ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– सुरज सिंह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरे । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लामा लोकप्रिय एउटा राजनीतिक पार्टी हो, तर त्यस पार्टीले अधिनायकवाद जस्तो केही लादेको भक्तपुरका सचेत जनतालाई कहिल्यै लागेको छैन । तर, मदन भण्डारीको असामयिक निधन वा हत्यापछि वाइचान्सले नेकपा एमालेको महासचिव हुनपुगेका माधव नेपालले कसबाट नेमकिपाको अधिनायकवाद चाल पाए आश्चर्यको विषय हो ।
नेमकिपाका नेता कार्यकर्ताहरूले न कहिल्यै जनतामाथि अनिवार्य उपस्थितिको उर्दी जारी गरेर कार्यक्रममा लगेका छन् न त धाकधम्की देखाएर चन्दा असुली गरेका छन् । नेमकिपाले न कहिल्यै युथफोर्स बनाएर गुण्डागर्दी गरेका छन् न ठेक्कापट्टा आफ्नै मानिसलाई चाहिन्छ भनी कतै दबाब दिएका छन् । नेमकिपा पुँजीवादी सरकारमा गएको पनि छैन, उसले जनअधिकार खोस्ने कालो विधेयक ल्याएको पनि छैन । माकुनेले आरोप लगाएजस्तो नेमकिपाले कहिल्यै कसैको मुख थुनेको वा थुन्न लगाएको छैन । हो, एमालेलाई ठूलो पार्टी बनाउन राजा महेन्द्रका दाहिने हात दामोदर शमशेरले सहयोग गरेजस्तै नेमकिपालाई कुनै निरङ्कुश राजा र दरबारियाहरूले सहयोग दिएनन् । पूर्व एमाले र माओवादीको इतिहास राजनीतिक रुपमा सचेत जनतालाई सम्झाइरहनुपर्दैन । व्यक्तिहत्याको खोटो सिद्धान्त बोकेर उदाएको एमालेको नेतृत्वले सधैं देश र जनताको हितभन्दा दलगत र व्यक्तिगत स्वार्थलाई पहिलो प्राथमिकतामा राखेको थियो र छ पनि । त्यसैले लोकेन्द्रबहादुर चन्दजस्ता पञ्चायतका अवशेषको नेतृत्वमा सरकारमा पनि गयो, जनअधिकार खोस्ने कालो विधेयक ल्यायो, पछि प्रतिगमन आधा सच्चियो भनेर राजा ज्ञानेन्द्रको अधिनायकवादलाई पनि समर्थन गर्न पुग्यो । दाम चढाएर अधिनायकवादी राजालाई ढोग्नेमध्ये माकुने स्वयम् नै हुन् । एमाले अधिनायकवादसित घाँटी जोड्न पुग्दा माकुनेकै नेतृत्व थियो । आज आएर नेमकिपाको अधिनायकवाद देख्ने माकुनेको अभिव्यक्ति उनको दृष्टिदोषमात्र हो कि राजनीतिक बेइमानी ? जनता प्रश्न गर्दै छन् ।
हो, नेमकिपाका नेता–कार्यकर्ताहरू सहीलाई सही र गलतलाई गलत भन्ने साहस राख्छन् । उनीहरू व्यक्तिगत र दलगत स्वार्थका लागि सेतोलाई कालो र कालोलाई सेतो भन्ने बेइमानी गर्दैनन् । भ्रष्ट, फटाहा र बेइमानहरूलाई बहिष्कार गर्छन् । यसैलाई माकुनेले अधिनायकवाद, अहङ्कार र दमनकारी प्रवृत्ति देख्छन् भने यो उनको दृष्टिदोष हो । माकुनेले भन्दैमा नेमकिपाका नेता–कार्यकर्ताहरूले आफ्नो सिद्धान्त र सङ्घर्षलाई छोड्ने पनि छैनन् । नेमकिपा एउटा सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टी हो । त्यसले माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको प्रकाशमा राजनीतिक र सैद्धान्तिक सङ्घर्ष गरिरहेको छ । नेमकिपाका नेता–कार्यकर्ताहरूले निःस्वार्थपूर्वक गरिरहेको राजनीति र जनताको सेवाले निरन्तरता पाइरहोस् भन्ने नेपाली जनताको चाहना र कामना छ । नेपाली जनताले नेमकिपालाई विभिन्न तवरले साथ र सहयोग दिइरहेका छन् । माकुनेले भन्दैमा र चाहँदैमा नेमकिपा समाप्त हुनेछैन । नेमकिपालाई समूल नष्ट गर्न खोजेको पञ्चायत आफै समाप्त भयो । पञ्चायतकै नीति अरु कसैले लिन्छन् भने उसको नियति पनि पञ्चायतकै हुनेछ ।
Leave a Reply