रास्वपा सरकारबाट हिमपहिरो पीडित जनताको पीडा
- भाद्र २६, २०८३
देशकै माइलो अस्पताल भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण सेवा ठप्प भएको छ । कर्मचारीहरूले विविध पेशागत माग राखी गरेको आन्दोलनको कारण स्वास्थ्योपचारको लागि आएका बिरामी सेवाबाट बञ्चित छन् । जायज मागको लागि सङ्घर्ष गर्नु सबै नागरिकलाई संविधानले दिएको अधिकार हो । अस्पतालका कर्मचारीले उठाएका माग जायज–नाजायज तर्क र तथ्यको आधारमा निक्र्योल गर्नु आवश्यक छ । तर, दैनिक सयौँ बिरामी उपचारको लागि आउने अस्पतालका अस्पतालका सबै सेवा बन्द गर्नु आन्दोलनको सही तरिका होइन । जनतालाई स्वास्थ्य उपचारको दायित्व पूरा गर्न सरकारी तलब बुझ्ने कर्मचारीले आन्दोलनको नाममा सेवा ठप्प गर्नु अनैतिकता हो । आन्दोलनका धेरै तरिका हुन्छन् । जनतालाई प्रभावित नगर्ने गरी पनि आन्दोलनका कार्यक्रम गर्न सकिन्छ । तर, भक्तपुर अस्पतालका कर्मचारीहरू आफ्नो कर्तव्यबाट च्युत भई बिरामीलाई प्रभावित गर्ने प्रकारको आन्दोलन गर्नु सही हुनसक्दैन ।
भक्तपुर अस्पताल वीर अस्पतालपछि दोस्रो पुरानो अस्पताल हो । तर, एक सय पन्ध्र वर्ष पुरानो इतिहास बोकेको अस्पताल भएर पनि भक्तपुर अस्पतालले अपेक्षित गतिमा विकास गर्न सकेको छैन । भक्तपुर अस्पतालमा देशकै कहलिएका चिकित्सकहरूले जनताको सेवा गरे । तथापि सेवा–सुविधाको हिसाबमा अस्पतालमा सुधारिनुपर्ने अरू कैयौँ पक्ष छन् । अस्पताल विकास समितिको नेतृत्वमा शासक दलको भागबण्डाका कारण भक्तपुर अस्पतालको तेज क्रमशः धमिलो बन्दै गएको देखिन्छ । सत्तासीन दलको विकास समितिमा जो नेतृत्वमा बस्छ, उसले आफूखुसी कर्मचारी भर्ना र निर्णय गर्दा अस्पतालको स्रोतमाथि लुटपाटको स्थिति कायम छ । मनपरी कर्मचारी भर्तीले अस्पताल भद्रगोल बन्दै गयो । अस्पतालको भद्रगोल अवस्थाले दक्ष चिकित्सक र स्वास्थ्यकर्मी सकेसम्म चाँडो अन्यत्र सरूवा भएर जाने अवस्था कायम छ ।
भक्तपुर अस्पताल जनताको अस्पताल हो । जनताको अस्पतालमा स्वास्थ्य मन्त्रीको पार्टीको झोला बोकेको आधारमा अस्पतालको नेतृत्वमा नियुक्ति गर्ने प्रावधान अन्त्य गरिनुपर्छ । अस्पतालको विकास समितिले दलीय सङ्कीर्णता त्यागेर अस्पताललाई जनताको स्वास्थ्योपचारको लागि अब्बल अस्पताल बनाउन मिहिनेत गर्न जरूरी छ । भक्तपुर अस्पताललाई निजी अस्पतालको रिफर सेन्टर बनाउने चिकित्सकलाई कारबाही गर्नु आवश्यक छ । राजनीतिक प्रभावका आधारमा भर्ती भएका अस्पतालका कर्तव्यच्युत र अयोग्य कर्मचारीलाई कारबाही गरिनुपर्छ ।
कर्मचारीको जायज मागबारे संवादमार्फत पूरा गर्न अस्पताल व्यवस्थापनले यथाशक्य चाँडो पहल गर्न जरूरी छ । दलीय पूर्वाग्रह र शासक दलीय दम्भबाट माथि उठेर स्थानीय जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू र सरोकारवाला पक्षबीच तत्काल बैठक बसी उपयुक्त निकास निकाली अस्पतालको सेवा तत्काल चालू गरिनुपर्छ । सेवा बन्द गर्ने कर्मचारी आन्दोलन कानुनी र नैतिक दुवै हुनसक्दैन ।
त्यसै पनि भद्रगोल बन्दै गएको भक्तपुर अस्पताललाई सेवा ठप्प गर्ने आन्दोलनले थप कमजोर बनाउनेछ । तत्काल अस्पतालको सेवा चालू राख्ने वातावरण बनाउन सम्बन्धित सबै पक्ष लाग्न आवश्यक छ ।
Leave a Reply