भर्खरै :

नागरिक, प्रदूषण र नगरपालिका

विद्यार्थी कालमा नागरिकशास्त्र नपढाइँदा ठूलो भएपछि नागरिक भावना नहुनु स्वाभाविक हो, किनभने सबैको संवेदनशीलता समान हुँदैन । ठूल–ठूलो स्वर निकालेर मोटरसाइकल हाँक्नु, छर–छिमेकी, यात्रु, विद्यालयका विद्यार्थी, बिरामी आदिलाई अप्ठेरो हुनेबारे ध्यान नजानु नागरिक भावना नहुनु हो । नगरमा जोडिएका–घर, चोक, बजार, अस्पताल, अड्डा आदि हुने भएकाले ठूलो आवाजको मोटरसाइकल, ट्रयाक्टर, ट्रिपर, ट्रक, ठूलो बसले सबै नागरिकलाई अप्ठेरो पर्ने हुँदा सानो उमेरमै सबैलाई नागरिक भावनाको शिक्षा दिएमा पछि समाजले समस्या झेल्नुपर्ने थिएन ।
एकपटक काठमाडौँको त्रि–चन्द्र कलेजका विद्यार्थीहरूले सडकमा आएर सवारी साधनहरू रोेकेका थिए । पछि सरकारले नै त्रि–चन्द्र कलेज र वीर अस्पताल क्षेत्रमा मोटर बिस्तारै चलाउने, ‘हर्न’ बजाउन नपाउने नियम लागू ग¥यो । भक्तपुरमा ठूल–ठूलो स्वरले मोटरसाइकल चलाउने २–४ जना युवाहरूलाई जनताले नै रोक्ने हो वा प्रहरीले रोक्ने हो, समयमै नगरपालिका वा जनप्रतिनिधिले सोच्नु आवश्यक छ । सबै कुरा सरकार र प्रशासनले ध्यान दिन नसक्ने हुँदा निर्वाचित स्थानीय निकायको बन्दोबस्त गरिएको हो । यसकारण वडाध्यक्ष र वडाका प्रतिनिधिहरू वडा कार्यालय र घरमा बस्ने होइन, टोल–टोलमा गएर जनताको समस्या बुझ्नु आवश्यक छ ।
हिजो–आज ध्वनि प्रदूषणमात्रै होइन हावाको प्रदूषण पनि अचाक्ली छ । तर, विद्यालयहरू भएकै टोलमा ट्रिपरहरू बिहान ६ बजेदेखि राती १२–१ बजेसम्म आवतजावत गर्दा र गिट्टी–बालुवा लोड–अनलोड गर्दै गर्दा उड्ने धुलो र बाहनको घुइँचोले टोलवासी, विद्यार्थी र यात्रुहरूलाई अप्ठेरो होला कि भनी केही सोचिएको छ ?
टोलमा साथीहरूले पनि सोच्नुपर्ने विषय हो – घर भनेको ‘आवास क्षेत्र’ को एक एकाइ हो – गोदाम होइन । फलामे डण्डी, सिमेन्ट, इँटा, गिट्टी–बालुवाको गोदाम आवास क्षेत्रमा होइन, त्यस्तै क्षेत्रमा बन्दोबस्त गर्नुपर्ने हो । ब्यासीको ‘सानो उद्योग’ क्षेत्रजस्तै ‘गोदाम क्षेत्र’ राजमार्गतिर बन्दोबस्त गर्नुपर्छ, आवास क्षेत्र गोदाम क्षेत्र होइन । घर र बजारमा ग्याँस, मट्टीटेल, पेट्रोल पम्प, चुरोट, चामल, रासायनिक मललगायतका गोदामलाई निषेध गर्नु आवश्यक छ । ग्याँस, मट्टीतेल, पेट्रोल पम्पमा आगो लागेमा टोलका जनता र घर सबै सखाप हुनेछन् । रासायनिक मलको ग्याँसले टोल–छिमेकीहरूलाई पनि रोग लाग्ने सम्भावना छ ।
ट्याक्सी, ट्रक, बस, मोटरसाइकल आदि बाहन पनि आवास क्षेत्रभन्दा टाढा राख्नु उचित हुन्छ । डिजेल र पेट्रोल भएका बाहनहरू घर वरपर राख्दा आगो लागेमा ठूलो क्षति हुने भएकाले बस्तीभन्दा अलि पर ‘ग्यारेजहरू’ को बन्दोबस्त गर्नु र गराउनु आवश्यक छ ।
यस्ता सबै काम र बन्दोबस्त नगरपालिकाले गर्ने हो । टोल र आवास क्षेत्रको सडक ‘ग्यारेज’ होइन । सडकको दायाँ–बायाँ दुवैतिर बाहनै जान नसक्ने गरी सडकभरि ट्रिपर, ट्रक, बस, ट्याक्सी र अन्य बाहन राख्दा दमकल र एम्बुलेन्सले कसरी सेवा पु¥याउने हो ?
नगरपालिकाले एउटा ऐन बनाएर ‘ग्यारेज’ र ‘गोदाम क्षेत्र’ बनाउनु आवश्यक छ । सडकमा ट्रिपर, ट्रक बस, ट्याक्सी र अन्य बाहन राखिएको कारण दमकल, एम्बुलेन्सजस्ता साधन समयमै जान नसकी आगोबाट क्षति भएमा वा बिरामीको मृत्यु भएमा सडक अवरूद्ध पार्ने बाहनका मालिकले क्षतिपूर्ति गर्ने ऐन–कानुन बनाउनु आवश्यक छ ।
– एक नगरका नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *