भर्खरै :

के संरा अमेरिकी साम्राज्यवादले भेनेजुयलामा अन्तिम अस्त्र प्रयोग गर्ला ?

प्रकाश थुसा
केही महिनाअघि भेनेजुयलामाथि विश्वभरका सञ्चारमाध्यम र राजनीतिबारे सामान्य चासो राख्नेहरूको ध्यान केन्द्रित भएको थियो । एकातिर अत्यन्त बहुमत भेनेजुयाली जनता, बोलिभारियाली सशस्त्र सेना, नेसनल गार्डस र जनमिलिसियाको साथमा वैधानिक राष्ट्रपति निकोलस माडुरो सक्रिय थिए भने अर्कोतिर देशका दक्षिणपन्थी शासक वर्ग, अमेरिकी साम्राज्यवाद र क्षेत्रीय दक्षिणपन्थी शासकहरूको साथ र समर्थनमा स्वघोषित अन्तरिम राष्ट्रपति ह्वान ग्वाइडो देशमा अराजकता मच्चाउन, गृहयुद्ध भड्काउन तथा साम्राज्यवादी सैनिक आक्रमण निम्त्याउन लागिपरेका थिए । भेनेजुयलाको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानलाई कुल्चेर त्यस देशको आन्तरिक राजनीतिक मामिलामा नाङ्गो हस्तक्षेपमा उत्रेका संरा अमेरिकी शासकहरू र ल्याटिन अमेरिकाका दक्षिणपन्थी शासकहरूले सुरुमा सञ्चारमाध्यमहरूको दुष्प्रचार र होहल्लाबाटै माडुरो सरकार हटाउने प्रयास गरे । उनीहरूले स्वघोषित अन्तरिम राष्ट्रपति ह्वान ग्वाइडोलाई भेनेजुयलाको वैधानिक सरकारको मान्यता दिएर भेनेजुयलासितको कूटनैतिक सम्बन्ध तोड्ने काम गरे र सरकारविरूद्ध आन्दोलनको नाममा केही हप्ता सडकमा हिंसा मच्चाउन लगाए ।
भेनेजुयलाविरुद्धको अमेरिकी साम्राज्यवादी हस्तक्षेपको वास्तविक उद्देश्य त्यस देशमा रहेको ऊर्जा र खनिज स्रोतहरूको दोहन गर्नु र ती सबै चीज भेनेजुयलाबाट कौडीको मूल्यमा प्राप्त गर्नु हो । तर त्यसको प्रतिरोध गर्ने देशभक्त, क्रान्तिकारी र नवउदारवादविरोधी सरकार र जनता साम्राज्यवादीहरूको लागि तगारो बनिरहेको पनि उत्तिकै सत्य हो । साम्राज्यवादीहरू लुटको आफ्नो मार्ग निष्कण्टक खुला गर्न चाहन्छन् । त्यसैले उनीहरू भेनेजुयलाको बोलिभारियाली क्रान्ति र क्रान्तिकारी सरकारलार्ई समाप्त पार्न खोज्दै छन् ।
सन् २०१३ मा क्यान्सरबाट ह्युगो चाभेजको असामयिक निधनपश्चात् भेनेजुयलाको राष्ट्रपति पदमा निकोलस माडुरो निर्वाचित हुँदै आएका छन् । निकोलस माडुरोले आफूलाई ह्युगो चाभेजका योग्य उत्तराधिकारी तथा भेनेजुयाली प्रगतिशील र न्यायप्रेमी जनताका नेताका रुपमा स्थापित गरेका छन् । उनलाई असफल पार्न साम्राज्यवादी र दक्षिणपन्थी प्रतिक्रियावादीहरूले हरसम्भव प्रयास गरिरहेका छन् । तीमध्ये देशलाई अस्थिर पार्ने हिंसात्मक उपद्रव र भेनेजुयलाविरुद्धको आर्थिक युद्ध अत्यन्त खतरनाक र पीडादायी थिए । कच्चा पेट्रोलियम तेलको आम्दानीले धानिएको देशलाई अप्ठ्यारोमा पार्न अमेरिकी साम्राज्यवादले अनेक चालमार्फत कच्चा तेलको मूल्य घटायो, भेनेजुयलाविरुद्ध अघोषित आर्थिक नाकाबन्दी लगायो । भेनेजुयलाका पुँजीपति र व्यापारीहरूलाई देश छोडेर अर्को देशमा जान लोभ देखाइयो र कतिपयलाई बाध्य पारियो । छिमेकी