भर्खरै :

प्रम ओलीको उद्देश्यहीन विदेश यात्रा

–सुरजसिंह
प्रधानमन्त्री ओली एकसाता लामो युरोप भ्रमणमा निस्किएका छन् । कूटनीतिज्ञहरूले भने यो भ्रमणलाई ‘खासै अर्थ नरहेको र उद्देश्यहीन यात्रा’ भनेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमणमा नेपालको सम्मान र हित जोडिएको हुन्छ । मूल हेक्का राख्नुपर्ने पनि त्यसैलाई हो । नेपालको छिमेकी देशले नेपालतर्फ आँखा ठूलो पारेर हेरिरहेको बेला नेपालको प्रधानमन्त्री देशको हितमा सक्रिय रहनुपर्ने बेलामा रहरको भ्रमणमा रुमलिनु कदापि सही होइन । तर प्रधानमन्त्री ओलीले त्यस्तो हेक्का राखेको देखिएको छैन । प्रधानमन्त्रीको अहिलेको भ्रमणको उद्देश्य नै स्पष्ट छैन ।
जेनेभामा आइएलओको कार्यक्रममा श्रममन्त्री जाँदा हुने भए पनि प्रधानमन्त्री ओली नै गएका छन् तर उनले जानुअघि सार्वभौम जनतालाई सूचित गर्नसम्म आवश्यक थानेनन् । त्यस्तै ब्रिटेन आफै आन्तरिक राजनीतिक उथलपुथलमा रहेका बेला र त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिइरहेको अवस्थामा त्यहाँ नगई नहुने बाध्यता किन प¥यो ? कूटनीतिक वृत्तमा प्रश्न उठिरहेको छ । फ्रान्समा सहसचिव स्तरको कर्मचारी गएर गर्न सकिने सम्झौताहरू गर्न प्रधानमन्त्री जानु अझ हास्यास्पद देखिन्छ । त्यसैले नेपालको सरकार प्रमुख भ्रमणमा जाँदा पनि त्यहाँको कार्यकारी राष्ट्रपतिले भेटनेसम्म कार्यक्रम बनेन ।
यसअघि प्रधानमन्त्रीले गरेको भियतनाम र क्याम्बोडियामा पनि उद्देश्य स्पष्ट थिएन, त्यसैले ती भ्रमणहरू आलोचित र हास्यास्पद भए । अहिले पनि अवस्था त्यस्तै छ । हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूलाई विदेश घुम्न जाने लत लागेको छ । त्यसले गर्दा मुलुकको भलो होइन, मुलुक हास्यको पात्र बन्ने गरेको छ । भ्रमण गर्नुपूर्व सरकारले कूटनीतिक प्राथमिकता तय गर्नुपर्ने र भ्रमणहरूको पूर्वतयारी गर्नुपर्ने हो तर ओली सरकारले त्यस्तो तयारी केही गरेको देखिएन । यसरी कुनै उद्देश्यविना जम्बो टोलीसहित विदेश भ्रमण गर्दा त्यसले मुलुकलाई फाइदा पटक्कै गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *