भर्खरै :

नेपाली भूमि डुबानमा पार्ने बाँध भत्काऊ !

– प्रकृति
भारतले निर्माण गरेको बाँधले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेको खबर आइतबार आयो । वर्षा ऋतु भर्खर सुरू हुन लागेको छ, अलिअलि पानी पर्न थालेको छ तर नेपाली भूमि डुबानमा परेको समाचार आउन थाल्दा भने नेपाली मनलाई गम्भीर बनाएको छ । तराईको डुबानको मुख्य कारण भारतले नेपालको सीमासँगै बनाएका अनधिकृत बाँध हुन् ।
आइतबारको समाचारअनुसार बाँकेको नरैनापुरको बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपूर्वा, रोशनपूर्वालगायत दर्जनौं गाउँ डुब्दा स्थानीय बासिन्दा विस्थापित भएका छन्, करिब एक सय बढी घर डुबेको र करिब एक दर्जन घर भत्किएका छन्, अधिकांशको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तनमा नोक्सानी पु¥याएको छ । भारतले पूर्वपश्चिम फैलाएर निर्माण गरेको सडक बाँधकै कारण नेपाली भूमि डुबानमा परेको हो । बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक भारतले एकलौटीरूपमा बनाएको लक्ष्मणपुर बाँधको कारण नेपालका गाउँका गाउँ डुबेको यस अगाडि सुन्दै आएका हौँ । त्यसो त भारतले नेपाली सीमामा एकतर्फीरूपमा १५ बाँध बनाएको छ । एकतर्फी बाँधले हरेक वर्ष ठूलो धनजनको क्षति पु¥याए पनि सरकार र सरोकारवालाहरू मौन रहेका छन् ।
लक्ष्मणपुर बाँधसँगैको कलकलवा तटबन्ध, भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगङ्गा नदीमा बनेको बाँध, दाङको सीमाक्षेत्रको दाराखोलामा बनाइएको कोइलाबास बाँध, कपिलवस्तुको महलीसागर बाँध, रूपन्देहीको मर्चवार क्षेत्रनजिक बनाइएको रसियावाल खुर्दलोटन तटबन्धको कारण हजारौँ मानिस विस्थापित भइरहेका छन् । त्यस्तै रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध र रौतहटकै बैरगनिया तटबन्धले नदीको प्राकृतिक बहावलाई नै मोडिदिएको छ । यसले रौतहटको सदरमुकाम गौरसहित दर्जनौँ गाविसहरूलाई डुबानमा पार्दै आएको छ ।
रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको बागमती तटबन्ध, धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदीको दुवै किनारामा निर्मित तटबन्ध, सिराहा जिल्ला नजिक बनाइएको तटबन्ध, सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदीमा निर्माण गरिएको खाँडो बाँध, सप्तरी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फीरूपमा निर्माण गरेको कुनौली तटबन्ध, मोरङ जिल्लाको बक्राह नदीमा बनाइएको बक्राहा बाँधले हजारौँ हेक्टर भूमि डुबानमा पारेको छ । अन्तर्राष्ट्रिय नियम मिचेर बनाइएका बाँध भत्काउनु पर्ने नेपाली जनताको आवाजप्रति नेपाली शासकहरू कानमा तेल हालेर बसेका छन् । दुईतिहाइको तथाकथित कम्युनिस्ट सरकारप्रतिको झिनो आशा पनि निराशामा बदलिएको छ । देशको सार्वभौमिकतामाथिको यस्तो आक्रमणको प्रतिवाद गर्न नसक्ने सरकारको औचित्य समाप्त भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *