युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
जमिला
एसियाको एउटा समाजवादी मुलुक प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबारे नेपाली जनताबीच जति सत्यतथ्य जानकारी हुनुपर्ने हो त्यति नभएको या अझ पु¥याउन बाँकी रहेको यथार्थ हो । बरु त्यस देश र त्यहाँको व्यवस्था तथा नेतृत्वबारे भ्रम फैलाउन खोज्नेहरूको यहाँ कुनै कमी छैन । तर, विभिन्न साहित्य प्रकाशन, बौद्धिक गतिविधिमार्फत प्रजग कोरियाको वास्तविकता उजागर गर्ने प्रयास पनि निरन्तर जारी छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ नेता नारायणमान बिजुक्छेँ (रोहित) ले वि.सं २०४८ देखि २०५२ भित्र प्रजग कोरियाको चार पटक भ्रमण गर्नुभयो । विश्व साम्राज्यवादविरुद्ध निरन्तर लेख्दै, बोल्दै र सङ्घर्ष गर्दै आउनुभएका वरिष्ठ कम्युनिष्ट नेता अध्यक्ष का. रोहितले ती चार भ्रमणहरूको क्रममा देख्नुभएको कोरिया, हृदयले अनुभव गर्नुभएको कोरियाली भावनालाई एउटा सुन्दर यात्रा कृतिको रूपमा नेपाली पाठकहरूमाझ प्रस्तुत गरिएको पनि दुई दशक नाघिसकेको छ । ‘कोरिया भ्रमण’ नेपाली भ्रमण साहित्य जगतको लागि एउटा उल्लेखनीय उपलब्धि हो । प्रजग कोरियाको इतिहास, भूगोल, राजनीति, समाज विकासक्रम, संस्कृति, सम्पदा, कला, साहित्यबारे का. रोहितले मिहिन ढङ्गमा चर्चा गर्नुभएको छ । त्यतिमात्र होइन प्रजग कोरियाका वीर, विराङ्गनाहरूको सङ्घर्षमय जीवन कथा अत्यन्त मार्मिक ढङ्गमा पुस्तकमा प्रस्तुत छ । प्रजग कोरियाको सङ्घर्षपूर्ण इतिहासका पृष्ठहरू प्रस्तुत हुनुका साथै सन् १९५०–५३ को संरा अमेरिकी युद्धले खरानी बनाएको प्योङयाङ र अन्य सहरहरू सुन्दर, भव्य र व्यवस्थित सहरका रूपमा कसरी उठाइए र विज्ञान तथा प्रविधिमा कसरी कायापलट गर्न सफलता मिल्यो आदिबारे लेखकले सजीव दृश्यहरू शब्दचित्रमार्फत प्रस्तुत गर्नुभएको छ । का. रोहितसँगै पाठक प्रजग कोरियाका कुनाकाप्चा पुग्छन् । जापानी उपनिवेशवादसँग जुझेर, संरा अमेरिकी साम्राज्यवादविरुद्ध निरन्तर लड्दै देशको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकता रक्षा गर्न सफल देश प्रजग कोरियालाई नजिकबाट चिन्छन् ।
समाजवादप्रति आस्था राख्ने जोकोहीका निम्ति प्रजग कोरिया चासो र अध्ययनको विषय जरुर हो । पुस्तकले आजभन्दा २५–२८ वर्ष अगाडिको कोरियाली दृश्यबारे चर्चा गरे पनि आजको दिनमा समेत यो पुस्तकको अध्ययन त्यतिनै सामयिक छ । अत्यन्त पठनीय यस पुस्तकभित्र महान् नेता किम इल सङ, प्रिय नेता किम जङ इलका मननीय विचारहरू पनि सङ्कलित छन् । प्रजग कोरियाको इतिहाससँगै भविष्यको सम्भाव्यताबारे दूरदर्शी विचार बोकेको यस पुस्तक सङ्ग्रहणीय भएको पाठकहरूले महसुस गर्नेछन् ।
पुस्तकमा प्रजग कोरियाको भौगोलिक अवस्थिति र राजनीतिक विकासक्रमबारे उल्लेख छ । संरा अमेरिकाको कठपुतली दक्षिण कोरियाको पुँजीवादी व्यवस्थाबारे चर्चा छ । उत्तर र दक्षिणको तुलनात्मक अध्ययन पस्केको यस पुस्तकले कोरिया ‘दुई कोरिया’ मा विभक्त हुनुको मुख्य कारण अमेरिकी हस्तक्षेप नै हो भन्ने यथार्थ बताउँछ । दुई देशहरूको राजनीतिक, सामाजिक र आर्थिक भिन्नताबारे चर्चा सँगै पाठकले समाजवादी व्यवस्थाका सफलता र पुँजीवादी व्यवस्थाका असफलताबारे ज्ञान हासिल गर्नेछन् । साथै संरा अमेरिकाको ‘फुट गर र राज गर’ जस्ता ब्वाँसो नीतिविरुद्ध सचेत बन्न सन्देश प्रवाह पुस्तकले गर्छ । पुस्तकमा तत्कालीन कोरियाको विकाससँग नेपालको वस्तुस्थितिको पनि तुलनात्मक अध्ययन गरिएको छ । युद्धपछिको ४० वर्षमा प्रजग कोरिया कहाँ पुग्यो र नेपाल कहाँ छ, आदिबारे पुस्तक अध्ययनले पाठकलाई विश्लेषण गर्न सहज बनाउनेछ । का.रोहितको पहिलो कोरिया भ्रमण कोरिया पुनःएकीकरणका निम्ति अन्तर्राष्ट्रिय विशाल पदयात्रा अर्थात् ऐक्यबद्धता ¥याली र जनसभामा सहभागी बन्नका निम्ति थियो । अन्तर्राष्ट्रिय विशाल पदयात्रा ‘कोरिया एक हो’, ‘अमेरिकी सेना निस्किजा’, ‘आणविक शस्त्र होइन कोरिया प्रायःद्वीपलाई अणुशस्त्र मुक्त शान्ति क्षेत्र बनाऊ’ जस्ता नाराहरूले गुञ्जाएमान भएको बताउनुहुन्छ का.रोहित ।
पानमुनजोममा कोरियाली जनताको एक मनको आवाज ‘कोरिया एक हो’ भनी फहराइएका झन्डाहरूको जीवन्त व्याख्या, नाम्पो नगरपालिकाको भव्य स्वागत समारोहबारे पुस्तकमा चर्चा गरिएको छ । देशको उत्पादन, आर्थिक उन्नयन र जनताको सेवाको निम्ति बनाइएको पश्चिमी समुद्रको बाँध, वनसानको सुन्दर दृश्य, कुम्गाङ पहाड चढ्दाको अनुभव पुस्तकमा वर्णन गरिएको छ ।
कोरियाली क्रान्ति, समाजवाद निर्माणको इतिहासलाई सुरक्षित राख्ने जनताको सांस्कृतिक दरबार, बालबालिकाको दरबारतुल्य छाङ ग्वाङ बालोद्यानभित्रको भव्यता पाठकले अनुभव गर्न सक्ने गरी पुस्तकमा प्रस्तुत गरिएको छ । महान् नेता किम इल सङको भावना पुस्तकमा महत्वका साथ उद्धृत गरिएको छ – “हाम्रा केटाकेटीहरू हाम्रो देशका राजा र रानी हुन् ।”
प्रजग कोरियाका कामगरी खाने वर्गका निम्ति महाविद्यालयको सञ्चालन आफैमा सभ्य समाजको दर्पण हो । त्यस महाविद्यालयमा पार्टी निर्माण, पार्टी इतिहास, दर्शनशास्त्र र जुच्छे विचार, राजनीतिक अर्थशास्त्र, उद्योग, कृषि, संस्कृतिका विषयमा अध्यापन गराइनुका साथै प्राविधिक तालिम पनि सञ्चालन गरिन्छ भन्ने जानकारी पुस्तकबाट मिल्छ ।
जुच्छे विचारधाराका निर्माता का. किम इल सङसँग पाठकलाई पुस्तकले परिचित गराउँछ । संसारका महान् क्रान्तिकारीमध्ये एक, मानव जातिको इतिहासका एक उज्ज्वल तारा, कोरियाली इतिहासका एक अतुलनीय देशभक्त, अजय सेनानायक, अचूक रणविद्का रूपमा किम इल सङलाई पाठकमाझ चिनाइएको छ । विश्व कम्युनिस्ट आन्दोलनका एक हस्ती, विचारक, कोरियाको भूमिमा समाजवादको रातो झन्डा गाड्ने महान् माक्र्सवादी – लेनिनवादी, जनताका आँखाका नानी हुनुहुन्थ्यो का. किम इल सङ । उहाँको व्यक्तित्व, जीवन सङ्घर्षबाट सिक्न पाठकलाई यस पुस्तकले हौस्याउँछ ।
