भर्खरै :

अमेरिका भ्रमणको अनुभव–२

नाति कवां
न्युयोर्क सहर घुम्नको लागि हामीले प्रतिव्यक्ति १५, १५ डलरको टिकट लिएर दुई दिन बसबाट घुम्यौँ । त्यहाँ अग्ला अग्ला भवनहरू छन् । ती भवनहरू सबै अफिस होटलहरूमात्र हुन् । त्यहाँका मानिसहरू यति बेफुर्सदी छन् कि बाटोमा पनि दौडी दौडी हिँडिरहेका हुन्छन् । प्रायको हातमा खाना बोकेको हुन्छ । बेलुका धेरै मानिसहरू वालस्ट्रिटमा जम्मा हुन्छन् । कहिलेकाहीँ वालस्ट्रिटमा साङ्गीतिक कार्यक्रम पनि हुन्छ । त्यहाँका अग्लो भवनहरूमा विद्युतीय विज्ञापनले भरिएका छन् । त्यस विज्ञापनले गर्दा सहर झिलिमिली छ र मनोरञ्जनका कार्यक्रमहरूमा भाग लिन्छन् । यो वालस्ट्रिट न्युयोर्क र न्युजर्सीको बीचमा पर्दछ । न्युयोर्क सहर पुराना सहर भएकोेले मानिसको चाप र बजार व्यवस्थापन भएको पाइन्छ । सडक छेउमा साइकलका गाडाहरू राखेर सामान बेचिन्छ ।
न्युयोर्क भ्रमणकै क्रममा ‘स्टाच्यू अफ लिबर्टी’ हेर्नका लागि क्तयभिल Stolen Island (स्टोलेन द्वीप) मा जान सानो पानीजहाजको टिकट लियौँ । जहाज चढेर समुद्रको आधा घण्टाको यात्रापछि द्वीपमा पुग्यौँ । जहाजबाट ओर्लेर ‘स्टाच्यू अफ लिबर्टी’ हे¥यौँ । त्यसपछि जहाजबाटै फर्कियौँ ।
भोलिपल्ट बसको यात्राबाट Metropolitan म्युजियम हेर्न गयौँ । यो म्युजियम Amsterdam मा पर्दछ । त्यस म्युजियममा ढुङ्गा, काठ, धातु आदिका कलात्मक मूर्तिहरू राखेको पाइयो । म्युजियममा विभिन्न देशका मूर्तिहरू राखेको पाइयो । नेपालका सबै मूर्ति एकै कोठामा राखिएको छ । भारत, चीन, जापान, फिलिपिन्स सबै देशको अलग्ग अलग्ग कोठामा व्यवस्थित तवरले राखिएका छन् । ती मूर्ति कहाँबाट कसरी, कुन, केबाट बनेको हो सबैको वर्णन लिखितरूपमा मूर्तिसँगै राखिएका छन् । यदि प्रमाणसहित कुनै देशको सरकारले लिन आएमा त्यो देशलाई मूर्ति फर्काइ दिनेरहेछ । म्युजियमको अवलोकनपछि हामी Zuccotti पार्कमा घुम्न गयौँ । त्यहाँ Street food बेच्ने गाडावाल पसलहरू पाइन्छन् । हामीकहाँ पानी पुरी बेचेजस्तै हो ।
२०१८ सेप्टेम्बर ६ का दिन हामी वासिङ्टन डी.सी. को लागि हिँड्यौँ । वासिङ्टन ‘न्यु जर्सी’ राज्यमा पर्दछ । न्युजर्सी उत्तर आन्ध्र महासागरको तटमा अवस्थित छ । यो ४०ङ्क ०३’ ३०” उत्तरी अक्षांश र ७४ङ्क २४’ २०.४” पश्चिमी देशान्तरमा पर्दछ । हामी न्युयोर्कबाट डेलावर नदी पार गर्दै वाल्टिमोर पुग्यौँ । वाल्टिमोरमा ‘वाल्टिमोर मेरिलाण्ड होटल’ हाम्पटनमा बास बस्यौँ ।
