जारशाही संसद्मा बोल्शेभिक सांसद–२
- कार्तिक २०, २०८२
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ आफू सांसद हुँदा संसद्मा भएका बेतुकका तर्कवितर्कप्रति व्यङ्ग्य गर्दै भन्नुभएको थियो, “संसद्मा तर्क र बौद्धिक अभ्यास नहुने र मुढेबलकै मात्र कुरा हुने भए पहिलो पङ्क्तिमा हात्ती, गैंडाजस्ता प्राणीलाई ल्याउनु उपयुक्त हुनेछ ।” अर्को एक प्रसङ्गमा उहाँले संसद्मा ‘सङ्ग्लो पानीमा आफ्नो छाया देख्दा डराउने र खुट्टाले धमिल्याएरमात्र पानी पिउने प्राणी’ धेरै भएको भनी व्यङ्ग्य गर्नुभयो । बिजुक्छेँ आजभोलि संसद्मा हुनुहुन्न । तर, संसद्को आजको अवस्थामा भने तात्विकरूपमा कुनै भिन्नता आएको देखिन्न ।
केही दिनअघि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले संसद् ठप्प बनायो । बोल्न रोस्टर्ममा उभिएका प्रधानमन्त्री घोसेमुन्टो लगाएर उभिरहनुभयो । विवादको विषय थियो, कसले पहिला बोल्ने । आइतबार संसद्मा त्यस्तै अर्को एउटा बेतुकको बहस भयो । प्रमुख प्रतिपक्षका एकजना सांसदले प्रधानमन्त्री केपी ओलीको नाम विसृङ्खलित गरेर ‘करप्रसाद ओली’ र ‘झूटप्रसाद ओली’ भने । जवाफमा सत्तापक्षका अर्का एकजना सांसदले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको नाम विसृङ्खलित बनाई ‘छेरबहादुर देउवा’ बनाए । संसद्भित्र सांसदहरूबीचको यस्तो बेतुकको छेडछाडले संसद्को होचो उचाइ संसारसामु प्रस्ट बनाएको छ ।
संसद् बौद्धिक सङ्घर्षको थलो हो । देशको नीति निर्माण, आर्थिक तथा परराष्ट्र सम्बन्ध, संसारमा भइरहेका विभिन्न घटना, जनताले भोग्दै गरेका समस्याका उपयुक्त समाधान खोज्ने थलो हो–संसद् । तर, संसद्भित्र यस्ता गम्भीर विषयमा कमैबाट बहस र छलफल भएको सुनिन्छ । सत्ता पक्ष आफ्नै सत्ताको दम्भले फुलेको छ । प्रमुख प्रतिपक्षले पनि विचारमूलक तर्क र गतिविधिले सत्तापक्षलाई चुनौती दिनसक्ने अवस्थामा छैन । लामो समय आफैं सत्तासीन भएर अहिले सत्ता बाहिर पर्दा छटपटाइरहेको नेपाली काङ्ग्रेसले सरकारले गर्ने गल्ती कमजोरीको खुलेर विरोध गर्न सकेको छैन किनभने सरकारले गर्ने कतिपय कमी कमजोरीको आधार र नैतिक जिम्मेवारी काङ्ग्रेसकै भागमा पर्ने गरेको छ ।
संसद्मा सांसदहरूले अझै पनि विकास बजेटको लागि तानातान गर्ने निम्न कोटीको अभ्यास छोडेका छैनन् । साता दिनअघि सत्तासीन दलका नेता जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्रमा सरकारी विकास बजेट नपुगेको भन्दै प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा बढी विकास बजेट थुपारेकोमा आक्रोश पोख्नुभयो । यस्तै खालका अरू पनि थुपै्र उदाहरण छन् जसले नेपालको संसद्को न्यून स्तर उजागर गर्दछ ।
नयाँ पुस्ताको आँखामा राजनीतिलाई सम्मानित र मर्यादित क्षेत्रको रूपमा स्थापित बनाउन संसद्मा हुने गतिविधिको पनि ठूलै भूमिका हुन्छ । तत्कालीन माओवादीका सांसदहरूले संसद्मा गरेको कुुर्सी हानाहानले राजनीतिप्रति नयाँ पुस्ताको छवि नराम्रो बनाएको थियो । संसद्मा के गर्नुपर्छ र के गर्नुहुन्न भन्ने कुराको जानकारी नभएका सांसदहरूको उपस्थिति बाक्लो हुँदा विकृति अझ बढेको भन्दै बेलाबेला राजनीतिशास्त्र र कानुन पढेका सांसदहरूको खोजी हुने गर्दछ ।
कतिबेला संसद्लाई आफ्ना गुनासो र पार्टीप्रति घुर्की सुनाउने थलो बनाइएको पनि देखिन्छ । यस्ता गतिविधिले संसद्को गरिमालाई उँचो बनाउन सक्दैन । बरू ‘संसद् भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने भनाइलाई अझ पुष्टि गर्दै जान्छ । संसद्लाई बौद्धिक विमर्श, दार्शनिक चिन्तन र देशको आगामी दिशाबारे मर्यादित बहस गर्ने उच्च सम्मानित स्थान बनाउन जरुरी छ । संसद्को छविलाई सांसदहरूले नै बद्नाम गर्ने काम गर्नु रत्नाकर डाकुको मूर्खताजस्तै हुनेछ ।
Leave a Reply