देशका उद्योगहरूमा भेनेजुयला सरकार र व्यापारीहरूलाई उपभोग्य वस्तु बेच्न रोकेर कृत्रिम अभाव सिर्जना गरियो । तर भेनेजुयाली सरकार र जनताले अभाव सहेर पनि बोलिभारियाली क्रान्ति रक्षा गर्ने प्रण गरेका छन् । आर्थिक युद्ध, नाकाबन्दी, कच्चा तेलको मूल्य गिरावट र अन्तर्राष्ट्रिय प्रतिबन्धबाट सिर्जित प्रतिकूल अवस्थामा पनि मे ३०, २०१८ मा भएको राष्ट्रपतीय निर्वाचनमार्फत जनताले निकोलस माडुरोलाई अर्को ६ वर्षका लागि राष्ट्रपतिमा अनुमोदन गरेका थिए ।
भेनेजुयलामा प्रजातन्त्र र मानव अधिकार बहाली गर्ने नाममा अमेरिकी सरकारले त्यहाँको सरकारी तेल कम्पनी पीडीभीएसए र त्यसको बाह्य कम्पनी सित्गोमाथि प्रतिबन्ध लगाएर संरा अमेरिकास्थित सित्गो कम्पनीका सम्पति र बैङ्क खाता कब्जा गरेर भेनेजुयलाको अर्बौँ डलर सम्पति हडप्ने अपराध गरे । संरा अमेरिका र भेनेजुयलाका छिमेकी देशका दक्षिणपन्थी सरकारहरूले लगाएका प्रतिबन्धका कारण भेनेजुयलामा आर्थिक समस्या गहिरियो । त्यसभन्दा अगाडि नै सन् २०१३–१४ देखि भेनेजुयलाको निर्यात राजस्वको मुख्य स्रोतका रुपमा रहेको कच्चा तेलको मूल्यमा गिरावट हुँदा त्यहाँ आर्थिक समस्या रहेको थियो । भेनेजुयलाका छिमेकी देशहरू कोलम्बिया र ब्राजिलसितको सिमाना बन्द गरी उपभोग्य वस्तुको आयातमा रोक लगाइदिँदा त्यहाँ उपभोग्य वस्तु र औषधिको अभाव उत्पन्न भयो । त्यसैलाई संरा अमेरिका र छिमेकी देशका प्रतिक्रियावादी दक्षिणपन्थी सरकारहरूले भेनेजुयलामा मानवीय सङ्कटको अवस्था रहेको भनी दुष्प्रचार गरे । आफैले अमानवीय नाकाबन्दी र उपभोग्य वस्तुको आयातमा प्रतिबन्ध लगाएर त्यसको असरका लागि माडुरो सरकारमाथि दोषारोपण गर्नु तिनीहरूको ‘नाङ्गो नाचे हजार दाउ’ उखानको चरितार्थमात्र हो । त्यस कर्तुतलाई भेनेजुयला र विश्वभरका मानवतावादी सरकार र जनताले कडा निन्दा गरिरहेका छन् ।
भेनेजुयला सरकारले देशमा कुनै मानवीय सङ्कटको अवस्था नरहेको र जनताको समस्याको समस्या समाधान गर्न भेनेजुयला सरकार आफै सक्षम रहेको बताउँदै अभाव भएका वस्तु विभिन्न मित्रराष्ट्रहरूबाट ल्याएर वितरण ग¥यो र गर्दै छ । त्यसपछि त्यही मानवीय सङ्कटको बहानामा सैनिक हस्तक्षेप गर्न केही दर्जन ट्रक सामान भेनेजुयलाको सिमानासँगै कोलम्बिया र ब्राजिलमा पु¥याइयो । तर, अमेरिकी सहायता सामग्री आधुनिक ट्रोजनहर्स भनी बुझेका भेनेजुयला सरकार र जनताले “हामीलाई कसैको भिख चाहिँदैन बरु हाम्रो लुटिएको सम्पति फिर्ता देऊ” भन्दै कथित सहायता सामग्री भेनेजुयला भित्रन दिएनन् । सहायता सामग्री भित्रन दिएको भए त्यससँगै अमेरिकी सेना भेनेजुयला पस्न तम्तयार अवस्थामा थिए । त्यसपछि कथित सरकारविरोधी प्रदर्शनकारीहरूले नै पेट्रोल बम प्रयोग गरी सहायता सामग्री जलाए र त्यसको दोष भेनेजुयला सरकार र सरकार पक्षधर चाभेजपन्थीहरूमाथि लगाए ।