२०१८ सेप्टेम्बर ७ का दिन वासिङ्टन डी.सी. घुम्न निस्कियौँ । George Washington University को पार्किङ कोठामा गाडी पार्किङ गरेर दृश्यावलोकनको लागि हिँडेर गयौँ । भियतनाम युद्धमा मारिएका सैनिकहरूको सालिकहरू सम्झनास्वरुप राखेको पाइयो । त्यसलाई Vietnam Veteran Memorial Park नामकरण गरेको पाइयो । भियतनाम युद्धबारे लेखिएका पुस्तकहरू पनि प्रदर्शित थिए । बीचमा Lincoln Memorial बनाएर लिङ्कनको सालिक राखिएको रहेछ । त्यस्तै कोरियाली युद्धमा मारिएकाहरूको सालिक Korean Veterans Memorial भनेर पार्क बनाइराखेको छ । उनीहरूको सालिकसँगै नाम पनि राखिएको छ । कोरियाली युद्धमा यू.एस.ए.का ५४,२४६ र यू.एन.का ६,२८८३३ को ज्यान गएको छ भने यू.एस.ए.का ८१७७ र यू.एन.का ४,७०२६ हराएको उल्लेख गरिएको छ । करिब १ घण्टापछि एउटा अग्लो टावर नजिक पुगेँ । त्यो टावरलाई Washington Monument भलत भनिन्छ । भनिन्छ, यस टावरभित्र भियतनाम युद्धमा मृत व्यक्तिहरूको अस्थि राखिएको छ । त्यसैले त्यो टावर नजिकै मानिसहरू पठाइन्दैन । घुम्दाघुम्दै संसद भवन पुग्यौँ । संसद भवन जाने बाटो अन्डर ग्राउन्ड रहेछ । संसद भवनको गजुरमा Freedom Statueराखेको रहेछ । संसद भवन सम्पूर्ण स्टेटमा एउटै आकारको हुन्छ । यो Jefferson Building मा छ ।
हामी घुम्दै Alexander Hamilton at the Library of Congress मा पुग्यौँ । त्यस पुस्तकालयभित्र भित्ता भित्तामा यू.एस.का विभिन्न अभिलेखहरू टाँसिएको पायौँ । किताबहरूमात्र नभई आवश्यकताअनुसार व्यक्तिको तस्बिर इतिहासका पन्नाका तस्बिरहरू पनि राखिएका थिए । पुस्तकालयको अवलोकनपछि हामी सर्वोच्च अदालत हेर्न पुग्यौँ । Mount Jackon हुँदै Bristol मा हामी बास बस्न पुग्यौँ ।
२०१८ सेप्टेम्बर ७ मा Bristol बाट Nash Ville TN हुँदै घर फक्र्यौँ र यात्रालाई विराम दियौँ ।
मैले अमेरिकाको विभिन्न राज्यहरूको भ्रमणबारे छोटकरीमा बयान गरेँ । त्यस बयानको अध्ययनपश्चात् तपाईंहरूले भन्नु होला यो लेखकलाई कति अमेरिकाको बयान गर्नु परेको होला ? तर, मेरो मनसाय त्यस्तो होइन । भ्रमणको सिलसिलामा मैले देखेको बुझेको हाम्रो देशको लागि उपयोगी छ, नेपालीहरूको लागि शिक्षाप्रद छ ।
यात्राका उपलब्धिहरू
(१) ट्राफिक ः अमेरिकामा हामीकहाँ जस्तै बीच बाटाहरूमा ट्राफिक हुँदैन । कहीँ कतै लाइसेन्स, ब्लुबुक, रोड परमिट चेक गरी रहँदैन आवश्यक कागज छ, छैन भन्ने कुरा गाडी हेरेर नै थाहा पाउँछ । प्रत्येक गाडीमा स्टीकर टाँसेको हुन्छ । स्टीकर हेरेर नै थाहा पाउँछ । चौबाटो, दोबाटोहरूमा हरियो, नीलो रातो बत्तीको व्यवस्था गरेको छ । आवश्यकताअनुसारको सीसी क्यामेरा जडान गरेको छ । यदि कुनै गाडीले ओभर गरेमा तुरुन्त गाडीलाई पत्ता लगाइन्छ र गाडी अगाडि ट्राफिकको गाडी