युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
ल्याटिन अमेरिकी जनताका हृदय सम्राट चे ग्वेभाराको परिचय अब आवश्यकता छैन । क्रान्तिप्रति समर्पित समाजवादका एक सिपाहीँ, एक गुरिल्ला नेता, अभिव्यक्ति र लेखनीका एक सशक्त स्रष्टाको नाम नै चे हो । क्रान्तिकारी रोमानी भावनाबाट ओतप्रोत उनको एक कविता प्रस्तुत छ ।
‘फिडेलको गीत’ एक अध्ययन
हरेक भाषाको काव्य जगत्मा विभिन्न महापुरुष र विषयलाई सम्बोधन गरिएको वा तिनीहरूको बयान गरिएका कविता र गीतहरू पाइन्छन् । वीरहरूप्रति समर्पित र ऋतुहरूको गीत सबै भाषाको साहित्यमा पाइन्छ । अङ्ग्रेजी कवि शैलीको ‘पश्चिमी हावाको गीत’ यहाँ गीतमा कवि चेले आफ्नो विश्वासका पात्र क्युवाली क्रान्तिका अग्रदूत फिडेल क्याष्ट्रोप्रति आफ्नो क्रान्तिकारी आस्था जाहेर गरेको छ । हो, पार्टी र क्रान्तिका अग्रदूत साँच्चै आस्था र आकर्षण केन्द्र हुने गर्छ । उनीबाटै क्रान्तिकारीहरूले क्रान्तिका सैद्धान्तिक र अव्यवहारिक ऊर्जाहरू प्राप्त गर्ने गर्छन् । अङ्ग्रेजी काव्य जगतमा पनि ‘एकान्त ठाउँ’, ‘कसैको नगरेको काम’ वा ‘नयाँ पवित्र कार्य’ लाई ‘नकुल्चिएको बाटो’ वाक्यांश प्रयोग गरिएको छ । बेलायतका रोमानी कवि वर्ड्सवर्थका कविताहरू यसका उदाहरण हुन् –
नकुल्चिएको बाटोमा मानिसले
तिमीले माया गरेको
हरियो टापुलाई मुक्त गर्न ।
यहाँ ‘हरियो टापुको’ अर्थ हो क्युवा जसलाई क्याष्ट्रोले शोषणबाट मुक्त गर्न बन्दुक उठाएका थिए । कविले यस गीतमा फिडेल क्याष्ट्रोको क्रान्तिकारी आशावादीतालाई ‘सूर्य उदाउने’ र नयाँ बिहानीसँग दाँजेर नेताको अचुक भविष्यवाणीप्रति सङ्केत गरेको छ–
तिमीले भनेका थियौ
सूर्य उदाउनेछ
अथवा समाजमा ठूलो परिवर्तन हुनेछ ।
नयाँ समाजमा ठूलो परिवर्तन हुनेछ
त्यो बाटो समाजवाद बाटो हो, क्याष्ट्रो नै पहिलो वीर हो ल्याटिन अमेरिकामा जसले अति क्रान्तिकारी उत्साह बोकेर ८०–८२ जनाको सशस्त्र दल लिएर क्युवाको जङ्गलमा अमेरिकी साम्राज्यवादको दलाल र तानाशाहीको विरोधमा पहिलो बन्दुक पड्काए । क्रान्तिकारीहरू आफ्नो मातृभूमिलाई माया गर्छन् र आफ्ना जनताप्रति बफादार हुन्छन् । क्रान्तिकारीहरूको निम्ति व्यक्तिगत स्वार्थ वा आफ्नो व्यक्तिगत चरित्र तुच्छ हुन्छ । जो स्वार्थी हुन्छ त्यो क्रान्तिकारी हुनसक्दैन । जो क्रान्तिकारी हुन्छ ऊ स्वार्थी हुँदैन ।
साधारण जनता आफ्नो कष्टपूर्ण जीवन र दुःखलाई आफ्नो भाग्य सम्झन्छन् । क्रान्तिकारी त्यसलाई अस्वीकार गर्छन् । गरिब वा कामदार जनताको शोषण र अन्याय अत्याचारको कारण भाग्य होइन बरु साम्राज्यवाद, सामन्तवाद र पुँजीवादजस्तो अत्याचारी व्यवस्था हो । क्रान्तिकारीहरू अपमान, अन्याय र अत्याचारको कारण भनिएको त्यस भाग्यलाई सङ्घर्ष गरेर मेटाउन चाहन्छन् । त्यस क्रान्तिको बाटोमा लाग्दा दुईवटा विकल्प हातमा लाग्छ विजय वा मृत्यु । क्युवाली क्रान्तिको मूल मन्त्र आज पनि त्यही हो–समाजवादको विजय वा मृत्यु कुरो सा¥है मार्मिक ढङ्गले यहाँ व्यक्त गरिएको छ –
आऊ, हामी अगाडि बढौँ
दुर्भाग्यको अपमानलाई
आफ्नै निधारमा मेटाउन
विजयलाई हात पारौँ वा
मृत्युलाई छिचोलेर जाऔँला ।
हो, आफ्नो देश अरुको उपनिवेश बन्नु भनेको दासतालाई स्वीकार्नु हो । दासता मानव जातिको दुर्भाग्य नै हो । त्यसलाई मेटाउनैपर्छ–मुक्ति सङ्घर्षले । शान्त पोखरीमा एउटा ढुङ्गा हान्दा, त्यसको छाल चारैतिर फैलिन्छ, पानी र पोखरीमा एकछिन हलचल ल्याउँछ र त्यसलाई चलायनमान बनाउँछ । त्यस्तै क्रान्तिकारीहरूको एक गोलीले पुरानो शासन व्यवस्था र अत्याचारीहरू झस्कन्छन्, तर्सन्छन् । जनता खुसीले आश्चर्यचकित हुन्छन् र एउटा नयाँ विश्वास र आशाको सञ्चार हुन्छ । क्रान्तिको बीउ सानो हुन्छ, आगोको बीउजस्तै । बस, त्यति नै पर्याप्त हुन्छ । सुरुमा क्युवाको क्रान्ति यसको एक ज्वलन्त उदाहरण हो ।
क्रान्तिकारी सेना भाडाका सिपाहीँ होइनन् । बरु देश र समाजलाई बदल्न खोज्ने शक्ति भएको हुनाले त्यसमा असीम उत्साह र सुझबुझ भएको हुन्छ । सा¥है छोटो भाषामा क्याष्ट्रोले नेतृत्व प्रदान गरेको सशस्त्र दलबारे कवि भन्छन्–
सारा जङ्गल आश्चर्यले थर्कनेछ
पहिलो गोलीमै सशस्त्र
एउटामात्रै सशस्त्र टोली यहाँ
रहे पनि तिमीसँगै ।
सशस्त्र दलको क्षमता उसको सिद्धान्त र नेतृत्व गर्ने व्यक्तिको कुशलतामा निर्भर हुन्छ । साँच्चै क्याष्ट्रोले एकै सानो सशस्त्र टोलीबाट सुरु गरेर क्यारेवियाली सागरमा वा पश्चिमी गोलाद्र्धमा क्रान्ति र समाजवादको रातो झण्डालाई उँचो फहराएर छोडे ।
क्रान्तिको अर्थ हो –भूमिहीनलाई भूमि र भूमि व्यवस्थामा सुधार, युगौँदेखि अन्यायमा परेकालाई न्याय, भोकालाई रोटी र कामदारहरूलाई उचित ज्याला अनि बाँधिएका वर्ग र जातिको मुक्ति ।
क्रान्तिकारीहरू त्यही रातो झण्डामुनि एक हुन्छन् र आफ्नो जीवनलाई उत्सर्ग गर्छन् । क्रान्तिकारीहरूसँगै रगत बगाउँछन् र विजय पनि सँगसँगै हासिल गर्छन् । यसकारण कवि भन्छन् –
हामीसँगै रहनेछौँ
फेरि अन्तिम लडाइँको निम्ति ।’
क्रान्ति विजयमै टुङ्गिन्छ । धेरै धेरै विजयपछि मात्रै अन्तिम विजय साम्राज्यवादको अन्त र साम्यवादी उदय हुन्छ । क्रान्तिकारीहरू यसकारण बीचमा थाम्नुहुन्न र थाम्दैनन् भन्ने कुरा कवि बताउन चाहन्छन् ।
जङ्गली पशुले घाउको रगत आफैले चाट्ने कुरो सबैलाई थाहा छ । विवेकरहित प्राणी नै पशु हो । त्यस्तै साम्राज्यवाद पनि विवेकरहित व्यवस्था हो । त्यो पनि पशुसरह हिंस्रक र जङ्गली छ । हरेक देशको क्रान्ति र विजयमा त्यो घाइते हुन्छ । हारपछि पनि साम्राज्यवादलाई दिएको जङ्गली पशुको प्रतीक अत्यन्त सुहाउँदो छ । त्यसबेला क्रान्तिकारीहरू टाउको उठाएर गर्व गर्छन् । यहाँ कवि अर्को कुरामा पनि प्रकाश पार्न चाहन्छ–त्यो हो क्रान्तिकारीहरू हार र मृत्युमा पनि सँगै रहन्छन् र विजयमा पनि । यसकारण कवि चे आत्मगौरवको भाषा र साम्राज्यवादले बेहोर्ने प्रहारबारे भविष्यवाणी गर्दै भन्छन् –
‘क्युवाबाट घाइते भई असभ्य पशु
आफ्नो घाउको रगत आफै चाटिरहँदा
बडो गर्वसाथ उँचो शिर लिएर
हामी तिमीसँगै हुनेछौँ ।
सच्चा क्रान्तिकारीहरू लोभ र लालचमा फस्दैनन् र फस्नुहुन्न, तर शत्रुको गोला–बारुदमाथि भने ध्यान जानैपर्छ किनभने शत्रुलाई निःशस्त्र पार्नुपर्छ, त्यसलाई कमजोर पार्न त्यसको हातहतियार कब्जा गर्नुपर्छ, क्रान्तिकारी सङ्घलाई सशस्त्र र बलियो पार्न । यसकारण कवि स्पष्ट भाषामा भन्छन् –
चाहिन्छ शत्रुको
गोला बारुदहरूको एक थुप्रोमात्र ।
क्रान्तिको बाटो सोझो र सजिलो छैन, त्यो विकट छ र काँडाले भरिएको हुन्छ, क्षण–क्षणमा मृत्यु पर्खिरहन्छ । क्रान्तिकारीहरू पद र पैसाका भोका हुँदैनन् । सहिद नै भए पनि तिनीहरूलाई जनताको माया र प्रेममात्रै चाहिन्छ– आँसुले भिजेको ओढ्ने । त्यही कात्रोले गुरिल्ला क्रान्तिकारीहरू सहिद भएर छोपिनेछन् – झण्डा बनी । वास्तवमा वीरहरूको रगत र कात्रोहरूको लाशले नै अर्थात् रगत र आँसुले अमेरिकी इतिहास लेखिने छ । त्यस्तै कवि सा¥है हृदयस्पर्शी भाषामा भन्छन् –
‘…. हामीलाई एउटा ओढ्ने भए पुग्छ
क्युवालीहरूको आँसुले भिजेको ।’
क्रान्तिकारीहरूले अमेरिकाको नयाँ इतिहास लेख्नेछन् । त्यो इतिहास साम्राज्यवादविरोधी सङ्घर्ष र राष्ट्रिय मुक्तिको इतिहास हुनेछ । त्यो इतिहासको लेखन सङ्घर्षको लामो यात्रा हो – रगत र आँसुले भिजेको त्याग र बलिदानले भरेको । यसकारण कवि भन्छन् –
‘गुरिल्लाहरूको लाश छोप्नेछौँ ……. ।
हामी त्यस कात्रोले
अमेरिकी इतिहासको यात्रामा
अरु हामीलाई केही चाहिँदैन ।’
साभार ः ‘लर्को’ बुलेटिन
फिडेलको गीत
– चे ग्वेभारा
तिमीले भनेका थियौ, सूर्य उदाउनेछ
लौ जाऔँ
नकुल्चिएको बाटोमा मानिसले
तिमीले माया गरेको
हरियो टापुलाई मुक्त गर्न ।
आऊ, हामी अगाडि बढौँ
दुर्भाग्यको अपमानलाई
आफ्नो निधारबाट मेटाउन,
विजयलाई हात पारौँला
मृत्युलाई छिचोलेर जाऔँला
सारा जगत आश्चर्यले थर्किने छ
पहिलो गोलीझैँ झस्केर
एउटामात्रै सशस्त्र टोली त्यहाँ
रहे पनि तिमीसँगै ।
भूमिसुधार, न्याय, रोटी र स्वतन्त्रताको चारैतिर तिम्रो स्वर गुञ्जिँदा
हामी पनि तिमीसँगै हुनेछौँ
तिम्रै स्वरमा स्वर मिलाएर ।
फटाहा निरङ्कुश शासनसँग निरन्तर
सैनिक सङ्घर्षको अन्ततिर पनि
हामी तिमीसँगै रहनेछौँ
फेरि अन्तिम लडाइँको निम्ति ।
क्युवाबाट घाइते भई असभ्य पशु
आफ्नो घाउको रगत आफै चाटिरहँदा
बडो गर्वसाथ उँचो शिर लिएर हामी तिमीसँगै हुनेछौँ ।
कहिले नसोचे हुन्छ तिमीले
तिम्रो न्याय र सत्यप्रतिको निष्ठा
शत्रुको उपहार र पदवीमा जित्नेछ
वा जितिने छन् चास्नी पोतेको गोलीले
हो, हामीलाई त चाहिन्छ शत्रुको गोला–बारुदहरूको
एक थुप्रोमात्र
अरु केही चाहिन्न हामीलाई ।
बाटोमा फलामे पर्खाल भेट्यो भने
खाली हामीलाई एउटा ओढ्ने भए पुग्छ ।
तर त्यो क्युवालीहरूको आँसुले भिजेको ।
त्यसले आफ्ना गुरिल्लाहरूको लाश छोप्नेछौँ
हामी त्यस कात्रोले
अमेरिकी इतिहासको यात्रामा,
अरु हामीलाई केही चाहिँदैन ।
Leave a Reply