरिन्छ । तुल वा गुन्द्रीमा, बसालेर रक्सी, मासु र भात खुवाइन्छ । अर्को दिन हारेका गाउँका मानिस त्यो गाउँमा जान्छन् र गीतबाट फेरि झगडा सुरु हुन्छ । गीतबाट जवाफ दिएर आफ्ना मानिस फर्काउँछन् ।
३) हारधोवा – (हलो पखाल्ने) खेत
रोपिसकेपछि सुङ्गुरको मासु र रोटी पकाएर जो–जो खेत रोप्दा सखले हारा (पर्म गर्न) आएका मानिसलाई भोज खुवाइन्छ ।
४) हरेरी पर्व (खेत रोपिसकेपछि)
गाउँका सबै जनाको रोपाई सकेपछि मात्र यो पर्व मनाइन्छ । गाउँका प्रत्येक घर धुरीबाट पैसा, एक बोतल रक्सी मिलाई प्रकृति पूजा गरिन्छ । कुलोको सबभन्दा माथिल्लो मुहानमा जावन हालिन्छ । पानीको मुहानमा एकजना लोग्नेमानिसले नाङ्गै भएर गाईको दूध मिसाउँछ । यसो गर्दा धानमा रोग लाग्दैन र बाली राम्रो हुन्छ भन्ने विश्वास छ । यो पूजा नभएसम्म गाउँमा मादल बजाउन हुँदैन । कसैले मादल बजाउँछ भने त्यो सजायको भागिदार हुन्छ । पैसा तिर्नुपर्छ । पञ्चायतमा बस्नुपर्छ । यो पूजा भएको दिनमा गाउँमा रातभरि नाच हुन्छ । बिहान गाउँका साझा देवताहरूको पूजा गरिन्छ । धामीलाई देवता आउँछ । त्यसले जमाजुत भूत (विवाह नगरेको लक्का जवान केटा), चुरीनिया (किचकिनी) र बच्चा जन्माउँदा मरेको महिला वा अविवाहित युवतीसँग सिकार देऊ भनेर माग्दछन् । अर्को दिन जङ्गलमा सिकार गर्न जान्छन् । सिकार गरेर आएपछि गाउँका प्रत्येक घर घरधुरीको भाग लाग्छ । त्यो मासु सबैजना मिलेर खान्छन् ।
५) गुरही असरराईन (पुतलीको पूजा)
केटी मान्छे कपडाका पुतली बनाई चना, केराउ र अरहरको कोटी बनाई सिङ्गारिएर गाउँको चोकमा जम्मा हुन्छन् । केटाहरू त्यो परिकार खोलेर खान्छन् । बाबियोको सोठा बनाएर केटीहरूलाई बोक्सीलाई हानेको भन्दै हान्छन् । हाल यो चाड लोप भएको छ । कहीं कतै मात्र देख्न पाइन्छ ।
६) गुरिया (नाग पञ्चमी)
आफ्नो कुलदेवतालाई गाईको दूध चढाइन्छ । तेलमा रोटी पकाई माछामासु खाइन्छ । विवाह गरेर गएका चेलीलाई आफ्नो घरमा ल्याई यो चाड मनाइन्छ ।
७) इस्तीमकी (कृष्ण अष्टमी)
यसमा केटीहरू व्रत बसी सुन्दर वर र घरको सुख शान्तिको कामना गर्छन् । कुनै एउटा घरको देहारी (धान राख्ने माटोको भाकारी) वा भित्तामा कृष्णलीलाका विभिन्न चित्र कोरी गाउँभरिका केटीहरू एक ठाउँमा जम्मा भई पूजा गर्छन् । पूजामा त्यो वर्ष जुन फल खाएको छैन, त्यही दुई ओटा फलमा सिन्दुरटिकी आफ्नो कुलदेवताको कोठामा राखी एकछिन पछि जुन घरमा अष्टमीको लागि चित्र कुँदिएको छ, त्यो घरमा उनीहरू साझा पूजा गरी रातभरि कृष्णको जन्मदेखि युवा अवस्थासम्मको गीत गाउँछन् ।
चिचिन्डाको नाइटो मानी चिचिन्डा काटी त्यो चिचिन्डा र दियो लिएर सबैजना नदी वा खोलामा गई तीन, पाँच, सात ओटा बत्ती बाली नदीमा बगाउँछन् । आफ्नो घरमा आई पूजा गरी खाना खान्छन् । व्रतभरि जे–जे खाइन्छ त्यो सबै एक एक गरी छुट्याउँछन् र त्यो छुट्याएको भागलाई विवाह भएको चेलीको घरमा उपहार दिन्छन् । जसलाई ‘निसराउ’ भनिन्छ ।
८) आनबार
भदौ महिनाको पहिलो आइतबार केटाहरू व्रत बस्छन् । केटाहरू व्रत बसिसकेपछि अन्दीको रोटी आफैं पकाइ खान्छन् । यो व्रत केटाहरू दुईचोटि बस्दछन्, दोस्रो भदौ महिनाको बीचमा यो महाभारतमा लडाइँ हुँदा भीमले हतारमा एकतिरबाट मात्र रोटी पकाएर खाएको प्रसङ्गमा बसिन्छ । त्यसरी नै यो पर्वमा रोटी एकातिरबाट मात्र पकाएर खाइन्छ, अर्को दिन विवाह भएको चेलीको घरमा उपहार पठाइन्छ ।
९) अन्तर
यो भदौ महिनाको अन्ततिर बस्छन् । कृष्ण हिँडेको उपलक्ष्यमा र सुन्दर श्रीमती, धन दौलत र सुन्दर पुत्र प्राप्त गर्नको लागि केटाहरू व्रत बस्दछन् । गाउँभरिका केटाहरू एक घरमा जम्मा भई पूजा गरी त्यो दिन नाचगान पनि गर्दछन् ।
१०) ढासै
ढासैमा थारु समुदायका मानिसहरू आफ्ना कुलदेवताहरूलाई पूजा गर्दछन् । पितृ दिन्छन् । श्राद्ध दिन्छन् । वर्षको एकचोटि जमारा हुरडुङगुवा नाच सुरु हुन्छ । यसमा देवी देवता, मायाप्रीति, परदेश गएका आफ्नो लोग्नेको वियोगको गीत हुन्छ । अष्टमीको दिन धिकारी, वामरीको फुल, गाईको दूध चढाउँछन् भने नवमीको दिन आफ्नो कुलदेवतालाई भाले चल्ला, पोथी सुङ्गुर, भेडा, बाख्रा, हाँस चढाई पुरानो कुलदेवता हटाई नयाँ कुलदेवता राख्दछन् ।
अर्को साँझ गाउँभरिका महिलाहरू कुलदेवतालाई नाचगानसहित खोलामा बगाएर नुहाउँछन् । जसलाई पितार अक्षराइन भनिन्छ । प्रत्येक जनाले एक दुन मासु, एक बोतल रक्सी लग्छन्, सबै एक ठाउँमा मिसाउँछन् । अनि एक जनाले सबैलाई बाँडेर खान दिइन्छ ।
त्यो रातभरि वडघरको घरमा नाचगान गरी रमाउँछन् । अर्को बिहान प्रत्येक घरबाट एक बोतल रक्सी जमरा लिएर एउटा महिला एउटा पुरुष वडघरको घरमा वडघरलाई टीका लग्छन् । सामुहिक नाचगान गर्छन् जसलाई जमारा लगाउने भनिन्छ ।
११) देवारी÷अमओस (तिहार)
यसमा थारु समुदायका मानिसहरूले आफ्नो कुलदेवता र आँगन, लाहरीय, जाँतो, ढिकी, ढोका आँगनमा दियो बाली, धिकारी रोटी, मासु रक्सी खाई यो चाड मनाइन्छ । लक्ष्मीपूजाको दिन गाई गोरुलाई मकै, नुन खुवाउने चलन छ । तिहारभरि आफ्नो घरको सामान अर्को घरमा दिँदैनन् ।
१२) माघी
यो थारुको आर्थिक वर्षको सुरुआत पनि हो । दाजु, भाइ छुटिनलाई पनि माघी मानेपछि छुटिन्छन् । यसमा वर्षभरि के–के काम भए आफ्नो घरदेखि लिएर समाजको सिंहावलोकन गरिन्छ ।
गाउँको वडघर, अगुवा, चौकीदार फलामको समान बनाउने लोहार, लुगा सिलाउने, गाउँभरिका मानिस एक ठाउँमा बसेर छलफल गर्दछन् । चित्त बुझे त्यही व्यक्तिलाई वडघर राख्छन् । चित्त नबुझे अर्को चुन्छन् । चौकीदार, फलामको सामान बनाउने लोहार, लुगा सिउनेले ज्याला बढाउने र घटाउने समय पनि त्यतिबेला गरिन्छ ।
माघ १ गते राति नजिकको खोला वा नदीमा नुहाई चामल, पैसा, फूल नदीमा वा मन्दिर वा घरमा राखिएको ढुङ्गामा चढाई घरमा गएर चामल आफ्नो निधारमा टाँसी तीनचोटि दुई हात जोडेर तीनचोटि एउटा हातले चामल निकालिन्छ । यसो गर्दा वर्षभरि गरेको पाप नास हुने विश्वास छ । त्यो चामल विवाह भएको चेली वा घरमा माग्न आएका मानिसलाई दिइन्छ । त्यो दिन सानाले ठूलोसँग खुट्टा वा हातमा धोगी आशीर्वाद लिन्छन् । माघीको गीत गाई नाचगान पनि गरिन्छ । नुहाइसकेपछि तिललाई आगोमा राखी आगो तापिन्छ । यसो गर्दा तिल जतिको मसिनो पाप पनि नाश हुने विश्वास छ ।
उनीहरू गेजी, ताडल, तिलको लड्डु, सुङगुरको मासु, ढिकारी खान्छन् । घोगी, सिद्रा, रक्सी, जाड खान्छन् । घर घरमा गई माघी मनाउँदछन् । वर्षभरि बोलचाल भएको छैन भने पनि त्यो दिनदेखि बोल्न थाल्छन् ।
१३) होली
गाउँभरिका केटा बुढापाखाहरू एउटा निश्चित ठाउँमा होलिका जलाउँछन् । होलिका जलाउनको लागि सलाई वा लाइटरको प्रयोग गरिँंदैन । गानीयरी भन्ने एउटा काठमा घर्षणबाट आगो निकाली त्यही आगोबाट होकाली जलाउँछन् ।
त्यो होलिका निभाउन अर्को बिहान एक घरबाट एकजना महिला लोटामा पानी, गाईको दूध, होलिका जलाएको खरानी, एक माना चामल, सिउको कुचो लिएर होलीको गीत गाउँदै त्यो खरानीमा चामल पानी छर्कन्छन् । सबैजना गाउँभरिका साझा देवताको पूजा गरी, खाना खाइसकेपछि महिलाहरू गाउँका भद्रभलादमी व्यापारी, शिक्षक पैसा माग्दछन् । दुई दिनसम्म सबैजना मिलेर खान्छन्, गीत गाउँछन् ।
Leave a Reply