माडुरो सरकार हटाउने अभियान महिना दिन बित्दा पनि सफल नभएपछि साम्राज्यवादीहरूले भेनेजुयाली जनतालाई दण्डित गर्ने नयाँ नयाँ योजना अगाडि ल्याए । भेनेजुयलाका सरकारी बैङ्कहरूमाथि मात्र नभई अमेरिकी जनताको लगानी भएका निजी बैङ्कहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ । जनताको जीवन कष्टकर बनाउन देशको विद्युत् प्रसारण लाइन र बैङ्कि प्रणालीलगायत विभिन्न क्षेत्रमा साइबर हमलाहरू गरी बन्द गर्न लगाइयो । भेनेजुयलाको विद्युत् आपूर्तिको केन्द्रीय प्रसारण लाइनको कम्प्युटर प्रणालीमाथि नै पटक–पटक साइबर हमला गरी देशभरको ७० प्रतिशत विद्युत् आपूर्ति सेवालाई बन्द गर्ने दुष्प्रयास गरियो । विद्युत् आपूर्ति बन्द हुँदा मेट्रो रेल सेवालगायत जनजीवनका अधिकांश क्षेत्र बन्द र अस्तव्यस्त भए । तर भेनेजुयला सरकार र प्राविधिकहरूको अथक मेहनतले केही दिनभित्रै विद्युत् आपूर्ति सेवा पुनः व्यवस्थित गरियो र जनजीवन सामान्यतर्फ फर्कियो । ट्रम्प प्रशासनले दबाबको अन्तिम अस्त्रका रुपमा भेनेजुयलामाथि पूर्ण स्तरको आर्थिक नाकाबन्दी लगाएको छ । भेनेजुयलाका साथै भेनेजुयाली जनतालाई सहयोग गरिरहेका र सहायता पु¥याइरहेका क्युवा, निकारागुआ र रसियामाथि अनेक प्रतिबन्ध र नाकाबन्दी घोषणा गरेको छ ।
भेनेजुयलामा सरकार पक्षधर र विपक्षीहरूलाई कहिल्यै मिल्न नदिने अमेरिकी सरकारहरूको स्थायी नीति नै रहेको छ । पटक–पटक शान्ति वार्ता र विवादको राजनीतिक समाधानका लागि उन्मुख भएका भेनेजुयलाका राजनीतिक विपक्षीहरू अमेरिकी निर्देशनमा अन्तिम घडीमा सम्झौताबाट फर्केर हिँडेका छन् ।
विपक्षीहरूको आन्दोलनमा निरन्तर सहभागिता घट्दै गएपछि युरोपेली राष्ट्र नर्वेको मध्यस्थतामा वार्ता र राजनीतिक सम्झौताको लागि तयार भएर नर्वे पुगेका ह्वान ग्वाइडो अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एउटा फोन आउनेबित्तिकै वार्ता छोडेर फर्केका छन् । त्यसबाट ग्वाइडोलाई चलाउने रिमोट कन्ट्रोल वासिङ्टनमा रहेको सत्य पुनः उदाङ्गो भयो । यसअघि मेक्सिको र उरुग्वेका सरकार मिलेर पनि मध्यस्थताको प्रयास नगरेका होइनन् तर भेनेजुयलाका दक्षिणपन्थी विपक्षीहरू राजनीतिक समाधानको पक्षमा नरहेको देखिए ।
भेनेजुयलाको आर्थिक सङ्कटलाई समाधान गर्न नसकेको र अवैधानिक निर्वाचनबाट आएको आरोप लगाएर वैधानिक राष्ट्रपति निकोलस माडुरो सरकारविरुद्ध गरिएको सत्ता विप्लवको प्रयास अन्ततः असफल भइसकेको छ । संरा अमेरिकी शासकहरूको निर्देशनमा भेनेजुयलाका दक्षिणपन्थी विपक्षीहरूले जनवरी २३, फेब्रुअरी २३ र अप्रिल ३० का दिन सैनिक विद्रोह गर्न र गराउन खोजेका थिए तर क्रान्तिकारी सरकारप्रति भेनेजुयाली सेनाको बफादारी र बहुमत जनताको साथका कारण सत्ता विप्लवको प्रयास सफल भएन । भेनेजुयलामा सत्ता परिवर्तनका लागि संरा अमेरिकी शासकहरूले गर्नसक्नेसम्म सबैखाले कानुनी, गैरकानुनी