सुन्दर वासी

गुगल देखाउँछ – नेपालबाट भेनेजुयला १५ हजार ४४ किलोमिटर टाढा पर्छ । प्रतिघण्टा ९ सय किलोमिटर उड्ने जहाजमार्फत यात्रा गर्दा पनि १६ घण्टाभन्दा बढी समय लाग्छ । औपचारिकरूपमा नेपाल र भेनेजुयलाबीच कूटनीतिक सम्बन्ध छैन । त्यसैले भेनेजुयलामा के भइरहेको छ भन्नेबारे नेपाली शासकहरू गुपचुप बसिरहेका छन् । भेनेजुयलाका जनतामाथि थोपरेको अन्यायको विरुद्ध न्यायका पक्षपाती नेपाली जनताले के आवाज उठाउन थालेका थिए, हतार हतार प्रजातन्त्रवादी जुलुङ्गो लगाइएका बुद्धिजीवी र नेपाली काङ्ग्रेसका नेताहरू कड्किहाले, “कुनै साइनो नभएको र कुनै मेवा दिन नसक्ने देशबारे किन बोल्नुप¥यो ? ‘सहयोग’ दिंदै आएको महाशक्ति संरा अमेरिका रिसायो भने के गर्ने ?”
ठूलाको विरोध गर्न नहुने दास मनोवृत्ति तथा आप्mनो फाइदालाई मात्र ध्यान दिने स्वार्थी भावनाले कुनै अबलाको बलात्कार हुँदा पनि तमासा हेरेर बस्न सिकाउँछ । ती काङ्ग्रेसी र स्वनामधन्य बुद्धिजीवीहरूको तर्कले भेनेजुयलामा के भइरहेको छ ? साम्राज्यवादी संरा अमेरिकाले कसरी सार्वभौमसत्ता सम्पन्न देशहरूलाई अक्करमा पार्दैछ ? बुझ्न बाधा दिन्छ । नेपाली जनतालाई गुमराहमा राख्ने कुचेष्टा गर्छ । नेपाली पुँजीपति वर्गका बुद्धिजीवीहरूको त्यस्ता तर्कले तिनीहरूको मानसिक दरिद्रतामात्र छरपस्ट पारेको छ ।
सत्य, न्याय, समानता र मानवताका पक्षपाती नेपाली जनता भने हरेक देशको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न कुनै पनि खालको बाह्य हस्तक्षेपविरुद्ध मुठी कसेर ऐक्यबद्ध छन् । भेनेजुयलाको वास्तविक स्थितिको अध्ययन गर्न अझै उत्सुक छन् । भेनेजुयला हिजो कस्तो थियो ? र आज के भइरहको छ ? अनि जनताको भविष्य के हुने हो ? सर्वत्र चासो भइरहेको छ । यही चासो राख्ने जिज्ञासु नेपाली पाठकहरूको लागि ‘भेनेजुयलाः हिजो र आज’ पत्रकार समाज, नेपालले प्रकाशित गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को भूमिका, प्रकाशकीय, नेपाली तथा भेनेजुयाली अनि विभिन्न देशका बुद्धिजीवीहरूको रिपोर्ट, विश्लेषण, सम्पाकीय आदि ३० वटा रचनाको रूपमा सङ्कलित ‘भेनेजुयलाः हिजो र आज’ मा भेनेजुयलालाई बुझ्न सहजताका लागि थप ३ वटा नक्सा दिइएका छन् । ती ३० वटा रचनाको अध्ययनले आजको भेनेजुयलाको समस्याबारे छर्लङ्ग पारेको छ । भेनेजुयलामा सुनलगायत खनिज तथा पट्रोलियम पदार्थ विश्वमै अधिक भण्डार छ । त्यो भण्डार आप्mनो मुठीमा पार्न नै साम्राज्यवादी संरा अमेरिकाले भेनेजुयलामा आज उपद्रो मच्चाइरहेको छ भन्ने सप्रमाणका विश्लेषणहरू प्रस्तुत गरिएका छन् । भेनेजुयलाको आजको औषधिको अभाव, आर्थिक समस्या, राजनीतिक समस्या र सैनिक समस्या वा सबैखाले समस्याको जड वा मुहान एउटै हो – साम्राज्यवादी संरा । यसकारण सत्यको खोजमा लाग्ने सचेत नेपालीको दैलो दैलोमा, कोठा कोठामा अनि दिमाग दिमागमा ‘भेनेजुयलाः हिजो र आज’ पु¥याउनु समयको माग बनेको छ । ‘भेनेजुयलाः हिजो र आज’ बारे छलफल, अध्ययन तड्कारै आवश्यक देखिएको छ ।
‘भेनेजुयलाः हिजो र आज’ बारे विचार विमर्श गर्नु वाञ्छनीय छ । किनभने भेनेजुयला र नेपालको भू–राजनीति उस्तै उस्तै रहेछ । साना साना देशहरू राजनीतिकरूपमा होइन, सांस्कृतिकरूपमा मात्र स्वतन्त्र अस्तित्व रहने भारतीय शासक जवाहरलाल नेहरूको दर्शनले नेपाल आक्रान्त छ । भारतीय उपमहादीपमा रहेको नेपाललाई भारतीय शासकहरू स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको रूपमा सम्मान गर्दैन । भारतीय एकाधिकार पुँजी नेपाललाई आफ्नैमात्र एकछत्र बजार बनाउन चाहन्छ । अमेरिकी महादेशको भेनेजुयलालाई पनि संरा अमेरिकी शासकहरू आप्mनै करेसाबारी सम्झन्छन् । भेनेजुयला मुनरो नीतिबाट पीडित छ । संरा अमेरिकाका पाँचौँ राष्ट्रपति मुनरोले प्रस्ट शब्दमा भनेका छन्, “अमेरिका अमेरिकीहरूको हो ।” त्यसैले साम्राज्यवादी संरा अमेरिकी शासकहरू कुनै पनि ल्याटिन अमेरिकी देशले स्वतन्त्रतापूर्वक निर्णय गरेको सहन सक्दैनन् ।
भारतीय एकाधिकार पुँजीको भरथेगमै नेपाली शासकहरू बाँचेका छन् । नेपालमा भारतीय शासकहरू खुलमखुला हस्तक्षेप गरिरहेका छन् । भारतीय शासकहरूको इच्छाविपरीत केही कदम चाल्यो कि नाकाबन्दी भोग्नुपर्ने नेपालीको नियत बनिरहेको छ । प्रजातन्त्रको नाममा भारतीय शासकहरूको चलखेलकै कारण नेपालमा कहिले पनि स्थिर सरकार रहेन । राजनीतिक उतारचढाव भइरह्यो । भेनेजुयलामा पनि १९९८ मा सिमोन बोलिभारबाट प्रेरित ह्युगो चाभेजको उदय हुनु अघिसम्म संरा अमेरिकी शासकहरूकै कठपुतली शासकहरू थिए । चाभेज आउनासाथ भेनेजुयलाको पट्रोल खानीहरूमा कब्जा जमाइरहेका विदेशी कम्पनीहरूलाई राष्ट्रियकरण गरे र त्यहीँ रकमबाट जनताको शिक्षा र स्वास्थ्यमा खर्च गरे । यसले गर्दा भेनेजुयलाका मजदुर–कामदार जनताको जीवनस्तरमा आमूल परिवर्तन आयो । तर, पुँजीपति वर्ग, साम्राज्यवादी संरा अमेरिकीहरूलाई सह्य भएन । २००२ अप्रिलमा संरा अमेरिकी गुप्तचर विभाग (सीआइए) को निर्देशनमा एक प्रतिक्रियावादी सैनिक विद्रोह गराई चाभेज बन्दी बनाइए । लाखौंलाख भेनेजुयाली कामदार जनताको मन जितिसकेका चाभेजलाई ४७ घण्टाभन्दा बढी बन्दी बनाउन सकेन । साम्राज्यवादी र प्रतिक्रियावादीहरू हारे । संरा अमेरिकी साम्राज्यवादीहरूले अनेक जालसाझी गरिरहेका छन् । १८२३ मा सुरु भएको साम्राज्यवादी मुनरो नीतिको विस्तार अब ल्याटिन अमेरिकी क्षेत्रमा मात्र सीमित छैन । बरु आजसम्म आइपुग्दा ‘हिन्द–प्रशान्त क्षेत्रीय सुरक्षा सङ्गठन’ को नाममा नेपाललाई समेत प्रभावित पार्दै छ । संरा अमेरिकाले ५६ अर्ब आर्थिक सहयोगको नाममा नेपाललाई तिब्बती उपद्रवीको पक्षमा र स्वाधीन प्रजग कोरियाविरुद्ध मोर्चाबन्दीमा सहभागी हुन दबाब दिइरहेको छ ।
अथाह प्राकृतिक स्रोतमा उभिएर पनि आत्मनिर्भर हुन नसकेको नेपाल र शिरानीमा सगरमाथालाई राखेर पनि स्वाभिमानीपूर्वक हिँड्न नपाएका नेपालीहरूको लागि भेनेजुयलाको इतिहास, वर्तमान र भविष्य अत्यन्त गहकिलो पाठ हुनसक्छ । ‘भेनेजुयलाः हिजो र आज’ ले नेपाली मनहरूलाई साँच्चिकै उद्वेलित बनाउँछ । नेपाली प्राकृतिक स्रोतहरूको सही उपयोग गरेर संसारकै सुन्दर देश र उच्चस्तरको स्वाभिमानी नेपाली जीवन बनाउन आन्दोलित बनाउँछ । मजदुर–किसानको नेतृत्वमा सरकार हुने जनताको प्रजातन्त्र स्थापना गर्नसकेको अवस्थामा नेपाल पनि स्वर्ग हुने आशा जगाउँछ । साथसाथै भारतीय शासनसत्तामा एकाधिकार पुँजीवादी वा विस्तारवादीहरू नै कायम भएको अवस्थामा सामना गर्नुपर्ने चुनौतीबारे सजग गराउँछ । भेनेजुयलामा जस्तो बाह्य हस्तक्षेपका कारण उत्पन्न द्वन्द्व नेपालमा पनि नदोहोरिएला भन्न सकिन्न ।
‘भेनेजुयलाः हिजो र आज’ को भूमिकामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ट्रम्प प्रशासनको प्रजातन्त्रविरोधी कदमको कारण संरा अमेरिका दिन दुगुना, रात चौगुना विश्व जगतमा बदनाम हुँदै गएको चर्चा गर्दै ट्रम्प प्रशासनलाई आतङ्कवादी नीतिको प्रवर्तकरूपमा लिन थालेको प्रस्ट पारेका छन् । भियतनाम, कोरियाबाट भागेको संरा अमेरिकाले भेनेजुयलाका बहादुर जनतालाई दबाउन नसक्ने दाबी गर्दै अध्यक्ष रोहितले भनेका छन्, “खुकुरीले खसी र फर्सी काट्छ तर ढुङ्गा काट्न सक्दैन ।”
भेनेजुयलामा पश्चिमा पुँजीवादी सञ्चारमाध्यमहरूले होहल्ला गरेजस्तो सङ्कट छैन । यद्यपि “साम्राज्यवादी नाकाबन्दी नहुने हो भने भेनेजुयाली जनता सुखपूर्वक बाँच्न पाउने थिए” प्रकाशकीयमा भनिएको छ । आज भेनेजुयलाले औषधि किन्न पठाएको १ अर्ब ४० करोड अमेरिकी डलर युरोक्लियरमा र २ अर्ब अमेरिकी डलर पोर्चुगलमा रोक्का राखिएको छ । बेलायतमा ८० टन सुन रोक्का राखिएको छ । १० अर्ब अमेरिकी डलर संरा अमेरिकी बैङ्कबाट ट्रम्पले हडपेको छ । यसरी भेनेजुयाली जनताको अर्बौं अर्ब अमेरिकी डलर कब्जामा राखेर भेनेजुयलामा आर्थिक सङ्कटको झ्याली पिट्नु त हल्लो अड्काउने गोरु चुट्ने नै भयो ।
६८ प्रतिशत अत्यधिक बहुमतका साथ जननिर्वाचित भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले बीबीसीसँगको अन्तर्वार्तामा प्रस्ट भनेका छन्, “भेनेजुयला भोको देश होइन । भेनेजुयला पौष्टिक तत्वको उच्चता भएको खानामा ज्यादै माथिल्लो पहुँच भएको देश हो ।” पश्चिमी सञ्चारमाध्यमहरू भेनेजुयाली जनता कोलम्बियामा शरणार्थी हुन गएको झूट प्रचार गरिरहेका छन्, जब कि कोलम्बियामा भएको युद्धका कारण ५८ लाख कोलम्बियालीहरू भेनेजुयला बस्दै आएका छन् । पश्चिमी सञ्चारकर्मीहरूको सोच नै बदल्नुपर्ने जिकिर गर्दै राष्ट्रपति माडुरोले प्रकाश पारेका छन्, “हाम्रो देशका नाममा रहेका बैङ्क खाताको पैसा सबै हडपिन्छ । औषधि खरीद गर्न राखिएको पैसा यसरी रोक्का गरेर अनि फेरि हामीसँग किन औषधि भएन भनी प्रश्न सोधिन्छ ।” सीआइ
एले फुलाएको मकैजस्तो ग्वाइडोलाई साम्राज्यवादीहरूले ‘राष्ट्रपतिको मान्यता’ दिए पनि भेनेजुयला र संसारका न्यायप्रेमी जनताको मन मुटुदेखि माडुरोलाई राष्ट्रपतिबाट हटाउन सक्दैन ।
‘भेनेजुयलाः हिजो र आज’ बाह्य हस्तक्षेपका कारण उत्पन्न भेनेजुयलाको सङ्कटबारे लेखिएका रचनाहरूको सङ्कलन भए पनि यसले वर्तमान विश्व राजनीतिको तस्वीर देखाएको छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, टुट्दै गरेको संरा अमेरिकी प्रभुत्ववाद, विश्वको नेतृत्वदायी आर्थिक शक्ति चीन, फेरि महाशक्तिको रूपमा उदाउँदै गरेको रुसबारे पनि सत्यतथ्य उजागर पारेको छ । साथसाथै अन्यायी र अस्ताउँदो साम्राज्यवादविरुद्ध एकढिक्का हुन ‘भेनेजुयलाः हिजो र आज’ ले जागरुक बनाउँछ ।