आइपुग्छ र २०० डलरको टिकट भिडाएर जान्छ । कुनै किसिमको सवाल जवाफ हुँदैन । त्यस्तै रातो बत्तीमा पनि भुलले गाडी जान्छ भने २०० डलर तिराउँछ । स्टिकर म्याद नाघेको छ भने गाडी समात्छ । गाडी लिएर जान्छ । पार्किङस्थलविना गाडी एक दुईदिन रोकी राखेमा गाडीमा सूचना टाँस्न आउँछ । यदि गाडी धनीले बेवास्ता गरेमा गाडी नै लिएर जान्छ । गाडी लिएर गएको १ महिनामा पनि गाडी धनीले वास्ता नगरे फलाम उद्योगमा लगेर सबै पगाल्छ । हाम्रो देशमा ट्राफिकबाट अरबौँ रुपैयाँ जरिवाना उठाउँदै आएको समय–समयमा पत्रपत्रिकामा समाचार प्रकाशन भएको छ । त्यही पैसालाई ट्राफिकलाइट, सी.सी. क्यामेरा र अन्य उपकरण खरिद गरी प्रयोगमा ल्याउन सके ट्राफिक जाम हुँदैन होला । ट्राफिक प्रहरीले दुःखकष्ट भोग्नुपर्दैनथ्यो होला ।
कुनै पनि (हाइवे) राजमार्गहरूमा लेन छुट्याइएको हुन्छ । ती लेनहरूमध्ये बाटोका दायाँबायाँ पहेलो रेखा कोरेर दुई लेन छुट्याइएको हुन्छ । त्यो पहेँलो रेखाको लाइनभन्दा दायाँ बायाँको लेनमा साधारण गाडीहरू जान पाउँदैनन् । किनभने त्यो लेनमा दमकल, बिरामी राखेर ल्याएको गाडी, एम्बुलेन्समात्र जान पाइन्छ । तर नेपालमा नियम ट्राफिक प्रहरीलाई पनि थाहा छ कि छैन । यदि थाहा पाएर पनि त्यो नियम पालन गर्न नलगाएको हो भने ट्राफिक प्रहरीले जानाजान बिरामीहरू मार्ने प्रयास गरेको ठहरिने छ ।
अफिसको समयपछि र बिदाको दिनमा रातो र हरियो बत्ती बल्दैन । त्यसबेला गाडीका ड्राइभरहरूले पहिला को आएको हो ? त्यो चौबाटो पार गरेर नगएसम्म तीनतिरको गाडी रोकेर बस्छ । त्यसपछि दोस्रो त्यसपछि तेस्रो गरेर आ–आफ्नो पालोमा जान्छ । तर हामीकहाँ नियमको मतलब छैन बलमिचाइ गरेर अगाडि बढ्छ । अनि दुर्घटना निम्तिन्छ । यसमा सबभन्दा बढी मोटरसाइकल चढ्न पाएपछि के–के न पाएको जस्तो गरेर सभ्यतालाई नै बिर्सेर फिलिमको नक्कल गरेर ठूलो मान्छे बन्न खोज्छ र दुर्घटना हुन्छ । त्यसकारण यस्तो विषयमा ट्राफिक प्रहरीबाट विद्यालयमा विद्यार्थीहरूलाई शिक्षाको आवश्यकता छ ।
(२) फोहरको व्यवस्थापनबारे, म न्युयोर्कमा भएको व्यवस्थाबारे लेख्न गइरहेको छ । न्युयोर्कमा प्रत्येक पसल घरबाट ठूलो प्लाष्टिकको बोरामा जम्मा गरेर बिहान चौबाटोको पेटी पेटीमा राख्न ल्याउँछ । त्यो फोहर सङ्कलन गर्नेहरूले पसल (स्टोर) बहालमा लिइराखेको हुन्छ । ती फोहरहरू सङ्कलन गरेर त्यही पसलमा जम्मा गर्छ । त्यहाँ बसेर पुनः प्रयोग हुने र नहुने छुट्याइन्छ । यसरी छुट्याइसकेपछि ती वस्तुहरू बेच्ने काम गर्दछ । के हामीले पनि हाम्रो देशका नगरपालिकाहरूलाई त्यतातिर ध्यान आकर्षित गराउन उपयुक्त हुन्न ?