र अनैतिक उपाय अपनाइसकेका छन्, ती सबै उपाय असफल भइसकेका छन् । भेनेजुयलामा सत्ता परिवर्तनको खेलमा लाग्दालाग्दै ट्रम्प प्रशासन थकित भइसकेको छ र निराश बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयाली राष्ट्रपति निकोलस माडुरो चपाउनै नसकिने ‘कडा कुकी’ (बिस्कुट) भएको लेख्दै आफ्नै प्रशासनको रणनीतिमाथि प्रश्न उठाएका छन् । अमेरिकी शासकहरूसित उनीहरूकै घोषणाअनुसार अन्तिम अस्त्र बाँकी छ, त्यो अस्त्र हो – कुनै निहुँमा भेनेजुयलामाथि सैनिक हमला ।
भेनेजुयलामाथि सैनिक हमलाको लागि संरा अमेरिकाको दक्षिणी कमाण्डलाई तम्तयार अवस्थामा राखिएको छ । दक्षिणी कमाण्डमा प्रमुख जनरल क्रैग फलरले पटक–पटक ट्विट गरी तथा सञ्चारमाध्यममार्फत वासिङ्टनबाट आदेश आएको केही मिनेटभित्रै भेनेजुयलामाथि युद्ध सुरु गर्न अमेरिकी सेना तम्तयार भएर बसेको बताउने गरेका छन् । वासिङटनमै पनि युद्धपिपासु उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन भेनेजुयलाको सत्ता परिवर्तनका लागि सबै उपाय तयार अवस्थामा छन्, सैनिक हमलाको उपायसमेत भनी पटक–पटक बोलिरहेका छन् । तर वासिङ्टनका ती युद्धपिपासुहरूको लागि ह्वाइट हाउस र पेन्टागनभित्रैबाट केही अवरोध रहेको बुझिन्छ । भेनेजुयलामा आक्रमण विश्वका अरु भागमा जस्तो सहज नहुने, व्यापक जनविरोध उठ्नसक्ने र भेनेजुयला युद्ध भएमा संरा अमेरिकाले आप्रवासीहरूको आप्रवाहलाई रोक्न नसक्ने र अरबौं डलर आप्रवासीहरूको व्यवस्थापनका लागि खर्च गर्नुपर्ने हुन्छ भन्दै कार्यबाहक रक्षा मन्त्री प्याट्रियट शानाहन र पेन्टागन टीमले सेना परिचालनको लागि सहमति नदिएको बताइएको छ ।
भेनेजुयलामाथि सैनिक आक्रमणको उपाय वासिङ्टनको पागलपन सावित हुने भन्दै सीआईएका लागि ल्याटिन अमेरिकी मामिलाका पूर्वविश्लेषक तथा अमेरिकन विश्वविद्यालयका सङ्काय सदस्य फुल्टन आर्मस्ट्रङले मे ३ को गार्जियन पत्रिकामा एक लेख प्रकाशन गर्दै लेखेका छन्, ‘‘यी मानिसहरू (ट्रम्प प्रशासनभित्रका) जीतका निम्ति अति नै अधैर्य बनेका छन्, तिनीहरूको नसानसामा टेस्टोस्टेरोन हार्मोन धेरै बगिरहेको छ । मलाई चिन्ता लागिरहेको छ, तिनीहरूले भेनेजुयला मामिलालाई लिएर साँच्चिकै मूर्खतापूर्ण कदम चाल्ने त छैनन ?’’
आर्मस्ट्रङको आशङ्कालाई बल मिल्ने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हालै मुनरो डक्ट्रिन ‘जीवन्त र राम्रै’ रहेको बताउँदै ल्याटिन अमेरिकामा संरा अमेरिकाले नवउपनिवेशवादी भूमिका निर्वाह गर्ने आशय व्यक्त गरेका थिए । भेनेजुयलामा रुसी सैनिक सल्लाहकारहरूको उपस्थितिप्रति कडा विरोध गर्दै बोल्टनले पूर्ववर्ती ओबामा प्रशासनजस्तै ट्रम्प प्रशासन पनि मुनरो डक्ट्रिन लागू गर्न र अमेरिकामा अमेरिकी हितको रक्षा गर्न पूर्णरूपमा सफल नभइरहेको भनी गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *