युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
राकस्था
शिक्षामा भक्तपुरले नमुना काम गरेकोमा विवाद छैन होला । तर, पनि शैक्षिक गुणस्तर चाहेजस्तो अद्यापि हासिल भएको छैन । असल, जिम्मेवार, इमानदार, सक्षम, देश र जनताको सेवामा समर्पित हुने नयाँ पुस्ता तयार गर्ने भक्तपुरको आदर्श रहेको छ । त्यो आदर्श पूरा गर्न अब हिँडेर पुगिँदैन, दगुर्ने बेला भयो, किनभने भक्तपुरको आदर्शमाथि चारैतिरबाट झन्झन् विषालु आक्रमण हुँदै छ ।
यहाँका विद्यालयलाई ज्ञानको केन्द्र बनाउन के गर्नुपर्ला ? ग्रेड वा अङ्कमा अल्झिएको शिक्षालाई सिकाइ एवम् ज्ञानको फराकिलो फाँटमा कसरी रूपान्तरण गर्ने होला ? प्रमाणपत्र लिएर साउदी अरेबिया, कतार, मलेशिया, अमेरिका, युरोप पलायन हुने प्रवृत्ति कसरी रोक्न सकिन्छ ? प्रश्न सरल छ, उत्तर पनि सरल छ तर काम गर्न त्यति सजिलो छैन । तैपनि बहस, छलफल र अन्तरक्रियाबाट अग्रगमनको निम्ति बाटो खुल्नसक्छ ।
स्थानीय पाठ्यक्रम
नेपालको संविधानअनुसार स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी लिएका छन् । भक्तपुर नगरपालिकाले देशमै सर्वप्रथम स्थानीय पाठ्यक्रम बनाउनु सराहनीय पक्ष हो, यस प्रयासले भक्तपुरका अन्य नगरपालिकालाई पनि स्थानीय पाठ्यक्रम बनाउन उत्साहित गरेको छ भन्दा फरक पर्दैन । पाठ्यक्रम कसरी लागू भइरहेको छ ? कानुन बनाएर लागू गर्ने तर सही तरिकाले कानुनको पालना नहुने हो भने कानुन नभए बराबर नै हुन्छ । मेहनतसाथ बनेको पाठ्यक्रम कसरी लागू भइरहेको छ भन्नेमा नपा वा यसअन्तर्गतको संयन्त्रले बढी ध्यान दिनु आवश्यक छ ।
पाठ्यक्रम कहिल्यै नहेरी विद्यालयमा पढाइरहेका शिक्षकहरूको निम्ति स्थानीय पाठ्यक्रम चुनौती नै भइरहेको छ । के पढाउने ? कसरी पढाउने ? पाठ्यपुस्तकका केही वाक्य कण्ठ गराई उत्तीर्ण वा अनुत्तीर्ण गराउने वा माथिल्लो कक्षा चढाउने बानी परेका शिक्षक विद्यालयको निम्ति नपाले दिएको नयाँ पाठ्यक्रम घाँडो बनेको अनुभूत हुन्छ । कतिपय शिक्षकलाई नपाले उपलब्ध गराएका केही सन्दर्भ सामग्री हेर्ने फुर्सत पनि छैन । सन्दर्भ सामग्रीको रूपमा भनपाले पेनड्रात्मा राखेर दिएका सामग्री वर्षभरि दराजमै थन्किएको वा पेनड्रात् नै हराएको घटना सुन्न पाइन्छ । सन्दर्भ सामग्री कतिलाई बुटी खोज्न गएका हनुमानले विन्ध्याचल पर्वत नै उठाएर ल्याएजस्तो भयो । अझ पनि धान र सामो छुट्याउन नजान्नेलाई धान गोड्न लगाएझैँ भयो ।
स्थानीय पाठ्यक्रम लागू गरेको एक वर्षपछि भनपाले शिक्षकहरूको लागि सजिलो सन्दर्भ सामग्रीसहितको पुस्तक प्रकाशनको तयारी गरेको केही महिना भयो । शिक्षकले त पाठ्यपुस्तक नै खोजेका हुन् । किनभने शिक्षक त पाठ्यपुस्तकमै अभ्यस्त छन् । भक्तपुरको कला, संस्कृति, इतिहास, भूगोल, खेल, खानपान, स्थानीय उत्पादन, आदिबारे सरल पुस्तकको तुरुन्तै बन्दोबस्त हुनुपर्ने हो । शिक्षकले विद्यार्थीको क्षमता एवम् स्तरको आधारमा पुस्तकका सामग्री पस्कन सक्छन् । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बितेको छ, अझै पुस्तक शिक्षकको हातमा पुगेको छैन । केको अलमल हो यो ? सम्पादन र प्रकाशनको जिम्मेवारी कसलाई दिइएको रहेछ ?
समाजवादी शिक्षा
भक्तपुर नगरपालिकाले समाजवादी शिक्षाको आदर्श बोकेको सर्वविदित छ । त्यो आदर्श नाराजस्तो काम गर्न सजिलो र सरल छैन । समाजवादउन्मुख शिक्षा लागू गर्नुमात्र पनि सहज छैन । सङ्घले दिएको केही शैक्षिक अधिकारको प्रयोग गरी त्यो ठूलो उद्देश्य पुरा गर्न पनि सकिन्न । तैपनि भनपाले गरिबका छोराछोरीलाई सीपमा आधारित शिक्षा दिने पहल गर्नसक्छ । शिक्षा र श्रमलाई जोड्ने तारतम्य मिलाउन सक्छ । भनपाले विद्यार्थीले हप्तामा केही घण्टा काम गर्ने र आयआर्जन गर्ने नीति बनाउनसक्छ । तरकारी खेती, पशुपालन, च्याउ खेती आदि कृषिसँग सम्बन्धित काम गर्ने स्थानीयको बारीमा काम गरेर विद्यार्थीले सिक्ने वातावरण मिलाउन सकिन्छ । दुग्ध उद्योग, भादगाउँले टोपी उद्योग, तयारी पोसाक उद्योग, काष्ठकला उद्योग, हस्तकला उद्योग आदि सञ्चालकहरूसँग मिलेर विद्यार्थीलाई श्रमशील काममा समावेश गर्न सकिन्छ ।
विद्यार्थीहरूको सिकाइ मूल्याङ्कन
शैक्षिक गुणस्तरमा निजी र सामुदायिक विद्यालयबीच विद्यमान भेद अन्त गर्नुपर्ने आवाज पनि निरन्तर उठेकै छ । शैक्षिक गुणस्तरमा एकरूपता कायम गर्न केही नीतिगत पहल हुनुपर्छ । गुणस्तरको जाँच गर्ने एउटा सरल उपाय एकै खालको मूल्याङ्कन प्रणाली हो । संस्थागत विद्यालय र सामुदायिक विद्यालयका विभिन्न समूहअन्तर्गत परीक्षा चलाइँदै छ । कक्षा ८ को परीक्षाजस्तै अन्य कक्षाको पनि एउटै ग्रीड बनाएर त्रैमासिक परीक्षासमेत चलाइएको खण्डमा प्रतिस्पर्धात्मक वातावरण बन्ने र मेहनत गर्ने बानीको विकास हुने शिक्षा क्षेत्रका अनुभवीको भनाइ छ । साथै भक्तपुर नगरपालिकाले शैक्षिक उपलब्धि परीक्षण गरी शिक्षकहरूलाई निरन्तर सुधारको निम्ति उत्प्रेरित गर्नुपर्ने उहाँहरूको विचार यहाँनिर मननीय छ ।
अभिभावक शिक्षा
अभिभावक र बालबच्चाबीचको पुस्तान्तरणको कारण अनेक द्वन्द्व देखिन थालेको अवस्थामा कसरी त्यसको व्यवस्थापन गर्ने ? कसरी घरको वातावरण बनाउनेबारे अभिभावक पनि प्रशिक्षित हुनुपर्ने देखिन्छ । घरको वातावरणले पनि सिकाइ उपलब्धिमा धेरै फरक पर्ने शिक्षाविद्हरूको निष्कर्षको सम्मान गर्दै अभिभावक शिक्षामा जोड दिन भनपा लागिपर्नु जरुरी छ ।
बालबालिका उद्यान
भनपाले नगरका ठाउँ–ठाउँमा शारीरिक व्यायाम सामग्री राख्नु स्वागतयोग्य छ । युवा र प्रौढको निम्ति त धेरै राम्रो भयो । भविष्यका कर्णधार ससाना नानीहरू खेल्ने, रमाउने, अन्तरक्रिया गर्ने ठाउँ कहाँ छ ? नगर बन्नको निम्ति चिल्ड्रेन पार्क अनिवार्य नै हुन्छ । जनज्योति पुस्तकालयको ‘चिल्डे«न सेक्सन’ मा औंलामा गन्न सकिने पुस्तक छन्, बस्ने पुग्दो ठाउँ पनि छैन । प्रत्येक वडामा स्थापित पुस्तकालय तथा वाचनालयलाई क्रियाशील बनाउने हो भने केटाकेटीमा पुस्तक पढ्ने संस्कृति विकास गर्न सकिन्छ ।
मोबाइल, ल्यापटप, टीभीजस्ता साधनहरूको अत्यधिक प्रयोगले पढाइको गुणस्तरसमेत प्रभावित भएकोमा अभिभावक चिन्तित छन् । यसको मनोवैज्ञानिक प्रभाव डरलाग्दो छ । नगरमा केटाकेटी मोबाइलमै फूटबल, भलिबल, बक्सिङजस्ता खेल खेल्छन् । केटाकेटी खेल्ने सुरक्षित ठाउँ पर्याप्त छैन ।
सांस्कृतिक आक्रमणमा युवा
पुँजीवादी सञ्चारमाध्यम, सामाजिक सञ्जाल, युट्युब आदिले युवापुस्तालाई पुँजीवादी संस्कृतिमा अलमल्याएको पाइन्छ । संरा अमेरिका केन्द्र रहेको गुगलदेखि नेपालमा चल्ने अनेक सामाजिक सञ्जालहरूले घुमाइफिराइ संरा अमेरिकाकै साम्राज्य विस्तारमा काम गरिरहेको यथार्थप्रति सबै समयमै सतर्क हुनुपर्छ । युवापुस्ताले इन्टरनेटका सामग्रीलगायत सामाजिक सञ्जालहरूको प्रयोग सही ढङ्गले गर्न नसक्दा अनेक विकृति भित्रिएको बारे भक्तपुरवासी सचेत हुनुपर्छ ।
Leave a Reply