का. रोहित दोस्रो पटक प्योङयाङ का. किम इल सङको ८० औँ शुभ जन्मोत्सव समारोहमा भाग लिन जानुभएको हो । यो पटकको यात्राले किम इल सङलाई अझ नजिकबाट चिन्न पाठकहरूलाई अवसर दिएको छ । नेता का. किम इल सङ एक जनप्रिय साहित्यकार पनि हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “करोडौँ बन्दूकभन्दा एउटा कविता र लाखौँ फौजभन्दा एक लेखकले बढी भूमिका खेल्छ ।” साहित्य समाजवादी विचार तथा देशप्रेमले भिजेको हुनुपर्ने धारणा उहाँ राख्नुहुन्छ ।
कोरियालाई सन् १९५०–१९५३ सम्म अमेरिकी साम्राज्यवादले आफ्नो नियन्त्रणमा राख्यो । पानमुनजोम त्यो ऐतिहासिक ठाउँ हो जहाँ संरा अमेरिका घुँडा टेक्न बाध्य भयो । कोरियाली जनताको मुक्ति र स्वाधीनताको द्वार हो, पानमुनजोम । त्यहाँ आज पनि युद्ध विरामको हस्ताक्षरका कागजपत्र सुरक्षित छन् । यद्यपि संरा अमेरिकी साम्राज्यवादको ब्वाँसो नीति, हप्कीदप्की, साना र कमजोरलाई दबाउने स्वभाव हटेको छैन ।
पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवसका अवसरमा तेस्रो पटक का. रोहित प्रजग कोरिया पुग्नुहुँदा का. बुद्धिकुमार गोसाई साथमा हुनुहुन्थ्यो । उहाँहरू पुग्नुभएको विजय परेडमा प्रदर्शनकारीहरूले समाजवाद, स्वतन्त्रता, देशको शान्तिपूर्ण पुनः एकीकरण, देशको सम्पन्नताको कामना गरेको प्रसङ्ग पुस्तकमा छ । पुस्तकमा विचारधारा, प्राविधिक र सांस्कृतिक क्रान्ति गरी तीन क्रान्तिको प्रदर्शनी स्थल, प्लानेटोरियम, रङ्गशालाबारे मिहिन चर्चा छ ।
का. रोहितको चौथो कोरिया भ्रमण कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनः एकीकरणको भव्य महोत्सवका लागि थियो । यो पटकको यात्रामा का. रोहितले राष्ट्रपति किम इल सङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । आफ्ना महान् नेताको मृत्युले भिजेका आँखाहरू र पीडामा डुबेका मनहरूको आवाज यो पटकको संस्मरणमा छ । कोरियाली जनताका प्रिय नेता किम जङ इलको उदयले जागेको आशा र बलेको प्रकाशबारे पुस्तकले छर्लङ्ग पार्दछ ।
पुस्तकले विश्वास र इच्छाशक्तिका प्रतिमूर्ति रि इन मोसँग पनि पाठकलाई साक्षात्कार गराउँछ । पितृभूमिको मुक्तिका लागि ३४ वर्ष दक्षिण कोरियाको जेलमा बडो कष्टसाध्य यातना दिई कैद गरिएका क्रान्तिकारी सैनिक पत्रकार साँच्चै नै प्रेरणाका पुञ्ज हुन् । रि इन मोसँगको का. रोहितको भेटको प्रसङ्ग साँच्चै नै मार्मिक छ ।
ऐतिहासिक महत्वको यस पुस्तक नेपाली साहित्याकाशको महत्वपूर्ण उपलब्धि त हो नै साथै कोरियाका लागि विदेशीको आँखामा एउटा कालखण्डको सङ्ग्रहणीय चर्चा र विश्लेषणसमेत हो । पुस्तक प्रस्तुत प्रजग कोरिया र नेपालबीचको असल मित्रताको प्रमाण हो । यस पुस्तकले प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षलाई सधँै – सधैँ जीवित राख्नेछ । पुस्तकको गाता आकर्षक छ । पुस्तकभित्रका तस्वीरहरूले पुस्तकलाई जीवन्त बनाउँछ । प्रजग कोरियाको वास्तविकता झल्काउने यस पुस्तकका लेखक श्रद्धेय अध्यक्ष का. रोहितप्रति उच्च सम्मान । प्रकाशकप्रति साधुवाद ।
Leave a Reply