भर्खरै :

ट्रम्पको पालाको संरा अमेरिका ‘विश्वको इतिहासमै सबैभन्दा बढी युद्धपिपासु राष्ट्र’ ः जिम्मी कार्टर

ब्रेट विल्किन्स् (Brett Wilkins)
संरा अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले ट्रम्पको शासन रहेको वर्तमान संरा अमेरिका विश्वको इतिहासमै सबैभन्दा बढी युद्धपिपासु राष्ट्र भएको बताएका छन् ।
पूर्व राष्ट्रपतिले शान्तिपूर्ण नीतिकै कारण चीन हरेक क्षेत्रमा संरा अमेरिकाभन्दा अगाडि बढेको बताए ।
आफ्नो कार्यकाल कुनै युद्ध, सैनिक हमला वा कब्जा नगरी पूरा गरेका एकमात्र अमेरिकी राष्ट्रपति कार्टरले नियमित आइतबार स्तरीय विद्यालय प्रवचन अभियानको क्रममा आफ्नो गृहनगर प्लेइन्स, जर्जियाको मारोजाथो बाप्टिस्ट चर्च विद्यालयमा प्रवचन दिँदै उक्त विचार व्यक्त गरेका थिए । सो अवसरमा पूर्वराष्ट्रपति कार्टरले आफूले चीनबारे वर्तमान राष्ट्रपति ट्रम्पसित वार्तालाप गरेको पनि खुलासा गरे । ९४ वर्षीय कार्टरले वार्तालापका क्रममा ट्रम्पले चीनको बढ्दो अर्थतन्त्र र शक्तिप्रति चिन्ता र चासो व्यक्त गरेको र “चीन हामीभन्दा अगाडि बढिसक्यो” भनेको बताए ।
सन् १९७९ मा वासिङ्टन र पैचिङबीचको कूटनीतिक सम्बन्धलाई सामान्यीकरण गरेका कार्टरले ट्रम्पलाई चीनको अधिकांश सफलताको कारण उसको शान्तिपूर्ण विदेश नीति भएको बताए ।
“१९७९ देखि तपाइँलाई थाहा छ चीन कतिपटक कसैसित युद्धमा होमियो ?” कार्टरले प्रश्न गरे । आफैले जवाफ दिँदै उनले भने– “कसैसित पनि युद्ध गरेको छैन । हामी (संरा अमेरिका) भने निरन्तर युद्धमा छौँ ।”
चीन संलग्न उल्लेखनीय युद्ध भनेको सन् १९७९ मा भएका भियतनाममाथिको प्रतिरोध युद्ध हो । चीनको जनमुक्ति सेनाले भियतनामसितको सीमाक्षेत्रमा केही सय गोला फालेको थियो र चिनियाँ जलसेनाले भियतनामी जलसेनाका केही डुङ्गाहरू ध्वस्त पारेको थियो । त्यसपछिदेखि चीन आफ्ना छिमेकीहरूसित र विश्वसित निरन्तर शान्तिमै रहँदै आएको छ ।
कार्टरले भने, “एक राष्ट्रको रूपमा संरा अमेरिकाको २४२ वर्षमा जम्मा १६ वर्ष शान्ति (युद्ध नभएको) वर्ष रहेको छ । संरा अमेरिकाले छेडेको युद्ध, सैनिक आक्रमण र सेना परिचालन सम्झिराख्न र गन्न पनि मुस्किल भइसकेको छ ।”
संरा अमेरिकाको इतिहासमा वास्तविक शान्ति ५ वर्षको रहेको छ । राष्ट्रपति जेराल्ड फोर्ड प्रशासनको अन्तिम वर्ष १९७६ र १९७७–८०, कार्टरको पूरै राष्ट्रपति कार्यकाल । त्यसैले कार्टरले संरा अमेरिकालाई विश्व इतिहासमै सबैभन्दा युद्ध पिपासु राष्ट्र भन्नुले विशेष अर्थ राख्छ । उनले भने–संरा अमेरिकाले अरू देशलाई बलजफ्ती “हाम्रो अमेरिकी सिद्धान्त लागू गर” भन्नु गलत छ ।
“चीनको शान्तिले लाभ दिएको छ र त्यसले निरन्तर आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । हामीसित कति माइल उच्च गतिको रेल रोड छ ? चीनसित अहिले १८ हजार माइल (२९ हजार किमि) भन्दा लामो उच्च गतिको रेल लाइन छ । संरा अमेरिका प्रत्येक वर्ष ३ ट्रिलियन डलर सैनिक खर्चका नाममा खेर फाल्छ । ब्राउन विश्वविद्यालयको अन्तर्राष्ट्रिय र सार्वजनिक मामिलाको वाट्शन इन्स्टिच्युटले नोभेम्बर २०१८ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार संरा अमेरिकाले इराकयुद्धमा मात्र ५.९ ट्रिलियन डलर खर्च गरेको थियो । २००१ देखि अफगानिस्तान, पाकिस्तान, सिरिया र अरू देशहरूमा युद्ध गर्दाको खर्च त हिसाबै गर्न बाँकी छ । त्यो खर्च तपाईंले अनुमान गरेभन्दा धेरै बढी हुनसक्छ । चीनले युद्धमा एक पैसा पनि खर्च गरेको छैन र त्यसकारण चिनियाँहरू हामीभन्दा अगाडि छन् । हरेक हिसाबले तिनीहरू अगाडि छन्” कार्टरले भने ।
कार्टरले आफ्नो अनुमानित हिसाबअनुसार भने, “मलाई लाग्छ भिन्नता यही छ । यदि हामीले ३ ट्रिलियन डलरलाई पूर्वाधार निर्माणमा लगाउन सकेका भए प्रत्येक वर्ष २ ट्रिलियन डलर फिर्ता (आम्दानी) हुन्थ्यो । हामीसित सबैभन्दा लामो उच्चगतिको रेल लाइन हुन्थ्यो । हामीसित भएका पुलहरू भग्न अवस्थामा हुने थिएनन्, हामीले हाम्रा सडकहरू राम्ररी जीर्णोद्धार गर्न सक्ने थियौँ । हाम्रो शिक्षा प्रणाली पनि दक्षिण कोरिया र हङकङको जत्तिकै राम्रो हुन्थ्यो ।”
संरा अमेरिकामा एउटा भ्रमात्मक विश्वास बाँकी छ कि संरा अमेरिकाले थाल्ने हरेक युद्ध स्वतन्त्रताको रक्षा र आदर्श उद्देश्यका लागि हो । तर, विश्व जनमत र तथ्यले बेग्लै तस्बिर प्रस्तुत गर्छ । सन् २०१३ मा गरिएको विन÷गेलुप सर्वेक्षणले विश्वका अधिकांश देशहरूले संरा अमेरिकालाई विश्व शान्तिका लागि खतरा मानेका देखाएको थियो । त्यस्तै सन् २०१७ मा ३० वटा देशका मानिसहरूबीच गरिएको प्यु अनुसन्धान सर्वेक्षण (Pew Research Poll 2017) मा अत्यन्त बहुमत मानिसले संरा अमेरिकालाई विश्वशक्ति मान्नुका साथै विश्व शान्तिका लागि ‘प्रमुख खतरा’ पनि मानेको स्पष्ट भएको थियो ।
दोस्रो विश्वयुद्धको समाप्तिदेखि संरा अमेरिकाले दर्जनौँ देशहरूमा हमला गर्नु वा बमबारी गर्नुका साथै झण्डै सबैजसो दक्षिणपन्थी तानाशाहहरूलाई समर्थन दिएको छ । त्यस्तै दर्जनौँ देशहरूमा प्रगतिशील सरकारहरू अपदस्थ गरेको वा अपदस्थ गर्ने कोसिस गरेको छ, कयौँ जनमुक्ति सङ्घर्षलाई निर्मम तवरले दमन गरेको छ । त्यस्तै आफ्नो पक्षमा रहेका र विपक्षमा रहेका कयौँ देशका निर्वाचनहरूमा हस्तक्षेप गरेको छ ।
(ब्रेट विल्किन्स् सान फ्रान्सिस्कोस्थित एक स्वतन्त्र पत्रकार र अभियानकर्मी हुन् । उनी युद्ध र शान्ति तथा मानव अधिकारबारे कयौँ पुस्तकका लेखक हुन् ।)
Jimmy Carter Lectures Trump: US is Most Warlike Nation in History of the World ._
Telesurtv.net
18 April 2019
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *