भक्तपुर, २४ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको किसान प्रतिनिधिमण्डलले शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई भेटी किसान समस्या र भूकम्प पीडितको समस्याबारे ज्ञापनपत्र बुझाएको छ । भूकम्प पीडितलाई एकमुष्ट रु. १० लाख अनुदान दिनुपर्ने, वैशाख १ गते आएको असिनापानीले भक्तपुरको सुडाल, ताथली, चित्तपोल र बागेश्वरीका किसानको बाली नष्ट भएको हुँदा सरकारले उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र प्रस्तुत गर्दै किसान नेता गोविन्द दुवालले आर्थिक स्रोत नभएकै कारण अझै भूकम्प पीडितले घर बनाउन नसकेको र सहुलियत व्याजको घर निर्माण पुनःकर्जा देशभरिका करिब १३०० जनाले मात्र पाएको बताउनुभयो । उहाँले भूकम्पपछिको चार वर्षमा डण्डी, सिमेन्ट, बालुवा, ज्यालालगायतको मूल्य आकाशिएको कारण सरकारले भूकम्प पीडितहरूलाई एकमुष्ट रु. १० लाख अनुदान दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
शुक्रबार नै नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले मालपोत कार्यालय, भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालासँग भेटी मालपोत र भूमिसूधार कार्यालयमा जनताको काममा ढिलासुस्ती र भ्रष्टाचार भइरहेको बारे ध्यानाकर्षण गर्नुभयो ।
किसान प्रतिनिधिमण्डलले स्थानीय मुर्दा गुठी, स्थानीय देवता, दाफा, भजनलगायतका निजी गुठीको जग्गा बाँडफाँड गर्दा मोहीको भागमा परेको जग्गामा गुठी जनाउन नहुने र बाबु बाजेको नाममा कतिपय जग्गा छोरा, नाति, छोरी र बुहारीहरूले पहिले नै नामसारी दर्ता गरी अंशवण्डा, बेचबिखन गरिसकेकोलाई पुरानो लगतको आधारमा हदबन्दी मानी रोक्का गर्नु उपयुक्त नभएको विषयमा ध्यानाकर्षण गरायो । पहिले हदबन्दी भएको जग्गा जग्गाधनी र मोहीबीच दर्ता गर्ने निर्णय गर्ने प्रमुख र कर्मचारीहरूलाई र त्यसको भाग खाने माथिल्लो तहका सचिव, मन्त्रीलगायतका सबैलाई कारबाही गर्नुपर्ने नेक्राकिसङ्घको भनाइ हो ।
भेटघाटमा नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवाललगायत जिल्ला र नगर समितिका किसान कार्यकर्ताहरू उपस्थिति थियो ।