३) बस्ती विस्तार (टाउन प्लानिङ) ः काठमाडौँ उपत्यकामा मल्ल शासनकालमा जस्तै अमेरिकामा प्लानिङको व्यवस्था गरिएको पाइन्छ । प्लानिङभित्र एउटा पार्क, एउटा पोखरी निर्माण गरिएको छ । घरको वरिपरि खुला ठाउँ हुनुपर्दछ । कुनै किसिमको दैवी विपत्तिमा शरण स्थलको रूपमा प्रयोग गर्ने जोगाउने ठाउँको व्यवस्था गरिएको हुन्छ । विद्युत्, टेलिफोन, टी.भी.का तारहरू सबै जमिनमुनि व्यवस्था गरिदिएको छ । त्यस्तै धारा, ढल निकास, निजी बाटो सबै घर निर्माण गर्नु अगाडि नै व्यवस्था गरिन्छ । घर बढीमा २ तलाको हुन्छ । होइन भने एक तलाको नै हुन्छ । यसको कारण घरका वृद्धवृद्धाहलाई भ¥याङ चढ्न र ओर्लन गा¥हो नहोस् भन्ने हो । उनीहरूलाई ह्वील चियर चलाउनुपर्ने हुन्छ । त्यसकारण अपाङ्ग मैत्री वातावरणको खाँचो पर्दछ ।
हामीकहाँ जस्तो आफू पनि बस्ने र घर अरुलाई बहालमा पनि लगाउने गर्दैन । बहालमा दिने घरहरूको अलग्गै व्यवस्था गरेको हुन्छ । त्यसलाई अपार्टमेन्ट भनिन्छ । अपार्टमेन्ट क्षेत्रमा सयौँ घरहरू हुन्छन् । ती घरहरूलाई चाहिने गाडी पार्किङको व्यवस्था गरेको हुनुपर्दछ । यदि १०० विघामा घर बनेको छ भने त्यो अपार्टमेन्ट साहुले ३०० बिघामा पार्किङको व्यवस्था गरेको हुनुपर्दछ । जहाँपायो त्यही पार्किङ गर्न पाइँदैन । न्युयोर्क, टोरन्टो, वासिङ्टन डी.सी.मा घना जनसङ्ख्या र घना बस्तीको कारण सहरभित्र पार्क गर्न नै पाउँदैन । ग्रामीण क्षेत्रमा पार्क गर्न लैजानुपर्दछ । त्यसकारण हाम्रो गाडी होटल साहुले लिएर जान्छ । कहाँ राख्यो हामीलाई थाहा छैन । हामी होटलबाट फर्किने बेलामा गाडी हाम्रो अगाडि ल्याइदिएको हुन्छ ।
हाम्रो देशमा मल्लहरूको पालामै उपत्यकामा पोखरी ढल, खानेपानी (ढुङ्गेधारा, कुवा, इनार) मोटर चल्ने बाटो (देवीदेवताको रथ ओहरदोहर गर्न मिल्ने) खुला चौर, टौमढी, सूर्यमढी, क्वाठण्डौ, दत्तात्रय, बोलाछेँ, कुमाले टोल, नासमनाजस्ता प्रत्येक टोलटोलमा खुला चौर छोडेका थिए । अरु देशले मल्लकालीन हाम्रो नगरको नक्कल गर्दछन् । तर अहिले हाम्रो देशमा जथाभावी जग्गा खण्डीकरण गरेर जथाभावी घर निर्माण गर्न दिएर अव्यवस्थित बस्ती विकास भइरहेको छ, यो ज्यादै दुःखद विषय हो । त्यसकारण यसमा स्थानीय तहले सोचविचार गर्नु आवश्यक छ ।
४) म्युजियम ः नेपालमा म्युजियमको नाममा काठमाडौँ छाउनीमा सङ्ग्रहालय एउटामात्र छ । त्यस म्युजियमभित्र राजा महाराजाहरूको तस्विर र ऐतिहासिक वस्तुहरू बढी प्रदर्शनीमा राखिएका छन् । भक्तपुरमा चित्र सङ्ग्रहालय छ । तर म्युजियम भन्नाले पुराना पुराना समाज विकास क्रमका दृश्य, चिह्नहरू पनि समावेश गर्नुपर्ने रहेछ । उदाहरणको लागि मानिसहरूले खेतीपातीमा प्रयोग गर्ने ज्यावलहरू, मानिसको वेशभुषाहरू कामका तरिकाहरू जस्तै ः कपडा बुन्ने, च्युरा कुट्ने आदिको पुतली वा प्रतीक बनाएर प्रदर्शन गर्नुपर्नेरहेछ । विदेशीहरूलाई आकर्षित गर्ने यस्ता म्युजियमहरू नगरपालिकाहरूले बनाउँछन् । विदेशी मुद्रा आर्जन गरेर स्थानीय मानिसहरूलाई काम दिए बेरोजगारी न्युन हुँदै जान्छ । New York को त्जभThe Metropoliton Museum of Art मा अवलोकनको लागि गयौँ । प्रत्येक कोठामा गार्डको व्यवस्था थियो । जानकारीको लागि प्रत्येक वस्तुको विषयमा लेखेर वस्तुसँगै राखिदिएको छ । ठूला–ठूला स्वरमा कराउन दिँदैन । मोबाइल बजाउन दिँदैन । मलाई लाग्छ, भक्तपुर, पाटन, काठमाडौँले पनि यस्तै एउटा एउटा म्युजियम व्यवस्था गर्नसके नेवार समुदायका पूर्खाहरूको पेशा, धर्म, संस्कृतिको पहिचान संसारलाई दिन सकिने छ र भविष्यका सन्तानहरूले पनि पुर्खाको इतिहास थाहा पाइरहने छन् ।
५) पुस्तकालय ः पुस्तकालय बुद्धिजीवी, लेखक, कविहरूको कोठा कोठामा होला । भनिन्छ, कसैको घरमा जाँदा उसँग कति पुस्तक छ ? कति व्यवस्थित छ ? त्यो हेरेर त्यस मानिस कति बुद्धिमान छन् भन्ने अनुमान लगाउँछन् ।
यो २१ औँ शताब्दीमा किताबमात्र जम्मा गरेर पुस्तकालयको परिचय पुग्दैन, पुस्तकालयमा बसेर किताब पढेर बसिरहने समय नहोला । त्यस्ता व्यक्तिहरूको लागि भित्ते चित्र, तस्वीर, फोटोहरू पनि समावेश गर्नुपर्दछ । उदाहरणको लागि संसदबाट पास भएका विधेयकहरूसमेत भित्तामा टाँसिदिने गर्दछन् । पहिले पहिले मानिसहरूले आफूले गरेको कार्यको अभिलेख शिलापत्रमा लेखेजस्तै व्यवस्था गर्नुपर्दछ भन्ने अनुभव हुन्छ । वासिङ्टनका Library of Congress Jefferson Building मा मैले देखेँ ।
६) राजमार्ग (हाइवे) नजिकै बस्ती बस्ने गरी घरहरू बनाउन नदिने । राजमार्गको दायाँबायाँ घरहरूमा पसलहरू राख्न दिनुहुन्न । रणनीतिक हिसाबले राजमार्गमा प्रहरी सशस्त्रबल, सैनिक बलका आवश्यक सामान ढुवानी गर्नुपर्ने हुन्छ । त्यसबेला कुनै आतङ्कवादी क्रियाकलापमा संलग्न व्यक्तिहरूले हमला गर्न सजिलो हुनेछ ।
राजमार्ग छेउछाउ घर बनाउन दिएमा मानिसको बसोबास धेरै हुन्छ । पसल र कारखाना खोलिने छ । मानिसको ओहोरदोहोर बढी हुन्छ । त्यसबेला अनेकौँ दुर्घटना हुन्छ । यातायात अवरुद्ध हुन्छ । देश र जनताको धेरै नोक्सान हुनेछ । (नारायणघाट, बुटवल, वीरगञ्ज आदि हाम्रा नगरहरूलाई– राजमार्गहरूबाट कसरी टाढा राख्ने र राजमार्गमा दायाँबायाँ घर बनाउन दिनु भएन, भएका घरहरू विस्तारै भत्काउँदै जानुपर्ने भयो । राजमार्ग आफै नगर र बस्ती होइन । बस्ती र नगर कमसेकम ५–१० मिनेट राजमार्गभन्दा टाढा रहनु आवश्यक देखिन्छ । –सं)
राजमार्गमा ठूला ठूला गाडी गुड्छ । ती गाडी गुडेको असर घरलाई पर्छ र घरको आयु घट्छ । त्यस गाडीले वायु प्रदूषण गर्छ, ध्वनी प्रदूषण गर्छ, कम्पन पैदा गर्छ । यस्तै कारणले गर्दा राजमार्ग नजिकै बस्ती बसाउनु हुँदैन र सरकारले यसलाई रोक्नुपर्दछ । अमेरिकाको कुनै पनि स्टेटमा राजमार्गको दायाँबायाँ घर टहरा बनाएर मानिसको बसोबास भएको पाइँदैन । राजमार्ग सहरभन्दा टाढा हुन्छ । तर, नेपाल सरकारले सदियौँ वर्षदेखिको बसोबास गर्दै आएको बस्तीलाई विस्थापित गरेर राजमार्ग बनाउने गर्दछ । यो मानव अधिकार हननको एउटा नाङ्गो रूप हो । सरकारले राजमार्गको दायाँबायाँ घर बनाउने कार्य रोक्नुपर्छ । (नगर विकास प्राधिकरणलाई प्राचीन सभ्यता, प्राचीन बस्ती, सांस्कृतिक धरोहरबारे मतलब नरहेको गुनासो पनि सुनिन्छ ।– सं)
७) विद्युत्, टेलिफोन, धारा र ढल निकासको सम्पूर्ण जिम्मा स्थानीय निकायको हुन्छ । सरकारलाई विद्युत्, टेलिफोन, ढलनिकास धाराको वार्षिक कति रकम हो त्यो लिने र बाँकी स्थानीय सरकारको हुन्छ । निर्माण, मर्मत, सबै जिम्मा स्थानीय निकायको हुन्छ । यदि जनतालाई राम्रो सेवा दिन सकेन भने अर्को चुनावमा हारको परिणाम भोग्नुपर्ने हुन्छ । घरघरमा मिटर हुँदैन । मिटर घरबाहिर नै हुन्छ । प्रत्येक घरमा ४” को पानी आउने पाइप जोडेको छ । ठाउँ ठाउँमा ४” को पानी निकाल्न मिल्ने व्यवस्था गरिदिएको छ । कारण आगलागीजस्ता घटनाबाट बच्नको लागि गरिएको हो । त्यसकारण जनताले विद्युत्, पानी ढल, टेलिफोन, नेटको समस्या भोग्नु पर्दैन । जनताले पानी बिजुली चोरेर पनि लिन सकिँदैन जनतालाई चोरको दोष पनि लगाउनुपर्दैन ।
स्वास्थ्य सम्बन्धमा कुनै पनि व्यक्तिलाई यदि ठूलो रोग लागेमा अकस्मात् अस्पताल लैजानुपर्ने हुन्छ । इमरजेन्सी उपचार गर्नुपर्ने भएमा पैसा खोज्दैन । पहिले उपचार हुन्छ मानिसलाई बचाउँछ । उदाहरणको लागि म आफै हुँ । मेरो मुटु रोगसम्बन्धी उपचार भयो । मैले अहिलेसम्म पैसा तिरिसकेको छैन । Medicat गर्न पाएमा मेरो कुनै पनि उपचारको लागि पैसा तिर्न पर्दैन । तर, मैले Medicat गर्न पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *